निर्णय नं. ३९३८ - परमादेश

निर्णय नं. ३९३८ ने.का.प. २०४६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४५ सालको रिट नम्बर ११०३
आदेश भएको मिति : २०४६।९।१६।१ मा
निवेदक : का.न.पं. वडा नं. ९ सिनामंगल बस्ने विष्णुबहादुर थापा
विरुद्ध
प्रत्यर्थी : नेपाल विद्यतु प्राधिकरण केन्द्रीय कार्यालयसमेत
विषय : परमादेश
§ निवेदकलाई जग्गा प्राप्त गर्ने कानुनी व्यवस्था बमोजिम सूचना जानकारी दिएको भन्ने पनि देखिन आएन तसर्थ निवेदकलाई असर पर्ने गरी कानुन प्रतिकूल विजुलीको तार निवेदकको जग्गा माथि पर्ने गरी लगेको देखिन आएकोले निवेदकको जग्गामा असर नपर्ने गरी सो तार निवेदकको जग्गाबाट सारी दिनु भनी परमादेशको आदेश जारी हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री देवेन्द्र थापा
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री अम्वरप्रसाद पन्त
आदेश
न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. काभ्रे जिल्ला बनेपा धर्मश्वर गा.पं. वार्ड नं. ८ को कि.नं. १३० को खेत दोयम क्षेत्रफल ४–१०–० जग्गा मेरो दर्ता तिरो भोग स्वामित्व भएको जग्गा हो मेरो सम्पत्तिको नाममा उक्त जग्गा बाहेक अन्यत्र कहीं कतै सम्पत्ति छैन विपक्षी प्राधिकरणले विजुलीको लठ्ठा गाड्ने र तार राख्ने क्रममा मेरो जग्गामा कुनै सिमाङ्कन नै भएको थिएन तर अन्यत्रको सिमाङ्कनलाई जग्गाधनीहरूसंगको मिलोमतोबाट मेरो जग्गामा सारेछन् मेरो जग्गामा लठ्ठा परेको कुरा मलाई थाहा जानकारी सूचना दिइएन । छुट्टिको दिन आफ्नो जग्गामा खेती कमाई गर्न जाँदा मात्र बाली विरुवा नास गरी धमाधम खाडल खन्दै रहेछन् । खाडल खन्ने व्यक्तिहरूलाई सोधपुछ गर्दा विपक्षी प्राधिकरणले बिजुलीको लठ्ठा गाड्न भनेबाट निजहरूलाई काम रोक्न लगाई सम्बन्धित व्यक्तिलाई मेरो जग्गामा बिजुलीको हाइटेन्सन लाइन नपार्ने र बाली नास गरी नदिन समेतको लागि अनुरोध गर्दा मेरो अनुरोध प्रति कुनै सुनुवार्ई नै नगरी धमाधम कार्य सञ्चालन गर्न लागे खम्बा गाड्दा कसैलाई असर नपर्ने गरी सार्वजनिक बाटोमा खम्बा गाडे हुन्छ यदि मेरो जग्गामा खम्बा राख्नु पर्ने अवस्था आएछ भने पनि जग्गाको सीमानामा पनि पारी राखी दिनुस भन्दा कुनै सुनुवार्ई नै भएन विपक्षीहरूको उपरोक्त अन्यायपूर्ण कार्यहरू रोक्नको लागि श्री महाप्रबन्धक नेपाल विद्युत प्राधिकरणमा निवेदन दर्ता गराई म माथि हुन लागेको अन्याय रोक्नको लागि बारम्बार धाई ताकेता गर्दा म विचार गरिदिन्छु र तिमी जस्तो सेवक र गरीवको घरबास उठाउने छैन भनी आश्वासन दिई कारवाही रोकी आएको थियो । तर केही दिन देखि पुनः तार तान्ने लठ्ठा गाड्ने कार्य शुरु हुन लागेको छ । नागरिक अधिकार ऐन, २०१२ तथा नेपालको संविधान धारा १०, १५ ले समेत निवेदकको सम्पत्ति हरण गर्न नपाइने व्यवस्था गरेको छ । विपक्षी प्राधिकरणले मेरो जग्गामा हाइटेन्सनको तार लान र खम्बा गाड्नको लागि मलाई सूचना दिने र मेरो सम्पत्तिको हर्जना वा क्षतिपूर्ति दिने कुनै कार्य गरेको छैन अतः विपक्षीहरूको नाममा सकभर उक्त खम्बा सार्वजनिक जग्गामा सार्न लगाई पाउँ यदि नभए पनि सीमानाबाट खम्बा सारी त्रिकोण नबनाई घरबाससम्म गरी बस्न मिल्ने गरी खम्बा राख्नको लागि विपक्षीहरूका नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ साथै २०४५ मार्ग मसान्त भित्रमा खम्बा गाडी तार तानी सक्ने भनी विपक्षीहरूबाट कार्य हुन लागेको हुँदा प्रस्तुत निवेदनमा अन्तरीम आदेश जारी नभएकोमा रिटको कुनै प्रयोजन नुहने हुँदा स.अ. नियमावलीको नियम ५८(३) बमोजिम निवेदनपत्रको अन्तिम निर्णय नभएसम्म अन्तरीम आदेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
३. यस्मा के–कसो भएको हो प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाई आएपछि साथै अन्तरीम आदेशको छलफलको लागि जनाउ दिई पेश गर्न भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको २०४५।८।२८ को आदेश ।
४. प्रस्तुत रिटनिवेदनको अन्तिम किनारा नलागेसम्म विवादित ठाउँमा तार लगाउने कार्य नगर्नु नगराउनु भनी स.अ. नियमावली, २०२१ को नियम ५८(३) बमोजिम अन्तरीम आदेश जारी गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४५।९।२।६ को आदेश ।
५. श्री ५ महाराजाधिराज सरकारको ४४ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा धनेश्वर महादेवस्थान लगायतका क्षेत्रमा बिजुली बत्ती बाल्ने कार्यक्रम सम्बन्धमा स्थानीय उग्रतार गा.पं. काभ्रेपलाञ्चोक जि. पं. सचिवालय र स्थानीय बासीन्दाहरूको माग बमोजिम ग्रामीण विद्युत प्राधिकरण आयोजना अन्तर्गत विद्युत लगिएको र उक्त कार्यक्रमको लक्ष्य अनुसार पौष १४ गते विद्युत बालिएको पनि हो तर त्यस्मा विपक्षीले भने बमोजिम विपक्षीको जग्गा त्रिकोण पारी खम्बा गाडी बसोवास र खेती अयोग्य गरेको छैन र विपक्षीलाई असर नपर्ने गरी काम भएको छ । यदि विपक्षीको जग्गा खम्बा गाडी त्रिकोण पारी घर बनाउन नमिल्ने भएको भए प्राधिकरणले विपक्षीको भनाई बमोजिम सीमानाबाट लैजान सक्ने अवस्था छँदैछ तर त्यस्तो कुनै अवस्था नपरी र घर बनाउन कुनै समस्या नरहेकोले विपक्षीको दावा लाग्न सक्दैन । अन्तरीम आदेश जारी भएको सन्दर्भमा खम्बा गाडी तार तानी सकेको र त्यसबाट विपक्षीको जग्गा त्रिकोण पारी बसोवास र खेती अयोग्य पारेको छैन । सम्पूर्ण काम सम्पन्न भइसकेकोले शुभ–जन्मोत्सवमा बिजुली बत्ति बाल्ने कार्यक्रम प्रारम्भ पनि भइसकेको छ । तसर्थ विपक्षीको कुनै सम्पत्तिको अधिकार हनन् गरेको नहुँदा परमादेश जारी हुनुपर्ने अवस्था छैन, रिट खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी कार्यालयहरूको संयुक्त लिखितजवाफ रहेछ ।
६. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएका प्रस्तुत विषयमा तारेखमा रहेका पक्ष विपक्षीहरूलाई समेत रोहवरमा राखी निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री देवेन्द्र थापा तथा प्रत्यर्थी प्राधिकरणतर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री अम्बरप्रसाद पन्तले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
८. यस्मा विपक्षी प्राधिकरणले बिजुलीको लठ्ठा गाड्ने र तार राख्ने क्रममा अन्यत्र कहीं कतै सम्पत्ति नभई एकमात्र काभ्रे बनेपा धनेश्वर गा.पं. वार्ड नं. ८क. को कि.नं. १३० को ४–१०–० जग्गामा हाइटेन्सन तार लान र खम्बा गाड्नको लागि मलाई कानुन बमोजिम सूचना तथा मेरो सम्पत्तिको हर्जना वा क्षतिपूर्ति दिने किसिमको कुनै कार्य समेत नगरी उक्त जग्गामा त्रिकोण खम्बा दोहोरा लाईन र लठ्ठा राखी सम्पूर्ण जग्गा बिगारी खेती तथा बसोवासको लागि समेत अयोग्य बनाउनको लागि संविधान द्वारा प्रदत्त हकमा हनन् हुन गएकोले परमादेश लगायतका उपयुक्त आदेश जारी गरी विपक्षीहरूको नाममा सकभर उक्त खम्बा सार्वजनिक जग्गामा सार्न लगाई पाउँ भनी नभए पनि सीमानाबाट खम्बा सारी त्रिलोण नबनाई घरवाससम्म गरी बस्न मिल्ने गरी खम्बा राख्नको आदेश पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर ।
९. प्रत्यर्थीहरूको लिखितजवाफ हेर्दा निवेदकले जिकिर लिए बमोजिम विपक्षीको जग्गामा त्रिकोण पारी खम्बा गाडी बसोवास र खेती अयोग्य गरेको नभई निवेदकलाई असर नपार्ने गरी निवेदकको जग्गा माथिबाट हाइटेन्सन लाइन सम्म लगी काम सम्पन्न भइसकेको भन्ने जवाफ दिएको देखिन आयो ।
१०. प्रत्यर्थीहरू तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ताले समेत निवेदकको जग्गामा कुनै विजुलीको तार तथा खम्बा नगाडिएको केवल निवेदकको जग्गा तल पर्ने किसिमबाट हाइटेन्सन लाइन गएको भनी खिचिएको फोटो समेत इजलास समक्ष प्रस्तुत गर्नु भई जिकिर लिनु भएको देखिन आएबाट केवल निवेदकको जग्गा माथिबाट हाइटेन्सन लाइन तानिएको कुरामा विवाद देखिन आएन । अब यस सम्बन्धमा कानुनी व्यवस्था के रहेछ भनी हेर्दा नहर तथा विद्युत र तत्सम्बन्धी जलश्रोत ऐन, २०२४ को दफा ८(१) मा हेर्दा श्री ५ को सरकारले वा श्री ५ को सरकारको पूर्व स्वीकृति लिई अनुमति पत्र पाउने व्यक्तिले अनुमति पत्रमा उल्लेख भए बमोजिम देहायको कुनै प्रयोजनको निमित्त अरुको जग्गा जमीन प्राप्त गर्न सकिन्छ भनी देहाय (६) मा जमीन माथि वा मुनिबाट बिजुलीको तार वा लाइन जडान गर्न वा गर्न लगाउन भन्ने उल्लेख भएको पाइन्छ । त्यसरी श्री ५ को सरकारको पूर्व स्वीकृति लिई वा अनुमति प्राप्त गरी जग्गा प्राप्ती गरेको भन्ने समेत देखिन आएन । साथै निवेदकलाई जग्गा प्राप्त गर्ने कानुनी व्यवस्था बमोजिम सूचना जानकारी दिएको भन्ने पनि देखिन आएन । तसर्थ निवेदकलाई असर पर्ने गरी कानुन प्रतिकूल बिजुलीको तारसम्म निवेदकको जग्गा माथि पर्ने गरी लगेको देखिन आएकोले निवेदकको जग्गामा असर नपर्ने गरी सो तार निवेदकको जग्गाबाट सारी दिनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि यसै आदेशको १ प्रति सम्बन्धित कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल पौष १६ गते रोज १ शुभम् ।