निर्णय नं. १११२ - क.ख. विर्ता जग्गा

निर्णय नं. १११२ ने.का.प. २०३४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०३३ सालको दे.वि.नं. ३८
फैसला भएको मिति : २०३४।८।३० मा
निवेदक : गण्डकी अञ्चल गोरखा जिल्ला आदाङ मोहरिया बस्ने भूमिप्रसाद पाण्डे
विरुद्ध
विपक्षी : गण्डकी अञ्चल गोरखा जिल्ला बोलङि बस्ने शिवजङ्ग थापाक्षेत्री समेत
मुद्दा : क.ख. विर्ता जग्गा
(१) जुनसुकै क.ख.विर्ताको झगडा उठाउन पाउने भन्ने नमिल्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा :
आदेश
प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा भूमिप्रसाद पाण्डेको हकमा गणेशप्रसादले श्री ५ महाराजाधिराज सरकारमा दिएको निवेदनमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरिछिनी दिनु निवेदकलाई जनाउँ दिनु भनी हुकुम बक्स भई आए बमोजिम देवानी विविधको लगतमा दर्ता भई इन्साफ जाँची निर्णय गर्न निमित्त पेश भएको रहेछ ।
२. तथ्य यस प्रकार छ : शिवजङ्ग समेतको ज्यादुल सेरा भन्ने खेत मोहियानीमा हक भोग गरी आएको सो जग्गाको मोहियानी हक र थैलीसमेत विषयमा परेको मुद्दा पं.२ नं.गोश्वरामा दायर छ, ९५ सालको लालमोहरहरूबाट क. विर्ताको हुने र सो मुद्दा परिरहेको कुरा केही नदेखाई शिवजङ्ग समेतले आफैले कमाई आएको (ख) विर्ता भनी झुटो कुरा देखाई (ख) विर्ताको विवरण पेश गरेको भन्ने कुरा बुझेकोले सो विर्ता जग्गा ९६ सालदेखि अद्यापि मैले नै भोग चलन गरिरहेको र मैले नै मोहियानी भई कमाएको लालमोहरमा पनि जिन्सि तिरो नभई नगदि नै तिरो ठेकिएको विर्ता उन्मूलन ऐनले त्यस्तो विर्ता जग्गा (क) नै हुने हुँदा पूर्व सु.इन्द्रकुमारीको नरबहादुर पश्चिम उत्तर ज्यादुल खोला सु.इन्द्रकुमारी नरबहादुर गुणप्रतापको दत्तु यति ४ किल्ला भित्रको ज्यादूल खोला सेरो भन्ने खेत मुरी ।६४।४।४को बडसमेत ।८१ को कित्ता १ पूर्व दलबहादुरको मायानाथ पश्चिम गुणप्रतापको लिलानाथ उत्तर गणेशबहादुरको गणेश दत्त ४ किल्ला भित्रको कोकले भन्ने खेत ।१२ को कित्ता १ समेत खेत विपक्षीहरूले (ख) मा दर्ता गरी पाउँ भन्ने विवरण बदर गरी मेरो नाउँमा (क) मा गराई पाउँ भन्ने वा भूमि प्रसादपाण्डेको ०२२।२।७ को निवेदन सनाखत कागज ।
३. उजूरीमा लेखिएको ४ किल्ला भित्रको जग्गा भूमिप्रसादको बाबु डिल्लीरामलाई ९६ सालमा रु.२,०००।मा मोल गर्न घरायसी कपाली तमसुक लेखि दिइराखेको पछि मुद्दा पर्दा ०७ साल फाल्गुण २१ गते मिलापत्र हुँदा रु.२,०००। मा रु.४,०००। निजले माफ दिई याम टायममा बुझाई जग्गा निखनाई पाउने मिलापत्र भएको १४ सालमा निखन्न जाँदा नदिएबाट यसै मालमा धरौट राखेको छ, पछि आय र करको आदेशले निखन्न पाउँ भन्ने मुद्दा हाल पं. २ नं.गोश्वरामा दायरै छ सो जग्गाको मोहियानी खाने निजको सबूद छैन, हाम्रा नाउँमा ख.मा दर्ता हुने जग्गा हुँदा हाम्रो नाउँमा विवरण दिएको हो । ८८ सालको वाजेको नाउँको लालमोहर यसै मालमा छ निजको नाउँमा (क) मा दर्ता हुने जग्गा हैन भए दर्ता बहाली रसिद समेत प्रमाण दिई उजूर गर्नसक्नु पर्ने नसकेको झुटो उजूर गरेको प्रष्ट देखिएको छ । नरबहादुरसँग दपोट मुद्दा परी माटो मुरी ।२२ रैकर काटिएको हाम्रो नाउँमा दर्ता भई रहेकोमा पनि निजले जवरजस्ती भोग गरिरहेको छ, थैली नबुझ्दैमा निजको नाउँमा (क) मा दर्ता हुने नसक्ने भन्ने समेत व्यहोराको शिवजङ्ग समेतको बयान ।
४. वादी दावीको जग्गा ९६ सालदेखि नै वादी समेतले भोग गरिरहेको कुरामा प्रतिवादीहरू सावितै र पछि वादी दावी बमोजिमको जग्गा वादीले मोहियानीमा चलन गरेको मध्यमाञ्चल उच्च अदालतका ०१६।१०।४ का फैसला बमोजिम यी प्रतिवादीहरूले मोहियानी हक बेहकतर्फ नालेश गरी आफ्नो हक गराउन सक्नु पर्ने नगरी चुप लागि म्यादै समाप्त भएको ०२४।४।९ को सर्वोच्च अदालत सिंगल बेञ्चमा आदेश बमोजिम सो जग्गाको थैली समेत प्रतिवादीहरूले बुझाउन पाउने भइरहेकै हुँदा वादी दावी बमोजिमको जग्गा प्र.हरूको नाउँमा (ख) मा दर्ता हुने भन्ने प्र.हरूको जिकिर मुनासिव देखिएन, वादी दावी बमोजिमको जग्गा प्रतिवादीहरूका नाउँमा (ख) मा दर्ता भएको भए पनि वादीका नाउँमा (क) मा दर्ता हुने ठर्हछ भन्ने ०२७।४।२२।५ को गोर्खा जिल्ला अदालतको फैसला ।
५. उक्त जिल्ला अदालतको फैसला उपर चित्त बुझेन भन्ने व्यहोराको शिवजङ्ग थापा समेतको आय र कर अदालतमा परेको पुनरावेदन ।
६. ज्यादुल बगर सेरोखेत र कोकले भन्ने खेत (क) श्रेणीको विर्ता जग्गा कायम गरीपाउँ भन्ने प्रस्तुत मुद्दामा भूमिप्रसाद पाण्डेले वारेसको हैसियतबाट तत्कालिन पं.२ नं.गोश्वरा गोर्खामा शुरु दर्खास्त दिएको देखियो, तर जसको सट्टामा वारेस भई शुरु दर्खास्त विपक्षी भूमिप्रसाद पाण्डेले दिएको हो सो व्यक्तिबाट वारेसनामा गराई गरेको देखिन यसरी वारेसनामा बेगर यो मुद्दा चलेको देखिएकोले गोर्खा जिल्लाअदालतबाट भएको फैसला बदर भई अ.बं.मा १८० नं.बमोजिम खारेज हुनेठर्हछ भन्ने ०२९।१०।८।१को आय र कर अदालतको फैसला ।
७. उक्त फैसला उपर चित्त बुझेन भन्ने समेत व्यहोराको भूमिप्रसाद पाण्डेको वारिस गणेशप्रसाद पाण्डेको पुनरावेदन ।
८. यसमा ०२२ साल जेष्ठ वेगतेको भूमिप्रसाद पाण्डको निवेदनपत्रमा मोहियानी विषयको मुद्दा यसै गोश्वरामा छ भन्ने र निजको ०२२ साल भाद्र ४ गतेको कागजमा मोहियानी क.ख. बारेमा पं.२ नं. गोश्वरामा मुद्दा परिरहेको भन्ने लेखिएको देखिनाले सो क.ख. बारेको मुद्दा छ छैन भए मिसिल पठाई दिनु भनी प्रमुख जिल्ला अधिकारी गोर्खा समेत बुझी पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्चको ०३१।५।२।१ को आदेश ।
९. भूमिप्रसादले दिएको निवेदनमा वा. भन्ने उल्लेख भएको तर निजको गोर्खा मालमा भएको ०२२।५।४ को कागजमा आगे भूमिप्रसाद आगे भन्ने उल्लेख गरी मबाट विवरण लिई मेरो नाउँमा क.मा दर्ता गरी पाउँ भन्ने उल्लेख गरेको देखिएकोले वारेसनामा वेगरको मुद्दा चलेको भन्ने आधार लिई आयकर अदालतबाट खारेज गरेको मिलेको देखिएन, छलफल निमित्त अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षी प्रतिवादीहरूलाई नोटीस म्याद पठाई झिकाई आएपछि वा अघि नागेपछि नियमबमोजिम गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०३१।७।१६।६को यस अदालत सिंगल बेञ्चको आदेश ।
१०. वादी दावी बमोजिम जग्गा वादीहरूले भोग गरेको र मिलापत्र समेतबाट कायम हुन आएको थैली प्रतिवादीहरूले बुझाउन नपाउने भई तह तहबाट निर्णय भइसकेको यस मुद्दाबाट गर्नलाई वादीको दावी नै नभएको हुनाले सो थैलीको नाताले जग्गाको हक बेहकतर्फ भइरहेको मिलापत्र फैसला आदेश बमोजिम हुने हुँदा यस मुद्दाबाट बोल्ने अवस्था परेन । विर्ता उन्मूलन ऐन, २०१६को दफा २ को उपदफाबमोजिम प्रस्तुत मुद्दामा क. श्रेणीको विर्ता वा ख. श्रेणीको विर्ता जग्गा कुनमा पर्छ भन्ने कुरामा दर्ता हुँदाको वखतमा प्रश्न उठेको नदेखिन आई प्रतिवादीहरूकातर्फबाट दाखिल भएका विवरण बमोजिम ऐनद्वारा तोकिएका अधिकारीबाट ख. श्रेणीको विर्ता कायमभै रैकरमा परिणत गरी दर्ता भइसकेको देखिन आएकोले सो दर्ता हुन बाँकी छँदै क श्रेणी वा ख श्रेणी भन्ने प्रश्न उठेको भए तोकिएको अधिकारीबाट कारवाहीले गर्नुपर्ने हुन आउने थियो । तोकिएको अधिकारीले ख श्रेणीको कायम गरी दर्ता गरी सकेपछि पर्न आएको उजूरी लिई माल तथा गोश्वराबाट कारवाही भएको उक्त ऐनले मिल्ने नदेखिएकोले वादी दावी खारेज हुने ठर्हछ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला –
११. निवेदकतर्फका वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा तोकिएको अधिकारीले ख श्रेणीमा दर्ता गरिसकेपछि पर्न आएको उजूरीबाट माल तथा गोश्वराले गरेको कारवाही कानून प्रतिकूल भएको भनी वादी दावी खारेज गर्ने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मिलेको छ छैन ? भनी हेर्नु परेको छ ।
१२. यसमा जग्गा क क्षेणी वा ख श्रेणीको जग्गा हो भनी छुट्याउने सम्बन्धमा विर्ता उन्मूलन ऐन, २०१६ को दफा २ को उपदफा २ मा विर्ता जग्गा हो वा होइन वा कुनै विर्ता जग्गा क श्रेणी वा ख श्रेणी मध्ये कुन श्रेणीको हो भन्ने मुद्दा मामिला तोकिएको अदालतले हेरी निर्णय गर्नेछ भन्ने लेखिएको पाइन्छ । प्रस्तुत मुद्दामा पनि सो ऐन अन्तर्गत भनी भूमिप्रसाद पाण्डेको उजूरी दायर हुन आएको र सो ऐनमा ०२४ सालमा दफा ३ मा भएको संशोधन अनुसार तोकिएको अधिकारीको अधिकार अदालतमा सर्न आएकोबाट प्रस्तुत मुद्दा जिल्ला अदालतमा सर्न आएको देखियो । विर्ता उन्मूलन ऐन, २०१६ को दफा २ को उपदफा २ अन्तर्गत प्रस्तुत मुद्दामा क श्रेणी वा ख श्रेणीको विर्ता जग्गा कुनमा पर्छ भन्ने कुरा दर्ता हुँदाको वखतमा प्रश्न नउठी ऐनद्वारा तोकिएको अधिकारीबाट प्रतिवादीहरूबाट दाखिल भएको विवरण बमोजिम ख. श्रेणीको विर्ता कायम गरी रैकरमा परिणत गरी दर्ता भइसकेपछि निवेदक भूमिप्रसादको उजूरी पर्न आएको देखियो । तोकिएको अधिकारीले दर्ता सम्बन्धी कारवाही गर्दाकै बखतमा निजले प्रश्न उठाएको भए सो विषयमा उक्त ऐनबमोजिम कारवाही गर्नुपर्ने हुन आउँथ्यो । त्यसो नगरी जुनसुकै बेला पनि क र ख विर्ताको झगडा उठाउन पाउने भन्ने मिल्दैन । तसर्थ प्रस्तुत मुद्दामा ऐनबमोजिम तोकिएको अधिकारीबाट ख. श्रेणीमा दर्ता गरिसकेपछि पर्न आएको उजूरीलाई माल तथा गोश्वराबाट लिई कारवाही भएको उक्त ऐनले नमिल्ने भनी वादी दावी खारेज हुने ठहर्याई पश्चिमाञ्चल क्षेत्रीयअदालतबाट भएको इन्साफ मुनासिव ठर्हछ । हुकुमप्रमाङ्गीबाट इन्साफ जाँच हुन आएकोले यसमा केही गर्न परेन, मिसिल नियमबमोजिम बुझाइदिनु ।
मेरो सहमति छ ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३४ साल मंसिर ३० गते रोज शुभम् ।