निर्णय नं. ११२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ११२४ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको रिट नम्वर ९००
आदेश भएको मिति : २०३४।१२।३०।४
निवेदक : भक्तपुर न.पं. वार्ड नं. ११ सा कोठा बस्ने रामकाजी प्रधानाङ्ग
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने हेराबज्र बज्राचार्य समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) मुद्दा परी कारवाही चली अदालतको विचाराधीनमा रहेको देखिएकोले–रिट निवेदनबाट–विचार गरी निर्णय दिनुपर्ने आवश्यक नदेखिने ।
(प्र.नं. ५)
उल्लिखित मुद्दा :
आदेश
न्या. हेरम्बराज : भ.पु.न.पं.सभाले २०३४।६।२४।६ मा गर्नु भएको पर्चा कानूनी त्रुटि हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७२ अन्तर्गत प्रस्तुत रिट निवेदनपत्र पर्न आएको छ ।
२. मुद्दाको तथ्य र निवेदनमा लिएको जिकिर यसप्रकार छ : पूर्व विपक्षीको घरचोक पश्चिम मानकुमारीको घर उत्तरबाटो, दक्षिण आफ्नै चोक यती ४ किल्ला भित्र घर सिमानाको पूर्व पट्टि २ कवल घर र १ कवल चोक थियो । पूर्व पट्टी घरको किलास देखि ४ फूट मेरो जग्गा मध्ये बलेनी बाहिर १२ इञ्च जग्गा निज विपक्षीलाई रु.९९।९९बाट राजीनामा गरी दिएको सोही जग्गादेखि पनि चापी विपक्षीले मेरो बलेनी भित्र प्राइभेट धारा जडान गरी मेरो घर किलास गाह्रोमा पानी जाने गरी दिएबाट हटाई पाउँ भन्ने भ.पु.न.पं.मा मेरो निवेदन । रामकाजी प्रधानाङ्ग भन्ने व्यक्ति जान पहिचान नभएकोले पूर्व हरी कायस्थको पाताल भनेको मैले फार्से गरी लिई सकेको र पश्चिम सेती नानी प्रधानाङ्गको धालपात उत्तर मेरो पाताल दक्षिण मेरो घर यति ४ किल्ला भित्रको पूर्व पश्चिम १।। हात उत्तर दक्षिण ५ हातको पाताल सेतीनानीसंग फार्छे गरी लिई उक्त जग्गादेखि उत्तरतर्फ कलधारा जडान गरी त्यसको निकास पूर्वतर्फ आफ्नै सगोलको निकास ढल बनाईराखेको छ । कसैलाई हानी नोक्सानी हुन गएको छैन भन्नेसमेत प्र. हेरा बज्रको बयान र मुद्दा परेको सम्बन्धित स्थलमा गई हेर्दा ढलको सम्बन्धमा प्र. हेराबज्रको चोक देखि पश्चिमपट्टि पर्खाल मुनि ढलको प्वाल देखिएको र सो प्वाल बन्द भएको भन्ने ओभरसियरको प्रतिवेदन बाटसमेत देखिएकोले उक्त ढल प्र.हेराबज्रले बन्दगरेको देखिन्छ । आजका ३५ दिनभित्र उक्त ढल खुलाइदिनु भन्ने हेराबज्रलाई सुनाउने र धाराको हकमा प्रतिवादीले आफ्नै जग्गामा धारा राखेको भन्ने सरजमिनको भनाई र वादी रामकाजीको बलेना पाखा उत्तरतर्फ जम्मा फूट २।१० निस्केको र प्र.हेराबज्रको धारादेखि रामकाजीको घरको गाह्रोसम्म फुट ३।४ फरक देखिएको, डकर्मी नाइकेको प्रतिवेदनबाट समेत प्रतिवादीले वादीको बलेनीभित्र धारा राखेको नदेखिएको र धारा जडान गर्ने र हटाउने कार्य यस न.पं.कार्यक्षेत्र भित्र नभएकोले केही कारवाही गर्न नपर्ने भन्ने भ.पु.न.पं.को प्र.अ.को ०३३।९।२०।२ को पर्चा ।
३. प्रस्तुत ढल निकास सम्बन्धमा जग्गामा हक बेहक देखिएपछि अदालतमा जानु भनी सुनाउनु पर्ने नसुनाएबाट ३५ दिनभित्र भक्तपुर अदालतमा मेरो उजूर परेको छ ।
४. उक्त पर्चा बदर गरिपाउँ भन्ने विपक्षी हेराबज्रको न.पं.सभामा पुनरावेदन परेकोमा मलाई झिकाउँदा यस विषयमा मेरो भ.पु.जि. अ.मा फिराद परेको भन्ने मेरो बयान र सो मिसिलबारे लेखापढी भएको मिसिल नआउँदै रामकाजीको घरको ढल हेराबज्रको चोकमा गईराखेको र जानु पर्ने नभई निज रामकाजीको ढल निजका घरमुनि दक्षिण पूर्वको गल्लीबाट सार्वजनिक ढल गइरहेको देखिनाले हेराबज्रले निजको आफ्नो चोक मुनि ढल खुलाइदिनु नपर्ने भन्ने प्र.अ.को पर्चा मिल्ने ढल निकास नभएको ठाउँमा ढल खुलाई दिनु नपर्ने भन्ने न.पं.सभाले झन उल्टो निर्णय दिएको हुँदा अदालतको अपहेलनासमेत हुने गरी निर्णय भएको हुँदा उक्त न.पं.सभाको निर्णय बदर गरिपाउँ भन्नेसमेत निवेदन जिकिर ।
५. नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक रामकाजीलाई रोहवरमा राखी निवेदन जिकिरसमेत हेरी विचार गर्दा वादी यिनै रामकाजी प्रधानाङ्गको र प्रतिवादी हेराबज्र बज्राचार्यको जग्गा खिचोला मुद्दा भक्तपुर जिल्ला अदालतमा परी कारवाही चली अदालतको विचाराधिनमा रहेको देखिएकोले प्रस्तुत रिट निवेदनबाट अरू विचार गरी लिखितजवाफ मागी निर्णय दिनुपर्ने आवश्यक देखिन नआएकाले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमबमोजिम पेश गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल चैत्र ३० गते रोज ४ शुभम् ।