निर्णय नं. ३९३९ - अपुताली हक कायम दर्ता समेत

निर्णय नं. ३९३९ ने.का.प. २०४६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको दे.पु.नं. ६६९
फैसला भएको मिति : २०४६।८।१८।१ मा
पुनरावेदक/वादी : जिल्ला बारा, गा.पं. रोवाही वडा नं. ३ बस्ने गिरीजादेवी अहिरनी
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.धर्मनगर गा.पं. वडा नं. २ बस्ने विन्दवा अहिरनी
मुद्दा : अपुताली हक कायम दर्ता समेत
§ अपुतालीको २ नं. को व्यवस्थाले २ वा २ भन्दा बढी छोरी भएको अवस्थामा मर्ने व्यक्तिलाई स्याहार सम्भार गरी पालेको आधारमा त्यस्ता पाल्ने छोरीले मात्र एकलौटी अपुताली खान पाउने भन्ने नदेखिने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
न्या. बब्बरप्रसाद सिंह : यस्मा म.क्षे.अ. को मिति २०४४।३।२४ को निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको वादीको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छन् ।
२. पिता सिउनारायणको छोरा नभई म समेत जना ४ छोरी भएको पिता धेरै वर्ष अघि परलोक भई माता रामकलीदेवी पत्नी भए तापनि चारै छोरीहरूले पालै पालो रेखदेख पालन पोषण गर्दै आएका जेठी दिदी र माहिली दिदीको सम्पत्ति धेरै भई परिवार पनि भएकोले आमाको सेवा टहल गर्न असमर्थ भई विपक्षी र मैले आलो पालो सेवा टहल गर्दै आएकोमा यही २०३७ साल वैशाख १० गतेका दिन रामकलीदेवी आफ्नो कालगतीले परलोक हुनु भएको र निज रामकलीका नाउँमा दर्ता रहेको घर जग्गाहरूबाट आधि हक मेरो हुनेमा नदिएकोले रामकलीदेवीका नाउँको रु. १०,०००।– जाने ज.वि. १३–१२–० पक्की घरको कोठा ८ मध्येबाट आधि मेरो अपुताली हक कायम गराई विपक्षीबाट टण्टा खिचोला छोडाई अड्डैबाट दा.खा. चलन गराई अपुताली हकको जग्गा मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको २०३९।९।२६।२ को फिरादपत्र ।
३. आमालाई छातीको अचानक दर्द हुँदा २०३६।१।१४ मा कलैया अस्पतालमा भर्ना गराएको ४८ घण्टामा निज स्वर्गवास हुनु भएबाट २०३६।१।१६ मा अस्पतालबाट निकालियो, अपुतालीको २० नं. को हदम्याद नाघी दायर भएको नालेश खारेज भागी छ भन्ने समेत व्यहोराको २०४०।५।२० को प्रतिउत्तर ।
४. वादी दावी बमोजिम वादीको हक कायम भई निजका नाउँमा दर्ता हुने र चलन समेत चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।१०।२०।६ को बारा जिल्ला अदालतबाट भएको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन छानबीन गरी हदम्याद यकिन गरी शुरुको इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको विन्दवादेवी अहिरनीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. अपुतालीको २० नं. बमोजिम रामकलीको मृत्यु भएको ३ वर्षभित्र वादीको उजूर नभई म्याद नाघेपछि पर्न आएको प्रस्तुत उजूरी उक्त ऐन र अ.बं. १८० नं. समेतले प्रस्तुत उजूरी खारेज भई शुरुको फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ. को फैसला ।
७. ना.अं.अ. को फैसलामा प्रत्यक्षतः विवाद रहित त्रुटि भएकोले म्यादभित्रै निवेदन गर्न आएको छु । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गिरीजादेवी अहिरनीको म.क्षे. अदालतमा परेको निवेदन ।
८. रामकलीको मृत्यु सम्बन्धमा पन्जिकाधिकारीले प्रमाणित गरिदिएको प्रमाणपत्रको आधारमा म्याद कायम गरी प्रस्तुत नालेश दर्ता गरिदिएको देखिन्छ । त्यस्तो प्रमाणपत्र जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा ९ ले प्रमाण योग्य देखिनेमा अमान्य हुने गरी ना.अं.अ. बाट नालिस खारेज गरिएको कानुनसंगत भएन कानुनी त्रुटिपूर्ण देखिन आयो । तसर्थ माग बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४२।८।३० को म.क्षे. अदालतको आदेश ।
९. शुरु अदालतको फैसला बदर भई प्रस्तुत मुद्दाको फिराद अपुतालीको २० नं. को म्याद ३ वर्ष नाघी दायर हुन आएको देखिँदा खारेज हुने ठहराएको नारायणी अञ्चल अदालतको फैसला मिलेकै देखिँदा परिवर्तन गरी रहन परेन । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने व्यहोरा समेतको म.क्षे.अ. को मिति २०४४।३।२४ गतेको फैसला ।
१०. म.क्षे.अ. को मिति २०४४।३।२४ को फैसला उपर चित्त बुझेन न्या. प्र.सु. (चौथो संशोधन) ऐन, २०४३ को दफा १३ को उपदफा ५ को (ख) र (ग) को आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी गिरीजादेवी अहिरनीको यस अदालतमा मिति २०४४।६।२५ मा परेको निवेदनपत्र ।
११. प्रस्तुत मुद्दामा मृतक निवेदिकाहरूको आमा रामकलीदेवीको मृत्यु भएपछि निजको नाउँमा रहेको विवादित सम्पत्तिको नामसारी भएको देखिएन । निवेदिकाले दावीमा उल्लेख गरेको निज आमाको मृत्यु सम्बन्धमा पन्जिकाधिकारीले प्रमाणित गरिदिएको प्रमाणपत्रको आधारमा म्याद कायम गरी फिराद परेको देखिन्छ । मुलुकी ऐन अपुतालीको २० नं. बमोजिमको हदम्याद भित्र फिराद दायर भएको अवस्थामा त्यस्तो प्रमाणपत्र जन्म मृत्यु तथा व्यक्तिगत घटना दर्ता ऐन, २०३३ को दफा ९ ले प्रमाणमा लिन मिल्ने देखिने हुँदा त्यस्तो प्रमाणको मूल्याङ्कन नगरी आएको म.क्षे.अ.को २०४४।३।२४ को फैसलामा अ.बं. १८४ नं. को कानुनी त्रुटि भई न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।७।२० को आदेश ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिलका कागजात अध्ययन गरी हेरी पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले गर्नु भएको बहस जिकिर समेत सुनियो । यस्मा नारायणी अञ्चल अदालतले वादी दावी खारेज गर्ने गरेको फैसला सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
१३. निर्णयतर्फ विचार गर्दा यस्मा पिता सिउनारायणको छोरा नभई म समेत ४ जना छोरीहरूले पालै पालो रेखदेख पालन पोषण गर्दै आएकोमा मिति २०३७।१।१० मा आमा कालगतीले परलोक हुनु भएको दिदी विश्वसिया र कैलसियादेवीले अपुताली सम्पत्ति नलिने हुँदा आमा रामकलीका नाउँमा दर्ता घर जग्गामा मेरो र प्रतिवादीको आधा आधा अपुताली हक कायम हुने भएबाट आधा मेरो अपुताली हक कायम गराई अड्डैबाट दा.खा. गराई मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने वादी दावी र आमा रामकलीको मिति २०३६।१।१६ मा मृत्यु भएको हो वादीले अपुतालीका २० नं. को हदम्याद ३ वर्ष नघाई मिति २०३९।९।२६ मा दायर गरेको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मुख्य प्रतिउत्तर जिकिर भई चल्दै आएको प्रस्तुत मुद्दामा वादी गिरीजादेवी अहिरनी र प्रतिवादी विन्दवा अहिरनी दुवै मर्ने रामकलीदेवीका छोरी हुन् भन्ने कुरा मिसिल प्रमाणबाट देखिनुका साथै म.क्षे.अ. को फैसलामा समेत दुवै बहिनीलाई रामकलीदेवीको अपुताली खान पाउने हकदारको रुपमा स्वीकार गरिएको पाइन्छ । शुरु बारा जि. अ. बाट वादी दावी पुग्ने ठहराएको फैसलालाई उल्टी गरी नारायणी अञ्चल अदालतले रामकलीदेवीको मिति २०३६।१।१६ मा मृत्यु भएको मानी सोही मितिले अपुतालीको २० नं. को ३ वर्ष हदम्याद नाघी परेको फिराद खारेज हुन्छ भनी गरेको फैसला म.क्षे.अ. बाट समेत सदर भएको र वादी उजूरी अपुतालीको २० नं. का हदम्याद भित्रको नभएकोले वादी दावी खारेज हुनुपर्ने भन्ने प्रतिउत्तर जिकिर समेत भएकोमा वादीको फिराद हदम्याद भित्र परे नपरेको के रहेछ भनी हेरिएमा वादीले पन्जिकाधिकारीबाट प्रमाणित गरी लिएको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेखित मर्ने रामकलीदेवीको मृत्यु भएको मिति २०३७।१।१० का मितिले अपुतालीको २० नं. को ३ वर्ष हदम्याद भित्र फिराद दायर गरेको देखिन्छ । जन्म मृत्यु तथा व्यक्तिगत घटना दर्ता ऐन, २०३३ को दफा ९ ले पन्जिकाधिकारीले प्रमाणित गरिदिएको मृत्यु दर्ता प्रमाणलाई मुद्दामा प्रमाण लिन मिल्ने नै भएबाट अन्यथा ठोस रुपमा प्रमाणित नभएसम्म मृत्यु दर्ताको प्रमाणपत्रमा उल्लेखित मृत्युको मितिलाई नै आधिकारिक एवं प्रमाणिक मान्नु पर्ने र वादीले पेश गरेको उक्त मृत्यु दर्ता प्रमाणलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न नसकेको हुँदा अन्य ठोस प्रमाणबाट समर्थन हुन नसकेका प्रतिवादी जिकिरमा उल्लेखित कलैया अस्पतालको बिरामी भर्ना लिस्ट, डिस्चार्ज रजिष्टर समेतका कागजलाई आधार लिई रामकलीदेवीको मृत्यु मिति २०३६।१।१६ मा नै भएको मानी फिराद दावी अपुतालीको २० नं. को हदम्याद नाघी परेको भनी मान्न सकिने अवस्था भएन भने अर्कोतर्फ वादी प्रतिवादीको आमा रामकलीदेवीको मृत्यु भएपछि निजका नाउँमा रहेको घर जग्गा जमीन समेतका अचल सम्पत्ति अपुताली खान पाउने कसैका नाउँमा पनि नामसारी दा.खा. भई गएको र प्रतिवादीले आफ्नो नाउँमा दर्ता गराएको छु भनी भन्न सकेको मिसिल प्रमाणबाट देखिन नआएको अवस्थामा विवादित सम्पत्तिमा वादीको अपुताली हक हदम्याद नाघेको आधारमा समाप्त हुने भनी भन्न मिल्ने देखिँदैन । उपर्युक्त बुँदाकै आधारमा वादीलाई पुनरावेदन गर्ने अनुमति समेत प्रदान गरिएको प्रस्तुत मुद्दामा अपुताली हक बेहकतर्फ इन्साफ नगरी हदम्याद नाघेको फिराद खारेज हुने भनी गरेको नारायणी अञ्चल अदालतको फैसला सदर गरेको म.अ.क्षे.अ. को निर्णयसंग सहमत हुन सकिएन । अब विवादको सम्पत्तिमा वादीको अपुताली हक कायम हुने नहुनेतर्फ हेरिएमा मर्ने रामकली देवीलाई स्याहार सम्भार गरी पालेको कुरामा वादी प्रतिवादी बीच मुख नमिलेको र स्याहार सम्भार गरी पालेको कुरालाई नै अपुताली हक पाउने आधार पारेको पाइन्छ । प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले मुलुकी ऐन अपुतालीको ३ नं. मा “भिन्न भई बसेका लोग्ने, स्वास्नी, छोरा वा छोरीका छोराले हेरचाह नगरी छोरा वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु आमा वा सासू ससुराको अपुताली पाल्ने छोरी वा छोरी ज्वाईले पाउँछन् । अरु हकदारले पाउँदैन” भन्ने प्रावधान भएको र प्रतिवादी विन्दवा अहिरनीले नै मर्ने आमा रामकलीदेवीलाई स्याहार सम्भार गरी पालेको हुँदा विवादित अपुताली सम्पत्ति निज प्रतिवादीले मात्र एकलौटी पाउनु पर्छ भनी बहस जिकिर प्रस्तुत गर्नु भएकोमा प्रस्तुत मुद्दामा विवादित सम्पत्ति भिन्न बसेको लोग्ने, छोरा वा छोरीको छोरा र छोरी मध्ये कस्ले पाउने भन्ने विवाद नभई मर्ने रामकलीका छोरी वादी प्रतिवादी मध्ये कस्को अपुताली हक कायम हुने भन्ने प्रश्न विद्यमान रहेको र अपुतालीका ३ नं. ले मर्नेका लोग्ने, स्वास्नी छोरा वा छोराको छोरा जीवत हुँदा हुँदै पनि निजले हेरचाह नगरेबाट छोरी वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने पाल्ने छोरी वा छोरी ज्वाईले अपुताली खान पाउने भन्ने व्यवस्था गरेकोबाट यस मुद्दामा अपुतालीको ३ नं. आकर्षित हुन सक्ने देखिएन । मर्ने रामकलीदेवीको लोग्ने पहिले नै मरी सकेका छोरा र छोराको छोरा नभई ४ जना छोरीहरू मात्र जिवित रहेको अवस्थामा कुन चाहीं छोरीले अपुताली पाउने हो भन्ने सम्बन्धमा विचार गर्दा अपुतालीको २ नं. मा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरू मध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएको वा पोईल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ” भन्ने उल्लेख भएकोबाट प्रस्तुत मुद्दामा मर्ने रामकलीदेवीका नाउँको घर जग्गा जमीन समेतको सम्पत्तिमा निजका छोरीहरूको स्वतः अपुताली हक सिर्जना हुने देखिन्छ । उक्त २ नं. को व्यवस्थाले २ वा २ भन्दा बढी छोरी भएको अवस्थामा मर्ने व्यक्तिलाई स्याहार सम्भार गरी पालेको आधारमा त्यस्ता पाल्ने छोरीले मात्र एकलौटी अपुताली खान पाउने भन्ने देखिँदैन ।
१४. अतः छोरीले अपुताली पाउन सक्ने अवस्थामा कन्या छोरीले २ खण्ड र विवाह भएका वा पोइल गएकाले १ खण्डको हिसाबले अपुताली पाउने भएबाट प्रस्तुत मुद्दामा मर्ने रामकलीदेवीका चारै जना छोरीको विवाह भइसकेको हुँदा सबैले बराबर अपुताली हक पाउने हुन् की भन्नलाई जेठी विश्वसियाको अपुताली हक कायमतर्फ उजूरी नै पर्न आएको नदेखिएको र नारायणी अञ्चल अदालतबाट अ.बं. १३९ नं. बमोजिम बुझिई तारेखमा समेत रहेकी कैलसियादेवीले अपुताली हक बेहकमा बोली फिराद दावी खारेज गर्ने गरेको नारायणी अञ्चल अदालतको फैसला उपर क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति समेत माग नगरी चुप लागी बसेको देखिएबाट निजहरूको अपुताली हक बेहकतर्फ हेरी बोल्नु पर्ने नहुँदा अपुताली हक कायम उजूरी गर्ने गिरिजादेवी अहिरनीको आमा रामकलीदेवीका नाउँमा रहेको सम्पूर्ण घर जग्गा जमीनमा आधा अपुताली हक कायम हुने ठहराई गरेको सम्म शुरु बारा जि. अ. को फैसला मनासिब हुँदा फिराद दावी खारेज गर्ने गरेको नारायणी अञ्चल अदालतको फैसला सदर गरेको म.क्षे.अ. को इन्साफ मिलेको नभई उल्टी हुने ठहर्छ सो ठहर्नाले अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम गरी वादी गिरिजादेवी अहिरनीको मर्ने रामकलीदेवीका नाउँमा रहेको सम्पत्तिमा आधा अपुताली हक कायम हुने ठहरी फैसला भएकोले रामकलीदेवीका नाउँमा दर्ता निम्न उल्लेखित घर जग्गा जमीनबाट आधा वादी गिरीजादेवी अहिरनीका नाउँमा दर्ता नामसारी गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनलाई का.जि. अ.त मार्फत शुरु बारा जि. अ. मा लगत दिनु ...१
फिरादीले फिरादमा लेखेका देहायका घर जग्गाहरू
गा.पं. वार्ड नं. कि.नं. क्षेत्रफल
धर्मनगर १ ३ ०–५–१५
” ८ ०–५–५
” १० ०–९–१५
” १६ ०–२–०
” ५५ ०–७–५
” १०० ०–४–१०
” १४० ०–५–१०
२ १४१ ०–६–०
३ ९ ०–३–१५
” ११ ०–३–१५
” ३८ ०–३–१५
” १२१ ०–२–५
” १२७ ०–७–१०
” १३२ ०–१८–०
” १४२ ०–७–०
” १२९ ०–१५–०
” १४३ ७–४–०
” १८० ०–१–५
” १९० ०–१–८
” १९७ ०–१०–०
” २०० ०–१०–०
” २४९ ०–३–०
” २५५ १–३–१०
” २६० ०–८–५
२ २७८ ०–४–०
” १८४ ०–२–१०
२ ३९ ०–०–१८
” ४२ ०–०–६
३ ७८ ०–०–१३
” ३ ०–३–०
” १५ ०–६–१०
” १६ ०–१–१५
” ४२ ०–०–१५
” १२३ ०–६–०
” १४२ ०–१७–१०
” १४५ ०–८–१०
” १५६ ०–३–०
” १६० ०–४–१०
” ६३ ०–०–४
” ८५ ०–५–१०
४ ८८ ०–४–१०
” १३९ ०–४–१०
” १० ०–७–०
६ ३२ ०–२–१५
२ २६१ ०–४–१०
१२–७–७
बलिराम पुर २ ८१ ०–५–१५
” ८२ ०–६–५
” १०५ ०–२–१०
०–१४–१०
धरमनगर २ ६० ०–०–१३ ऐलानी घरवास मिनहीको जग्गामा भएको पक्की घर
” ९२ ०–०–५
” ६० ०–०–१३
” ३८ ०–०–१६
पुरैनिया १ १७२ ०–२–१०
३ २६ ०–६–०
१३–१२–११
ऐ.ऐ. भएकोले रामकलीदेवीका नाउँमा दर्ता रहेका घर जग्गा जमीन मध्ये आधा घर जग्गा जमीनमा चलन चलाई पाउँ भनी दण्ड सजायँका ४३ नं. का म्यादभित्र वादीले रीतपूर्वकको दर्खास्त दिन आए कानुनले लाग्ने दस्तूर लिई आधी घर जग्गा जमीनहरू वादीलाई चलन चलाई दिन लगत राख्न भनी का.जि. अ.त. मार्फत शुरु बारा जि. अ. लाई लगत दिनु ..........२
ऐ.ऐ. भएकोले नारायणी अञ्चल अदालतको फैसलाबाट राखेको फैसला कार्यान्वयन सम्बन्धी सम्पूर्ण लगत कट्टा गर्नु भनी का.जि. अ.त मार्फत बारा जि. अ. मा लेखी पठाउनु ......३
ऐ.ऐ. भएकोले वादीले फिराद गर्दा शुरुमा राखेको कोर्टफी रु. २३०।– प्रतिवादी विन्दवा अहिरनीले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा बारा जि. अ. मा धरौट राखेको देखिँदा सो कोर्टफी रु. २३०।– भराई पाउँ भनी म्यादभित्र दर्खास्त दिन आए उक्त धरौटबाट केही दस्तूर नलिई वादीलाई भराई दिनु भनी शुरु बारा जि. अ. मा लेखि पठाउन का.जि. अ.त. मा लगत दिनु ......४
ऐ.ऐ. भएकोले वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ३४।५० प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादी विन्दवा अहिरनीका नाउँको नेपाल सरहदभित्रको ज्येथा देखाई ऐनका म्यादभित्र रीतपूर्वकको दर्खास्त दिन आए केही दस्तूर नलिई प्रतिवादीबाट वादीलाई भराई दिन लगत राख्न काठमाडौं जि. अ.त. मार्फत शुरु बारा जि. अ. मा लगत दिनु .........५
मिसिल नियम बमोजिम गरी बुझाई दिनु .....६
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल मार्ग १८ गते रोज १ शुभम् ।