शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९३० - कर्तव्यज्यान ।

भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२

ने.का.प. २०६९,            अङ्क १२

निर्णय नं.८९३०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

०६७ CR- ०२१०

फैसला मितिः २०६९।५।१३।४

 

मुद्दा : कर्तव्य ज्यान 

 

पुनरावदेक प्रतिवादीः जिल्ला पाँचथर पौवासारताप गा.वि.स.वडा नं. १ घर भै हाल कारागार शाखा          पाँचथरमा थुनामा रहेका शुक्रराज विश्वकर्मा

विरूद्ध

प्रत्यर्थी वादीः बमबहादुर विश्वकर्माको जाहेरीले नेपाल सरकार

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री विश्वमंगल आत्रेय

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री मोहनबहादुर कार्की

मा.न्या.श्री रेवन्तबहादुर कुँवर

 

§  वारदात प्रतिवादीकै घर कोठाभित्र हुनुको साथसाथै रातको समय भन्ने पनि देखिएको अवस्थामा यस्तो स्थान र समयमा चश्मदिद् गवाहको अभाव रहनु स्वाभाविक नै हुन्छ र सबै वारदात एवं अपराधमा चश्मदिद् गवाह हुनैपर्छ भन्ने पनि छैन । कसूरदारले गरेको कसूर प्रमाणित हुन अपराधको अनुसन्धान हुँदा विभिन्न कोणहरूबाट प्राप्त तथ्य एवं अभिव्यक्त भएका भनाईहरूलाई परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भने हुनुपर्ने 

(प्रकरण नं.३)

§  पत्नीसँग कुनै कारणले बेमेल हुँदैमा मार्नु पर्ने अवस्था र कारण हुँदैन । बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । कुनै पनि बहानाबाजी, कारण, अवस्था वा परिस्थितिले पनि सो अधिकार हनन् हुनु हुँदैन । आफ्नो संरक्षकत्वमा रहेकी, आफूले सदैव रक्षा गर्नुपर्ने पत्नीलाई मारेको अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नहुने 

(प्रकरण नं.५)

पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ता लैनबहादुर थापा

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

§  नेकाप २०६५, अङ्क ११, नि.नं ८०३९, पृष्ठ १३६९

सम्बद्ध कानूनः

§  मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३(३)

§  अ.बं १८८ नं.

 

फैसला

            न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत इलामको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

            मिति २०६४।३।२५ गतेका दिन राति बेलुकाको खाना खाई श्रीमती र म सँगै सुतेकोमा राति मैले श्रीमतीलाई ओछ्यानमा छाम्दा नभेटी खोजतलास गर्दा छानाको बाँसको बलोमा झुण्डिई आत्महत्या गरिरहेको देखी आमालाई बोलाएकोमा आमाले उक्त डोरी काट्नु भयो । त्यसपछि गाउँका मानिसहरू भेला भई रातभरि रूँगी विहान भएपछि यो जाहेरी दिन आएको छु । मेरो श्रीमतीलाई कोही कसैले कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको जाहेरी दरखास्त 

            जिल्ला पाँचथर, पौवासारताप गा.वि.स.वडा नं. १ स्थित प्रतिवादी शुक्रराज वि.क.को घरको दक्षिणपट्टि साइडमा लाछी गाँसेको, सोही लाछी गाँसेको ठाउँको कोठाभित्र मृतकको लास खाटमा सुताई राखेको, मृतकको लासलाई सरसर्ती हेर्दा दुवै आँखाको कोस सुन्निएको, नाक कानबाट रगत निस्केको, कानको जोर्नी भागमा नीलो भई सुन्निएको, घाँटी टाउको हल्लाउँदा भाँचिएको जस्तो भई हल्लिने भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का 

            मिति २०६४।३।२५ गतेका दिन राति मेरी दिदी सोममाया वि.क.लाई कर्तव्य गरी मारेको भन्ने सुनी जानकारी पाई मिति २०६४।३।२६ गतेका दिन उक्त घटनास्थलमा आई हेर्दा आँखाको कोस नीलो भई सुन्निएको नाक, कानबाट रगत बगेको, घाँटीमा डोरीको डाम नभई औँलाको डाम जस्तो देखिएको, अन्य शरीरको भागसमेत हेर्दा कर्तव्य गरी मारेको पुष्टि हुन आएको हुँदा अपराधीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही होस् भन्ने समेतको बमबहादुर विश्वकर्माको जाहेरी दरखास्त 

            मेरो श्रीमतीलाई आजभन्दा १० वर्ष अगाडि चिलिङदिन, ३ बस्ने पहलमान वि.क.को छोरी सोममाया वि.क.सँग लभम्यारिज गरी भगाई ल्याएकोमा दुई वटा बालबच्चा समेत भैसकेको छ । आजभन्दा १ महिना अगाडि म र मेरो श्रीमती राँके बजार गएको बखत मैले पहिलादेखि नै चिनजान भएको राई जातकी केटीलाई भेटी निजसँग गफगाफ गरेकोमा सो कुरा श्रीमतीलाई चित्त बुझेको थिएन । सोही विषयलाई लिएर हामी दुवैबीच वादविवाद हुँदा मिति २०६४।३।२५ गतेका दिन मैले रिसले श्रीमतीलाई एक झाप्पु दिएँ । निज रून थालिन् । त्यसपछि म कोठामा गएँ । निज रिसले गाउँमा गई रक्सी खाई एक बोतल रक्सी समेत लिई आई र मलाई पनि रक्सी खानु भनी । मैले रक्सी खान्न भन्दा तँ मैले दिएको के खान्थिस्, तेरी श्रीमतीले दिएको पो खान्छस् भनी जवाफ दिएकी हुँदा मलाई रिस उठी निजलाई घाँटीमा बाँधी छानाको बाँसको बलोमा झुण्डयाई पछि आमालाई बोलाई डोरी काट्न लगाई भूँई खाटमा राखी अन्य गाउँका मानिसहरूलाई बोलाई हो हल्ला गरेको हुँ । मैले नै मेरो श्रीमतीलाई कर्तव्य गरी मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी शुक्रराज वि.क.को साविती बयान 

            मस्तिष्कमा रक्त आपूर्ति राम्ररी हुन नसकी स्नायु प्रणालीले काम गर्न नसकी निजको मृत्यु भएको व्यहोरा प्रमाणित गरिन्छ भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन 

            मिति २०६४।३।२५ गतेका दिन राति हामी सुती निदाएको अवस्थामा निज शुक्रराज वि.क.हो हल्ला गर्दै आयो । के भयो भनी निजलाई सोधपुछ गर्दा मेरो श्रीमती झुण्डी आत्महत्या गरी मृत्यु भएको हुँदा हल्लाखल्ला गरेको भनी निजले भनेपछि के रहेछ भनी घटनास्थलमा गई लास हेर्दा झुण्डी आत्महत्या गरी मृत्यु भएजस्तो नलागी को कसले मारेछ भनी बुझ्दै जाँदा निज प्रतिवादीले आफैले श्रीमतीलाई मारी झुण्ड्याएको भन्ने बुझिएको हुँदा निजलाई कानूनबमोजिम कारवाही होस् भन्ने समेत व्यहोरको स्मिता चेम्जुङ्ग, कविता चेम्जुङ्ग, मनिता चेम्जुङ्ग, चन्द्रमाया केरूङ्ग, सम्झना चेम्जुङ्ग र कृति चेम्जुङ्ग समेतले गरेको एकैमिलानको छुट्टाछुट्टै कागज 

            मिति २०६४।३।२५ गतेका दिन राति होहल्ला हुँदा के भएछ भनी जाँदा शुक्रराज वि.क.को श्रीमती झुण्डी आत्महत्या गरी मरेको भनी खाटमा सुताई राखेको थियो । हेर्दा आफैँ मरेको जस्तो लागेको थिएन । हाल बुझ्दै जाँदा प्रतिवादीले नै श्रीमतीलाई मारेको भन्ने निजबाट खुल्न आएको हुँदा निजलाई कानूनबमोजिम कारवाही होस् भन्ने समेत व्यहोरको एकै मिलानको वस्तुस्थिति मुचुल्का 

            मिति २०६४।३।२५ गतेको दिन राति मेरो छोरा शुक्रराज वि.क.ले श्रीमती झुण्डिई भनी मलाई बोलाएकोले के भएछ भनी जाँदा निज बुहारी झुण्डिरहेकी थिई । मैले डोरी काटी खाटमा सुताउँदा मरिसकेकी रहिछ । त्यसपछि गाउँमा होहल्ला गरी गाउँका मानिसहरू आई रातभरि रूँगी भोलिपल्ट विहान प्रहरीमा खबर गरेका हौँ । निजहरू राम्रोसँग मिलोमतो गरी बसेका थिए । हाल बुझ्दा मेरो छोराले मारेको भनी बयानसमेत दिएको हुँदा निजले श्रीमतीलाई कर्तव्य गरी मारेको हुँदा निजलाई कानूनबमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको प्रतिवादी शुक्रराज वि.क.को आमा वर्ष ६२ की झिम्कीमाया वि.क.को कागज 

            मिति २०६४।३।२५ गतेका दिन मेरो दाजुभाउजू गाउँमा दिनभरि काम गरी आई बेलुका घरमा आई खाना खाएपछि सुते । राति करीव १ बजे मेरो आमा झिक्कीमाया वि.क.ले मलाई तेरो भाउजू झुण्डी आत्महत्या गरी मरिछ भनी सुनाएकोले म उठी हेर्दा भाउजू मरिरहेको देखी हेर्दा झुण्डी मरे जस्तो मलाई लागेन । हाल बुझ्दा मेरो दाजुले भाउजूलाई नै मारेको भन्ने बुझिएकोले निजउपर कारवाही होस् भन्ने समेत व्यहोराको वीरमान वि.क.को कागज 

            मिति २०६४।३।२५ गतेका दिन म, शुक्रराज निजको श्रीमती सोममाया, राजेन्द्र नेम्वाङ्गको खेताला भई काम गरेका थियौँ । काम गर्दा केटीको विषयमा वादविवाद भएको थियो । हाल गाउँमा बुझ्दा शुक्रराजले नै आफ्नी श्रीमतीलाई कर्तव्य गरी मारेको हुँदा निजलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको चन्द्रबीर वि.क.को कागज 

            मिति २०६४।३।२५ गतेका दिन दिनभरि शुक्रराज वि.क., सोममाया वि.क.चन्द्रवीर वि.क.मेरो खेतमा काम गरी बेलुका आआफ्नो घरमा गएका थिए । सोममायाको मृत्युको सम्बन्धमा शुक्रराज आफैँले मैले नै मारेको भनी साविती बयान दिएको हुँदा निजउपर कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको राजेन्द्र नेम्वाङ्गको कागज 

            बुझिएका सबूद प्रमाणबाट प्रतिवादी शुक्रराज वि.क.ले आफ्नो श्रीमती सोममाया वि.क.लाई घाँटीमा अठ्याई कर्तव्य गरी मारेको देखिई निजले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नंं तथा १३(३) नं विपरीतको कसूर गरेकाले निजलाई सोही ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग पत्र 

            मिति २०६४।३।२६ गतेका दिन मृतक मेरो श्रीमतीसँग ज्यामी काम गर्न राजेन्द्र नेम्वाङ्गको घरमा गएका थियौँ । सो दिनभर त्यहाँ काम गरी बेलुका ५.३० बजेको समयमा आफ्नो घरमा फर्की आयौँ । काम गर्दा केटीको विषयलाई लिएर श्रीमतीसँग विवाद भयो । मैले निजलाई हातले ढाडमा एकपल्ट हिर्काएपछि निज गाउँमा गई छिमेकीकोमा गई एक माना रक्सी पनि लिएर आइन । मलाई समेत खान अनुरोध गरेकोमा मैले खान इन्कार गर्दा पुनः केटीकै विषयलाई लिएर विवाद भएको थियो । राति निद्राबाट व्युँझिँदा मृतक सोममाया झुण्डिरहेको देखी कराएँ । मेरो भाइ, भाउजू, आमाहरू पनि आए । आमाले घाँटीमा बाँधेको सल काटिन । सो समयमा गाउँ घरका अन्य मानिसहरू पनि आइपुगे । श्रीमतीलाई मैले कर्तव्य गरी मारेको होइन । निज आफै झुण्डी आत्महत्या गरी मरेकी हुँदा अभियोग मागदावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी शुक्रराज विश्वकर्माले अदालतमा गरेको बयान 

 

            मृतकको लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटी नै भाँचिएको अवस्था देखिँदा पहिलादेखि नै मृतकलाई मार्ने रिसइवी मनसाय नभए पनि मृतकसँग वादविवाद भई प्रतिवादीले मृतकको घाँटी अठ्याएको र मृतक छटपटाउँदा समेत नछाडी घाँटी ङ्याकिरहेका कारणबाट मृतकको ज्यान मर्न गएको देखिँदा मृतकलाई मर्दाको अवस्थामा प्रतिवादीको मार्ने मनसाय थिएन होला भनी अर्थ लगाउन सकिने अवस्था नदेखिएकोले मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी शुक्रराज विश्वकर्माले अभियोग मागदावीअनुसारको कसूर गरेको तथ्य पुष्टि भएको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । निजलाई सर्वश्वसहितको जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिँदा अ.बं १८८ नं बमोजिम निजलाई १० वर्ष कैद हुनुपर्ने राय व्यक्त गरेको छु । साधक जाहेर गरी अन्तिम भई आएबमोजिम गर्नु भन्ने शुरू पाँचथर जिल्ला अदालतको मिति २०६५।३।१६ गतेको फैसला 

            शुरू अदालतले फैसला गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मेरो बयानलाई आधार ग्रहण गरी फैसला गरिएको पाइन्छ । मैले अदालतमा आई बयान गर्दा अनुसन्धानमा भएको मेरो बयान मलाई यातना दिई सहीछाप गराएको हो भनी खुलाएकोमा जाहेरी दरखास्त, बकपत्र, लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट मैले मृतकलाई मारेको भन्ने पुष्टि भएको भनी प्रमाणहरूको विवेचना नै नगरी हचुवाको भरमा भएको शुरूको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शुक्रराज विश्वकर्माको पुनरावेदन पत्र 

            यसमा मृतकको मृत्यु पुनरावेदककै कर्तव्यबाट भएको हो भन्ने निजको मौकाको बयानमा भए पनि अदालतको बयानमा मौकाको बयान यातनाबाट गराइएको भनी उल्लेख गरेको र निजको कर्तव्य पुष्टि हुने अन्य प्रमाणको अभावमा शुरूको फैसला फरक पर्नसक्ने देखिँदा पुनरावेदन सरकारी वकील कार्यालय इलामलाई आदेशको जानकारी गराई पुनरावेदक प्रतिवादीतर्फबाट बहस पैरवी गर्न वैतनिक वकीललाई समेत पेशीको सूचना दिई नियमानुसार गर्नु भन्ने पुनरावेदन अदालत इलामको आदेश 

            प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयान, मिसिल संलग्न लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन र जाहेरवालाको बकपत्र समेतबाट मृतकको मृत्यु प्रतिवादीको कर्तव्यबाट भएको भन्ने पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादी निर्दोष रहेछन् भनी भन्न सकिने अवस्था देखिएन । तसर्थ, उपरोक्त उल्लिखित आधार प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं विपरीत १३(३) नं को कसूरमा ऐ.महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरी शुरू पाँचथर जिल्ला अदालतबाट भएको मिति २०६५।३।१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अ.बं १८८ नं बमोजिम राय व्यक्त गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी र मृतक लोग्नेस्वास्नीको सम्बन्ध देखिएको, प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइवी रहेको नदेखिएको, अर्को महिलासँग बोलचाल गरेको विषयमा वादविवाद भई मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्नै श्रीमतीको कर्तव्य गरी मारेको अवस्था भएबाट प्रतिवादीलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिँदा निज प्रतिवादीलाई अ.बं १८८ नं. बमोजिम १०(दश) वर्ष मात्र कैदको सजाय हुनपर्ने गरी शुरू पाँचथर जिल्ला अदालतले व्यक्त गरेको राय मनासिव देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत इलामको फैसला 

            जाहेरवाला चश्मदिद् गवाह नभएको तथा निजले घटना घटेको सुनी कर्तव्य गरेकोमा विश्वास लाग्छ भनी दिएको जाहेरी दरखास्त एवं बकपत्रलाई विश्वसनीय प्रमाण मान्न सक्ने अवस्था छैन । प्रहरीसमक्ष भएको मेरो बयान स्वतन्त्रपूर्वक भएको होइन भनी मैले अदालतमा आरोपित कसूरमा पूर्ण इन्कार रही बयान गरेको छु । मैले श्रीमतीलाई वादीववाद गरी घाँटी थिचेर मारेको भए घरमा भएका मेरो छोराछोरी तथा आमाले सो देख्नु सुन्नुपर्ने थियो । सो हुन सकेको अवस्था छैन । तसर्थ, मिसिल संलग्न प्रमाणहरूको यथोचित् मूल्याङ्कन नगरी मलाई दोषी ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी झूठ्ठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र 

            नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट विद्वान अधिवक्ता लैनबहादुर थापाले पुनरावेदकले स्वतन्त्रपूर्वक अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको, प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको देख्ने चश्मदिद् गवाह पनि कोही नरहेको र आफ्नी पत्नीलाई मार्नुपर्ने सम्मको कारण पनि मिसिलबाट नदेखिएको अवस्थामा अनुमान र तर्कको भरमा पुनरावेदकलाई दोषी ठहर गरी भएको शुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग दावीबाट पुनरावेदकलाई सफाइ दिलाई पाऊँ भनी गर्नु भएको बहस समेत सुनियो 

            विद्वान कानून व्यवसायीको बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत इलामको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

            प्रतिवादी शुक्रराज वि.क.ले आफ्नी श्रीमती सोममाया वि.क.लाई घाँटीमा अठ्याई कर्तव्य गरी मारेको देखिँदा प्रतिवादी शुक्रराज वि.क.ले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. को १३(३) नं. को कसूर गरेको हुँदा निजलाई सोही १३ (३) नं बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी देखिन्छ । प्रतिवादी शुक्रराज वि.क. मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसूरमा सावित रहेको देखिन्छ भने अदालतसमक्ष इन्कारी रही बयान गरेको पाइन्छ । शुरू पाँचथर जिल्ला अदालतले यी प्रतिवादीले अभियोग माग दावीअनुसारको कसूर गरेको पुष्टि भएको भनी सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई निजलाई १० वर्ष कैदको सजाय हुनुपर्ने रायसमेत व्यक्त गरेकोमा सो रायसहितको फैसला पुनरावेदन अदालत इलामबाट सदर भएकोमा त्यसउपर प्रतिवादीले आफू निर्दोष भएकोले सफाइ पाउनुपर्ने भनी यस अदालतमा पुनरावेदन गरेको देखियो 

            २. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादीले जाहेरवाला चश्मदिद् गवाह नभएको हुँदा निजको भनाई विश्वसनीय नभएको तथा अदालतसमक्ष भएको बयानमा आफू आरोपित कसूरमा पूर्ण इन्कार रहेकोले अभियोग दावीबाट सफाइ पाउनु पर्ने भन्ने मुख्य पुनरावेदन जिकीर लिएको देखिन्छ । यी पुनरावेदक प्रतिवादीले अदालतसमक्ष आफ्नी श्रीमती सोममायालाई मैले कर्तव्य गरी मारेको होइन । निज आफै झुण्डी आत्महत्या गरेकी हुन भनी आरोपित कसूरमा इन्कार रही बयान गरेको भएपनि निज प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा श्रीमती सोममायासँग अर्कै एक केटीको विषयलाई लिएर अगाडिदेखि नै वादविवाद झगडा हुने गरेको र वारदात भएको दिन पनि सोही विषयलाई लिएर वादविवाद भएको तत्पश्चात म श्रीमती सुतेको ठाउँमा गई दुवै हातले घाँटी ङ्याकी दिएकोमा श्रीमती एकछिन छट्पटाई र मरी । त्यसपछि म आफू अपराधबाट बच्नको लागि सलले श्रीमतीको घाँटीमा बाँधी झुण्डयाएँभनी वारदातको सिलसिलेबार वर्णन गर्दै आफूले गरेको कसूर उल्लेख गरेको पाइन्छ । यी पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साविती बयान स्वतन्त्रपूर्वक भएको होइन भनी ठोस र वस्तुनिष्ठ प्रमाणबाट स्थापित गर्न सकेको पाइँदैन 

            ३. प्रस्तुत मुद्दाको वारदात प्रतिवादीकै घर कोठाभित्रको हुनुको साथसाथै रातको समय भन्ने पनि देखिएको छ । यस्तो स्थान र समयमा चश्मदिद् गवाहको अभाव रहनु स्वाभाविक नै हुन्छ र सबै वारदात एवं अपराधमा चश्मदिद् गवाह हुनैपर्छ भन्ने पनि छैन । कसूरदारले गरेको कसूर प्रमाणित हुन अपराधको अनुसन्धान हुँदा विभिन्न कोणहरूबाट प्राप्त तथ्य एवं अभिव्यक्त भएका भनाइहरूलाई परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भने अवश्य नै हुनुपर्ने हुन्छ । प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको साविती बयानलाई जाहेरवाला बमबहादुर विश्वकर्मा, मौकामा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने झिम्कीमाया वि.क., वीरमान वि.क., राजेन्द्र नेम्वाङ्ग, स्मिता चेम्जुङ्ग एवं वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइले समर्थित भइरहेको देखिन्छ । त्यसैगरी मृतकको नाक, कानबाट रगत निस्किएको, कानको जोर्नी भागमा नीलो भई सुनिएको घाँटी टाउको हल्लाउँदा भाँचिएको जस्तो भई हल्लिने भएको भन्ने लास प्रकृति मुचुल्का र मष्तिष्कमा रक्त आपूर्ति राम्ररी हुन नसकी स्नायु प्रणालीले काम गर्न नसकी मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनको व्यहोरा समेतले प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयानलाई थप पुष्टि गरिरहेको पाइन्छ 

            ४. अतः माथि विवेचित आधार प्रमाणबाट यी पुनरावेदक प्रतिवादीले आफ्नी श्रीमती सोममाया वि.क.लाई कर्तव्य गरी मारेको निर्विवाद रूपमा प्रमाणित हुन आएकोले निज प्रतिवादी शुक्रराज विश्वकर्मालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने ठहराएको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन 

            ५. अब, यी पुनरावेदक प्रतिवादीलाई अ.बं १८८ नं. बमोजिम १० (दश) वर्ष मात्र कैदको सजाय हुनुपर्ने गरी पुनरावेदन अदालत इलामबाट व्यक्त रायका सम्बन्धबाट विचार गर्दा यी पुनरावेदक प्रतिवादी शुक्रराज वि.क. र मृतक सोममाया वि.क. पति पत्नी नाताका मानिस रहेका र श्रीमतीले अर्को स्वास्नी मानिससँगको सम्बन्धको विषयलाई लिएर सधै व्यङ्ग गर्ने गरेको कारणबाट वादविवाद झगडा पर्ने गरेको भन्ने देखिन्छ । प्रस्तुत वारदातको जरिया पनि सोही विषयवस्तु रहेको भन्ने देखिएको छ । यसरी अर्को स्वास्नी मानिससँगको सम्बन्धको जरियाबाट दिउसोदेखि नै भएको झगडा विवादको कारणबाट वारदातको राति आँफैले श्रीमतीलाई घाँटी थिची मारी झुण्ड्याई दिएको भनी प्रतिवादी कसूरमा सावित रहेको देखिन्छ । पत्नीसँग कुनै कारणले बेमेल हुँदैमा मार्नु पर्ने अवस्था र कारण हुँदैन । बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । कुनै पनि बहानाबाजी, कारण, अवस्था वा परिस्थितिले पनि सो अधिकार हनन् हुनु हुँदैन । आफ्नो संरक्षकत्वमा रहेकी, आफूले सदैव रक्षा गर्नुपर्ने पत्नीलाई मारेको अवस्थामा अ.बं १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण हुँदैन । मुलुकी ऐन, अ.बं १८८ को प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने र अ.बं १८८ नं. को प्रयोग गरी सजाय घटाउँदा अदालतले ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति, अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्व रिसईवी, सम्बन्ध, अपराधमा संलग्न अभियुक्तहरूको संख्या, प्रयोग गरिएको हतियार, मर्नेको शरीरमा देखिएको घाउचोट, ज्यान मारिएको ठाउँ अवस्था, घटनास्थल र समय, अभियुक्तको चरित्र तथा आपराधिक रेकर्ड आदि विभिन्न कुरा र अवस्थाहरूको विचार पुर्‍याउनुपर्ने भनी पुनरावेदक प्रतिवादी गोविन्दबहादुर कार्की विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा नजीर सिद्धान्त समेत प्रतिपादन (नेकाप २०६५, फागुन नि.नं ८०३९ पृष्ठ १३६९) भएको पाइन्छ । प्रस्तुत मुद्दामा सो नजीरमा प्रतिपादित सिद्धान्त र अवस्थाहरूको उल्लेख गरी प्रतिवादीलाई घटी सजाय हुनुपर्ने भनी राय लगाएको पनि पाइँदैन । प्रस्तुत वारदातलाई हेर्दा भवितव्य हो कि भनी शंका गर्नुपर्नेसम्मको अवस्था पनि देखिंदैन । प्रतिवादीले आफ्नो संरक्षकत्वभित्र रहेकी आफ्नी श्रीमतीलाई कर्तव्य गरी मारेको अवस्थालाई विचार गर्दा पनि निजलाई घटी सजाय हुनुपर्ने चित्तबुझ्दो आधार एवं कारण रहेको देखिँदैन । यस्तो अवस्थामा अ.बं १८८ नं. बमोजिम घटी सजाय गर्ने गरी जाहेर गरेको पुनरावेदन अदालत इलामको रायसँग सहमत हुन सकिएन 

             फैसलाको जानकारी सम्बन्धित कारगारमार्फत् कैदमा रहेका पुनरावेदक प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू 

            उक्त रायमा म सहमत छु ।       

न्या.रामकुमार प्रसाद शाह

 

इति संवत् २०६९ साल भदौ १३ गते रोज ४ शुभम्

इजलास अधिकृत : वासुदेव पौडेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु