निर्णय नं. ११२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ११२७ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र
सम्वत् २०३३ सालको रि.फु.नं. २७
आदेश भएको मिति : २०३५।२।२७।३ मा
निवेदक : का.जि. सिनामङ्गल बस्ने अशोककुमार सन्नेसी
विरुद्ध
विपक्षी : भूमिप्रशासक, भूमिप्रशासन कार्यालय काठमाडौं समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) हकबेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी भूमिप्रशासकलाई कानूनले प्रदान भएको नदेखिने, हकबेहकको प्रश्न उपस्थित भएपछि हकबेहकमा अदालतमा नालिस गर्न जानू भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी
उल्लिखित मुद्दा :
आदेश
न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहराइपाउँ भन्ने निवेदक अशोककुमारले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहराइदिनू भन्ने बक्स भइआएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : मेरो श्रीमती कर्मकुमारीका हक भोगको गा.पं.सिनामङ्गल वार्ड नं. ५ कि.नं. ९२, ९३, ९५, २९७ वार्ड नं. क.कि.नं. ७२, ६१ को क्षेत्रफल १४।७।१ जग्गा निज परलोक भई मेरो हक हुन आएकोले नामसारी गरिपाउँ भन्ने विपक्षी बलराम गिरीले दिएको निवेदनमा फिल्डबुकमा कर्मकुमारी मरी हक खाने अशोककुमार जनिएको, अशोककुमारको नाउँमा म्याद पठाउँदा मान्छे फेला नपरेको भनी म्याद टाँस भएको, सरजमिन गर्न पठाउँदा अशोककुमार भन्ने पञ्चायतमा नभएको कर्मकुमारको छोरा पनि होइन भनी सरजमिन भई आएको, प्र.जि. अ.को नाता प्रमाणित प्रतिलिपि भएको, मालपोत तिरेको रसिद भएको, म्यादभित्र नामसारी नगरेवापत रु.१०।–दस्तुर लिई निवेदकहरूको नाउँमा नामसारी गरिदिने भनी ०३१।८।२४ मा विपक्षी भू.प्र.का. काठमाडौंबाट निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक अशोककुमारले दिएको रिट निवेदनपत्रमा कर्मकुमारी मेरो माता हुनुहुन्छ । आमा ०२१।११।४ गते परलोक हुनुभएकोले सर्भे नापी हुँदा फिल्डबुकमा आमा मरी मेरो हक हुन आएको भन्ने जनाई सहीछाप गरेकोछु । आमाको नाउँबाट मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने निवेदन परी ०३०।१२।२५ को आदेशबमोजिम ०३१।५।५ मा नामसारी फाँटमा बुझाएको छ । पोत बुझाउन जाँदा सम्बन्धित जग्गा ०३१।८।२४ को आदेशबमोजिम बलरामको नाममा नामसारी भई गइसकेको भन्ने थाहाभयो । फिल्डबुकबाट बलराम गिरी र मेरो बीचमा हक बेहकमा विवाद देखिएकोले मलाई बुझ्न म्याद पठाएको अ.बं.११० को रीत पुगी तामेल भएको छैन । अशोककुमार फेला नपरेको भनी म्याद तामेल भई आएको कारणबाट कानूनमा व्यवस्था नभएको तरिका अपनाई सरजमिन गराउँदा पनि अधिकारक्षेत्रको उल्लंघन गरी अशोककुमार भन्ने कर्मकुमारीको छोरा हो, होइन भन्नेसमेत कुराको सरजमिन गराए छोरा हो होइन भन्ने प्रश्न उपस्थित भएमा सो कुराको निर्णय उपर परेमा अदालतबाट हुने हो । विपक्षी कार्यालयको अधिकारक्षेत्र भित्रको होइन । अ.बं.३५ नं. को विरुद्ध कारवाई गरी मेरो हक मेटी गरेको निर्णय कानूनी त्रुटि छ । प्र.जि. अ. को कार्यालयको नाता प्रमाणितको आधार लिएको पनि लगत गैरकानूनी छ । मेरो र बलरामको बीचमा अधिकार प्राप्त अदालतमा मुद्दा परी निर्णय नभएसम्म सो नाता प्रमाणित गरेकोबाट मेरो हक अधिकार समाप्त गर्न सकिने कुनै कानून छैन । विपक्षी कार्यालय धेरै अघि मेरो हकअधिकार समाप्त गर्न सकिने कुनै कानून छैन विपक्षी कार्यालयसमक्ष धेरैअघि मेरो परिरहेको निवेदनमा कारवाई नगरी धरैपछि परेको विपक्षी बलरामको निवेदनबाट गैरकानूनी तरिकाबाट कारवाई गरी निर्णय गरेको अ.बं.८९ नं. बमोजिम स्वतः बदर वातिल हुन्छ । मेरो विरुद्ध मलाई नराखी गैरकानूनी सरजमिन गराई मलाई बुझ्दै नबुझी मलाई थाहा जानकारीसमेत नदिई प्राकृतिक न्यायको विरुद्ध मेरो सम्पत्ति अपहरण गरिएको छ । उत्प्रेषणको आदेश जारी गरी विपक्षीले गरेको ०३१।८।२४ को निर्णय बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. मबाट मोहियानी लिई घर बनाई बसेका घरलाई निवेदकले आफ्नो घर भनी घर चलन चलाई पाउँ भनी दायर गरेको फिरादमा गोविन्दबहादुरको छोरा अशोककुमार मल्ल भनी लेख्नुभएको छ । गोविन्दबहादुर मल्लउपर अंश पाउँ भनी निवेदकले मुद्दा चलाई खारेज गराएको छ । जालसाजी मुद्दामा फिराद गर्दा अशोककुमार सन्यासी भन्ने अशोककुमार मल्ल भनी सहीछाप गरेको फिराद का.जि. अ.मा दायर छ । वास्तवमा निवेदक गोविन्दबहादुरको घरमा राखेको नोकर्नीले पेट बोकी पाएको नेवार वंश मल्ल जाति हो भन्ने कुरा निर्विवाद छ । निवेदकले म समेत उपर कर्मकुमारी सन्यासीनीलाई स्वास्नी भनी बेइज्जती गर्यो भनी का.जि. अ. मा फिराद गरेको मुद्दाबाट कर्मकुमारीको छोरा हो होइन म कर्मकुमारीको लोग्ने हो होइन निर्णय हुने स्थितिमा कारवाई चलिसकेको र म्याद सरजमिन मुचुल्का बेहिसाव जालसाजी गरे भन्ने म समेत उपर फिराद गरिसकेको हुँदा म्याद र मुचुल्का कानूनी र गैरकानूनी उक्त मुद्दाबाटै निर्णय हुने र खाली मुद्दा लगाई दुःख दिई म बाट कुनै रकम लिने खाने प्रयासमात्र गरेको हुँदा उत्प्रेषणको आदेश जारी हुन नसक्ने, खारेजी गरिपाउँ भन्नेसमेत विपक्षी बलराम गिरीको लिखितजवाफ ।
५. अशोककुमार सन्यासीले प्रस्तुत रिट निवेदन दर्ता गरेको भए पनि जग्गा नामसारी गरिपाउँ भनी दर्खास्त दिएकोमा अशोककुमार सन्यासी भन्ने अशोककुमार मल्ल लेखेको छ भनी वलराम गिरीले निवदकको उजूर गर्ने हैसियतमा नै शङ्का उपस्थित गराएकोबाट कर्मकुमारीको जग्गा नामसारी गर्ने बारे उजूर गर्न निवदकको कस्तो हक रहेछ भन्ने विचार गर्नु परेको छ । स्थापित भइसकेको हक प्रचलन गर्ने अधिकारसम्म नेपालको संविधानको धारा ७१ अनुसार असाधारण अधिकारक्षेत्र भित्र परी यस अदालतबाट हेर्ने हो निवेदककै जिकिरमा हक बेहकको बारे प्रश्न उपस्थित गराएकोले ऐनबमोजिम उजूर गरी फैसला हुनसक्ने कुरामा प्रस्तुत रिट निवेदनबाट निर्णय हुन सक्तैन । रिट निवेदन खारेज हुने ठर्हछ भन्ने ०३२।११।२४ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
६. प्रस्तुत मुदा दोहराई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिस पर्चामा जग्गाधनी कर्मकुमारी नै देखिन आएको, अशोककुमारको नाम फिल्डबुकमा चढाउँदा पनि छोरा भन्ने किटिएको, नामसारी गर्ने निजले पहिले कारवाई सुरु गरेको छँदाछँदै वलराम गिरी जग्गा दावी गर्न आउँछ भन्ने निजहरूको बीच नाता कायम गर्नेसमेतका विवादहरू ठेगाना लगाउनु पर्ने प्रश्न उपस्थित भएको देखिन्छ । विपक्षी प्रशासकलाई त्यस्तो कुराको निर्णय दिनसक्ने अधिकार दिएको छैन । केवल अदालतले मात्र निर्णय दिनसक्ने कुराको विपक्षी प्रशासकले पछिल्लो उजूरीबाट कारवाई चलाई अनाधिकार निर्णय गरेको कानून प्रतिकूल र बदरभागी हुँदा रिट निवेदन खारेज गर्ने गरेको सर्वोच्च अदालतको निर्णय कानून विपरित देखिन आउँछ भन्नेसमेत उल्लेख भएको रहेछ ।
७. निवेदक तर्फबाट उपस्थित विद्वान व.अधिवक्ता श्री सर्वज्ञरत्नले निवेदकको पहिले निवेदन परी सकेकोमा कारवाई नगरी पछि परेको वलरामको निवेदनबाट नामसारी गरी दिने गरेको निर्णय अ.बं.८९ नं. को त्रुटि छ, निवेदक कर्मकुमारीको छोरा नदेखिएको भन्ने पनि निर्णय गरेको त्यस्तो छोरा हो होइन निर्णय गर्र्न पाउने अधिकार विपक्षी प्रशासकलाई छैन, अनधिकृत निर्णय बदर हुनुपर्छ भन्नेसमेत र विपक्षी वलराम गिरी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्तरामले नाताको हकमा हकबेहक हुने गरी निर्णय गरेको छैन । नामसारी दर्ता गरिदिने निर्णय गरेकोमा सो दर्ता बदर गरिपाउँ भन्ने निवेदकले अदालतमा उजूर गरिसकेकोले अदालतबाटै निर्णय हुने हुँदा प्रस्तुत रिट निवेदनबाट विचार गर्नु नपर्ने रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
८. यसमा निर्णयतर्फ विचार गर्दा कर्मकुमारीको रसिदबमोजिमको सिनामङ्गल वडा नं. ५ (क) कि.नं. ६१, ६३, ७२ सिनामङ्गल वडा नं. ५ (क) को कि.नं. ९२, ९३, २९५, ९७ को जग्गाको रसिद भिडाई फिल्डबुकमा सहीछापसमेत गरिसकेकोले लालपूर्जा नपाई बाली तिर्न असुविधा परेकोले लालपूर्जा पाउँ भन्ने ०२९।८।५ मा निवेदक अशोककुमारको परेको निवेदनमा फिल्डबुकबाट आमा परलोक भई हक भएको भन्ने निवेदकले लेखाएकोले नाम सारी गर्न पर्ने देखिएकोले आवश्यक कारवाहीको लागि मिसिल सम्बन्धित फाँटमा बुझाई दिने भन्ने ०३०।१२।२९ मा र मेरो श्रीमती कान्छी कर्मकुमारीका हकभोग दर्ताको सिनामङ्गल गा.पं. वडा नं. ४, (क) कि.नं. ९२।९३, २९५, २९७, ६१, ६२, ७२ को जग्गा निजको छोरा सन्तान नभएकोले मेरा नाउँमा नाउँसारी गरिपाउँ भन्ने विपक्षी बलराम गिरीले ०३१।५।२३ मा दिएको निवेदनमा सरजमिन गर्न पठाउँदा अशोककुमार भन्ने पञ्चायतमा नभएको र निज कर्मकुमारीको छोरा पनि होइन भनी सरजमिन भई आएको प्र.जि. अ. काठमाडौंको नाताको प्रमाणित प्रतिलिपि भएको मालपोत तिरेको रसिद भएको मृतकको नाम कट्टा गरी मोठसमेत खडा गरी निवेदकहरूको नाममा नामसारी गरिदिने भन्ने ०३१।८।२४ मा विपक्षी भूमिप्रशासकले निर्णय गरेकोसमेत प्राप्त सम्बन्धित मिसिलहरूबाट देखिन आउँछ ।
९. उक्त कर्मकुमारीको नाउँमा जग्गाधनी कायम भई नापी भएको सिनामङ्गल गा.पं. वडा नं. ५ (क) कि.नं. ९२, ९३, २९५, २९७ वडा नं. ४ (क) कि.नं. ७२, ६१, ६३ समेतको जग्गामा रसिद भिडाई फिल्डबुकमा सहीछापसमेत गरिसकेको लालपूर्जा पाउँ भन्ने निवेदक अशोककुमारको सोही जग्गामा जग्गाधनी कर्मकुमारी मेरो श्रीमती परलोक भएको निजको छोरा सन्तान नभएकोले मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने विपक्षी बलरामको समेत दुवैको निवेदन परेको भएपछि सो कर्मकुमारी जग्गाधनी भई नापी भएको जग्गा निवेदक अशोककुमारको निवेदनबमोजिम निजले लालपूर्जा पाउने अथवा विपक्षी बलरामको निवेदनबमोजिम निजको नाउँमा नामसारी हुनेसमेत के हो भन्ने विपक्षी भूमिप्रशासकसमक्ष प्रश्न उपस्थित भई निवेदक अशोकुमार र विपक्षी बलराम गिरीको बीचमा जग्गाको स्वामित्वको सम्बन्धमा हक बेहकको प्रश्न उपस्थित हुन आएको देखियो । यस्तो हक बेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी प्रशासकलाई कानूनले प्रदान भएको देखिँदैन । त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएपछि हक बेहकमा अदालतमा नालेस गर्न जानु भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्नेमा नसुनाई विपक्षी बलरामको नाउँमा नामसारी गरिदिने गरी ०३१।८।२४ मा गरेको निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि देखिन आएको छ ।
१०. उपरोक्त लेखिएबमोजिम जग्गामा नै हक बेहकमा नसुनाई पछि परेको विपक्षी बलराम गिरीको निवेदनबाट निजको नाउँमा नामसारी गरिदिने गरी ०३१।८।२४ मा विपक्षी भूमिप्रशासकले गरेको निर्णय कानूनी त्रुटियुक्त देखिँदा उत्प्रेषणको आदेश जारी भई बदर हुने ठहर्छ । कानूनबमोजिम गर्नु भनी विपक्षी प्रशासककहाँ यो आदेश पठाई दिनु । प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाइदिनु । रिट निवेदन खारेज गर्ने गरेको ०३२।११।२४ को डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । मिसिलबमोजिम बुझाइदिनू ।
हामी सहमत छौं ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३५ साल जेष्ठ १७ गते रोज ३ शुभम् ।