निर्णय नं. ३९३४ - जारी

निर्णय नं. ३९३४ ने.का.प. २०४६ अङ्क ९
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४४७।४८४
फैसला भएको मिति : २०४६।८।२८।४ मा
निवेदक/प्रतिवादी : जि. सिराहा गा.पं.सिराहा वडा नं. ४ बस्ने धनिकलाल महतो सुडीसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ७ बस्ने ईन्द्रनारायण मानन्धर
मुद्दा : जारी
§ वादी दावी बमोजिम जारी गरेको भन्ने वादी दावी शंकारहित तवरबाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा प्रतिवादीलाई जारी गरेको भन्ने तथ्ययुक्त आधार नदेखिँदा जारी गरेको भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवन ओझा विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी छुट्टा छुट्टै पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ:–
२. विपक्षी तारादेवी मेरी विवाहिता पत्नी हुन् निजबाट १ छोरा १ छोरी जन्मेका छन् । अरुसंग अनुचित सम्बन्ध गर्लिन भन्ने विश्वास थिएन विपक्षी धनीकलाल मेरो घर छेउ लक्ष्मीनारायण प्राथमिक विद्यालयको हेड मास्टर भएकोले मेरो घरमा आवात जावत गरी ठट्टा गर्ने गर्थे तापनि शंका गर्ने कुरा थिएन । मिति २०३६।३।११ गतेका दिन अं. ११ बजेको समयमा मेरो अनुपस्थितिमा मेरो घरबाट आफ्नो घरमा लगी करणीमा चुकेर चुकाएको समेत कुरा प्रमाणका मानिसद्वारा जानकारी भई विपक्षीहरूलाई खोज तलाश गर्दा फेला नपरेकोले जारी भएको यकीन भयो । विपक्षी मेरी पत्नी हुन् भन्ने जानी जानी जारी गर्ने विपक्षीलाई कैद र सजायँ गरिपाउँ भन्ने वादी दावी ।
३. फिरादमा उल्लेख गरेको कुरा फरेबपूर्ण हो वादी मष्तिकको कमजोर व्यक्ति हुन् र मेरो पति पनि हुन मेरो दाम तलब आउँदा सरसापटी लिने गरेकोमा मैले विरोध गर्दा मेरो पति घरमा नभएको अवस्थामा कुटपीट गर्ने गरेको थियो । विपक्षी वादीका दाजु हरिनारायण भाइ समेतबाट फकाई बजैबाट पाएको बकस जग्गाको लोभमा पारी मेरा पतिबाट बिक्री गर्न लगाई सो रुपैयाँ बेइमानी गरी लिए र मैले माग्दा सागरवतीको जिम्मा छ उसको लोग्नेलाई समात तिमीसंग बलत्कार गर्न खोज्ने भनी समातेमा उक्त जग्गा छाडी दिन्छु भनेर मलाई भनेकोमा मैले मानिन सो को रिस रहेछ वादीको दाजुभाई समेतले आपसमा सल्लाह गरी मलाई धनिकलाल सुडीको पत्नी भनी यो जारी मुद्दाको सृजना गरी म अबला नारीको वादी दावा अनुसार जारीको २ नं. अनुसारको सजायँ भोग्न पर्ने होइन भन्ने प्रतिवादी तारादेवी मानन्धरको प्रतिउत्तरपत्र ।
४. वादी दाजुसंग भिन्न बसेका र आफ्नो कमाई बाट बाल बच्चाको भरण पोषण गर्न नसक्ने स्थितिका व्यक्ति हुन वादी र दावीको दाजु मिली मेरो श्रीमतीसंग जग्गा बिक्री गर्न खोज्दा दामकाम गरी लिखत लेखी सकेपछि पास नगरी म्याद गुजारी दिएकोले मेरी पत्नीले लिखत पास मुद्दा गर्ने गरी विपक्षी वादीको दाजुभाई समेतले निज वादी उपर अंश दर्ता मुद्दा जालसाज मुद्दा मेरो पत्नी उपर दिएका हुन् । विपक्षी वादीका दाजुभाई तथा निजका मेलुवा मानिसहरू मिली मलाई गाली बेइज्जती गरी पसलमा रहेको सामान समेत लुटी लान लाग्दा म कराई भागी गएँ विपक्षी वादीको दाजुभाई हरिनारायण मानन्धर समेत भई कुनै प्रयास सफल नहुने भएबाट म उपर झुठ्ठा जारी मुद्दा दिएका हुन भन्ने धनिकलालको प्रतिउत्तरपत्र ।
५. प्रतिवादी तारादेवीलाई प्रतिवादी धनिकलालले जारी गरी लगेको ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको मिति २०३७।११।५ गतेको फैसला ।
६. मैले तारादेवीलाई जारी गरेको ठहराएको फैसलामा चित्त बुझेन सफाई पाउँ भन्ने समेत अधिकलाल भन्ने धनिकलाल महतो सुडीको पुनरावेदनपत्र ।
७. तथ्यपूर्ण प्रमाणको अभावमा झुठ्ठा दावीबाट फुर्सद पाउनु पर्नेमा जारी गरेको ठहराएको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी तारादेवी मानन्धरनीको पुनरावेदनपत्र ।
८. जारी गरेको ठहराएको शुरु सिराहा जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति २०३९।११।१२ गतेको फैसला ।
९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी तारादेवी मानन्धर र धनिकलाल महतो सुडीको छुट्टाछुट्टै निवेदन परेकोमा सगरमाथा अञ्चल राजविराज बेञ्चको फैसलामा प्रत्यक्षतः विवाद रहित कानुनी त्रुटि देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।२।१ गतेको आदेश ।
१०. वादीको साक्षीको बकपत्र तथा सरजमीन व्यहोरा समेतबाट वादी दावी समर्थित भइरहेको हुँदा दावी अनुसार प्रतिवादी तारादेवीलाई प्रतिवादी धनिकलालले जारी गरेको ठहराई गरेको सिराहा जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४३।५।४ को फैसला ।
११. सो फैसलामा प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी धनिकलाल महतो सुडी र तारादेवी मानन्धरको छुट्टा छुट्टै निवेदन परेकोमा प्रमाण ऐन, २०३१ को दफा १८ र ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।५।२४ गतेको आदेश ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी धनिकलाल महतो सुडीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पवन ओझाले मेरा पक्षले तारादेवीलाई जारी गरी लगेको देख्ने तथ्ययुक्त प्रमाण केही छैन । वादीहरूसंग मुद्दा परेका इवीवाला व्यक्ति भन्ने परिरहेको मुद्दाहरूबाट देखिराखेको छ । मेरा पक्षको साक्षीहरूले जारी गरेको होइन भनी किटानी बकपत्र गरेको छ । सो प्रमाणहरूको मूल्यांकन नगरी जारी ठहराएको फैसला मिलेको छैन । मेरा पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत र प्रतिवादी तारादेवी मानन्धरको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेलले वादी दावी बमोजिम मेरो पक्ष तारादेवीलाई जारी गरी लगेको हो भन्ने तथ्ययुक्त प्रमाण केही छैन । पुनरावेदक तारादेवीलाई वादीहरूले कुटपीट गर्ने गरेको र घरबाट निकाला गरेको भन्ने पुनरावेदकको साक्षीहरूले बकपत्र गरेको छ सो प्रमाणको मूल्यांकन भएको छैन । पुनरावेदक तारादेवी मानन्धरलाई धनिकलालले जारी गरेको भन्ने झुठ्ठा हो । तसर्थ जारी ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री केदारचरण रायले तारादेवीलाई प्रतिवादी धनिकलालले जारी गरी लगेको भन्ने वादी तर्फको साक्षी तथा सरजमीन समेतबाट वादी दावी पुष्टि भई राखेको छ सबूद प्रमाण समेतको आधारमा जारी ठहराएको इन्साफ मिलेकै छ पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१३. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१४. यस्मा निर्णयतर्फ हेर्दा विपक्षी धनिकलाल मेरो घर समीपमा भएको निज श्री लक्ष्मीनारायण प्राथमिक विद्यालय सिराहाको हेडमास्टर भएको हैसियतले मेरो घरमा बराबर जाने मेरो पत्नीसँग जलखै मागी खाने ठट्टा गर्ने गर्थे मिति २०३६।३।११ गतेका दिन अं. ११ बजे मेरो अनुपस्थितमा विपक्षी धनिकलालले आफ्नो घरमा लगी करणीमा चुके चुकाएको प्रमाणको मानिसद्वारा मिति २०३६।३।१२ का दिन जानकारी भई विपक्षीहरूलाई खोज तलास गर्दा फेला नपरेकोले जारीको १ नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीहरूलाई जारीको २ नं. अनुसार जरिवाना कैद गरिपाउँ भन्ने समेत फिराद दावी देखिन्छ । वादी मेरा पति हुन् मेरो तलब आउँदा सरसापट लिने गरेकोमा मैले विरोध गर्दा पति घर नभएको अवस्था कुटपीट गर्ने गरेको थियो वादीका दाजु हरिनारायण भाइ समेतबाट फकाई बजैबाट पाएको बकस जग्गा पतिबाट धनिकलालको श्रीमतीलाई बिक्री गर्न लगाई सो रुपैयाँ बेइमानी गरी लिए मैले माग्दा सागरवतीको जिम्मा छ उसको लोग्नेलाई समाती बलत्कार गर भनेकोमा मैले मानिन सो रिसमा जारी मुद्दा सृजना गरिदिएको हो वादी दावी अनुसार कुनै अपराध गरेको झुठ्ठा फिराद गरेको हुन भन्ने प्रतिवादी तारादेवीको र तारादेवीलाई जारी गरेको होइन । लिखत पारित जालसाजी मुद्दा समेत परेको कारण झुठ्ठा जारी मुद्दा दिएका हुन भन्ने समेत प्रतिवादी धनिकलालको कथन रहेको पाइन्छ ।
१५. प्रतिवादी तारादेवी तथा वादीका दाजु हरिनारायणसंग आपसी घरायसी विवाद चलेको भन्ने कथन रहेको छ । हरिनारायणले लेखेको चिठ्ठिको नक्कल पनि मिसिल संलग्न रहेको देखिन्छ ।
१६. प्रतिवादी तारादेवी प्रतिवादी धनिकलालसंग पोइल गएको मान्न यकीन सबूद प्रमाणको अनिवार्य आवश्यकता पर्छ । त्यस पृष्ठभूमिमा हेर्दा वादीका साक्षीहरू उपेन्द्रभगत प्रधानाङ्गले मिति २०३६।३।११ गते दिनको ११ बजेको बखत प्रतिवादी तारादेवी प्रतिवादी धनिकलालसंग जारी भई गएका देखेको हुँ । तारादेवीलाई सोध्दा हामी दुवै लोग्ने स्वास्नी भई बसेको हुँ भनी मलाई जवाफ दिएको भनेको र अर्का साक्षी राजेन्द्र साहु सुडीले प्रतिवादी तारादेवी प्रतिवादी धनिकलालसित जारी भई गएको हामीले देखी लोग्ने स्वास्नी भई करणीमा चुके चुकाएको हुँ भनी बकपत्र गरेको देखिन्छ । तर करणीमा चुके चुकाएको भन्न सकेको छैन धनिकलालसंग लोग्ने स्वास्नी भई बसेको भनी प्रतिवादी तारादेवीले भनेको भन्ने बकपत्र छ । तर निज प्रतिवादी तारादेवीको प्रतिवादीबाट सो बकपत्र अनुसार भनेको भन्ने कुरा देखिँदैन । तसर्थ उक्त साक्षीहरूको बकपत्रबाट प्रतिवादी तारादेवीलाई प्रतिवादी धनिकलालले जारी गरी लगेको भन्ने स्वाभाविक कथन रहेको देखिएन । यसबाट उक्त बकपत्र विश्वासनीय मान्न सकिएन ।
१७. प्रतिवादी तर्फका साक्षीहरूमा प्रतिवादी तारादेवीका साक्षी उतिमलाल राय कुर्मी र शिवशंकर यादवले प्रतिवादी तारादेवी प्रतिवादी धनिकलाल सित जारी भई गएको होइन छैन भनी किटानी बकपत्र गरेकोछ । अर्को प्रतिवादी धनिकलालको साक्षी मोत्तिया राय कुर्मी, पुनमा साहु सुडी, सत्यनारायण यादव र कमल साहु तेलीले प्रतिवादी तारादेवीलाई धनिकलालले जारी गरी लगेको होइन । वादीसंग धनिकलालको मुद्दा परेकोले झुठ्ठा मुद्दा दिएको भन्ने समेत किटानी बकपत्र गरेको देखिन्छ । यसबाट वादीको श्रीमती तारादेवी मानन्धरलाई प्रतिवादी धनिकलालले जारी गरी लगेको भन्ने देखिँदैन । मिति २०३६।१०।२६ मा भएको सरजमीन हेर्दा सुवैया यादव समेत सात जनाले प्रतिवादी तारादेवी मानन्धर प्रतिवादी धनिकलालसंग जारी भई गएको हो भनेको छ भन्ने सूर्यनाथ यादव समेत ८ जनाले जारी भई गएको सुनेको हुँ मात्र भनेको छ । कारी राय कुर्मी समेत सात जनाले जारी भई गए नगएको थाहा छैन छुट्टै डेरा लिई बसेको छ भनेको देखिन्छ । यसबाट पनि प्रतिवादी तारादेवीलाई प्रतिवादी धनिकलालले जारी गरी लगेको भन्ने देखिँदैन । वादी दावी बमोजिम प्रतिवादी तारादेवी मानन्धरलाई प्रतिवादी धनिकलालले जारी गरेको भन्ने वादी दावी शंकारहित तवरबाट स्थापित भएको देखिन आएन । यस्तो स्थितिमा प्रतिवादी तारादेवी मानन्धरलाई प्रतिवादी धनिकलालले जारी गरेको भन्ने तथ्ययुक्त आधार नदेखिँदा जारी गरेको भन्ने वादी दावी पुग्न सक्दैन । वादीले प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको ठहर्छ । जारी ठहराएको सिराहा जिल्ला अदालत र सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मनासिब गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार वादी दावी झुठ्ठा ठहरेकाले शुरु सिराहा जिल्ला अदालतका मिति २०३७।११।५ को फैसलाले देहायका प्रतिवादीहरू तथा साक्षीहरूलाई गर्ने गरेको जरिवाना र कैद नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी सिराहा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु....१
जरिवाना कैद
प्रतिवादी अधिकलाल भन्ने धनिकलाल महतो सुडी के १०००।– ।१।
प्रतिवादी तारादेवी मानन्धर के १०००।– ।१।
साक्षी :
मोतीया राय कुर्मी के ५।–
पुगना साहु सुडी के ५।–
सत्यनारायण यादव के ५।–
कमल साहु तेली के ५।–
सतिसला राय कुर्मि के ५।–
शिवशंकर यादव के ५।–
सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चका मिति २०३९।११।१२ का फैसलाले देहायका प्रतिवादीहरूलाई पुनरावेदन गरे बापत देहाय बमोजिम जरिवाना कैद गर्ने गरेकोमा सो जरिवाना कैद नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी सिराहा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.मा लगत दिनु........२
जरिवाना कैद
अधिकलाल भन्ने धनिकलाल सुडीके १००।– ।.।३
तारादेवी मानन्धर के १००।– ।.।३
पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति २०४३।५।४ का फैसलाले देहायका व्यक्तिहरूलाई पुनरावेदन गरेबापत देहाय बमोजिम जरिवाना कैद गर्ने गरेको सो नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी सिराहा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त मा लगत दिनु ............. ३
जरिवाना कैद
अधिकलाल भन्ने महतो धनिकलाल सुडीके ५०।– ।.।२
तारादेवी मानन्धर के ५०।– ।.।२
सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चका फैसलाले देहायका प्रतिवादीहरूलाई जनही रु. १००।– का दरले जरिवाना गरेको सो जरिवाना मिति २०३९।१२।१६ गतेमा र पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलाले जनही रु. ५०।– का दरले गर्ने गरेको जरीवाना २०४३।६।३ मा समेत पूर्वाञ्चल क्षेत्रीय अदालतमा बुझाएको रसीदबाट देखिँदा सो जरिवाना नलाग्ने भएकोले फिर्ता पाउँ भनी देहायका प्रतिवादीहरूको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई निजहरूलाई फिर्ता दिनु भनी सिराहा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु .............४
प्रतिवादी धनिकलाल महतो सुडी के रु. १५०।–
प्रतिवादी तारादेवी मानन्धर के रु. १५०।–
देहायका प्रतिवादीहरूले सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चका फैसलाले जनही कैद दिन ।.।३ र पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलाले जनही कैद दिन ।.।२ गर्ने गरेको सो कैदको क्रमशः रु. ४।५० र रु.३।– का दरले मिति २०३९।१२।१७ र ०४३।६।३ मा पूर्वाञ्चल क्षेत्रीय अदालतमा धरौट राखेको रसीदबाट देखिँदा सो धरौट फिर्ता पाउँ भनी प्रतिवादीहरूको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीहरूलाई देहाय बमोजिम फिर्ता दिनु भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु ................. ५
प्रतिवादी धनिकलाल महतो सुडी के रु. ७।५०
प्रतिवादी तारादेवी मानन्धरनी के रु. ७।५०
सिरहा जिल्ला अदालतका फैसलाले प्रतिवादी अधिकलाल भन्ने धनिकलाल महतोलाई जरिवाना रु. १,०००।– कैद महीना ।१ र प्रतिवादी तारादेवी मानन्धरनीलाई जरिवाना रु. १,०००।– कैद महीना ।१ लाग्ने गरेको सो जरिवाना कैद बापत फौदार सुडीका नाममा दर्ता भएको जि. सि.गा.पं. औरही वडा नं. ८(ख) को कि.नं. ३२ को ज.वि. ०–४–१० चार कठ्ठा दश धुर हिरालाल चौधरी थारुका नाममा दर्ता भएको जि. सि.गा.पं. हनुमान नगर वडा नं. ४ को कि.नं. १८१ को ०–९–० को नौ कठ्ठा जग्गा जेथाजमानीमा रोक्का रहेको सो जग्गा फुकुवा गरिदिनु भनी सिराहा जिल्ला अदालतमा लेखी पठाई दिनु....६,
मिसिल नियम बमेजिम गरी बुझाई दिनु...७
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल मंसीर २८ गते रोज ४ शुभम् ।