निर्णय नं. १११५ - सम्बन्ध विच्छेद

निर्णय नं. १११५ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको फौं.पु.वे.नं. १२१
फैसला भएको मिति : २०३४।१।१९।५ मा
निवेदक : का.जि. महाराजगञ्ज ब्रह्म कटेज बस्ने मे.ज. ब्रह्मशमशेर ज.ब.रा.
विरुद्ध
विपक्षी : का.जि. चावहिल मैजुबहाल बस्ने माधवीदेवी राणा
मुद्दा : सम्बन्ध विच्छेद
(१) जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिन सक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निर्णय गर्नुपर्ने अवस्था नरहने ।
(प्रकरण नं. १७)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद उपाध्याय
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल तथा विद्वान वरिष्ठ भण्डारी अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यस प्रकार छ : विपक्षीसँग १९९३ साल बैशाखमा विवाह भएको मेरो दोश्रो श्रीमती हुन् पहिलो श्रीमतीतर्फ एक छोरी पैदा भएको विपक्षीतर्फ छोरा छोरी पैदा नभएकोले तेश्रो श्रीमती भारत अलमोडा निवासी सुनिता राजपूतलाई विवाह गरी २ छोरा श्यामशमशेर र हरिशमशेर पैदा भई निज श्रीमती पनि परलोक भइन । विपक्षी ०८ देखि भारतमा बस्ने गरे तापनि खान लाउन महिनावारी दिँदै आएको देहरादूनको जग्गामा या आएकोमा मसँग सहवास त्याग्ने विचार गरी मेरो मञ्जुरी बेगर नेपालको नागरिकता छाडी भारतको विधान सभाको निर्वाचनमा मतदाता भएको मप्रति श्रद्धा नराखी आफ्नो मनोमानीसँग हिंड्ने गरेकोले विपक्षी उपर सम्बन्ध विच्छेद गराई पाउँ भनी भारत जिल्ला न्यायलय देहरादूनमा १९७२ डिसेम्बर तद्नुसार २०२९ साल पौषमा दिएकोमा प्रतिउत्तर दिइसकेपछि विपक्षीले मेरो छोराहरू समेत नदेखाई जाल परिपञ्च रची ल.पु.जि. कुपण्डोलको ठेगानाबाट आधी अंश पाउँ भनी दिएको मुद्दामा प्रतिवादी गरिसकेको छु । भारतमा मैले दिएको सम्बन्ध विच्छेद मुद्दामा निजले प्रतिउत्तर दिएका छन् नेपालको सम्पत्तिलाई नेपालकै कानून अनुसार मुद्दा गर्नुपर्ने भएकाले मेरो उपर अंश मुद्दा दिए पनि निज देहरादूनमा रहे बसेको हुँदा विपक्षीको र मेरो सहवास नभएको, मेरो अनुमति वेगर भारतको नागरिक बनी विधान सभाको निर्वाचनमा भाग लिई मनमानी गरी मुद्दा लगाई दुःख हैरान दिन लागेको हुँदा लोग्ने स्वास्नीको १ नं.को देहाय १ ले विपक्षीसँग सम्बन्ध विच्छेद गरी पाउँ भन्ने समेत मे.ज. ब्रह्मशमशेरको निवेदनपत्र ।
३. सुनिता राजपूतसँग तेस्रो विवाह गरे भन्ने झुटो हो त्यस्तो नाम गरेको व्यक्ति अलमोडामा नभएको म पतिसँग महाराजगञ्जमा बसिरहेको अवस्था मेरो स्वास्थ्य विग्रन गई पतिका सल्लाह र मञ्जूरीले औषधोपचारको लागि भारत जाने गर्दथ्यो, भारत वस्दा बराबर खर्च दिइनै आएको गत साल आश्विनदेखि खर्च वन्द गरी २०३० बैशाखमा खान लाउन नदिई निकाला गरेबाट अंशमा नालेश दिएबाट दुःख दिन यो निवेदन दिएको हो ।
लोग्ने स्वास्नी १ नं.को देहाय १ बमोजिमको प्रकृया मबाट नभए नगरेको हुँदा सम्बन्ध विच्छेद गर्न पाउने होइन भन्ने समेत माधवीदेवी राणाको प्रतिउत्तरपत्र ।
४. सम्बन्ध विच्छेद गराई पाउँ भन्ने वादी दावी झुटो ठर्हछ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने वादी मे.ज.ब्रहशमशेरको बाग्मती अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. लोग्नेसँग सम्बन्ध विच्छेद गर्न मञ्जूर गरेको समेत मिति २०२०।५।२ को लिखतबाट देखिन आउँछ र सो लिखतबाट निज माधवीदेवी राणा पहिले देखिनै लोग्नेबाट अलग बसी आएको भन्ने देखिन आउँछ । यस्तो स्थितिमा लोग्ने स्वास्नीको सम्बन्ध कायम राखी राख्न मनासिव नहुँदा विपक्षी माधवी राणासंगको सम्बन्ध विच्छेद गर्न पाउने हुँदा शुरु का.जि.अ.को फैसला उल्टी हुने ठर्हछ भन्ने समेत बाग्मती अञ्चल अदालतको फैसला ।
७. सो फैसला प्रत्यक्ष कानून त्रुटी रहेको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (३) अनुसार पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी माधवीदेवी राणाको निवेदन परेकोमा, यसमा अ.बं. ७८ नं. .को त्रुटी देखिएको पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको आदेश ।
८. मिति २०२०।५।२ को सक्कल कागज सुनाएकोमा लिफामा खडा गरेको जालसाजी हो भन्ने प्रतिवादी माधवीदेवीको र सद्दे साँचो हो भन्ने वादी मे.ज. ब्रह्मशमशेरको वा. वद्रीबहादुर खड्काको बयान ।
९. मिति २०२०।५।२ को लिखतलाई मञ्जुरीको कागज हो भनी सम्बन्ध विच्छेदको हकमा मान्यता दिन मिल्ने देखिँदैन, त्यसकारण सो कागज सद्दे वा जालसाजी के हो भनी अदालतले बोल्नु पर्ने स्थिति आउँदैन । अतः बाग्मती अञ्चल अदालतले वादी ब्रह्मशमशेर ज.व.रा. ले विपक्षी माधवीदेवीसँग सम्बन्ध विच्छेद गर्न पाउने भनी गरेको निर्णय मिलेको नदेखिँदा उल्टी हुनेठर्हछ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।
१०. सो फैसला सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानून त्रुटी हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत मे.ज. ब्रह्मशमशेर ज.ब.रा. को निवेदन परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा मुलुकी ऐन लोग्ने स्वास्नीको १ नं. को देहाय ३ को समेत प्रत्यक्षतः त्रुटी देखिएको र उक्त त्रुटी सार्वजनिक महत्त्वको समेत देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
११. प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. पुनरावेदककातर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले ०८ साल देखि भारतमा आई बसेको हाम्रो पति पत्नीको सम्बन्ध महत्त्वपूर्ण नभएकोले सम्बन्ध विच्छेद भइरहेको थियो, हाम्रो मञ्जूरीले पति पत्नीको सम्बन्ध मञ्जूरीले विच्छेद गर्ने हस्ताक्षर गरिदियौं भन्ने माधवीदेवी र वादीको बीच ०२०।५।२ मा कागज खडा भएकोबाट अघि देखिनै सम्बन्ध नरही सहवास त्यागी बसेका भन्ने देखिएकोले लोग्ने स्वास्नीका ऐनबमोजिम सम्बन्ध विच्छेद हुनुपर्छ भन्ने र विपक्षी माधवीदेवी राणातर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद उपाध्यायले फिराद व्यहोरामा सम्बन्ध विच्छेदको कागजको कुरा उल्लेख छैन, फिराद दावी लोग्ने स्वास्नीको १ नं. को देहाय (१) अन्तर्गत छ देहाय (३) अन्तर छैन अगाडि नै सम्बन्ध विच्छेद भएको भए घर जग्गा खरीद गरिदिनु र खर्च व्यहोर्न नपर्ने त्यसकारण सम्बन्ध विच्छेद गर्न मञ्जूर पनि छैन सम्बन्ध विच्छेद हुनु नपर्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
१३. विपक्षीसँग १९९३ सालमा विवाह भएको निज २००८ साल देखि भारत वसी मैले खान लाउन नदिई आएको मेरो अनुमति बेगर नेपालको नागरिकता छोडी भारतको विधान सभाको निर्वाचन मतदाता भएका विपक्षी र मेरो सहवास नभएकोले लोग्ने स्वास्नीको नं. १ को देहाय १ ले सम्बन्ध विच्छेद गरी पाउँ भन्ने वादीको मुख्य दावी पतिका सल्लाहबाट स्वास्थ्योपचारको लागि भारतमा बसी आएको खानलाउन महिनावारी पाउँदै गरेको गत साल आश्विनदेखि खर्चहरू वन्द गरी ०३० साल बैशाखमा घरबाट खान लाउन नदिई निकालिदिएबाट अंशमा नालिस गरेकोले दुःख दिन निवेदन दिएको हो, लोग्ने स्वास्नीको १ नं.को देहाय १ को कार्य मबाट भए नगरिएको नहुँदा सम्बन्ध विच्छेद हुनु नपर्ने भन्ने समेत प्रतिवादी जिकिर, मलाई नेपालमा वस्न इच्छा नभई भारतमा २००८ सालदेखि आई बसेको हुँदा हामीहरूको पति पत्नीको सम्बन्ध कुनै महत्त्वपूर्ण देखिएन, उक्त कारणबाट हामीहरूको सम्बन्ध विच्छेद भइरहेको थियो । कागजमा हस्ताक्षर हुन बाँकी थियो । कागज गर्ने दुवैको मञ्जुरी भई पति पत्नीको सम्बन्धलाई मञ्जुरीले विच्छेद गर्ने गरी यो कागजमा आ–आफ्नो हस्ताक्षर गरिदियौं भन्ने समेत वादी प्रतिवादीको बीच मिति २०२०।५।२।१ मा भएको कागज प्रमाणमा मिसिल सामेल रहेको देखियो ।
१४. यसमा २०२०।५।२ को सम्बन्ध विच्छेद गर्न सद्दे वा कीर्ते चलाएपछि सो लिखत सद्दे वा कीर्ते के हो त्यसको ठहर नगरी उक्त लिखतले कति कारणले मान्यता प्राप्त गर्न नसकेको हो त्यसका कानूनी आधार मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख गर्न नसकेको भन्ने र उक्त लिखत प्रमणमा दिएपछि ऐनबमोजिम दावी भएकोमा दावी नभएको भनी मुलुकी ऐन लोग्ने स्वास्नीको १ नं.को देहाय ३ को समेत उक्त अदालतबाट प्रत्यक्षतः त्रुटी भएको भन्ने प्रश्न उपस्थिति गरिएको पाइन्छ ।
१५. उक्त प्रश्नतर्फ हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा सो २०२०।५।२ को लिखत र प्रस्तुत मुद्दाको निवेदनपत्र दायर भएको मिति ०३०।७।६।२ बीच लगभग १० वर्ष २ महिनाको समयको अन्तर रहेको र यस बीच निवेदक ब्रह्मशमशेर ज.ब.रा.ले प्र. माधवीदेवीलाई महिनावारी खर्च खान लाउन पठाइरहेकोमा सावितै र निज ब्रह्मशमशेर ज.ब.रा. र माधवीदेवी दुवैले संयुक्त नाममा भारत देहरादूनमा घर किनेको र ब्रह्म कटेज काठमाडौंमा भएको मिति ०२८।४।१२ को लिखतबाट दुवै विच परस्पर सम्पर्क रही पति पत्नीको बीच कुनै मन मुटाय नभएको नदेखिँदा लोग्ने स्वास्नीको १ नं. को देहाय १ ले निर्देशित गरेको अवस्था विद्यमान भएको नहुँदा मञ्जूरीको २००८ सालदेखि भारतमा बसिआएको भन्ने निवेदन लेखाई युक्तिसंगत देखिएन भन्दै ०२०।५।२ को लिखतलाई मञ्जूरी भनी १० वर्ष पछि अदालतले सम्बन्ध विच्छेद गराउन लोग्ने स्वास्नीको १ नं.को देहाय ३ मा दुवैथरको मञ्जूरभई सम्बन्धविच्छेद गर्नु परेको कारण खोली निवेदन गरी अड्डाबाट निर्णय भएपछि सो निर्णय बमोजिम मात्र सम्बन्ध विच्छेद हुन सक्छ भन्ने व्यवस्था भए अनुरुप दुवैको मञ्जूरी भएको कारण खोली निवेदन दिन पर्ने स्पष्ट कानूनी व्यवस्था भएको घरसारमा १० वर्ष अगाडि सम्बन्ध विच्छेद गर्ने गरी भएको भनिएको लिखतलाई मञ्जुरीको कागज हो भनी सम्बन्ध विच्छेदको हकमा मान्यता दिन मिल्ने देखिँदैन, लोग्ने स्वास्नीको १ नं.को देहाय ३ अन्तर्गत दावी पनि छैन, उक्त लिखत सम्बन्ध विच्छेदको लागि मान्यता प्राप्त नभएपछि जुन लिखतलाई अदालतले मान्यता दिँदैन त्यस्तो लिखतवारे सद्दे वा जालसाजी के हो भनी अदालतले बोल्नु पर्ने स्थिति आउँदैन भन्ने उल्लेख गरेको पाइन्छ ।
१६. एक त फैसलाले लोग्ने स्वास्नीको १ नं.देहाय ३ अनुरुप दुवैको मञ्जूरी भएको कारण खोली निवेदन दिनुपर्ने घरसारमा १० वर्ष अगाडि सम्बन्ध विच्छेद गर्ने गरी भएको भनिएको लिखतलाई मञ्जूरीको कागज भनी मान्यता दिन नमिल्ने लोग्ने स्वास्नी १ नं. को देहाय ३ अन्तर्गत दावी नभएको मान्यता प्राप्त नहुने लिखतलाई सद्दे वा जालसाजी के हो भनी अदालतले बोली रहन नपर्ने भन्ने आधार लिएको देखिन्छ ।
१७. लोग्ने स्वानीको १ नम्बर।मा विवाहवारीको महलको २ नं.को १० दफामा र ४, ५, ७ र ८ नं.मा लेखिएको र देहायको अवस्थामाबाहेक लोग्नेस्वास्नीे सम्बन्ध विच्छेद हुन सक्दैन । त्यस्तो अवस्था परी सम्बन्ध विच्छेद गर्नु परेमा पनि कारण खोली निवेदन गरी अड्डाबाट निर्णय भएपछि सो निर्णय भएपछि सो निर्णय बमोजिम मात्र सम्बन्ध विच्छेद हुन सक्छ भन्न लेखिएको देखिन्छ । यसबाट सो अनुसार सम्बन्ध विच्छेद गर्नको लागि कारण खोली अड्डामा निवेदन गर्नुपर्ने अड्डाको निर्णयबाट सम्बन्ध विच्छेद हुन सक्ने व्यवस्था गरेको पाइन्छ । उक्त ऐनको देहाय ३ मा दुवैथरीको मञ्जूरी भएमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न हुन्छ भन्ने लेखिएको पाइन्छ । उक्त ऐनमा दुवैथरीको मञ्जूरी भएमा भन्ने वाक्यांश रहेको पाइन्छ । उक्त वाक्यांशको के कस्तो अभिप्राय हो भन्ने कुरा जान्नको लागि उक्त दफा १ को परिप्रक्षमा हुनुपर्ने हुन आउँछ, उक्त दफा १ ले अड्डामा निवेदन दिनुपर्ने अड्डाले निर्णय गर्ने भन्ने लेखिएकोबाट दुवैथरीको मञ्जुरी अड्डा समक्ष हुनुपर्ने प्रष्ट छ । अड्डाले दुवै पक्षको मञ्जूरी भएको हो होइन भनी एकिन गरी मात्र उक्त देहाय ३ अन्तर्गत सम्बन्ध विच्छेद गर्ने निर्णय गर्नुपर्ने देखिन आउँछ, पुनरावेदकले दाखिल गरेको उक्त ०२०।५।२ को मञ्जुरीको लिखत भनेकोलाई अड्डा समक्ष प्रतिवादी माधवीदेवीले बयान गर्दा जानीबुझी सम्बन्ध विच्छेद कागजमा सहीछाप गरेको होइन भनेको र प्रतिवादीमा पनि सम्बन्ध विच्छेद गर्ने मनसुवा नभएको लोग्ने स्वास्नीको १ नं. को देहाय १ को कार्यहरू मबाट गरिएको नहुँदा झुटो दावाबाट फुर्सद पाउँ भन्ने समेत लेखिएको देखिन आउँछ । यसबाट सम्बन्ध विच्छेद गर्न दुवैथरीको अदालत समक्ष मञ्जूरी रहेको देखिन आउँदैन, यस्तोमा उक्त २०२०।५।२ को लिखतलाई दुवैथरीको मञ्जूरीको कागज हो भनी अदालतले प्रमाणमा लिन सक्ने अवस्था रहेन । सो लिखतको आधारमा लोग्ने स्वास्नीको १ नं. को देहाय ३ बमोजिम भनी सम्बन्ध विच्छेद गराउन मिल्ने देखिएन । जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिनसक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निरोपण गर्नुपर्ने अवस्था रहँदैन । तसर्थ, सो कागजलाई प्रमाण मान्न नमिल्ने भनी र सद्दे वा जालसाजी के हो भनी निर्णय गर्न नपर्ने भनी म.क्षे.अ.ले निर्णय गरेको कानूनसंगत नै देखिन आउँछ ।
१८. लोग्ने स्वास्नीको १ नं. को देहाय १ बमोजिम प्रतिवादीले लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि छोडी अलग बसेको भन्ने कुरा मिसिल प्रमाणबाट प्रमाणित हुन नआएको भनी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले आधार देखाई निर्णय गरेको देखिन्छ । सो आधार नमिलेको भन्न सकिने अवस्था नहुँदा बाग्मती अञ्चल अदालतले वादी ब्रह्मशमशेर ज.ब.रा.ले विपक्षी माधवीदेवीसँग सम्बन्ध विच्छेद गर्न पाउने भनी गरेको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव छ । पुनरावेदक मे.ज.ब्रह्मशमशेर ज.ब.रा. के पुनरावेदन गरे वापत शुरु जरिवाना रु.५। को अ.बं. २०३ नं. बमोजिम दशौंद रु.।५० पचास पैसा जरिवाना हुन्छ, वारेस भई बेरुजू हुँदा ऐनबमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिई मिसिल नियमबमोजिम बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल फाल्गुण १९ गते रोज ५ शुभम् ।