शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११८ - लेनदेन

भाग: १९ साल: २०३४ महिना: बैशाख अंक:

निर्णय नं. १११८     ने.का.प. २०३४

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपट सिंह रावल

सम्वत् २०३४ सालको देवानी फुल नम्बर २१।२७

फैसला भएको मिति : २०३४।१२।८।३ मा

निवेदक : जि.वारा.गा.पं. गईहल वार्ड नं.६ बस्ने ठगाराम साहु तेली

विरुद्ध

विपक्षी : ऐ ऐ वार्ड नं.४ बस्ने गोकुल पण्डित कुम्हाल

मुद्दा : लेनदेन

(१)   भोगबन्धकीमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा ब्याज भराई पाउँ भन्ने नालेश कानूनले लाग्न सक्ने नदेखिने ।

(प्रकरण नं. ११)    

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा

उल्लेखित मुद्दा :    

फैसला

            न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : विपक्षीले मबाट भा.रु.८०००।लिई सो रुपैयाँ जग्गा बिगाहा ३९।। धूर जग्गा २०१५ सालका बाली देखि लाइ ०१५।५।२८ मा भोगबन्धकी लेखि ०१५।१०।८।४ मा पास गरिदिएकोमा प्रतिवादीले भू.सु.कार्यालयमा फछ्र्यौट गरी पाउँ भनी निवेदन दिँदा रु ४४९८।७७ मलाई बुझाउनु पर्ने ठहरी ०२५।२।१४ मा फैसला भएको भू.सु.बाट फिर्ता पाउने ठहरेको रु.४४९८।७७ को आज तकको ब्याज १३९७।२६ समेत साँवा ब्याज रु.५८९६।७३ र कपाली तमसुकको धान मन ११ को मन १ को रु.३३ ले हुने रु.३६३। र नगदी रु.१५८६।७५ समेत साँवा रु.१९४९।७५ को आजतकको ब्याज रु.१३३३।७८ समेत जम्मा रु.३२८३।५३ समेत दुवै कलमको जम्मा रु.९१७९।५६ र फैसला भएका मिति तकको ब्याज समेत भराई पाउँ भन्ने वादी ।

            ३.    भोगबन्धकी फछ्र्यौट हुँदा रु.४४९८।७७ बुझाउनु पर्ने ठहरे पनि थैली भुक्तान भई  लिखत फट्टा फिर्ता नभएसम्म थैली कपाली सरह रही जग्गाबाट हक छुट्न सक्दैन भनी ०२६ साल सम्म आयस्ता बाली खाँदै आएको फछ्र्यौट भएको ०२३ सालदेखि यता ०२४।२५।२६ सालमा खाएको बाली दशौंद भन्दा बढि खाई थैली समेत भएकोले २०२६ सालसम्म दसौंद भन्दा बढी खाएको हिसाब गरी फछ्र्यौट गरी पाउँ भनी ०२६।७।२५ गते भू.प्र. कार्यालयमा निवेदन दिएको सो भोगबन्धकी ऋण रकम निश्चित सम्बन्धमा भु.प्र.का.मा परेको उजूरीको निर्णय नभए सम्म सो ऋण पाउने नपाउने निर्णय हुन नसक्ने हुनाले खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी ।

            ४.    भोगबन्धकी फछ्र्यौट भई ठहर हुन आएको रु.४४९८।७७ र त्यसको ब्याज रु.१८३९।४७ समेत जम्मा रु.६३३८।२४ र कमाली तमसुक साँवा रु १९४९।७५ र ब्याज रु.१४३१।९१ समेत जम्मा रु.३३८१।८६ समेत दुवै कलको साँवा ब्याज रु.९७१९।९० प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने र वादीले भरी पाउने ठर्हछ भन्ने समेत बारा जिल्ला अदालतको फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन ।

            ६.    प्रतिवादीले कृषि ऋण भनेको कपाली पनि कृषि ऋण हो भन्ने प्रमाणित हुन नआएबाट शुरु जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठर्हछ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।

            भूमिप्रशासन कार्यालय बाराले ऋण रकम निश्चित गर्ने सिलसिलामा भोगबन्धकीको रुप बदली कपाली सरह बनाई दिएको देखिन्छ । भोगमा लिने साहूले आम्दानी खाई रहेको कुनै सबूद पनि पेश भएको नहुँदा अञ्चल अदालतको इन्साफ मुनासिव छ भन्ने समेत मध्यमाचल क्षेत्रीय अदालतको फैसला ।

            ७.    भोगबन्धकी ऋणको रकम निश्चित भई बाँकी रहन आएको उक्त रुपैयाँ भूमि प्रशासकको निर्णयबाट कपालीमा परिणत भएको देखिँदैन, भूमि प्रशासकले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम ऋण रकम निश्चित गर्दैमा ऋणको प्रकृति वदलिने पनि होइन साहूले एक पटक भोगबन्धकको जग्गा भोग गरी सकेपछि बीचमा सो जग्गा भोगबन्धकको जग्गा भोग गर्न छोडी कपालीमा नालेस गर्न पनि कानूनले मिल्दैन, तसर्थ भोगबन्धकी कायम छँदै थैलीमा कपाली सरह नालेस गरी साँवा ब्याज भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । जिल्ला अदालत र अञ्चल अदालतले गरेको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला बदर हुने ठर्हछ भन्ने समेत स.अ.डिभिजन बेञ्चको फैसला ।

            ८.    मुद्दा दोहर्‍याउने न्यायिक समितिको सिफारिशमा जिल्ला अदालतदेखि लिएर क्षेत्रीय अदालत समेतले सबूद प्रमाणको मूल्याङ्कन गरी कपाली तमसुकको साँवा ब्याज भराउने गरेको पाइन्छ । तर स.अ.डि.बेञ्चले कपाली तमसुकको साँवा भराउने म.क्षे.अ.ले गरेको निर्णय के कति कारणबाट गम्भीर कानूनी त्रुटियुक्त छ र सो सम्बन्धको निर्णय बदर भागी छ त्यसको कुनै विवेचना गरेको र आधार देखाई निर्णय गरेको पाइँदैन भन्ने समेत उल्लेख गरेको रहेछ ।

            ९.    निवेदक बाँदीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बन्धकी निश्चित गरी ४४९८।७७ बाँकी कायम भएपछि सो थैली र कपाली तमसुकको समेत साँवा ब्याज पाउनु पर्ने वादी निवेदकको कानूनी अधिकार हो सो बमोजिम पाउने भएकोमा डिभिजन बेञ्चले सो समुच्चै लगत काटी दिने मिलेको छैन भन्ने समेत र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माले भोगबन्धकीको थैली निश्चित भएको मात्र हो सो लिखत कपालीमा परिणत गरिएको छैन र गर्ने अधिकार पनि छैन । सो बन्धकी थैलीमा साँवा ब्याजमा दावी लाग्ने स्थिति छैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

            १०.    यसमा वादी प्रतिवादीहरूबाट रहनु भएका विद्वान अधिवक्ताहरूको वहस समेत सुनी प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३३।६।२५।२ मा गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ११.    प्रतिवादीले मबाट भा.रु.८,०००। आठ हजार लिई जग्गा बिगाहा ३९।। धुर २०१५।१०।८।४ मा भोग बन्धक पास गरिदिएकोमा प्रतिवादीले भोगबन्धकी फछ्र्यौट गरी पाउँ भनी भूमिप्रशासन कार्यालयमा निवेदन दिएकोमा ०२३ सालसम्मको ब्याजको आयस्ता हिसाब गरी रु ४४९८।७७ प्रतिवादीले मलाई फिर्ता बुझाउनु पर्ने ठहर निर्णय भयो । प्रतिवादीले ०२१।१।२४ मा मबाट रु.१५८६।७५ नगर र जिन्सी धान ११ मनको कपाली तमसुक गरिदिएको थियो । भूमिप्रशासन कार्यालय बाराको फैसलाले मैले फिर्ता पाउने ठहरेको साँवा रु.४४९८।७७ र कपालीतर्फको रु.१९४९।७५ समेतको साँवा ब्याज भराई पाउँ भन्ने मुख्य वादीको दावा भएकोमा भोगबन्धकीतर्फ भू.प्र.का.मा उजूर परेबाट सो कार्यालयबाट निर्णय नभएसम्म यो ऋण पाउने नपाउने भनी निर्णय गर्न र कपाली तमसुकतर्फ कृषी ऋण भएकोले साहूले असामीलाई पक्रन पाउने व्यवस्था नभएको भन्ने समेत प्रतिवादी तर्फबाट जिकिर लिएता पनि वादी दावाको कपाली तमसुकतर्फ कृषि ऋण हो भन्ने कुरा प्रतिवादी तर्फबाट कुनै प्रमाण पेश हुन आएको देखिँदैन, भोगबन्धकी लिखततर्फ भूमिप्रशासन कार्यालय बाराको ऋण रकम सम्बन्धको ०१५।२।१४ को निर्णयमा ने.रु.४४९८।७७ आसामीले फिर्ता बुझाउनु पर्ने ठहरिएको हकमा बुझाई भरपाई ल्याएका बखत लगत कट्टालाई लगत फाँटमा तमसुक पठाउने भन्ने समेत उल्लेख भएको पाइन्छ । वादीले दावा दिएको रु.४४९८।७७ को अङ्कलाई भूमिप्रशासन कार्यालयबाट भएको निर्णयमा कपालीमा परिणत गराएको देखिँदैन । भूमिप्रशासन कार्यालयबाट भोगबन्धकी लिखतमा ऋण निश्चितको कारवाही निर्णय गर्दा बाँकी रहन आएको थैलीको रुप परिवर्तन गरी कपाली हुने पनि होइन । भोगबन्धकमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा साँवा ब्याज भराई पाउँ भन्ने नालेस कानूनले लाग्न सक्ने नदेखिएकोले वादीले भोगबन्धकी कायम छँदै थैलीमा कपाली सरह नालिस गरी साँवा ब्याज भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन भन्ने सम्म डिभिजन बेञ्चको ०३३।६।२५।२ को इन्साफ मिलेकै देखिन्छ । तर वादी दावीको कपालीतर्फको विगोतर्फ केही निर्णयमा बोलिएको नदेखिएकोले फैसलाको तपसीलमा कपाली लिखतको हकमा भरी पाउने विगोको लगत कट्टा गर्ने गरेको सम्म नमिलेको ठर्हछ । अरू तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

वादी ठगाराम साहु तैलीकै माथि इन्साफ कपालीतर्फको रुपैयाँ मात्र भरी पाउने ठहरेकोले त्यस्तो साँवा रु १९४९।७५ र १० वर्षको ब्याज रु.१९४९।७५ समेत जम्मा साँवा ब्याज रु.३८९९।५० र फिराद गर्दा राखेको यस कलमतर्फको कोर्टफी रु.१५१।३४ र यस अदालतमा ०३४।६।१३ मा दाखिल गरेको कोर्टफी रु.४०।८८ समेत जम्मा रु.१९२।२२ मा निजले पाउने कोर्टफी रु.१७९।९८ समेत प्रतिवादीबाट भराई पाउँ भनी दं.स.४२ नं.ऐनका म्याद ३ वर्ष भित्र प्रतिवादीको जेथा देखाई दर्खास्त गरेमा विगोतर्फ सयकडा २।५० दरले दस्तुर लिई कोर्टफीतर्फ दस्तुर केही लिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी बारा जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ तहसिल फाँटमा लगत दिनु.....................१

प्रतिवादी गोकुल पण्डित कुम्हालके सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३३।६।२५।२ का फैसलाले कोर्टफी रु.१८३।९७ वादीबाट भराउने गरेकोमा माथि इन्साफ खण्डमा वादीले कपालीतर्फको मात्र साँवा ब्याज भरी पाउने ठहरेकाले वादीबाट प्रतिवादीलाई सो कोर्टफी भराउन पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी ऐ ऐ मा लेखि पठाउन ऐ ऐ मा लगत दिनु........................२

 

हामीहरूको सहमती छ ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. झपट सिंह रावल

 

इति सम्वत् २०३४ साल चैत्र ८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु