निर्णय नं. ३९५२ - अंश नामसारी

निर्णय नं. ३९५२ ने.का.प. २०४६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ६३०
फैसला भएको मिति : २०४६।९।२।१ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही बगाहा गा.पं. वडा नं. ६ बस्ने किताबुल जोलाहासमेत
विरुद्ध
विपक्षी/वादी : जिल्ला रुपन्देही बगाहा गा.पं. वडा नं. ६ बस्ने वासली जोलाहासमेत
मुद्दा : अंश नामसारी
§ बण्डा गर्नु पर्ने कुनै पैतृक सम्पत्ति नभएको भन्ने देखिएको यस्तो अवस्थामा छुट्टिभिन्न हुँदा कुनै बण्डापत्र खडा हुने स्थिति नै नरहेकोले पास भएको बण्डापत्र नभएको कारणबाट वादी प्रतिवादीहरुको बीच बण्डा नै नभएको भन्न सकिने अवस्था नभएको ।
(प्रकरण नं. १२)
§ जसको बण्डा गर्नुपर्ने कुनै सम्पत्ति नै छैन भने त्यस्ता व्यक्तिहरुले मानो छुट्टिएको लिखत गरी अड्डामा गई दस्तूर तिरी पास समेत गराउन जाने सम्मको विचार राख्ने आशा गर्न सकिने अवस्था नै नरहने ।
(प्रकरण नं. १२)
अवलम्बित नजीर : टिपुवा राजबंसी विरुद्व वैशाखु राजबंशी (ने.का.प. २०४२, नि.नं. २५६८, पृष्ठ १०८९), लालवीर पुतबार वि.पुनसिंह पुतवार (ने.का.प. २०४०, नि.नं. १७०४, पृष्ठ ३७८)
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमित पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।
२. बाबु घोलरका ३ भाइ छोरा जेठा किताबुल माहिला, र कान्छा हामी फिरादी वासली मोहरत हौ । किताबुलको श्रीमती सहीमा हुन, हामीहरुका बीच अंशबण्डा भएको छैन सगोलबाट आर्जन गरेको सम्पत्ति सगोलमै भोगचलन गर्दै आइरहेको थियो । विपक्षी र हामीहरुको बीच झगडा हुन गएकोले सगोलमा बस्न श्रेय नहुँदा अंश छुट्याई दिनु पर्यो भनी विपक्षीहरुसँग भन्दा तिमीहरुलाई अंश भाग दिन्नौ जानेको गर भनी विपक्षीहरुले भनेकोले अंश बण्डाको १, २ नं. को आधारमा फिराद गरेका छौं । अंशबण्डाको २०, २१, २२ र २३ नं. बमोजिम सम्पूर्ण सम्पत्तिमा ३ भाग लगाई २ भाग अंश हामीलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३९।१२।२८ को फिराद दावी रहेछ ।
३. हामीहरु अघि नै छुट्टी भिन्न भएका हौं मेरो एकलौटी कमाई आर्जनबाट २०२६ सालमा २०२३ सालमा राजीनामाबाट आर्जन गरेको हो । हाम्रो एकलौटी आर्जनको सम्पत्तिमा विपक्षीहरुको अंशबण्डाको १८ नं. ले अंश हक नलाग्ने भएकोले बाबु घोलर भएसम्म विपक्षीहरुलाई अंशबण्डा गरिदिनु नपर्ने हुँदा विपक्षीहरुको अंश दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.किताबुल जोलाहा समेतको प्रतिउत्तर जिकिर रहेछ ।
४. वादी दावी बमोजिम ३ भागको २ भाग वादीहरुले प्रतिवादीहरुबाट अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको फैसला ।
५. शुरु जिल्ला अदालतको उक्त इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. तायदातीमा उल्लेखित सम्पत्ति प्रतिवादीको आफ्नो निजी आर्जनको देखिएकोले वादी दावा पुग्न सक्दैन, वादी दावी पुग्न नसक्ने भई शुरुको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको २०४२।१२।२५ को फैसला ।
७. उक्त फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वासली जोलाहा र मोहरत जोलाहाको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।
८. यसमा वासली जोलाहाका नाममा जग्गा दर्ता रहेको देखिएन । अंश नपाउने गरेको कानुनी त्रुटि हुँदा पुनरावेदनको लागि अनुमति दिइएको छ नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।५।२७।५ को आदेश ।
९. यसमा वादी अंशियार होइन भन्ने कुरामा विवाद रहेको देखिन आउँदैन यिनीहरु बीच भिन्न भएको ठोस सबूद प्रमाण गुज्रन नआएको, वादीहरुका नाममा जमीनहरु रहे भएको र आफ्ना नाममा रहेको जग्गा जमीनहरु वितरण गरेको समेत मिसिलबाट नदेखिएको, प्रतिवादीहरुका नाममा रहेको सम्पत्ति पैतृक नदेखिए पनि सगोलमा रहँदा आर्जेको जग्गा देखिएकोले त्यस्तो सगोलमा कमाएको सम्पत्तिमा सबै अंशियारहरुको बराबर भाग बण्डा लाग्ने नै देखिँदा निजी स्वआर्जनको हुँदा बण्डा हुने सम्पत्ति होइन भन्ने मिलेन तसर्थ लुम्बिनी अञ्चल अदालतले पैतृक सम्पत्ति नदेखिएकोले स्वआर्जनको बण्डा हुने ठहर्दैन भनी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर भई वादी दावी बमोजिम अंश दिने र नामसारी हुने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।८।१ को फैसला ।
१०. पिता माताको मृत्यु पश्चात वादीहरु छुट्टी भिन्न भएको तथ्यलाई उखडा सम्बन्धी ऐन, २०२१ लागू हुनासाथ सोही साल मैले जोती आएको विवरण भरी प्राप्त गरेको प्रमाण पुर्जामा प्रत्यर्थीहरुको नाम नरहनुबाट प्रमाणित हुनुका साथै २०२३।५।२३ मा भू.सु. ऐन, २०२१ को अनुसूची १ अनुसारको लगत भर्दा हामी लोग्ने स्वास्नी परिवार किताबुल, सहिमा र ३ छोरी वहमन, सहमन र जहमनको अलग अलग भरी आएका छौं भने प्रत्यर्थीहरुले छुट्टै अनुसूची फाराम भरेका छन् एकै परिवारको भए एकै ठाउँमा प्रत्यर्थीहरुको नाम पनि उल्लेख हुनुपर्ने सो नभएबाट समेत प्रत्यर्थीहरु २०।२५ वर्ष अघि छुट्टी भिन्न भएको अंशबण्डाको ३० नं. अनुसार व्यवहार प्रमाणबाट पुष्टि भएकोमा सो प्रमाणको मूल्यांकन नगरी हाम्रो निजी आर्जनको सम्पत्ति बण्डा लाग्ने गरी गरेको प.क्षे.अ. को फैसलामा अंशबण्डाको ३० नं. , अ.बं. १८४(क), १८५, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को साथै ने.का.प. २०४२, अङ्क १, पृष्ठ २७ मा प्रतिपादित सिद्धान्त समेतको त्रुटि हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको किताबुल जोलाहा १, सहिम जोलाहिन १ समेत जना २ को यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यस्मा प्रतिवादीबाट पेश भएको अनुसूची १ नं. मोहीको लगतमा जग्गा कमाउने व्यक्तिको एकाघरका परिवारका सदस्यहरुको नामावलीमा यी वादीहरुको नाम उल्लेख भएको नदेखिएको र स्थानीय पन्जिकाधिकारीको रजिष्ट्रारको कार्यालय गा.पं. वसन्तपुरमा रहेको सो गा.पं. वडा नं. ७ मा बस्ने व्यक्तिहरुको नामावलीमा वादीहरु बेग्ला बेग्लै परिवारको आ–आफ्नो परिवारको नामावली रजिष्टर्ड भएको र प्रत्यवादीको पनि आ–आफ्नो बेगल परिवार भएको नामावली रजिष्टर्ड भएको देखिन्छ । त्यस्तो एउटाको परिवारको लगतमा अर्को परिवारको सदस्यको नामावली समावेश भएको नदेखिएको एकै मितिमा एउटै कित्ताको जग्गा मध्येबाट वादी मोहरतले र प्र. किताबुलले श्याम वलीबाट आ–आफ्ना नाममा छुट्टा छुट्टै राजीनामा पारीत गरी छुट्टा छुट्टै नम्बरमा दर्ता नामसारी भई भोग गरेको पनि देखिन्छ यस्तो स्थितिमा वादी दावी बमोजिम प्रतिवादीबाट अंश पाउने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अंशबण्डाको ३० नं. समेतको त्रुटि देखिँदा पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४४।५।३१।४ को आदेश ।
१२. यस्मा वादीले दावी गर्दा हामी प्रतिवादीहरुसँग सगोलमा बसी सगोलको आर्जनबाट जग्गा जोडी भोगी आएकोमा अंश माग्दा नदिएकोले अंश पाउँ भन्ने मुख्य दावी भएको प्रतिवादीहरुले प्रतिउत्तर फिराउँदा हाम्रो पैतृक सम्पत्ति केही नभएको २०, २५ वर्ष पहिले बाबु मरेपछि सबै छुट्टी भिन्न भई घरजम गरी बसी आफ्नो आर्जनबाट जग्गा जोडी आएको हुँदा अंश दिन नपर्ने भन्ने मुख्य जिकिर लिई प्रतिउत्तर फिराएको देखियो । मिसिल साथ रहेका फिराद व्यहोराबाटै यिनी वादी प्रतिवादीहरुको बण्डा गर्नुपर्ने कुनै पैतृक सम्पत्ति नभएको भन्ने देखिएको यस्तो अवस्थामा छुट्टी भिन्न हुँदा कुनै बण्डापत्र खडा हुने स्थिति नै नरहेकोले पास भएको बण्डापत्र नभएको कारणबाट वादी प्रतिवादीहरुको बीच बण्डा नै नभएको भन्न सकिने अवस्था नभएको जहाँसम्म बण्डा गर्नुपर्ने केही नभई मानो छुट्टिएको भए सो को लिखत भई पास हुनुपर्ने भन्ने हकमा पनि जसको बण्डा गर्नुपर्ने कुनै सम्पत्ति नै छैन भने त्यस्ता व्यक्तिहरुले मानो छुट्टिएको लिखत गरी दस्तूर तिरी पास समेत गराउन जाने सम्मको विचार राख्ने आशा गर्न सकिने अवस्था नै नरहने हुँदा अंशबण्डाको ३० नं. बमोजिम अरु व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु सगोलका हुन् वा बेगल भइसकेका हुन् भन्नेतर्फ विचार गरेमा वादीहरुको नाउँमा कुनै सम्पत्ति र मोहीमा कमाएको जग्गा समेत केही नभएकोबाट निजहरुले भूमि सम्बन्धी ऐन बमोजिमको १ नं. फाराम भर्ने अवस्था नै नभएको प्र.मध्येको किताबुलले उखडाको ०–५–० जग्गा कमाएको नाताबाट २०२३।५।२३ मा १ नं. फाराम भरेकोमा यिनी वादीहरुलाई आफ्नो परिवारमा नै नदेखाएको र त्यसपछि २०३४ सालमा जन्म मृत्यु दर्ता ऐन लागू भई विवरण दिँदा वादी प्रतिवादी तीनैजनाले छुट्टा छुट्टै विवरण दिई आफ्नो आफ्नो घर परिवार छुट्टा छुट्टै देखाएकोबाट वादी प्रतिवादी व्यवहारतः छुट्टी भिन्न भइसकेको देखिन आउँदछ । वास्तविक तथ्यबाट देखिएको यो कुरा यिनै वादी मध्येको मुहरतले र प्रतिवादी मध्येको किताबुलले एकै व्यक्ति श्याम वलीबाट एउटै कि.नं. ३३३ को कित्ताबाट आफ्ना–आफ्ना २०३८।७।२५ मा जग्गा किनी कित्ताकाट गराई आफ्ना–आफ्ना नाउँमा छुट्टा छुट्टै दर्ता गराएको देखिन आएकोबाट अरु पुष्टि हुन आएको छ । टुपुवा राजबंशी विरुद्ध बैशाखु राजबंशी भएको अंश मुद्दामा बाबु बाजेको पालाको बण्डा गर्नुपर्ने अचल सम्पत्ति नभई अंश छुट्टिई भिन्न भिन्न बसी आफू आफूले अचल सम्पत्ति समेत आर्जन गरी बसेको देखिँदा वादी दावी पुग्न नसक्ने (ने.का.प. २०४२, नि.नं. २५६८, पृष्ठ १०८९ मा) भनि सिद्धान्त प्रतिपादन भएको र लालवीर पुतवार विरुद्व पुनसिंह पुतवार भएको अंश मुद्दामा वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने (ने.का.प. २०४०, नि.न. १७०४, पृष्ठ ३७८¬) भनि यस अदालतबाट सिद्धान्त समेत प्रतिपादन भएको हुँदा फिराद दायर भएको अघिल्लो दिनसम्म यी वादी प्रतिवादीहरु सगोलमा रहेको र दावी बमोजिम अंश पाउने भन्न सकिने अवस्था समेत नरहेबाट दावी बमोजिम अंश पाउने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ नमिली उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्याएको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
देहायका पुनरावेदक प्रतिवादीहरु के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी पुग्न नसक्ने ठहरेकाले पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादीहरुलाई धरौटी राखेको भराई दिने गरेको रु. ११४।६७ भराई लिन नपाउने हुँदा उक्त रकम देहायका प्रतिवादीहरुलाई फिर्ता दिनु भनि शुरु रुपन्देही जिल्ला अदालतमा लगत दिन लगत राख्नु .....१
किताबुल जोलाहा १ सहिमा जोलाहिन १
पुनरावेदक प्रतिवादी किताबुल जोलाहन सहिमान जोलाहिन के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी पुग्न नसक्ने ठहरेकाले अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २१।५५ र यस अदालतबाट पुनरावेदनको अनुमति पाई राखेको कोर्टफी पाउँ भनी दर्खास्त गरे वादीहरुबाट नियमानुसार गरी भराई दिनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लगत दिनु .....२ प्रस्तुत मुद्दाको पुनरावेदन दायरी लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल पौष २ गते रोज १ शुभम् ।