शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९६५ - डाँका

भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १०

निर्णय नं. ३९६५     ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४५ सालको स.फौ.पु.नं. ५८६

फैसला भएको मिति :      २०४६।८।२६ मा

पुनरावेदक/प्रतिवादी : जि. पर्सा, पकहामैनपुर गा.पं. वा.नं. ३ बस्ने शिव पुजन महतो चाई

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

मुद्दा : डाँका

§  आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने ।

(प्रकरण नं. ३१)

§  वारदातमा सरिक भई डाँका गरेको भन्ने कुराको शंकारहित तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन नमिल्ने ।

(प्रकरण नं. ३२)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

विपक्षी वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

     न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।५।१ को फैसला उपर न्या. प्र.सु. ऐन, ०३१ को दफा १३ (५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २.    २०४०।४।२३ गतेको राती हरिहरपुर विर्ता गा.पं. वडा नं. ९ बस्ने कुर्वान मियाको घरमा डकैती भएको खबर सुनी घटनास्थलमा आई हेर्दा कुवार्न मियालाई लागेको छर्राको घाउ उपचार गराउन लगी सकेको र डाँका समेत भागीसकेको डाँका मध्ये गुलवान मियाँलाई पक्राउ गरी गाउँलेहरुले जत्रतत्र कुटपीट गरी दाहिने हातको नाडी काटी छिनालेको खुट्टामा काटेको घाउ भएको निज गुलवानलाई सोधपुछ गर्दा म र मेरै गाउँको सरोज भन्ने, मुख्तार मिया वकिल मिया, शिव पुजन महतो चाई र अरु मैले नाम ठेगाना नजानेका ११, १२ जना समेत भई डकैती गरेको भनी बताएको र निजले बताएको मुख्तार मियाँ समेतलाई पक्रउ गर्न गै खोज तलास गर्दा फेला नपरी फर्की आउँदा गुलवान मियाँको मृत्यु भई सकेको देखिएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्र.ह. शंकर राईको प्रतिवेदन ।

      ३.    जाहेरवालाको खपडा चोपार घरको पूर्व मुखको दक्षिण कुनाको कोठा भित्र रहेको कोठीहरु फुटाएको, धान तोरी समेत खसेको, ढोकानेर भित्र ठाउँ ठाउँमा रगत खसेको, पूर्वतर्फ ढोका नेर खाली खोरवा १ नादनेर खोरवा १ बिचगाउँको निमको रुखनेर फलामको र कागज खोका रहेको, जाहेरवालाको घर द्वारको खलिटनमा मृतक डाँका गुलवान मियाको लास पडिरहेको भन्ने समेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का ।

      ४.    २०४०।४।२३ गते राती अन्दाजी १ बजेको समयमा १०।१२ जना डाँकाहरु आई घरको उत्तरी ढोकाको माथि चौखटको प्वालबाट १ जना डाँकु छिरी गोडा राख्दा आमाले चाल पाई कराउन लाग्दा डाँकुले भित्रबाट ढोकाको चुकुल खोली दिएबाट १ जना बाहिर बसी अरु घर भित्र प्रवेश गरी कराइस् भने मारी दिन्छु भनी आमाको मुख थुनी दिएको र आमाले कराएको आवाज सुनी पिता कुर्वान मियाँ बिउँझी डाँका भनी हल्ला गर्दा घर एकलासमा भएकोले गाउँलेको मद्दत नपुगी डाँकाहरुले रु. २४,४९८।७५ को धनमाल डाँका गरी लागेको र पिताजीको मुखमा बन्दुक फायर गरेबाट लडी रुवाबासी भई राखेको अवस्था गाउँलेहरु आउन लागेको चाल पाई डाँकाहरुले फायर गर्न थाले डाँकाहरुको हातमा लाठी र बन्दुक देखेँ डाँकाहरुलाई चिन्न सकिँन डाँकाहरु भाग्न लाग्दा सवै भन्दा पछि परेको डाँकालाई गडासाले हात खुट्टामा प्रहार गर्दा निज घाइते भई लडे पछि १ घण्टा पछि प्रहरी आई निजसंग सोधपुछ गर्दा म र गाउँलेको समक्ष आफ्नो नाम गुलवान मियाँ भनी बताएको र सोही ठाउँ बस्ने सरोज भन्ने मुख्तार मियाँ, वकिल मियाँ, सिवपुजन महतो चाई समेत डाँकामा सरिक थिए भनी भनेपछि ऐ. २४ गते निज डाँकाको मृत्यु भयो । निज डाँकाहरुलाई पक्राउ गरी अरु को को भई डाँका गरेका हुन् निजहरुबाट खुलाई डाँका गरी लगेको धनमालको बिगो रु. २४,४९८।७५ दिलाई डाँका गरेमा कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने व्यहोराको बसीर मियाँ मुकेरीको जाहेरी दर्खास्त ।

      ५.    २०४० साउन महिनामा म र कृपाल सिंहदत्त राउत, भगवान सिंह, पूर्ण सिंह समेतका व्यक्तिहरुले बन्दुक लाठी फराठा टर्च समेत लिई शिव पुजन, केशवर राउत, गुलवन मियाँ र वकिल मियाँ समेत भई जाहेरवालाको घरमा पसी धन सम्पत्ति लुट्न लाग्दा जाहेरवालाले हल्ला खल्ला गर्दा गाउँलेहरुले पनि थाहा पाई हल्ला भएकोले भाग्न लाग्दा पछाडि परेका गुलवान मियाँलाई गाउँलेहरुले पक्राउ गरी कुटपिट गर्दा मर्‍यो भन्ने सुनेको हुँ । निजले डाँका गर्नेमा वकिल मियाँ, सरोज भन्ने शिव पुजन महतोको नाउँ बताएको कुरा गाउँ घरमा चर्चा हुँदा थाहा पाएको हुँ । मेरो सहयोग सहमतिबाट यो डाँका वारदात भएको हो भन्ने समेत व्यहोराको प्र. मुख्तार मियाँको प्रहरी समक्ष भएको बयान कागज ।

      ६.    २०४० साउन महिनामा म समेत कृपाल सिंह, अवध विहारी सिंह, मुख्तार मियाँ, शिव पुजन, ददन राउत, वकिल मियाँ, गुलवान मियाँ भई जाहेरवालाको घरमा गै घरभित्र पसी डकैती गरी भाग्न लाग्दा सबभन्दा पछि परेका गुलवान मियाँलाई गाउँलेहरुले पक्राउ गरी कुटपिट गरी मर्‍यो भन्ने सुनेको हुँ । निज गुलवान मर्नु अघि डाँका गर्नेमा वकिल मियाँ, मुख्तार मियाँ, शिव पुजन महतो, सरोज भन्ने समेतको नाउँ भनी बताएको कुरा पनि गाउँघरमा चर्चा हुँदा थाहा पाएको हुँ । के कति सम्पत्ति डाँका गरे थाहा भएन । म समेतको सहयोग सहमतिबाट यो डाँका वारदात गरेका हौं भन्ने समेत व्यहोराको प्र. केशवर राउत कुर्मीको प्रहरीमा भएको बयान कागज।

      ७.    टाउकाको चोट र घाउहरुबाट अत्यधिक रक्तपात भई मृत्यु भएको देखिन्छ भन्ने मृतक डाँका गुलवान मियाँको लास शव परीक्षण प्रतिवेदन ।

      ८.    २०४०।४।२३ गतेका राती अं. १२१ बजेको समयमा सुतिरहेको अवस्था घरको ढोकाको माथिबाट मानिस पस्न लागेको देखी चोर चोर भनी हल्ला गरेको र अरु डाँकाहरु भित्र पसी मलाई कुटपिट गरी मेरो घाँटीमा रहेको हसुली समेत खोसी रहेको अवस्थामा लोग्ने कुर्वान मियाँ आएका र निजलाई मुखमा फायर गरी घाइते समेत पारी जाहेरीमा उल्लेखित धनमाल डाँका गरी भाग्न लाग्दा एकजना डाँकालाई छोरा बसीर मियाँले गडासाले हान्दा घाइते भई लडेको र पछि गाउँले तथा प्रहरीले आई सोधपुछ गर्दा आफ्नो नाउँ गुलवान मियाँ हो मुख्तार मियाँ, वकिल मियाँ, शिव पुजन महतो समेत भई डाँका गरिएको हो भनेको र ऐ. २४ गते निज गुलवान मियाँको मृत्यु भएको हो भन्ने समेतको मोहर मियाँ मुकेरीले प्रहरीमा गरेको बयान कागज ।

      ९.    म आफ्नो घरमा सुतिरहेको अवस्था सासू मोहर मियाँ चोर चोर भनी कराए पछि ससुरालाई गोली लागेको सुनें र मेरो कोठामा ४ जना डाँकाहरु पसी मेरो नथीयार फुल समेत खोसेर लगे भन्ने समेत प्रहरीमा लालमुन खातुनले गरेको बयान ।

      १०.    २०४०।४।२३ गते जाहेरवालाको घरमा बन्दुक फायरको आवाज र हल्ला गरेको सुनी आउँदा डाँकाहरु भागी सकेकोले चिन्न सकिएन डाँका मध्येका गुलवान मियाँलाई घाइते पारेको रहेछ । निज गुलवानले डाँका गरेकोमा मुख्तार मियाँ, वकिल मियाँ, शिव पुजन महतो समेत १११२ जनालाई पोल गरेको हुँदा पक्राउमा परेका मुख्तार मियाँ, वकिल मियाँ समेतले डाँका वारदात गरेको भन्ने समेत व्यहोराको पृथक पृथक बकी लेखाई दिएको सरजमीन मुचुल्का ।

      ११.    २०४०।४।२३ गते राती अं. १२१ बजेको समयमा श्रीमती मोहर मियाँले डाँका डाँका भनी कराएको सुनी निन्द्राबाट व्यूँझी उठी हेर्दा डाँकाले मेरो श्रीमतीले लगाएको हसुली खोसी रहेको देखी कराउन थाल्दा डाँकाले फायर गरेको बन्दुकको छर्रा मुखमा लागी बेहोस भई लडें । एकजना डाँकालाई छोरा वसीर मियाँले घाइते पारी लडाई सोधपुछ गर्दा आफ्नो नाउँ गुलवान मियाँ भनेको र मुख्तार मियाँ, वकिल मियाँले शिव पुजन महतो समेत ११, १२ जना भै डाँका गर्न आएका भनी ऐ. २४ गते निजको मृत्यु भएको कुरा गाउँलेहरुले अस्पतालमा आई भन्दा थाहा पाएको हुँ । मुख्तार मियाँ समेतलाई पोल गरेका हुँदा निज र केशवर राउत कुर्मी समेतले धनमाल डाँका गरी लगेको हो भन्ने कुर्वान मियाँ मुकेरीको प्रहरीमा भएको बयान कागज ।

      १२.   जाहेरी दर्खास्त, बयान कागज, सरजमीन मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का समेतका मिसिल संलग्न प्रमाण कागजबाट मिति २०४०।४।२३ गते राती जाहेरवालाको घरमा डाँका वारदात गरी बिगो रु.२४,४९८।७५ को धनमाल डाँका गरी लगेको देखिन आएबाट डाँका गर्ने प्र.मुख्तार मियाँ, शिवपुजन महतो, वकिल मियाँ र मुख्तार मियाँको पोलमा परेका केशवर राउत कुर्मी र भारतीय नागरिक कृपाल सिंह, ददन राउत, पूर्ण सिं, भगवान सिं, अवध विहारी समेत फेला परेका बखत निजहरु उपर मुलुकी ऐन चोरीको १४(४) नं. अनुसार डाँका गरेको अभियोगमा सजायँ गरी बिगो रु. २४,४९८।७५ प्रतिवादीहरुबाट जाहेरवालालाई दिलाई भराई पाउन र गुलवान मियाँको मृत्युको हकमा ज्यान सम्बन्धीको ७ (२) को स्थिति देखिएकोले निजको मृत्यु तर्फ सजायँको माग दावी लिइरहनु पर्ने अवस्था नदेखिएको व्यहोरा अनुरोध गरिन्छ भन्ने मिति ०४०।८।१८ को प्रहरी प्रतिवेदन ।

      १३.   जाहेरवालाको घरमा म डाँका गर्न गएको छैन । कसले डाँका गरे थाहा छैन । प्रहरीले कुटपिट गरी नसुनाई कागज गराएको हो । मेरो राजीखुसीले भएको होइन । जाहेरवालाको घरमा डाँका परेको र डाँका १ जना मरेको सुनेको हुँ भन्ने समेत व्यहोराको प्र. केशवर राउत कुर्मीले अदालतमा गरेको इन्कारी बयान कागज ।

      १४.   जाहेरवालाको घरमा डाँका गर्न गएको छैन । कसले डाँका गरे थाहा छैन । प्रहरीले कुटपिट गरी कागज गराएको हो । राजीखुसीले भएको होइन । ०४०।४।२३ गते म वारा जिल्ला छोरीको घरमा छु । जाहेरवालाको घरमा डाँका परी १ जना डाँका मरेको भन्ने ७ दिन पछि सुनेको हुँ भन्ने समेत व्यहोराको प्र. मुख्तार मियाँको अदालतमा भएको बयान कागज ।

      १५.   २०४०।४।२३ गते म पर्सा जिल्ला बहिनीको घरमा हुँदा जाहेरवालाको घरमा डाँका गर्न गएको छैन । कसले डाँका गरे थाहा छैन । मुख्तार मियाँसंग खेतको पानी काटेको कुरामा र केशवरसंग घाँस काटेको कुरामा रीस हुँदा झुठ्ठा पोल गरेको होला भन्ने समेत व्यहोराको प्र.वकिल मियाँको अदालतमा भएको बयान कागज ।

      १६.    २०४०।४।२३ गते दिनरात म आफ्नै घरमा छु । मैले जाहेरवालाको घरमा डाँका गर्न गएको छैन । म पञ्चायतको वार्ड अध्यक्ष भएकोले प्र.मुख्तार मियाँको छोरीले धान चराई नोक्सान गरिदिएको कुरामा पञ्चायतबाट जरिवाना भएकोले सोही रिसइवीबाट र प्र. केशवरसंग पराल काटेको कुरामा बोलचाल नभएकोले सोही रिसबाट पोलेका हुन् । मलाई प्रहरीले पक्राउ गरी लग्दा गाउँका मानिसले यो डाँका गर्ने मानिस होइन भनी भनेकोले छाडी दिएको हो । २ नं. वार्डमा शिव पुजन महतो चाई अर्को व्यक्ति छन् । मेरो नाउँमा जाहेरी दर्खास्त पनि छैन । सरजमीनको मानिसले शंका गरेको कुरा मलाई थाहा छैन भन्ने व्यहोराको प्र.शिवपुजन महतो चाइको अदालतमा भएको बयान कागज ।

      १७.   प्रतिवादी वकिल मियाँको साक्षी झगरु सा कानू , सेवक राउत , प्र.शिवपुजनका साक्षी लक्ष्मी राउत कुर्मी , जुमन मियाँ १ प्र. मुख्तार मियाँको साक्षी कमल मियाँ , प्र.केशरवर राउत कुर्मीको साक्षी वासुदेव महतो चाई १ समेतले गरेको बकपत्र ।

      १८.   २०४०।४।२३ गते राती अं. १२।१ बजेको समयमा मेरो घरमा डाँकाहरु डकैति गरी भाग्न लाग्दा मैले गडासाले १ जना डाँकालाई घाइते बनाई पछि गाउँले र प्रहरी आई सोधपुछ गर्दा निज डाँका गुलवान मियाँले वकिल, मुख्तार, शिव पुजन र सरोज समेत भई डाँका गरेका हौं अरुलाई चिन्दिन भनी भनेको हो । वारदातमा डाँकालाई देखें चिन्न सकिन । यो मुद्दामा तारेखमा रहेका शिव पुजन वारदातमा आएको थियो थिएन थाहा छैन । घटनास्थलमा देखिँन । गुलवानले कुन शिव पुजनलाई बताएको हो भन्न सक्तिन । पकाहा गाउँमा कतिजना शिवपुजन छन् थाहा छैन । यो शिव पुजनलाई डि.एस.पि. ले पक्राउ गरी सोधपुछ गरी छोडी दिएका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला वसीर मियाँ मुकेरीले अदालतमा गरेको बकपत्र ।

      १९.    २०४०।४।२३ गते रातीको समयमा डाँका भनी हल्ला भई बन्दुकको आवाज सुनी उठी वसीर मियाँको द्वारतर्फ जाँदा बन्दुक चलेको आवाज सुनी घर फर्की आई डाँका मर्‍यो भनी हल्ला गरेँ । डाँकाहरु आधाघण्टा पछि फायर गर्दै डकैती गरी भागे । जाहेरवालाको घरमा घाइते भई लडेको डाँका गुलवान मियाँले पुजन, वकिल मियाँ, मुख्तार, सरोज समेत भई डाँका गरेका हौ भनी भनेबाट थाहा पाएको हुँ । गुलवान मियाँले बताएको कुरा लेखाएको हुँ । को को भई डाँका गरे म भन्न सक्तिन । गुलवानले कुन शिव पुजनलाई भनेको हो म जान्दिन । डि.एस.पी. ले यही शिव पुजनलाई पक्री सोधपुछ गरी छोडी दिएका हुन् भन्ने समेत व्यहोराको सरजमीनका मानिस राजवली मियाँ मुकेरीले र सोही मिलानको इद्रिस मियाँ, ठग मियाँ समेतले अदालतमा गरेको बकपत्र ।

      २०.   २०४०।४।२३ गते राती सुतेको अवस्था घरमा डाँकाहरु आई मेरो हसुली, सुनको ल्वाङ्ग, बुलाकी खोसी लगी लोग्ने कुर्वान मियाँको मुखमा बन्दुक फायर गरी जाहेरी बमोजिमको धनमाल डकैती गरी भागे १ जना डाँका पछाडि परी निजलाई जाहेरवालाले गडासाले हानी लडे पछि आफ्नो नाम गुलवान मियाँ बताएको र वकिल, मुख्तार, शिव पुजन, केशवरलाई डाँका गर्ने मध्येका भनी पोल गरेका हुन । १०१२ जना भई डाँका गरेका हुन । डाँकाहरुलाई चिन्दिन । तारेखमा रहेका शिव पुजनलाई चिन्दिन, वारदातमा थिए थिएनन् डाँका गरे गरेनन् भन्न सक्दिन भन्ने समेत व्यहोराको मोहर मियाँ मुकेरीले अदालतमा गरेको बकपत्र ।

      २१.   २०४०।४।२३ राती सुतिरहेको अवस्था डाँका डाँका भनी श्रीमती चिच्याएको सुनी जाँदा डाँकाले मेरो मुखमा फायर गरेकोले व्यहोस भएँ । डाँकाहरुले रु. २४,५००।को धनमाल डाँका गरी लगे । डाँका मध्ये गुलवानलाई छोरा वसीर मियाँले घाइते बनाई पक्राउ गरेको र निज गुलवानले वकिल, मुख्तार, शिव पुजनलाई पोलेको कुरा अस्पतालमा सुनें भन्ने समेत व्यहोराको कुर्वान मियाँ मुकेरीले अदालतमा गरेको बकपत्र ।

      २२.   २०४०।४।२३ गते कुर्वान मियाँको घरमा राती डाँका भएको खबर सुनी वारदात स्थलमा पुगी हेर्दा १ जना डाँका घाइते भई बाँधिई राखेको देखी निजलाई सोधपुछ गर्दा आफ्नो नाम गुलवान मियाँ भनेको र वकिल मियाँ, मुख्तार मियाँ, शिव पुजन समेत १०१२ जना भई डाँका गरेको भनी निज २४ गते बिहान मर्‍यो । निजको कुनै कागज गराएको छैन भन्ने समेत व्यहोराको प्र.ह. शंकर राईले अदालतमा गरेको बकपत्र ।

      २३.   मिलिस संलग्न घटनास्थल प्रकृति मुचुल्का, साक्षीको बकपत्र, जाहेरवाला समेत पीडित पक्षको मौकामा भएको कागज र अदालतमा गरेको बकपत्र समेतबाट जाहेरी बमोजिम जाहेरवालाको घरमा डाँका वारदात भएको पुष्टि हुन आयो । मुख्तार मियाँको पोल समर्थन हुने प्रमाण र अन्य दशी समेत भएको नदेखिएको, निज केशवरको नाम गुलवानले भनेको भनी पीडित पक्ष र प्रतिवेदक शंकर राईले अदालतमा लेखाउन नसकेको, निज केशवर राउत डाँका गरेकोमा इन्कार रहेको र अन्य तथ्ययुक्त प्रमाण नभएकोले निज केशवर राउतले सफाई पाउने ठहर्छ । गुलवानले भनेको कुरा लेखबद्ध गरी नराखेको, पीडित पक्ष मोहर मियाँ, लालमन खातुन, कुर्वान मियाँ जाहेरवाला समेतले प्रतिवादीहरुलाई मौकामा चिनेको छु भन्न नसक्नु, प्रतिवादीसंग कुनै दशी फेला नपर्नु, साक्षीहरुले प्र. हरुको इन्कारी बयानलाई पुष्टि हुने गरी बकी लेखाई दिएको समेत देखिनाले निज प्रतिवादी मुख्तार मियाँ, शिव पुजन महतो र वकिल मियाँ समेतले प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउने ठहर्छ । अन्य प्रतिवादी मध्येका भारतीय नागरिकको हकमा नेपाल सरहदमा पक्राउ भएका बखत कारवाही गर्ने माग हुँदा केही गर्न नपर्ने भन्ने समेत व्यहोराको शुरु पर्सा जिल्ला अदालतको मिति ०४३।३।६ को फैसला ।

      २४.   पर्सा जि. अ. को फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट म.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।

      २५.   अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाउनु भन्ने म.क्षे.अ. को मिति ०४५।२।५ को आदेश ।

      २६.   प्र. केशवर राउत कुर्मीलाई सफाई दिने ठहर्‍याएको हदसम्म इन्साफ मिलेकै देखिन्छ । प्रतिवादी मुख्तार मियाँ, शिव पुजन महतो चाई र वकिल मियाँ ३ जनालाई आरोपित कसूर गरेको नठहर्ने भन्ने हदसम्मको शुरु पर्सा जि. अ. बाट भएको फैसला मिसिल प्रमाणबाट मिलेको नदेखिँदा सो हदसम्म शुरु फैसला केही उल्टी हुने ठहर्छ । प्र. मुख्तार मियाँ, शिव पुजन महतो चाई र वकिल मियाँले प्रहरी प्रतिवेदन दावी बमोजिम डाँकाको अपराध गरेकोमा चौरीको १४(४) बमोजिम जनही कैद वर्ष ६ र दावी बिगोको डेढी बढाई जरीवाना समेत हुने ठहर्छ । प्र. केशवर राउतलाई सफाई दिएको हदसम्म मिलेकै देखिँदा सो हदसम्म वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४५।५।१ को फैसला।

      २७.   म.क्षे.अ. को मिति २०४५।५।१ को फैसला उपर चित्त बुझेन न्या. प्र.सु.ऐन, २०३१ को दफा १३ (५) (ख) (ग) अन्तर्गत पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्र. मध्येको शिव पुजन महतो चाईको यस अदालतमा परेको निवेदनपत्र ।

      २८.   यस्मा गाउँमा २ जना शिव पुजन चाई रहेको भन्ने देखिएको र मर्ने गुलवान मियाँले घाइते हुँदा कुन चाँही शिव पुजनलाई किटान गरेको हो यकिन भन्न सकेको देखिएन । अतः यस स्थितिमा यी निवेदक शिव पुजन महतो चाईलाई कसूर गरेको ठहराई म.क्षे.अ. बाट भएको इन्साफमा प्रमाण ऐन, २०३१ को दफा १८ तथा ३७ को व्याख्यात्मक त्रुटि देखिई न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ (५) (ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

      २९.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी हेरियो । यस्मा पुनरावेदक प्रतिवादी शिव पुजन महतो चाईका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले प्रतिवादी बनाइएका शिवपुजन महतो चाईका नाउँमा किटानी जाहेरी छैन, निजको अदालतमा इन्कारी बयान छ, जाहेरवालाले कुन शिव पुजनले डाँका गरे किटी भन्न सकेको छैन, अदालतबाट बुझिएका सरजमीनका मानिस ठग मियाँ, इन्द्रिस मियाँ र रजवली मियाँले डाँका गरेकोमा शिव पुजन उपर शंका सम्म देखाएका छैनन, मर्ने गुलवान मियाँले मर्दाको अवस्थामा भनेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा निजले पोलेको कुरालाई मृत्युकालीन घोषणाको रुपमा प्रमाण लिन मिल्दैन, प्र.मुख्तार मियाँले प्रहरीमा बयान गर्दा शिव पुजनलाई पोलेको तर अदालतमा आई खुद आफूले डाँका गरेकोमा इन्कार गरेका छन, डाँका गर्दा वारदातमा शिव पुजनलाई देखें, चिनें भन्ने चश्मदिद गवाह कोही छैन । अतः डाँका गरेको यही शिव पुजन हो भन्ने शंकारहित तवरले पुष्टि गर्ने प्रमाण नभएसम्म शंकाको भरमा सजायँ गर्न न्यायसंगत नहुने हुँदा प्र.शिव पुजन महतो चाईले प्रहरी प्रतिवेदनको आरोपित कसूरबाट फुर्सद पाउनु पर्छ भन्ने बहस जिकिर प्रस्तुत गर्नुभएको र वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. ले डाँका मध्ये मृतक गुलवान मियाँको भनाई मिसिलबाट यथेष्ट प्रमाणित भएको छ, मृतकले प्र. शिव पुजन, मुख्तार, वकिल समेत भई डाँका गरेको कुरा मर्नु अघि प्र.ह.शंकर राई समेत गाउँलेहरुको रोहवरमा भनेको भन्ने देखिन्छ, यस्तो अवस्थामा गुलवान मियाँले भनेको कुरा प्रमाणित हुन नसकेको भनी प्रतिवादीलाई सफाई दिने गरेको शुरु जि. अ. को फैसला उल्टी गरी प्र. शिव पुजन महतो चाई समेतले डाँका गरेको ठहर्‍याई गरेको म.क्षे.अ.को इन्साफ मिलेकै हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो । यसमा शुरु पर्सा जिल्ला अदालतले प्र. शिवपुजन महतो चाइलाई सफाई दिने गरी गरेको फैसला उल्टी हुने ठहराएको म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

      ३०.   निर्णयतर्फ विचार गर्दा यस्मा ०४०।४।२३ गते राती जाहेरवालाको घरमा डकैती भएको खबर प्राप्त भई घटनास्थलमा पुगी हेर्दा डाँका मध्येको १ जनालाई पक्राउ गरी घाइते बनाई राखेको र निजलाई सोधपुछ गर्दा म र मेरै गाउँका सरोज भन्ने तथा मैले चिनेका पकाहा बस्ने वकिल मियाँ, मुख्तार मियाँ, शिव पुजन महतो चाई र अरु नाम ठेगाना नजानेका १११२ जना भई डकैती गरेका हौं भनी निज गुलवानको मृत्यु भएको हो भन्ने व्यहोरा उल्लेख गरी प्र. शंकर राईको प्रहरी थाना पोखरियामा परेको प्रतिवेदन र ०४०।४।२३ गते राती मेरो घरमा डाँका परी धनमाल डकैती गरी लगी भागेका र पछि परेको १ जना डाँकालाई गडासाले हानी घाइते बनाई लडेपछि प्रहरी र गाउँले समेत आई म समेतको रोहवरमा सोधपुछ गर्दा निजले आफ्नो नाम गुलवान बताएको र सरोज भन्ने तथा मुख्तार मियाँ, वकिल मियाँ, शिव पुजन महतो चाई समेत डाँकामा सरिक थिए भनी सचेत अवस्थामा बयान गरेपछि २४ गते मृत्यु हुन गयो भन्ने व्यहोराको जाहेरी दर्खास्त पर्न आएको देखियो । जाहेरवाला वसीर मियाँले अदालतमा आई बयान गर्दा भने डाँका गुलवानले वकिल मियाँ, मुख्तार मियाँ, शिव पुजन र सरोज भन्नेले मलाई डाँका गर्न ल्याएका हुन भनी भनेको हो, वारदातमा डाँकालाई देखेँ चिन्न सकिँन, यो मुद्दामा तारेखमा रहेका शिव पुजन वारदातमा आएको थियो थिएन थाहा छैन, घटनास्थलमा देखिन, गुलवानले कुन शिव पुजनलाई बताएको हो भन्न सक्दिन भन्ने समेत व्यहोरा लेखाएकोबाट यी प्रतिवादी उपर डाँका गरेमा शंकासम्म गरेको पनि पाइएन । प्रतिवादी मध्येका मुख्तार मियाँ, केशवर राउत कुर्मीले डाँका गरेकोमा प्रहरी समक्ष सावित भई यी प्रतिवादी शिव पुजनलाई समेत पोल गरेकोमा अदालतमा आई बयान गर्दा जाहेरवालाको घरमा डाँका गरेकोमा खुद इन्कार रही बयान गरेको पाइयो । सरजमीनका मानिस मध्ये अदालतमा आई बकपत्र गर्ने राजवली मियाँ, इन्द्रिस मियाँ र ठग मियाँले ०४०।४।२३ गते राती जाहेरवालाको घरमा डाँका परेको हो, मर्ने डाँका गुलवान मियाँले मर्नु पूर्व शिव पुजन, वकिल मियाँ समेत भई डाँका गरेका हुन भनी भनेबाट थाहा पाएकोले सोही कुरा लेखाएको हुँ, को को भई डाँका गरे, गुलवानले कुन शिव पुजनलाई भनेको हो म भन्न सक्दिन, यो मुद्दाका प्रतिवादी शिव पुजन डाँका गर्न गए गएनन बताउन सक्दिन, यही शिव पुजनलाई डि.एस.पि. ले बोलाई (पक्री) सोधपुछ गरी छोडी दिएका हुन भन्ने व्यहोरा लेखाएबाट जाहेरवालाको घरमा डाँका गरेकोमा यी सरजमीनका मानिसले प्र. शिव पुजन उपर शंका सम्म नदेखाई बकपत्र गरेको पाइन्छ । यी प्रतिवादीलाई पक्राउ गरी प्रहरीमा सोधपुछ सम्म गरी छोडी दिएको भन्ने कुरा सरजमीनका मानिस र जोहरवालाको अदालतमा भएको बकपत्र कागजबाट देखिन्छ । प्रतिवादी शिवपुजनले आफ्नै पञ्चायतको वार्ड नं. २ मा मोती महतोको छोरा अर्को शिव पुजन चाई छ भनी कसूरमा इन्कार रही अदालतमा आई बयान गरेको र मर्ने डाँका गुलवानले कुन शिव पुजनलाई डाँकामा सरिक थिए भनी भनेको हो सो कुरा कतैबाट यकिन हुन नआएको र यी प्र. ले वार्ड नं. २ मा छ भनेको अर्को शिव पुजनलाई बुझेको पनि पाइएन । अर्को तर्फ वारदातको समयमा यी प्रतिवादी शिवपुजनलाई घटनास्थलमा देखें चिनें भन्ने चस्मदिद गवाहको अभाव रहेको र मौकामा बुझिएका पीडित पक्ष कुर्वान मियाँ, मोहर मियाँले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीलाई घटनास्थलमा तत्काल देखें चिनें भनी भन्न नसकेको हुँदा समेत निज पुनरावेदक प्रतिवादी डाँका वारदातमा संलग्न रहेको भन्ने कुरा पुष्टि हुन सकेको मिसिलबाट देखिन आएन ।

      ३१.   गुलवानले मर्नु पूर्व व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ११ अनुसार मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिइनु पर्छ भन्ने वादी पक्षबाट उपस्थित विद्वान सहन्यायाधिक्ताको बहस जिकिर तर्फ हेर्दा प्रमाण ऐन, २०३१ को दफा ११ मा मर्ने व्यक्तिले मर्नु पूर्व आफ्नो मृत्युको कारणको सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाण लिन हुन्छ भन्ने उल्लेख भएकोबाट प्रस्तुत मुद्दाको सम्बन्धमा आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी डाँकामा पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यति लेखबद्ध नभै मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने हुँदा उक्त बहस जिकिरसंग महमत हुन सकिएन ।

      ३२.   अतः पुनरावेदक प्रतिवादी शिव पुजन महतो चाइ वारदातमा सरिक भै डाँका गरेको भन्ने कुराको शंकारहित तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन नमिल्ने भएकाले निज प्रतिवादीलाई डाँका गरेको ठहराई सजायँ गर्ने गरेको म.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा शुरु पर्सा जिल्ला अदालतबाट यी प्रतिवादीलाई सफाई दिने गरी गरेको फैसला मनासिब हुँदा निज पुनरावेदक प्रतिवादीको हकमा सम्म म.क्षे.अ. को इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ । म.क्षे.अ. को मिति ०४५।५।१ को फैसलाले प्रतिवादी शिवपुजन महतो चाईलाई चोरीको १४(४) बमोजिम हुने ठहराइएको कैद वर्ष ६ र बिगोको डेढी जरीवाना नहुने हुँदा सो हदसम्म मे.क्षे.अ. बाट राख्ने गरेको सजायँको लगत कट्टा गर्नु र प्रतिवादी शिवपुजनले यस अदालतमा पुनरावेदन गर्दा राखेको जेथा धरौट रोक्का भए फुकुवा गरी दिन भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन समेत का.जि. अ.त.मार्फत शुरु पर्सा जि. अ. मा लगत दिनु र दाखेल भएको ज.ध.द.प्र. पुर्जा फिर्ता दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४६ साल मार्ग २६ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु