निर्णय नं. ३९३६ - उत्प्रेषण

निर्णय नं. ३९३६ ने.का.प. २०४६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको रिट नं. १०८९
आदेश भएको मिति : २०४६।६।२।२ मा
निवेदक : बनेपा न.पं. वडा नं. ४ बस्ने सुवर्ण प्रजापती
विरुद्ध
विपक्षी : काभ्रेपलाञ्चोक जिल्ला अदालतसमेत
विषय : उत्प्रेषण
§ कानुन बमोजिम लेखापढीको काम गर्ने दायित्व लिएका प्रमाणपत्रवालाले झुठ्ठा मानिस खडा गरी लिखत तयार गरेको काम कारवाइलाई कानुन व्यवसायी नियमावली, २०२५ को नियम २७ अनुकूलको आचरण मान्न नसकिने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य, विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत रही पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।
२. माया तामाङनीले रु. ५,०००।– मा निज नाम दर्ताको जग्गा बिक्री गर्नु भनी खडा गरेको लिखतमा साहु असामीको सनाखत गराउँदा खास माया तामाङनी नआई काभ्रे गा.पं. वार्ड नं. ३ बस्ने माहिली तामाङनीलाई माया तामाङनी भनी ल्याएको पाइयो, लिखत पारित हुन सकेन । उक्त लिखत लेख्ने प्रमाणपत्रवाला सुवर्ण प्रजापतीले यो भूमिका बनाई नक्कली मानिस खडा गरिएको बुझिएको निज भागी गए । निजमाथि आवश्यक कारवाई गरिपाउँ भनी मालपोत कार्यालयबाट जिल्ला अदालतमा लेखिएको रहेछ । सोही आधारमा मेरो नाउँमा काटिएको म्यादभित्र हाजिर भई मैले फरजरी गरेको होइन भन्ने समेत व्यहोराको बयान लेखाए । यसै बीचमा मैले आफ्नो आचरण अनुरुप कार्य नगरेको भनी कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ बमोजिम मेरो प्रमाणपत्र खारेज गरिएको निर्णय भयो । मेरो पेशा अनुसार मलाई पूर्व चिनजान नभएका व्यक्तिहरूले राजीनामा लेखिदेउ भनेकाले लेखिदिएको सम्म हुँ । मैले मानिस नचिनेको हुँदा फरक परेकोमा मलाई आरोप लाग्न पर्ने होइन । सो बमोजिम मालपोत कार्यालयको पत्रलाई अदालतले मान्यता दिन मिल्ने होइन । यस सम्बन्धमा बार एशोसियसनको प्रतिवेदन आपत्तिजनक छ । माहिली तामाङको मिति २०४५।६।६ को मालपोत कार्यालयमा भएको बयान कागजमा मेरो नाम उल्लेख छैन । सो कागज मेरो विरुद्ध प्रमाण ग्राह्य छैन । म लिखत छाडी भागेको हैन छैन, तसर्थ मेरो आचरण अनुकूल नभएको भनी जिल्ला अदालतबाट भएको आदेश कानुन प्रतिकूल हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी मैले प्राप्त गरेको प्रमाणपत्र यथावत कायम राखी हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन ।
३. यस्मा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
४. धनी लालबहादुर योन्जनलाई ऋणी, माया तामाङनीले रु. ५,०००।– निजको नाम दर्ताको जग्गा बिक्री गर्न भनी लिखत खडा गरी पास गर्न ल्याएका, लिखतमा साहु असामीको सनाखत गराउँदा खास माया तामाङनी नआई माइली तामाङनीलाई खडा गरेको पाइयो र लिखत पारित हुन आएन । सोधपुछ गर्दा लेखनदास लगायतका व्यक्तिहरू भागी गए । यस्मा लेखनदासको ठुलो भूमिका देखिन आएकोले आवश्यक कारवाईको लागि अदालत समक्ष लेखिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालयबाट प्राप्त लिखितजवाफ ।
५. लिखत पारितको क्रममा झुठ्ठा मानिस खडा गरेको भनी सम्बन्धित मालपोत कार्यालयबाट निवेदक उपर कारवाई हुन् भनी लेखी आएको, सो को आधारमा निवेदकलाई बुझ्दा निवेदकको बयानबाट निजको आचरण अनुकूल कार्य गरेको देखिन नआउँदा निवेदकले प्राप्त गरेको प्रमाणपत्र कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ बमोजिम खारेज गर्ने गरी आदेश भएकोले रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जिल्ला अदालतबाट प्राप्त लिखितजवाफ ।
६. निवेदकले माइली तामाङनीलाई माया तामाङनी बनाई राजीनामा कागज तयार पारी रजिष्ट्रेशन गराउने क्रममा मानिस सनाखत गराउँदा नक्कली मानिस खडा गरेको प्रमाणित हुन आएको आधारमा निवेदकले आचरण अनुकूलको कार्य नगरेको भनी जिल्ला अदालतबाट निवेदकले प्राप्त गरेको प्रमाणपत्र रद्द गरिने आदेश भएको हो । कानुन बमोजिम भएको आदेश बदर हुनसक्ने अवस्था नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको वार एशोसियसन तर्फबाट प्राप्त लिखितजवाफ ।
७. नियम बमोजिम पेश हुन आएकोमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले र विपक्षी बार एशोसियसनको तर्फबाट विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्यले र विपक्षी अदालत समेतबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नु भएको बहस जिकिर समेत समेत सुनियो ।
८. निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने विषयमा निर्णय दिन पर्ने हुन आयो ।
९. निर्णयतर्फ हेर्दा, यस्मा निवेदकले लेखेको राजीनामा कागजमा माइली तामाङनीलाई माया तामाङनीको ठाउँमा सनाखत गराएको कुरालाई निवेदकले अन्यथा प्रमाणित गर्न सकेको देखिँदैन । माइली तामाङनीको बयानबाट पनि माया तामाङनीको सनाखत हुनसकेको पाइँदैन । अकलबहादुरको बयानबाट सो राजीनामा निवेदकले नै तयार पारेको कुरामा विवाद पनि रहेन । तयार भएको राजीनामा कागज आफूले तयार गरेको होइन भन्न यी निवेदकले सकेको देखिँदैन । कानुन बमोजिम लेखापढीको काम गर्ने दायित्व लिएका प्रमाणपत्रवाला यी निवेदकले झुठ्ठा मानिस खडा गरी लिखत तयार गरेको काम कारवाईलाई कानुन व्यवसायी नियमावली, २०२५ को नियम २७ अनुकूलको निवेदकको आचरण मान्न सकिएन । अतः निवेदकले तयार गरेको लिखतमा लेखिएका मानिसहरू सनाखत गराउँदा झुठ्ठा देखिन आएकोले निवेदकले आफ्नो व्यवसाय अनुकूलको आचरण नगरेको देखिँदा सोही आधारमा निवेदकले प्राप्त गरेको लेखनदासको प्रमाणपत्र कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ बमोजिम रद्द गर्ने गरेको जिल्ला अदालतको आदेश कानुनसंगत नै हुँदा निवेदक माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल आश्विन २ गते रोज २ शुभम् ।