निर्णय नं. ३९४० - लुटपिट

निर्णय नं. ३९४० ने.का.प. २०४६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ५७७
फैसला भएको मिति : २०४६।९।२८।६ मा
पुनरावेदक/प्रतिवादी : तनहुँ जिल्ला भिमाद गा.पं. वार्ड नं. १ बस्ने यज्ञनारायण सुवेदी
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने बद्रीनाथ खनाल
मुद्दा : लुटपिट
§ वारदात भएको समय आफू वारदात स्थलमा नरहेको भनी प्रतिवादीले लिएको ब्ष्दिष् को जिकिर निजले प्रस्तुत गरेका साक्षी प्रमाणबाट समेत पुष्टि हुन नसकी निजले लुटपिट गरेको प्रतीत हुन आएको ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना
फैसला
न्या. बब्बरप्रसाद सिंह : प.क्षे.अ. को मिति २०४३।११।१९ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मैले मेरो ८, ९ वर्ष अघि बनाएको पुरानो घर भत्काई त्यसका काठपातहरू हाल बनाएको नयाँ घरको आँगनमा थुपारेको थिएँ । विपक्षी यज्ञनारायण र मेरो बीच प्रधानपञ्चको चुनावदेखि इवी झगडा थियो । सोही कारणबाट विपक्षीले २०४०।३।१३ का दिन दिउँसो १२ बजे अपरिचित ५०, ६० जना मानिसहरू लिई मेरो घरमा आई जबरजस्ती थुपारी राखेका मूल्य रु. ७,४९५।– पर्ने काठहरू लुटपिट गरी लगेको हुनाले बिगो रु. ७,४९५।– नगदै दिलाई लुटपिट गरेमा लुटपिटका ६ नं. अनुसार विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको बद्रिनाथ खनालको फिराद दावी ।
३. गाउँ पञ्चायतको चुनावको रिसइवी साध्न र स्कूल कम्पाउण्ड भित्र घर बनाउन पाइन भन्ने कारणले म उपर लुटपिटको मुद्दा दिनु भएको हो । वादीमा उल्लेख भएको विभिन्न काठपात समेत लुटी लगेकाले बिगो रु. ७,४९५।– दिलाई पाउँ भन्ने फिराद दावी झुठ्ठा हो उक्त दिनमा प्रमाण खण्डका साक्षीहरू समेत भई भिमाद गाउँ पञ्चायत कार्यालयमै थियौं । झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गराई झुठ्ठा उजूर दिएमा वादीलाई नै दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको यज्ञनारायण सुवेदीको प्रतिउत्तर रहेको छ ।
४. काठ लुटपिट गरी प्रतिवादीले घरमा लगे भन्ने उल्लेख भएको तर वादीका देखी जान्ने साक्षीले कहाँ लगे थाहा छैन भनी बकेको प्रमाणबाट प्रतिवादीले वादीको बिगो रु. ७,४९५।– को काठपात लुटपिट गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु तनहुँ जिल्ला अदालतको फैसला ।
५. शुरु तनहुँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन प्रतिवादीले मेरो बिगो ७,४९५।– को काठ लुटी लगेको मेरो वादी दावी झुठ्ठा ठहराएको शुरु तनहुँ जिल्ला अदालतको फैसला बदर गरी मेरो वादी दावी बमोजिम हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको बद्रिनाथ खनालले गण्डकी अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।
६. चश्मदिद भनिएका साक्षीको बकपत्रबाट लुटपिट गर्ने भनिएका व्यक्तिहरूको संख्या नै नमिली फरक फरक देखिनुको साथै वादीका साक्षीहरू मध्ये कसैले प्रतिवादी समेतले लुटपिट गरेको भनी बकपत्र गरेको छ भने कसैको बकपत्रबाट काठपात लैजानेमा प्रतिवादी सम्मिलित भएको देखिँदैन भनेका छन् । यस्तो अवस्थामा ती साक्षीका बकपत्रबाट वादी दावी समर्थन भएको छ भनी प्रतिवादीले लुटपिट गरेको ठहर गर्नु न्यायोचित नदेखिएकोले लुटपिट गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको फैसला ।
७. वादी दावी पुग्न नसक्ने ठहर्याएको ग.अं.अ. को फैसला उपर वादीको पुनरावेदन परेकोमा वादीका साक्षीहरूले प्रतिवादीले लुटपिट गरेका हुन् भनी किटान बकपत्र गरेका तथा प्रतिवादी र निजका साक्षीहरूले वारदातको समय प्रतिवादी वारदात स्थलमा नभई अन्यत्र रहेको भन्ने कथन पत्यारलायक नदेखिँदा वादी अनुसार प्र.यज्ञनारायण सुवेदीले लुटपिट गरेको ठहर्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४३।११।१९ को फैसला ।
८. प.क्षे.अ. को उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनमा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३ (५)(ख) (ग) अनुसार अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।११।९।१ को आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाको तथा विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावी बमोजिम प्रतिवादीले लुटपिट गरेको ठहर्याएको प.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१०. यसमा वादीले दावी लिँदा मिति २०४०।३।१३ गते दिनको १२ बजे विपक्षी यज्ञनारायण समेतको ५०–६० जना मानिस मेरो घरमा आई मैले मेरो पुरानो घर भत्काई आँगनमा थुपारेका बिगो रु ७,४९५।– पर्ने काठपात विपक्षीले मेरो घरमा पुर्याओ भनेपछि निजको आज्ञानुसार विपक्षीले थुप्रोबाट काठ निकाल्ने र अरु नचिनेका मानिसले ओसारी यज्ञनारायणको घरमा लगेको भनी किटानी दावी गरेको देखियो । मिसिलै संलग्न रहेका वादी प्रतिवादीका साक्षीहरूको बकपत्र हेरिएमा वादीको सम्पूर्ण साक्षीहरूले वादी दावा अनुसार प्रतिवादी सहितको हुल भई वादीको घर अगाडि रहेका काठपातहरू लुटपिट गरी लगेका हुन् भनी वादी दावीलाई समर्थन हुने गरी किटानी बकपत्र गरेको पाइयो । प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा वारदातको समयमा प्रमाण खण्डका साक्षीहरूका साथ आफू भिमाद गाउँ पञ्चायत कार्यालय भवनमा रहेको भनी प्रतिवाद गरेकोमा निजका साक्षीहरू घनश्याम पौडेलले उक्त दिन म आफ्नै घरमा थिएँ वादी प्रतिवादीहरू कहाँ थिए । थाहा छैन भनेका, दण्डपाणी सुवेदीले म ऋषिराम अध्यक्षको घरमा थिएँ प्रतिवादीहरू गाउँतिर गएका थिए भनेका, गोविन्द सुवेदीले म मेरै घरमा थिएँ प्रतिवादी ११ बजेको समयमा मेरो गाउँको घरमा आउनु भएकोमा असिना पीडितको लगत लिन वार्ड नं. ६ मा जान्छु भन्नु हुन्थ्यो भनेका, डोलराज भण्डारीले म मेरै खेतमा काम गर्न गएको थिएँ । वादी प्रतिवादी कहाँ थिए मलाई थाहा छैन भनेको, तथा वामदेव अर्यालले आफू माले बगर वडा नं. १ को वडा अध्यक्ष ऋषिराम कडेलको घरमा असिना पीडितको लागि आएको गहुँ बाँड्न गएको थिएँ भनेका समेतबाट प्रतिवादीले जिकिर लिए बमोजिम निज साक्षीहरूका साथमा पञ्चायत भवनमा रहेको भन्ने निजको कथनलाई निजका साक्षीहरूले समर्थन हुने गरी बकपत्र गरेको पाइएन । प्रतिवादी साक्षी ऋषिराम कडेल तथा मोहदत्त पराजुली आफू आफ्नै घरमा भएको भनेपछि प्रतिवादी पञ्चायत भवनमा भएको कुरा कसरी थाहा पाए सो कुरा उल्लेख गर्न नसकेकोबाट निजहरूको बकाई विश्वासलायक देखिएन ।
११. उपर्युक्त बुँदा प्रमाणको आधारमा वारदात भएको समय आफू वारदात स्थलमा नरहेको भनी प्रतिवादीले लिएको ब्ष्दिष् को जिकिर निजले प्रस्तुत गरेका साक्षी प्रमाणबाट समेत पुष्टि हुन नसकी निजले लुटपिट गरेको प्रतित हुन आएकोले सो ठहराएको इन्साफ प.क्षे.अ. को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी यज्ञनारायण सुवेदी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले लुटपिट गरेको ठहर्याएको प.क्षे.अ. को इन्साफ मनासिब ठहरेकोले पुनरावेदन गरे बापत अ.बं. २०३ नं. ले निजलाई उक्त क्षे.अ. ले गर्ने गरेको जरिवाना रु. १,८७३।७५ सयकडा पाँचले रु. ९३।६८ थप जरिवाना हुन्छ लगत कस कानुनी बमोजिम असूल गर्नु भनी शुरु जि. अ. मा लेखि पठाउनु का.जि. अ.त. मा लगत दिनु.....१,
नियम बमोजिम गरी मिसिल बुझाई दिनु....१
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल पौष २८ गते रोज ६ शुभम् ।