शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९४१ - लेनदेन

भाग: ३१ साल: २०४६ महिना: पौस अंक:

निर्णय नं. ३९४१     ने.का.प. २०४६                        अङ्क ९

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको दे.पु.नं. ८९०

फैसला भएको मिति :      २०४६।९।२।१ मा

पुनरावेदक/प्रतिवादी : जि. सप्तरी वरसाईन गा.पं. वडा नं. ५ बस्ने रणवीर सिंह राजपुत

विरुद्ध

विपक्षी/वादी : विदेश भारत घर भई हाल जि. सप्तरी कोइलाडी गा.पं. वा.नं. १ बस्ने वीरेन्द्रप्रसाद सिंह राजपुत

मुद्दा : लेनदेन

§  जिल्ला अदालतले कानुनी व्यवस्था बमोजिम जरिवाना गरी इन्साफ गरेको र कानुन बमोजिम जरिवाना गरी इन्साफ गर्न मिल्ने देखिँदा सो कागजबाट इन्साफ गर्न मिल्दैन भन्न नमिल्ने ।

(प्रकरण नं. १५)

§  विवादित कागज विशेषज्ञलाई जचाउँदा भरपाईमा परेको सहिछाप माथि अन्य व्यहोरा लेखिएको कागज हो भनी विशेषज्ञको राय भएको पाइन्छ, सोही कुरालाई समर्थन गरी विशेषज्ञले अदालतमा बकपत्र समेत गरेकोले त्यस्तो कागजलाई सद्दे साँचो व्यवहार भन्न मिलेन ।

(प्रकरण नं. १६)

§  लिखतमा लेखिएको भन्दा बढी व्याज नपाउने ।

(प्रकरण नं. १७)

§  लिखतमा लेखिएको व्याजदर महीनाको भन्ने नलेखिएको, वादी दावीमा महीनाको व्याज हो भन्ने देखिँदैन र चलन चल्तीमा सालको व्याजको गणना समेत हुने हुँदा सयकडा दुइको तत्काल प्रचलित विनिमय दरले हुने रु. २।९० को दरले व्याज र साँवा समेत वादीले प्रतिवादीबाट भराई पाउने ।

 (प्रकरण नं. १७)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

अवलम्बित नजीर :  हरिश्चन्द्र विरुद्ध तिर्थप्रसाद भएको करकाप मुद्दामा ०२४।८।९।३ मा प्रतिपादित सिद्धान्त ।

फैसला

     न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

      २.    विपक्षी प्र. ले बाबु अनन्तप्रसाद सिंहलाई ०२९।७।१४ गते रु. ३१,९००।लिई सो रुपैयाँको हुने भारतीय रुपैयाँको २२,०००।अदायगी भनी रु. २।को दरले व्याज समेत बुझाउँला भनी कागज लेखी दिएकोमा भाकामा साँवा व्याज नबुझाएकोले ताकेता गर्दा आज भोलि भन्दै बाबु अनन्तप्रसाद मृत्यु भएपछि मैले पनि पटक पटक ताकेता गर्दा आज भोलि भन्दै लेनदेनमा नालेश दिने म्याद समेत भुक्तान भई सकेकोले श्री ५ महाराजाधिराज सरकारको पाउँमा निवेदन दिई नालेश गर्ने म्याद थामी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको आधारले लेनदेन तर्फ नालेस गरेको हुँ । प्रतिवादीले गरी दिएको कागजमा सयकडा २ का दरले ब्याज बुझाउने शर्त उल्लेख भए पनि लेनदेनको ६ नं. मा वर्ष १ को साँवाको सयकडा दश भन्दा बढी व्याजको अङ्क लेखिएकोमा ऐन बमोजिम व्याज भराउनु पर्ने साहुलाई असामीबाट व्याज भराउँदा वर्ष एकको साँवाको सयकडा दश भन्दा बढी भराउन हुँदैन भन्ने निषेध गरी राखेकोले सो रु. ३१,९००।लिखत भएको दश वर्षको सयकडा दशका दरले हुने व्याज रु. ३१,९००।समेत ब्याज रु. ६३,८००।र कोर्टफी रु. २,१८४।समेत वादीबाट दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।

      ३.    वादीको बाबुसँग मैले कुनै रुपियाँ लिएको छैन र मैले कुनै लिखत गरिदिएको छैन । लिखतको भाषा, आकार, प्रकृति स्वभाविक रुपमा हुनु पर्ने सो छैन । वादी दावीको सक्कल लिखत हेरे देखेमा अ.बं. ७८ नं. अन्तर्गत गर्ने यकिन बयानलाई नै अन्तिम प्रतिवाद जिकिर मानी वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।

      ४.    वादी दावीको कागजमा भएको लेखात्मक सही मेरै हो । रुपैयाँ लिई लेखेको लिखत होइन । वादीको बाबु अनन्तप्रसादको र इन्द्रनारायणप्रसादको बीचमा लेनदेन हुँदा प्र. रणबीर सिंहलाई पञ्च चुनेकोमा परमेश्वरप्रसादको घरमा पञ्चायत भएको र पञ्चायतमा जानलाई रणवीरसिंहको बाबु विरामी भई जान नसकेकोले यो भन्दा अघि १।२ पटक पञ्चायत भएको थियो । पञ्चायतमा कुरा नमिलेकोले अन्तिममा इन्द्रनारायणबाट रु. २२,०००।को कुरा नमिले म मिलाई दिन्छु भनी यो कागज लेखी दिएको सम्म हो । रुपैयाँ बुझी लेखिदिएको होइन । यो कुरा मिलेपछि मैले लेखेको कागज वापस देउ भन्दा कागज भेटेकै छैन भन्दै थियो । रणवीरसिंहले ज्वालाप्रसादलाई कागज मागी ल्याई दिनु भनी पठाउँदा पनि सो कागज भेटिएको छैन, भेटे पनि मुद्दा गर्ने छैन, भनी चिठ्ठी लेखी वीरेन्द्रप्रसाद सिंहले सही गरिदिएको प्र. रणवीर सिंहका नाउँमा लेखेको पत्र मसंग छ । वादीलाई कुनै साँवा व्याज बुझाउन पर्ने छैन भन्ने समेत प्र.वा.सुरेन्द्रप्रसाद सिंहले गरेको बयान ।

      ५.    वादीले पेश गरेको कागज कीर्ते हो । चिठ्ठी भर्पाइमा म वादी वीरेन्द्रप्रसादले विपक्षीलाई लेखी दिएको मेरो हस्ताक्षरको चिठ्ठी भरपाई होइन । अन्त्यमा लेखेको सहीछाप मेरो होइन, प्र. रणवीरले कीर्तेबाट भर्पाई खडा गरेका हुन् । विपक्षीले कीर्ते गरेको कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने वादी वा. बिपीनकुमार कर्णले गरेको बयान ।

      ६.    प्रतिवादीको बयान झुठ्ठा हो । चिठ्ठी भरपाई आफैले वा अन्य कोहीद्वारा लेखाई मेरो भाइ ज्वालाप्रसादको हातमा पठाएको सद्धे साँचो भरपाईमा कीर्तेबाट भरपाई खडा गरेको भनी दावी लिने विपक्षीलाई नै सजायँ गरिपाउँ भन्ने समेत प्र. रणवीर सिंहले स.जि. अ. मा गरेको बयान ।

      ७.    प्रस्तुत को तल्लो भागमा को रेखाले नै सिंहको रेखालाई थपेको देखिने भन्ने राय प्राप्त हुन आएबाट वादीले भरपाई कीर्ते भनी गरेको बयान दावी पुष्टि हुन आउँदा पहिले सही भएको कागजमा पछि व्यहोरा लेखी कागज खडा गरेको देखिँदा प्रतिवादीले पेश गरेको भरपाई कीर्ते ठहर्छ, प्रतिवादी पक्षबाट वादीलाई थैली बुझाई सकेको छु भनी पेश भएको भरपाई व्यहोरा कीर्ते ठहर भएपछि वादीले प्रतिवादीबाट दावी बमोजिमको साँवा व्याज भरी पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको २०४१।१०।१४ गतेको फैसला ।

      ८.    शुरु सप्तरी जिल्ला अदालतबाट भएको फैसलामा चित्त बुझेन बदर गरिपाउँ भन्ने रणवीर सिंह राजपुतको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।

      ९.    यसमा लिखतको प्रकृति मूल्याङ्कन, विशेषज्ञबाट जाँच गरी राय दिएको समेत आधारमा भरपाई कागजलाई वादीको दावी अनुसार कीर्ते ठहराई फिराद दावी बमोजिम प्रतिवादीबाट साँवा व्याज भरी पाउने ठहराएको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।२।१८ को फैसला ।

      १०.    दावी र माग भन्दा बढी कुरामा प्राप्त हुन आएको विशेषज्ञको राय ग्राहृ्य हुन सक्ने अवस्था नभएको त्यसलाई ग्राह्य मानी भएको फैसलामा प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।

      ११.    प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम विशेषज्ञलाई अदालतमा उपस्थित गराई बकपत्र गराएको देखिएन । पु.क्षे.अ. को फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३ (७) र ने.का.प. २०३६, नि.नं. १२५५ पृ. १०८ मा प्रकाशित सिद्धान्त समेतको त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।१०।२० को आदेश ।

      १२.   विवादित लिखतहरूको सम्बन्धमा राय दिनु हुने रेखा तथा लेखा विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बकपत्रको लागि उपस्थित गराई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१ का आदेशानुसार विशेषज्ञ श्री पद्यराज काफ्लेले मिति २०४६।३।१४ मा बकपत्र गरी मिसिल सामेल रहेको ।

      १३.   नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाशले विवादित लिखतमा मुलुकी ऐन कागज जाँचको महल बमोजिमको रीत पुर्‍याइएको छैन । आय टिकट दस्तूर ऐन बमोजिम आयकरको निस्सा स्वरुप टिकट टाँसिएको छैन । आय टिकट दस्तूर ऐन, २०१९ को दफा ७(२) बमोजिम विवादित लिखतको कानुनी मान्यता नरहने हुन्छ । कानुन अनुरुपको लिखत नभएकोले प्रस्तुत मुद्दामा वादी दावी अनुसारको रकम भराउने वा भरी पाउने ठहराउने स्थिति ने रहँदैन । अतः क्षेत्रीय अदालत समेतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

      १४.   प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले शुरुमा प्रतिवादीले रकम तिर्नु पर्ने कुरा इन्कार गरे तापनि पछि बयानमा रुपैया तिरी सकेको भन्दै भरपाई देखाएबाट निजले रुपिया लिएको कुरा स्पष्ट भयो । भरपाई विशेषज्ञको रायबाट सद्दे नदेखिएपछि रकम तिर्नु पर्ने कुरामा विवाद रहेन । कागज जाँचको महल बमोजिम जरिवाना तिरी सकेपछि विवादित लिखतको कानुनी अस्तित्व छैन भन्नु कानुनसंगत हुँदैन । तसर्थ प्रतिवादीले रुपैया तिर्नु पर्ने र भरपाई पनि कीर्ते गरेको हुँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रस्तुत मुद्दमा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

      १५.   यसमा निर्णयतर्फ विचार गर्दा, वादीले साँवा रु. ३१,९००।को सयकडा दशले दश वर्षको व्याज ३१,९००।समेत जम्मा रु. ६३,८००।भरी पाउँ भनी दावी लिनु भएकोमा प्रतिवादीले त्यस्तो रुपैयाँ लिएको छैन भनी प्रतिवाद गरे पनि बयान हुँदा प्रतिवादीले उक्त रुपैयाँ बुझाई सकेको छु भनी २०३९।७।२। को भरपाई पेश गरेकोले कर्जा रुपैयाँ लिएको कुरा प्रतिवादीले स्वीकार गरेकोले वादीसंग प्रतिवादीले रुपैयाँ कर्जा लिएकोमा विवाद रहेन । मिति २०२९।७।१४ को लिखत मुलुकी ऐन कागज जाँचको ८ नं. को रीत पुगेको छैन र साथै आय टिकट दस्तूर ऐन बमोजिम लिखतमा टिकट नटाँसिएकोले उक्त लिखत कानुनको रीत पुगेको छैन भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा कागज जाँचको महलको ८ नं. मा देहाय बमोजिमको कागज गर्दा गराउँदा यसै महलको ५ र ६ नं. बमोजिम दुवै हातका बुढी औंलाको ल्याप्चे र लेख्न जान्नेको हस्ताक्षरको समेत सहिछाप गर्ने गराउने गर्नु पर्छ । लेख्न जान्नेले रीतपूर्वक हस्ताक्षरको सहीछाप मात्र गरी ल्याप्चे सहीछाप नगरेको वा गरेकोमा प्रष्ट नदेखिने गरी गरेको वा लेख्न जान्नेले हस्ताक्षरको सहीछाप नगरी ल्याप्चे सहिछाप मात्र गरेकोमा मानिस कागज समेत विचार गरी बीस रुपैयाँसम्म जरिवाना गरी सो कागजबाट नालिस सुनी इन्साफ गरिदिनु पर्छभनी लेखिएको पाइन्छ । जिल्ला अदालतले उक्त कानुनी व्यवस्था बमोजिम जरिवाना गरी इन्साफ गरेको र उक्त कानुन बमोजिम जरिवाना गरी इन्साफ गर्न मिल्ने देखिँदा सो कागजबाट इन्साफ गर्न मिल्दैन भन्न मिलेन । आय टिकट दस्तूरको हकमा विचार गर्दा आय टिकट दस्तूर ऐन, २०१९ बमोजिम टिकट टाँस्नु पर्नेमा टिकट नटाँसे पनि कानुनी मान्यता लोप नहुने भनी हरिश्चन्द्र विरुद्ध तीर्थप्रसाद भएको करकाप मुद्दामा यसै अदालतबाट ०२४।८।९।३ मा सिद्धान्त प्रतिपादीत भएकोले तत्काल आय टिकट दस्तूर ऐन र कागज जाँचको महलको रीत नपुगेकोले त्यस्तो लिखतले कानुनी मान्यता पाउँदैन भन्न मिलेन । कानुन बमोजिम लिनु पर्ने आय टिकट दस्तूर अदालतले लिएको समेत देखिएकोले सो लिखतको सम्बन्धमा अन्यथा विचार गर्ने स्थिति रहेन ।

      १६.    वादी दावी अनुसारको कर्जा लिएकोमा प्रतिवादीले स्वीकार गरी ०३९।७।२ को भरपाई पेश गरी सो रुपैयाँ बुझाई सकेको छु भन्ने प्रतिवादीको बयान भएकोमा उक्त भरपाई कागज कीर्ते हो भन्दै सो भरपाईमा परेको सही मेरो होइन भन्ने वादीको भनाई देखिन्छ । उक्त विवादित कागज विशेषज्ञलाई जचाउँदा उक्त भरपाईमा परेको वीरेन्द्रप्रसाद सिंह सहिछाप माथि अन्य व्यहोरा लेखिएको कागज हो भनी विशेषज्ञको राय भएको पाइन्छ । सोही कुरालाई समर्थन गरी विशेषज्ञले यस अदालतमा बकपत्र समेत गरेकोले त्यस्तो कागजलाई सद्दे साँचो व्यवहार भन्न मिलेन । उक्त लिखत भर्पाई कीर्ते ठहर्छ । मिति २०३९।७।२ को विवादित भर्पाईलाई कीर्ते ठहराएको क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि देखिएन ।

      १७.   अब सयकडा दश ब्याजको दरले लिखत अनुसारको साँवा ब्याज भरी पाउने वादी दावी भएकोमा ब्याजको दर रु. २।किटिएको उक्त मिति २०२९।७।१४ को लिखतमा देखिन्छ । लेनदेन व्यवहारको ६ नं. मा कर्जा लेनदेन भएकोमा ब्याजको ब्याज लिन हुँदैन, लिइसकेको भए पनि फिर्ता गर्नु पर्छ । लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन । वर्ष एकको साँवाको सयकडा दशभन्दा घटी ब्याज लेखिएकोमा लिखत बमोजिम नै हुन्छ .........।भन्ने लेखिएकोले लिखतमा लेखिएको भन्दा बढी ब्याज पाउने स्थिति हुँदैन । उक्त लिखतमा लेखिएको ब्याज दर महीनाको भन्ने नलेखिएको वादी दावीमा महीनाको ब्याज हो भन्ने देखिँदैन र चलन चल्तीमा सालको ब्याजको गणना समेत हुने हुँदा सयकडा दुईको तत्काल प्रचलित विनिमय दरले हुने रु २।९० को दरले ब्याज र साँवा समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ । उल्लेख भए बमोजिम ब्याज दर वार्षिक सयकडा दुईको दरले भराउनु पर्नेमा सयकडा दशका दरले ब्याज भराउने गरेको हदसम्म शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम, पुनरावेदक प्रतिवादी रणवीर सिंहबाट वादी वीरेन्द्रप्रसाद सिंहलाई साँवा रु. ३१,९००।र दश वर्षको सयकडा दुई दुई प्रतिशतले हुने ब्याज रु. ९,२५१।समेत जम्मा रु. ४१,१५१।मात्र भराई दिनु पर्नेमा रु. ६३,८००।भराई पाउने ठहराएको देखिँदा बढी भएको रकम रु. २२,६४९।प्रतिवादीबाट भरी नपाउने हुँदा सो को लगत कट्टा गरी जम्मा रु. ४१,१५१।भराई पाउने कायम गरी लगत सच्याई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत तहसीलमा लगत दिनु .......१

पुनरावेदक प्रतिवादी रणवीर सिंहको कीर्ते तर्फ पुनरावेदन जिकिर पुग्न नसकेकोले पुनरावेदन गरे बापत शुरु जि. अ. ले गरेको जरिवाना रु. १५,९५०।को अ.बं. २०३ नं. बमोजिम सयकडा ५ प्रतिशतले थप जरिवाना रु. ७९७।५० हुन्छ, बेजुरु हुँदा कानुन बमोजिम असूल उपर गर्नु भनी शुरुमा लेखी पठाउन का.जि. अ. तहसीलमा लगत दिनु....२

मिसिल नियमानुसार गरी बुझाई दिनु......३

 

उक्त रायमा म सहमत छु ।

 

न्या महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल पौष २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु