निर्णय नं. ३९५९ - लागू औषध गाँजा

निर्णय नं. ३९५९ ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको फौ.पु.नं. ४१७
फैसला भएको मिति : २०४६।८।२५।१ मा
पुनरावेदक/प्रतिवादी : जि. पर्सा वीरगन्ज न.पं. वडा नं. १४ बस्ने रामनरेश सिंह राजपुत
विरुद्ध
विपक्षी/वादी : मदनकुमार उप्रेतीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : लागू औषध गाँजा
§ अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्याउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्याउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने ।
(प्रकरण नं. ३०)
§ आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरिएको अवस्थामा उक्त लगाइएको अभियोगको अभियुक्त ठहर्याउन नमिल्ने।
(प्रकरण नं. ३१)
पुनरावेदक/प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश र विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. २०३९।५।१८ गते बेलुका १०:४५ बजे वीरगन्जबाट सिमरातर्फ जान लागेको ना.अं. ११०७ नं. को ट्रकलाई चेक गर्न जाँदा गाँजा जस्तो गन्ध आएकोले त्रिपाल हटाई हेर्नु पर्यो भन्दा ट्रक चालकले ट्रक लिई भागेकोले पक्राउ गरी कारवाही गरिपाउँ भन्ने प्र.मदनकुमारको प्रतिवेदन ।
३. गाडी रोकी चेक गरी सोधपुछ गर्दा गाँजा बैजनाथ सा कलवारको घरमा लगी अनलोड गरी फर्क्यौ भनेकोले रामनरेश र शंकर लामा तथा चालक कृष्णबहादुरलाई ट्रक सहित दाखिल गरेको छु भन्ने समेतको प्र.ह. ताराबहादुरको प्रतिवेदन ।
४. बैजनाथको घरबाट गाँजा बोरा ३३ बरामद भएको हो भन्ने समेत व्यहोराको खानतलासी मुचुल्का ।
५. २०३९।५।२८ गते राती १० बजेतिर डेराबाट खलासीले बोलाई लगेकोले जाँदा रामनरेशले गाडीमा बस भनेकोले बसें । गाडी रामनरेशले हाँकी कलैया नगर विकासले बनाएको पार्क निर पुग्दा नचिनेका ३०।३५ जनाले गाँजा लोड गरी रामनरेशले गाडी अगाडि बढाई गण्डक पोष्ट नेर पुग्दा न.पं. को कर तिर्न लाग्दा प्रहरी आई चेक गर्न लागेकोले गाडी अगाडि बढाई गाँजा जितपुर बैजनाथको घरमा राखी पथलैया जाँदा पक्राउ गरेको हो भन्ने समेत व्यहोराको कृष्णबहादुर क्षेत्रीको बयान ।
६. ट्रक र गाँजा मेरो होइन विराटनगर जान पथलैयामा बसेको बखत ट्रक आएकोले रोकी सोधी चढी गएका बखत म समेतलाई पक्राउ गरी मुचुल्कामा सही गराएका हुन, चालकसँग साधारण चिनजान छ अन्यलाई चिन्दीन भन्ने समेत व्यहोराको रामनरेशको बयान कागज ।
७. रामनरेशले ड्राइभरलाई बोलाउन पठाएकोले बोलाई ल्याएँ । रामनरेशले गाडी हाँकी पथलैया ल्याई गाँजा लोड गराई हाँकी गण्डक पोष्टमा लगी मैले कर तिरी आउँदा प्रहरी आई चेक गर्न लागेकोले रामनरेशले ट्रक अगाडि बढाए । जितपुर बैजनाथको घरमा गाँजा अनलोड गरी गाडीमा रहेका नित्यानन्द समेत त्यहीं बसे पथलैया जाँदा पक्राउ गरेको हो । गाँजा कस्को हो थाहा छैन, मलाई ज्याला रामनरेशले दिने गरेको हुँदा निजकै हुनुपर्छ भन्ने समेत व्यहोराको प्र.शंकर लामाको बयान ।
८. भोला सिंहले गाँजा ल्याउनु भनी ज्याला दिई नारायण भन्ने देवेन्द्र झा, विदेशी झा, बमबम महतो समेतलाई वीरगन्ज ल्याई रामनरेशसँग चिनजान गराई निजकै डेरामा बसाई ५–६ दिन पछि निज आफ्नो घर गए । रामनरेश २०३९।५।२८ गते राती आई म समेतलाई लिई कलैया लगी गाँजा लोड गरी बैजनाथको घरमा गाँजा अनलोड गरी मलाई त्यहीं राखे । बिहान ५ बजेतिर ट्रक समेतलाई पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको प्र. नित्यानन्द भन्ने महानन्द झाको कागज ।
९. रामनरेशले गाडी चढाई म समेतलाई कलैया पार्कमा लगी गाँजा लोड गराई चेकपोष्टमा प्रहरी आउन लागेको देखी गाडी हाँकी जितपुर लगी बैजनाथको घरमा अनलोड गरी म समेतलाई त्यहीं छोडी ट्रक लिई पथलैयातर्फ गए भन्ने समेत व्यहोराको नारायण भन्ने देवेन्द्र झाको बयान कागज ।
१०. गण्डक पोष्टमा पुग्दा प्रहरी आएको देखी रामनरेशले गाडी हाँकी जितपुर लगी बैजनाथको घरमा गाँजा राखी पथलैयातर्फ आए । बिहान रामनरेश, ट्रक र म समेतलाई पक्राउ गरे भन्ने समेत व्यहोराको प्र.लक्ष्मी भन्ने विदेशी झाको बयान कागज ।
११. रामनरेशले गाँजा सहितको गाडी हाँकी जितपुरमा बैजनाथको घरमा राखी पथलैयातर्फ गएपछि मलाई समेत प्रहरीले भोलिपल्ट पक्राउ गरेका हुन भन्ने समेत व्यहोराको बमबम महतोको कागज ।
१२. चालकलाई गाँजा लोड गर्न पठाएको र बिक्री समेत गरेको होइन, रामनरेशलाई चिन्दिन भन्ने समेत व्यहोराको गाडी धनी विष्णुकुमार साहुको कागज ।
१३. बरामद भएको गाँजा, ट्रक र प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको मुचुल्का ।
१४. गाँजा खरीद गरी भारततर्फ पैठारी गर्ने काममा अवैध कारोवार गर्न लागेका लक्ष्मी भन्ने विदेशी झा, बमबम महतो, नारायण भन्ने देवेन्द्र झा, नित्यानन्द भन्ने महानन्द झासमेत ५ जना उपर लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अनुसार सजायँ र प्र.रामनरेश, कृष्णबहादुर क्षेत्री, शंकर लामा समेत उपर ऐ.को दफा १४(ञ)बैजनाथ सा कलवार उपर ऐ.को दफा १५ अनुसार सजायँ गरी घरसमेत जफत गरी पाउन र ट्रक विष्णु कुमार साहुको भने पनि रामनरेशले खरीद गरी नामसारी गर्न बाँकी रहेको भन्ने चालक समेतको भनाइबाट देखिँदा ऐ.को दफा १८ अनुसार ट्रक समेत जफत गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।
१५. गाँजा रामनरेशले लोडगरी गाडी हाँकी लगेका हुन् । मसमेत गाडीमा थिएँ तर गाँजा भन्ने थाहाभएन, पछि मात्र थाहाभयो । गाडी मालिक रामनरेश हुन् भन्नेसमेत व्यहोराको चालक प्र.कृष्णबहादुरको अदालतमा भएको बयान ।
१६. रामनरेशले गाडी हाँकी लगेका हुन् गाँजा भन्ने मलाई थाहा थिएन । गाडीमा ४ जना मानिस थिएँ भन्ने समेतको खलासी प्र.शंकर लामाको बयान ।
१७. प्रहरी बयान कुटपिटबाट भएको हो । गाँजा मेरो घरबाट बरामद भएको समेत केही होइन भन्ने समेतको प्र. बैजनाथ सा कलवारको अदालतको बयान ।
१८. ट्रक हाँकी गाँजा लोड गराई लगेको भन्ने समेतका शंकर लामा समेतको बयान झुठ्ठा हो ।
१९. पथलैया गई विराटनगर आउन लाग्दा गाडीमा चढेको हुँ म उपरको अभियोग झुठ्ठा हो भन्ने समेतको प्र. रामनरेशको अदालतको बयान ।
२०. प्रहरीमा भएको बयान स्वइच्छापूर्वक होइन । गाडीमा बसेका बखत कलैया जाने पार्कनिर बोराहरु लोड गराई निजपुर लगी रामनरेशले हामीलाई बैजनाथको घरमा राखे र गाडी लिई रामनरेश गए भोलीपल्ट प्रहरीले पक्राउ गरेको हो । गाँजा विदेश पैठारी गर्ने समेतको मनसाय थिएन भन्ने समेतको प्र.बमबम महतोको अदालतको बयान ।
२१. रामनरेशले बोलाई लोड गर्न लगाएका र भोली अनलोड पनि गर्नु छ ज्याला दिउँला भनेकाले ट्रकमा चढी जितपुर गएँ । बैजनाथको घरमा अनलोड गरी त्यही सुतें । गाँजा भन्ने थाहा पाइन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेतको प्र.लक्ष्मी झा भन्ने विदेशी झाको अदालतको बयान ।
२२. रामनरेशले भनेअनुसार लोड अनलोड गरी बैजनाथको घरको बरण्डामा सुती भोलिपल्ट प्रहरीले पक्राउ गरेको हो, प्रहरीको बयान स्वइच्छाको होइन लगाइएको अभियोग झुठ्ठा हो भन्नेसमेत प्र.नारायण भन्ने देवेन्द्र झाको बयान ।
२३. रामनरेशले भने अनुसार लोड अनलोड गरेको हुँ । बोरामा के थियो थाहा थिएन । अभियोग झुठ्ठा हो भन्ने समेतको प्र.नित्यानन्द भन्ने महानन्दको बयान ।
२४. घुम्न रक्सौल हुँदै पटना गएको थिएँ । ट्रक चालक कृष्णबहादुरको जिम्मा दिई राखेको हुँ । गाँजा लोड गर्न भनेको होइन । पैसाको लोभले कृष्णबहादुरले लोड गरेछन्, ट्रक मेरो हो रामनरेशको गाँजा कस्को हो, गाडी रामनरेशलाई जिम्मा दिएको छैन भन्ने समेतको गाडी मालिक विष्णुकुमारको बयान ।
२५. प्र.लक्ष्मी भन्ने विदेशी झा, बमबम महतो, देवेन्द्र झा, नित्यानन्द भन्ने महानन्द झा समेतलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(ङ) प्र.रामनरेश, कृष्णबहादुर, शंकर लामालाई ऐ. को दफा ४(च) अनुसार र प्र. बैजनाथले दफा ४ र १५ अनुसारको अपराध गरेको ठहर्छ । गाडी जफत गर्ने दावी पुग्न सक्दैन भन्ने समेत पर्सा जिल्ला अदालतको २०३९।१०।११ को फैसला ।
२६. शुरुको फैसलामा चित्तबुझेन, दावी अभियोगबाट फुर्सत पाउनुपर्छ भन्ने समेतको प्र.बमबम महतो कोइरी र लक्ष्मी भन्ने विदेशी झाको संयुक्त र रामनरेश सिंह राजपुत र दावीको अभियोगबाट सफाइपाउँ र घरजफत गर्ने गरेको इन्साफ उल्टी गरी न्याय पाउँ भन्ने समेतको प्र.बैजनाथ सा कलवारको छुट्टाछुट्टै म.क्षे.अ.मा परेको पुनरावेदन ।
२७. पुनरावेदक प्रतिवादी बैजनाथ साहको हकमा निजलाई रु. १०,०००।– जरीवाना गर्ने गरेको सम्म शुरुको इन्साफ मनासिब ठहर्छ । निजलाई ६ महीना कैद गरी घर समेत जफत गर्ने गरेको सम्म शुरुको फैसला नमिलेको देखिँदा केही उल्टी हुन्छ । अरु पुनरावेदकका हकमा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।११।२ को फैसला ।
२८. उक्त कानुन प्रतिकूलको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र.रामनरेश सिंहको यस अदालतमा पर्न आएको निवेदनमा, प्रस्तुत मुद्दामा ने.का.प. २०२८ पृष्ठ २०८ मा प्रतिपादित नजीरको उल्लंघन भएको र लागू पदार्थ बारामा बरामद भएपछि पर्साबाट कारवाही गरेको क्षेत्रात्मक त्रुटि समेत देखिन आएकोले न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालत संयुक्त इजलासको २०४४।४।१५ को आदेश ।
२९. नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक प्रतिवादी रामनरेश सिंहका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु कमलनारायण दाश र शम्भु थापाले र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनियो । यसमा मुख्यतया मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिन पर्ने हुन आयो ।
३०. यसमा पुनरावेदक प्रतिवादी रामनरेश सिंहका हकमा निजले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसूर गरेकोले ऐ.ऐनको दफा १४(ग) अनुसार सजायँ गरी अवैध लागू औषध (गाँजा) ओसार पसार गर्न प्रयोग गरेको निजको गाडी (ट्रक) समेत ऐ.ऐनको दफा १८ अनुसार जफत गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएको प्रस्तुत मुद्दामा, सहअभियुक्तहरुको पोललाई नै मुख्य आधार मानी शुरु एवं प.क्षे.अ. ले निज रामनरेशलाई कसूरदार ठहर गरेको पाइयो । निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रामनरेश सिंहका हकमा अन्य अभियुक्तको पोलाई विश्वसनीय र भरपर्दो छ छैन र केवल सहअभियुक्तको पोलको भरमा मात्र कसूरदार ठहर गरेको मिलेको छ छैन सो विषयमा नै केन्द्रित रही निर्णयमा पुग्नु गर्ने देखियो । अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहराउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ । शंकास्पद कसूरदार ठहर्याउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने हुन्छ ।
३१. अब प्रस्तुत मुद्दामा अन्य सहअभियुक्तहरुले पुनरावेदक प्रतिवादीलाई पोल गरेको कत्तिको विश्वसनीय छ भनी विचार गर्दा शंकर लामा तथा कृष्णबहादुर क्षेत्री समेतका केही अन्य अभियुक्तहरुले यो पुनरावेदक प्रतिवादी रामनरेश सिंहले नै आफ्नै गाडीमा गाँजा लोड गरी गराई आफैले ट्रक हाँकी लगेको र गण्डक योजनानिर प्रहरीले गाडी चेक गर्न खोज्दा भगाई जितपुरमा अनलोड गरी निज रामनरेशले नै गाडी चलाई जान लागेको अवस्थामा पथलैयामा पक्राउ गरेका भनी अदालत समेतमा बयान गरेको पाइन्छ । तर न.पं. को तगारो खोल्ने भनेका मुम्ताज अन्सारीको सरजमीनको व्यहोराबाट सो समयमा गाडी यी पुनरावेदक प्रतिवादीले नचलाई प्र.मध्येका कृष्णबहादुरले चलाई राखेको देखिने र त्यस्तै ट्रक र यी पुनरावेदक प्रतिवादी समेतलाई पक्राउ गरी पेश गरेको प्र.ह.ताराबहादुर कार्कीका प्रतिवेदन लेख अनुसार पनि पक्राउ पर्दाका अवस्थामा यी पुनरावेदक प्रतिवादीले ट्रक चलाई रहेको भन्ने देखिँदैन । यसरी एकातिर यी पुनरावेदक प्रतिवादीलाई सहअभियुक्तले पोल गरेको विरोधाभाष र शंकास्पद छ भने अर्कोतर्फ आफ्नो ट्रकमा अवैध गाँजा ओसार पसार गरी ऐनको दफा ४(च) को कसूर गरेको भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा सो ओसार पसारमा प्रयोग गरेको उक्त ना.अ. ११०७ को ट्रक यी पुनरावेदक प्रतिवादीको नभई विष्णुकुमारको ठहरी क्षेत्रीय अदालत समेतबाट निर्णय भएको पाइन्छ । यसरी आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरेको अवस्थामा उक्त लगाइएको अभियोगको कसूरदार ठहर्याउन मिल्ने देखिँदैन । अरु प्रकारको अभियोग कसूरमा यी पुनरावेदक संलग्न रहेको भन्ने पनि कहीं कतैबाट देखिँदैन । पुनरावेदक प्रतिवादी कसूर गरेमा प्रहरी र अदालत समेतमा इन्कार रहेको र सो इन्कारीलाई पुष्टयाई गरी निजका साक्षीहरुले बकपत्र गरिदिएको देखिन्छ । अतः सहअभियुक्तको पोल अन्य स्वतन्त्र सबूद प्रमाणबाट समर्थन भएको देखिन नआएको हुँदा पुनरावेदक प्रतिवादी रामनरेश सिंहलाई शंकास्पद रुपमा सहअभियुक्तले पोलेको भरमा कसूरदार ठहर्याई सजायँ गर्ने गरेको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । पुनरावेदन जिकिर अनुसार प्र.रामनरेश सिंहले सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी रामनरेश सिंहको माथि इन्साफ खण्डमा लेखिए अनुसार निजले सफाई पाउने ठहरेकोले शुरु पर्सा जिल्ला अदालतले कैद वर्ष १ र मध्यमाञ्चल क्षेत्रीय अदालतले सो को १० प्रतिशतले कैद १ महिना ६ दिन गर्ने गरेकोमा निज रामनरेश सिंहको हकमा मात्र उक्त फैसलाहरु उल्टी भई सो नलाग्ने हुँदा उक्त फैसलाहरुले निजलाई गर्ने गरेको उक्त अनुसारको कैदको लगत कट्टा गरी दिन शुरु पर्सा जिल्ला अदालतमा लेखि पठाउन का.जि. अ.त. मा लेखि पठाउनु .....१
ऐ. को माथि लेखिए अनुसार ठहरेकोले निज रामनरेश सिंहलाई शुरुले गर्ने गरेको जरीवाना रु. १०,०००।– र मध्यमाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको थप जरीवाना रु. १,०००।– समेत असूल भइसकेको देखिँदा अब सो नलाग्ने हुँदा ऐनका म्यादभित्र फिर्ता माग्न आए उक्त अनुसारको जरीवाना निजलाई कानुन बमोजिम फिर्ता खर्च लेखि दिनु भनी ऐ....२
ऐ को माथि लेखिए अनुसार ठहरेकोले निजले शुरुको फैसला उपर म.क्षे.अ.मा पुनरावेदन गर्दा अ.बं. १९४ नं. बमोजिम कैद बापतको धरौटी रु. ५४०।– शुरु पर्सा जि. अ.मा मिति २०३९।६।१५ मा राखेको धरौटीलाई कायम गरी पाउँ भनेको उक्त धरौटी रु. ५४०।– म.क्षे.अ.ले थप कैद बापतको यस अदालतका मिति २०४४।२।२४ का आदेशले कैद बापतको अ.बं. १९४ नं. बमोजिम राखेको धरौटी रु. १०८ समेत निजले फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र फिर्ता माग्न आए फिर्ता खर्च लेखि दिनु भनी सम्बन्धित जि. अ.मा लेखि पठाउन का.जि. अ.त. मा लगत दिनु....३
मिसिल नियमानुसार गरी बुझाई दिनु.....४
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल मंसीर २५ गते रोज १ शुभम् ।