निर्णय नं. ६९१८ - अंश

निर्णय नं. ६९१८ ने.का.प. २०५७ अङ्क ६/७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत २०५३ सालको दे.पु.नं. ...३६८०
फैसला मितिः २०५७।३।२६।२
मुद्दाः अंश ।
पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा, मुखियापट्टि मुसहर्निया गा.वि.स. वडा नं. ३ बस्ने जगदिश यादव समेत
विरुद्ध
विपक्षी/वादीः ऐ.ऐ.बस्ने ब्रम्हदेव यादव
§ प्रतिवादीका बाजे बनवारी र वादीका बाजे सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फारम समेत पेश भएको देखिन्छ । वनवारी र सरजुग धनपतको दुई भाई छोरा भै अंशियार भएकोमा कुनै विवाद देखिदैँन । प्रतिवादीले नै वादी प्रतिवादीहरु बीच कुन सालमा वण्डा भएको हो सो खुलाउन नसकेको र अंशवण्डाको कुनै लिखत प्रमाण नभएको स्थितिमा प्रतिवादीका बाबु रामदेव र वादीका बाबु बोएलालको नाममा बेग्ला बेग्लै जग्गाको विलयबन्दी र ७ नं. फाराम समेत दाखिल भएकोलाई नै अंश पाई छुटेको व्यवहार प्रमाण मान्न मिल्ने देखिदैँन । वनवारी र सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फाराम दाखिल भएको जग्गा मध्ये कुनै पनि जग्गा वादी तर्फ दर्ता नामसारी सरेको देखिन नआएकोले रामदेव र बोएलालको नाउँमा बेग्लै जग्गाको बेग्ला बेग्लै विलयबन्दी र निजहरुको नाममा ७ नं. फाराम समेत दाखिल भएको कारणले भाग शान्ति बमोजिम अंश पाइसकेको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतले वादीले दावी बमोजिम अंश पाउने ठहर्याएको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लवकुमार मैनाली
विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री विजयकुमार सिंह
अवलम्बित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः
2. धनपैत यादवको २ छोरामा जेठो वनवारी यादव, कान्छो सरयुग यादव, जेठो वनवारीको ३ छोरामा जेठो रामदेव, कान्छो राम दुलार, रामदेवो, २ छोरामा जेठा जगदिश यादव, कान्छो नागेश्वर यादव, रामदुलार यादवको २ छोरामा जेठो उदयचन्द्र यादव र कान्छो प्रेमचन्द्र यादव, बौएलाल यादवको २ छोरा जेठो किरानी यादव, कान्छो निरो यादव हुनुहुन्छ । धनपत, वनवारी, रामदेव सरयुग र बौएलाल आफ्नो कालगतिले परलोक भइसक्नु भएको छ । हामीबाट वादी प्रतिवादीको बीच अंशवण्डा भएको छैन, सगोलमा बसी आएका छौं । परिवार ठूलो भएकोले अंशवण्डा गरौं भन्दा विपक्षीहरु नमान्नु भएकोले फिराद गर्न आएको छु । विपक्षीहरुबाट तायदाती मागी सम्पूर्ण सम्पत्तिलाई २ खण्ड गरी २ खण्डमध्ये एक खण्डलाई २ खण्ड गरी १ खण्ड अंश मलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको व्रम्हदेव यादवको मिति २०४६।७।२ को फिराद पत्र ।
3. वादी दावी बमोजिम यो पुस्तावारी ठीक छ । तर सगोलको सम्पत्ति रामदेव, बौएलाल, जगदिश, उदयचन्द्र समेतका नाउँमा दर्ता छ भन्ने समेत व्यहोराको प्र.निरो यादव र किरानी यादवको प्रतिउत्तर पत्र ।
4. वादी दावी बमोजिम अंश दिनुपर्ने होइन, वादीको बाबु सरयु यादवले नै अंश पाई भिन्न बसेका हुन् । हामीले अंश दिनुपर्ने हैन भन्ने समेत व्यहोराको प्र.जगदिश, नागेश्वर, राम दुलार, उदयचन्द्र र प्रेमचन्द्र समेतको प्रतिउत्तर पत्र ।
5. यसमा व्यवहार प्रमाणबाट वादी प्रतिवादी भिन्न भइसकेको देखिएको र एकासगोलको अंशियार हुन भन्ने नदेखिँदा प्रतिवादीहरुबाट अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०४९।४।३२ को फैसला ।
6. धनुषा जिल्ला अदालतले गलत तर्कहरुको साहारा लिई मलाई हराई गरेको फैसलामा चित्त नबुझेको हुँदा फिराद दावी बमोजिम अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
7. यसमा अंशियारहरुका बीचमा परस्परमा बिक्री व्यवहार भए गरेको समेत नदेखिएको र पुनरावेदक वादीहरुले अंश पाइसकेको सवुद समेत प्रत्यर्थी प्रतिवादीहरुले गुजार्न नसकेको समेत अवस्था हुँदा वण्डा गर्नुपर्ने सम्पत्तिको फाँटवारी आदेश बमोजिम प्रस्तुत भइसकेको समेतका कारण आधारहरुबाट वादी दावी पुग्न नसक्ने गरी धनुषा जिल्ला अदालतले २०४९।४।३२ मा गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ । फिराद दावी अनुसार पुनरावेदक वादीले सम्पूर्ण सम्पत्तिबाट ४ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको २०५२।११।२ को फैसला ।
8. पुनरावेदन अदालतको उपरोक्त फैसला कानुनी त्रुटिपूर्ण भएको निर्विवाद हुँदा उक्त फैसला बदर गरी शुरु धनुषा जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
9. यसमा विलोबन्दी र ७ नं. फारामहरु समेत अलग भरिएको र फलानाको अंश भन्ने समेत उल्लेख भएको देखिएको एवं बौएलालले आफ्नो हकभोगको भनी बिक्री गरेको समेत अवस्थामा पुनरावेदन अदालत जनकपुरको इन्साफ फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
10. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री लभकुमार मैनालीले वादी प्रतिवादीहरुले बिलोबन्दी र ७ नं. फाराम समेत अलग अलग भरी विक्री राजिनामा समेत गरी सकेको कुरालाई बेवास्ता गरी अंश पाउने ठहराएको पुनरावेदन अदालतको उपरोक्त फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम हुनु पर्दछ भनी र विपक्षी वादी तर्फका विद्वान अधिवक्ता श्री विजयकुमार सिंहले भूमिसम्बन्धी ऐनको प्रयोजनको निमित्त भरेको ७ नं. फारामलाई मात्र अंशवण्डा भइसकेको मान्न मिल्ने होइन । विपक्षी प्रतिवादीहरुले वादी प्रतिवादीबीच कुन सालमा अंशवण्डा भएको हो सो को तथ्ययुक्त प्रमाण गुजार्न सकेको नदेखिएको स्थितिमा वादीले अंश पाइसकेको भन्न मिल्ने अवस्था छैन । अतः वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालतको इन्साफ सदर होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
11. यसमा प्रतिवादीका बाजे बनवारी र वादीका बाजे सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फारम समेत पेश भएको देखिन्छ । वनवारी र सरजुग धनपतको दुई भाई छोरा भै अंशियार भएकोमा कुनै विवाद देखिदैँन । प्रतिवादीले नै वादी प्रतिवादीहरु बीच कुन सालमा वण्डा भएको हो सो खुलाउन नसकेको र अंशवण्डाको कुनै लिखत प्रमाण नभएको स्थितिमा प्रतिवादीका बाबु रामदेव र वादीका बाबु बोएलालको नाममा बेग्ला बेग्लै जग्गाको विलयबन्दी र ७ नं. फाराम समेत दाखिल भएकोलाई नै अंश पाई छुटेको व्यवहार प्रमाण मान्न मिल्ने देखिदैँन । वनवारी र सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फाराम दाखिल भएको जग्गा मध्ये कुनै पनि जग्गा वादी तर्फ दर्ता नामसारी सरेको देखिन नआएकोले रामदेव र बोएलालको नाउँमा बेग्लै जग्गाको बेग्ला बेग्लै विलयबन्दी र निजहरुको नाममा ७ नं. फाराम समेत दाखिल भएको कारणले भाग शान्ति बमोजिम अंश पाइसकेको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतले वादीले दावी बमोजिम अंश पाउने ठहर्याएको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारनाथ आचार्य
इति सम्वत २०५७ साल असार २६ गते रोज २ शुभम्................।