निर्णय नं. ३९५१ - नापी दर्ता बदर

निर्णय नं. ३९५१ ने.का.प. २०४६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४६ सालको साधक नं. २
फैसला भएको मिति : २०४६।८।२८।४ मा
पुनरावेदक/वादी : बाग्लुङ बिडुकोई आ.गा.प. वडा नं. १ बमल डाँडा बस्ने मतिलाल कंडेल
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १ तारा खस्ने बस्ने खिमानन्द कंडेलसमेत
मुद्दा : नापी दर्ता बदर
§ वादीका राजीनामाको जग्गा हो वा प्रतिवादी जिकिर बमोजिम मोल बिगो खुलाउन नसकिने सार्वजनिक गौचरण जग्गा हो भन्ने मुख्य निर्णय दिनु पर्ने अवस्थामा वादीले दावी गर्दा आफ्नो निजी हकको भनी दावी लिँदा देखाएको मोल बिगोलाई प्रतिवादी जिकिरको सार्वजनिक गौचरणको जग्गाको मोल बिगो मानी मोल बिगो खुलेको सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा भन्न नमिली प्र. को जिकिरबाट न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) अन्तर्गत पर्ने विषयको प्रकृतिले बिगो खुल्न नसक्ने सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा देखिएको ।
(प्रकरण नं. १३)
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।११।१६ को फैसला बमोजिम साधकको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. हालका खगराज जिम्मा बागलुङ मालमा तिरो जाने ०६ सालको १० वर्षमा पूर्णभद्रका दर्ता नामसारी हुन गएको निजै पूर्णभद्रसँगको २०३१।२।१।२ को रु. ९५।– को घरसारी राजीनामाबाट मेरो हक हुन आएका सेर्मा –।४ लागेको पूर्व मेरै घरवारी समेत ४ किल्लाभित्रको खोलो भन्ने पाखो परापूर्वदेखि बार पर्खालले बेरिएको बाँस, कोइराला, केरा आदि जातका बोट विरुवा हुनाको साथै खर घाँस समेत पाली भोगी आएको जग्गालाई नापी हुँदा कि.नं. २८७ मा विपक्षहरुले गौचरणमा नापी गराएकोमा मैले नापीमा उजूर पारेकोमा विपक्षीकै नाममा दर्ता गरी दिने निर्णय भएको छ भन्ने जनाउ दिएकोले विहुकोट गा.पं. वडा नं. १ कि.नं. २८७ मा नापी भएको गौचरणमा भएको अस्थायी दर्ता बदर गरी मेरो नाउँमा स्थायी दर्ता गराई विपक्षीहरुको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको मतिलाल कंडेलको फिरादपत्र ।
३. वादी दावी सम्पूर्ण झुठ्ठा हो । कि.नं. २८७ को जग्गामा आफ्नो हक भएको आधारमा केवल पूर्णभद्र भन्ने व्यक्तिबाट विपक्षीले घरसारी राजीनामाको उल्लेख गरेका छन । निज पूर्णभद्रको हकभोगमा यो जग्गा थियो भन्ने कुनै प्रमाण फिराद दावीमा लिन सकेका छैनन् । उक्त जग्गामा विपक्षीलाई फिराद गर्ने हक पनि नभएको हुँदा खारेज गरी पक्ष विपक्षीको नापीमा उजूर गर्दा ८ नं. नापी गोश्वाराले गरेको निर्णय बमोजिम गौचरण कायम गरी न्याय पाउँ भन्ने समेत जना २० को संयुक्त प्रतिउत्तरपत्र ।
४. राजीनामा पूर्व किल्ला जालसाजी गरी सन्धी जग्गा हडपी खाने उद्देश्यले किल्ला जालसाज गरिएको हो । रसीदको हकमा कि.नं. २८८ भित्रै उत्तरतर्फको जग्गाको सद्दे साँचो रसीद हो भन्ने समेत प्रतिवादी वा.स. खिमानन्द कंडेलको बयान ।
५. राजीनामा अनुसारको तिरो तिरेको र सो २०३७ सालको रसीद पनि मिल्न भिड्न नआएको विवादित जग्गादेखि दक्षिण र पूर्वतर्फको जग्गा वादी मतिलालको भनी नक्शामा जनिएको झगडाको जग्गाको चारैतर्फ बाटो र पानीको मूल पोखरी समेत देखिए बनिएको ८ नं. नापी गोश्वाराको प्राप्त भएको नक्शा ट्रेस फिल्डबुकबाट विवादित जग्गाको जोडिएको सो जग्गा कि.नं. २८८ मा आफ्ना नाउँमा दर्ता गराएपछि उक्त विवादित जग्गा वादीको भए सो जग्गा पनि कि.नं. २८८ मै नापी गराउन सक्नु पर्ने २८७ नं. मा गौचरणमा नापी हुँदा आफू नगएको भनी फिरादमा उल्लेख गरेबाट पनि विश्वास लायक देखिँदैन, न.नं. ४ ४/२–४/२ को बाटो देखि दक्षिणतर्फको जग्गा वादीको राजीनामाको देखिँदा वादीको राजीनामालाई भने जालसाजी भन्न मिलेन । ८ नं. नापी गोश्वाराबाट कि.नं. २८७ को विवादित जग्गा गौचरण सन्धीसर्पन कायम गरी दिने गरी नापी भएको मनासिब देखिँदा गौचरणमा भएको अस्थायी दर्ता बदर गराई मेरा नाउँमा स्थायी दर्ता गराई खिचोला मेटाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने हुँदा विवादको कि.नं. २८७ को जग्गा प्रतिवादी जिकिर बमोजिम सन्धीसर्पन गौचरण कायम गरिदिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।२।२२ को शुरु बागलुङ जिल्ला अदालतको फैसला ।
६. शुरुको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी मेरो वादी दावा बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी मतिलाल कंडेलको धवलागिरी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. वादीले २०३०।२।१ मा रु. ९५।– मा पूर्णभद्रसँग घरसारमा राजीनामा लिएको जग्गाको पश्चिम किल्ला ठाडो खोल्सी र टिके कामी भनी लेखिएको देखिन्छ । पूर्णभद्र बलभद्र समेतको दर्ता हेर्दा पश्चिममा खोल्सी राजीनामा अनुसार नै भिन्न आएको दर्ताको उत्तरमा जमादको बाटो भनी लेखिएको राजीनामामा तारा खोसेबाट कोइरालापादा जाने बाटो भन्ने नलेखिएको हुँदा सो किल्ला राजीनामाबाट नयाँ उल्लेख भएको देखिन्छ । कारण पश्चिम किल्ला मिलेपछि उत्तर किल्ला पनि मिलेको हुनु पर्ने हो तर मिलेको देखिएन झगडा जनिएको न.नं. ५ देखि न.नं. ५/५ सम्मको जग्गा सन्धीसर्पन गौचरण हो होईन भन्नलाई जग्गाको वस्तुस्थितिबाट विवादित जग्गाको बीच बीचमा केडमिको गाँज घना बाँसघारी समेत देखिँदा आवादी जग्गाको बीचमा भन्दा त्यस्तो अवस्था सार्वजनिक गौचरणमा नै बढी देखिन आउँदा सो न.नं. ५/१ देखि न.नं. ५/१ तक कि.नं. २८७ लाई गौचरण सन्धीसर्पन कायम गरी दिने ठहर्छ भन्ने समेत व्यहोराको २०४१।३।२१ को धवलागिरी अञ्चल अदालतको फैसला ।
८. धवलागिरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी मतिलाल कंडेलको प.क्षे.अ. मा निवेदन परी प.क्षे.अ. एक न्यायाधीशको इजलासबाट दर्ता तिरो राजीनामाको प्रमाणलाई प्रत्यक्ष उपेक्षा गरी गरेको फैसला कानुनी त्रुटि हुँदा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(३)(ग) अन्तर्गतको अनुमति प्रदान गरिएको छ भनी भएको आदेश ।
९. बागलुङ जिल्ला अदालतले वादी दावी नपुग्ने भनी सो कि.नं. २८७ लाई सन्धीसर्पन गौचरण कायम हुने भनी फैसला गरे उपर धवलागिरी अञ्चल अदालतले न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) को प्रतिकूल क्षेत्राधिकार ग्रहण गरी हेरेको पुनरावेदन सम्बन्धी फैसला क्षेत्राधिकार सम्बन्धी कानुनी त्रुटि हुँदा सो फैसला बदर हुन्छ । प्रस्तुत पुनरावेदन न्या. प्र.सु. (चौथो संशोधन) ऐन, २०४३ प्रारम्भ हुनुभन्दा पूर्वको देखिँदा सो अञ्चल अदालतमा परेको पुनरावेदनलाई यस अदालतको पुनरावेदन दायरीमा दर्ता गरी तारेखमा रहेको प्रतिवादीको तारेख टुटाई कानुन बमोजिम गर्नु भन्ने प.क्षे.अ. संयुक्त इजलासको २०४३।९।७ को फैसला ।
१०. यसमा बिगो खुलेको सन्धीसर्पन गौचर सम्बन्धी मुद्दा हेर्ने अधिकार यस अदालतको क्षेत्राधिकार भित्र नभई अञ्चल अदालतको क्षेत्राधिकारको भनी अञ्चल अदालतमै कारवाही गर्न पठाएको मिति २०४४।५।२२।२ को यस अदालतको संयुक्त इजलासको फैसलाबाट देखिएको छ तर प्रस्तुत मुद्दाको फिरादमै रु. २००।– मा लिने जग्गा भनी बिगो खुलेकोमा पनि अञ्चल अदालतबाट शुरुले गरेको निर्णय उपर भएको फैसला अधिकार क्षेत्रात्मक त्रुटि भनी अञ्चल अदालतको फैसला बदर गरी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र नै यस अदालतमा दर्ता गर्नु भनी फैसला भए अनुरुप दायर भएबाट मिति ०४३।९।७।२ को संयुक्त इजलासको निर्णयसँग यो इजलास सहमत हुन नसकेकोले न्या. प्र.सु. ऐन, २०३१ को दफा १४ को उपदफा (५) अनुसार श्री सर्वोच्च अदालतको निर्णय बमोजिम गर्ने गरी साधक जाहेर गर्ने ठहर्छ । उपस्थित पक्षलाई तोरख तोकी यो मुद्दाको मिसिल श्री सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको मिति २०४४।११।१६।१ को प.क्षे.अ. संयुक्त इजलासको फैसला ।
११. प.क्षे.अ. को मिति २०४४।११।१६ को फैसला बमोजिम यस अदालतको साधक डायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा यस्मा प.क्षे.अ. को मा.मु.न्या. श्री ओमभक्त श्रेष्ठ र मा.न्या. श्री हरिप्रसाद शर्माको संयुक्त इजलासको ०४४।११।१६ को फैसलामा उल्लेख भएको २०४४।५।२२ मा त्यस अदालतबाट फैसला भएको भनी देखाएको फैसला मिसिल साथ नदेखिएको र मुद्दाको उतारमा पनि सो मितिमा उल्लेख भएको फैसला भएको भए त्यसपछि धवलागिरी अञ्चल अदालतबाट फेरी फैसला भएपछि मात्र यो २०४४।११।१६ को फैसला हुनु पर्नेमा सो पनि नदेखिई यो २०४४।११।१६ को फैसला एउटै मुद्दामा दोहरो फैसला भएको जस्तो देखिन आएकोले यस्मा के कसो भएको हो ? खुलाई सम्बन्धित मिसिलहरु समेत साथ राखी पठाउन हाजिर रहेका पक्षलाई समेत तारेख तोकी प्राप्त सबै मिसिलहरु समेत प.क्षे.अ. मा पठाई आएपछि पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।
१२. २०४४।५।२२ मा यसै अदालतबाट फैसला भएको भनी उल्लेख गरिएको मुद्दा प्रस्तुत नापी दर्ता बदर मुद्दा भन्दा बाहेक पूर्व प्र. पूर्णबहादुर घर्ती विपक्षी वादी प्रेमबहादुर घर्ती समेत भएको जग्गा हक कायम निर्णय बदर मुद्दा भएकोले नापी दर्ता बदर मुद्दामा दोहोरो फैसला भएको होइन भन्ने आशय व्यहोरा समेतको प.क्षे.अ. को मिति २०४६।५।२ को पत्र ।
१३. नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गरिएमा यस्मा प.क्षे.अ. को मिति २०४४।११।१६ को फैसला मिति २०४३।९।७ को सोही अदालतको फैसलासँग राय बाझी भई साविकको रुपमा पेश हुन आएको र प्रस्तुत मुद्दामा वादीले फिराद दिँदा विवादको कि.नं. २८७ को जग्गा पूर्णभद्रसँग २०३०।२।१ मा राजीनामा लिई हक भएको मोल रु. २००।– जाने जग्गामा मेरो हक कायम गरी सन्धी गौचर भएको अस्थायी दर्ता बदर गरी खिचोल मेटाई चलन चलाई पाउँ भन्ने दावी लिएकोमा प्रतिवादीहरुले सो दावीको कि.नं. २८७ को जग्गा वादीको राजीनामाको वादीले भोगचलन गरिआएको जग्गा नभई परापूर्वकाल देखि यस क्षेत्रका गिठापाटा ताराखसे समेतका गाउँलेहरुले गौचरणमा बाटोघाटोको रुपमा प्रयोग गर्दै आएको सार्वजनिक जग्गा हुँदा जग्गाको प्रकृति हेरी सरजमीन समेत गरी गौचरणमा दर्ता भएको हुँदा सो गौचरण नै कायम हुनु पर्ने भनी जिकिर लिई प्रतिउत्तर परेकोबाट विवादको कि.नं. २८७ को जग्गा वादी दावी बमोजिम रु. २००।– मोलिने वादीका राजीनामाको जग्गा हो वा प्रतिवादी जिकिर बमोजिम मोल बिगो खुलाउन नसकिने सार्वजनिक गौचरण जग्गा हो भन्ने मुख्य निर्णय दिनु पर्ने विषय देखिन आएको छ । यस्तो अवस्थामा वादीले दावी गर्दा आफ्नो निजी हकको भनी दावी लिँदा देखाएको मोल बिगोलाई प्रतिवादी जिकिरको सार्वजनिक गौचरणको जग्गाको मोल बिगो मानी मोल बिगो खुलेको सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा भन्न नमिली प्र.को जिकिरबाट न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) अन्तर्गत पर्ने विषयको प्रकृतिले बिगो खुल्न नसक्ने सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा देखिएकोले प.क्षे.अ. को ०४४।११।१६ को राय ठहर मनासिब नदेखिई ०४३।९।७ को निर्णय ठहर मनासिब देखिन आएकोले सो निर्णय ठहर बमोजिम दर्ता भएको पुनरावेदन हेरी कानुन बमोजिम किनारा गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल समेत पु.क्षे.अ. मा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल मार्ग २८ गते रोज ४ शुभम् ।