निर्णय नं. ३९६६ - अंश

निर्णय नं. ३९६६ ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४४ सालको दे.पु.नं. ८४२
फैसला भएको मिति : २०४६।१०।२।२ मा
पुनरावेदक/प्रतिवादी : झापा, चारआली गा.पं. वा.नं. ३ बस्ने उपकार धिमाल
विरुद्ध
विपक्षी/वादी : झापा, काकडभिट्टा गा.पं. वा.नं. ३ बस्ने राजकुमारी धिमाल
मुद्दा : अंश
§ अंश पाउने सुरु ठहर भई सकेपछि जन्मेका छोराहरुमा बण्डा हुनु पर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने नदेखिने ।
(प्रकरण नं. १८)
§ अदालतबाट अंशियार कायम भई सकेपछि जन्मेका अंशियारको कानुन बमोजिम नालेश परेको बखत कानुन बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट विचार गरी रहन नमिल्ने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का
फैसला
न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।८।१५।३ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. विपक्षी पतिले मलाई आफ्नो जातीय रीत परम्परा अनुसार विवाह गरी २०१९ साल देखि पति पत्नी भई दाम्पत्य जीवन यापन गरिआएकोमा विपक्षीले पुनः मलाई पूर्ववत् स्वव्यवहार गर्न छाडी फूलमती र माखीमा नाम गरेका श्रीमती ल्याई मलाई घरबाट निकाला गरिदिएको र विपक्षीका करणी विर्यबाट छोरा १ छोरी १ भएको छ । २०३५ साल कार्तिक महिनामा घरबाट निकाला गरेपछि जिल्ला कार्यालय झापामा उजूर गरेको थिएँ । सो कार्यालयमा विपक्षी उपस्थित भई खान लाउन र पाल्ने छु भनी पुनः घरमा लिई आउनु भएको थियो । सो पछि मेरो नाममा उजूर गर्ने भनी मलाई खान नदिई निकाला गरिदिनु भएकोले साथमा भएका १ छोरा र १ छोरी पालन पोषण गर्ने र शिक्षा दिक्षा दिने खर्च समेत विपक्षी पतिदेवबाटै अंशको तायदाती फाँटवारी दाखेल गराई ५ अंशियार हुँदा ५ भागको एक भाग अंश दिलाई भराई पाउँ भन्ने राजकुमारी धिमालको फिरादपत्र रहेछ ।
३. वादी दावीको फिराद दावी बमोजिम वादीलाई खान लाउन दिएकै छु । विपक्षीलाई पाण्डु नामक रोगले सताएको कारणबाट निजकै राय अनुसार २०२९ सालमा अर्को विवाह गरेको छु । फिरादीलाई आफ्नो ईज्जत आमोद अनुसार खान लाउन दिएकै छु । इज्जत आमोद अनुसार खान लाउन दिँदा दिंदै अर्काका भनाईमा लागी दिएको मुद्दा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने उपकार धिमालको प्रतिउत्तरपत्र ।
४. फिराद दावी बमोजिम वादीले प्रतिवादीबाट ५ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने झापा जिल्ला अदालतको ०३८।३।१४ गतेको फैसला ।
५. वादीले दावी गरेको छोरा छोरीलाई पालन पोषण गर्ने खर्च पाउने नपाउने तर्फ बोलेको नदेखिँदा त्यसतर्फ निर्णय हुन मिसिल झापा जिल्ला अदालतमा पठाउने भन्ने मेची अञ्चल अदालतको मिति ०४०।४।२६ गतेको फैसला ।
६. पेश गरेका तायदाती फाँटवारीको जम्मा बिगोको सयकडा ५ प्रतिशतले हुने रकम पर सारी बाँकी तायदाती फाँटवारीको ५ भागको एक भाग अंश वादीले प्रतिवादीबाट लिन पाउने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको मिति ०४१।४।२४ गतेको फैसला ।
७. शुरु झापा जिल्ला अदालतको मिति ०४१।४।२४ गतेको फैसलामा चित्त बुझेन शुरु फैसला बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरी हक इन्साफ गरी पाउँ भन्ने प्रतिवादी उपकार धिमालको मेची अञ्चल अदालतमा पर्न आएको २०४१।६।१४ गतेको पुनरावेदनपत्र ।
८. पुनरावेदनपत्रको प्रकरण ५ मा उल्लेखित सुभ धिमाल, मिना धिमाल, सन्तोष धिमाल समेतलाई बुझ्नुपर्छ । निजहरुको वतन खुलाउन वादीको कागज गराई खुल्न आएमा निजहरुका नाममा ७ दिने म्याद जारी गरी बुझ्ने भन्ने मेची अञ्चल अदालतको मिति ०४१।११।२७ गतेको आदेश ।
९. आदेश बमोजिम मिनाकुमारी धिमाल समेत ३ जनाको मेची अञ्चल अदालतमा बयान भएको रहेछ ।
१०. प्रमाण ऐन, २०३१ को दफा ७ ले अंशियार मध्ये जुनसुकैको नाममा दर्ता रहे पनि सगोलको जग्गा रहे भएको कुराको अनुमान गर्न सकिन्छ । त्यसमा पनि बुझिएका शुम धिमाल समेतका मानिस नाबालख भई बाबुसंग बसेको मिसिलबाट देखिन्छ । दर्ताको नाताबाट छुट्टिएको भन्ने मिलेन । त्यसकारण पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु इन्साफ मनासिब ठहर्छ भन्ने मेची अञ्चल अदालत ईलामको मिति २०४२।५।२० गतेको फैसला ।
११. जिल्ला र अञ्चल अदालतबाट भएको फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले सो फैसला उल्टाई मेरो प्रतिउत्तर र पुनरावेदन जिकिर बमोजिम हक न्याय गरिपाउँ भन्ने समेत व्यहोराको उपकार धिमालको पु.क्षे.अ. मा परेको निवेदनमा अनुमति प्रदान गरिएको छ भन्ने समेत पू.क्षे.अ. को आदेश ।
१२. सगोलमा रहेको जोसुकैको नाममा रहेको भए तापनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नु पर्ने प्रमाण ऐनको दफा ६ मा व्यवस्था भइरहेको र निजहरुको नाममा दर्ता रहेको जग्गा अंशियार बाहेक उनाउँ व्यक्तिबाट बकसपत्र पाएको नदेखिई अंशियार बाबुबाटै पाएको देखिएकोले सो जग्गा बण्डा नहुने भन्ने मिल्ने देखिएन । तसर्थ सो जग्गा समेत बण्डा गर्ने गरेको र वादीले ५ भागको १ भाग अंश पाउने ठहराएको शुरुको इन्साफ मनासिब ठहराएको मेची अञ्चल अदालतको इन्साफ मिलेकै देखिएकोले केही परिवर्तन गरी रहन नपरी मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पु.क्षे.अ. को मिति २०४४ साल मार्ग १५ को फैसला ।
१३. मुद्दा परी फैसला भई नसकेको र अंश भाग बण्डा भई सकेको स्थितिमा जन्मेका छोरालाई अंश पाउने तर्फ कुनै कुरा नबोली केवल ५ भागको १ भाग वादीलाई दिलाउने गरेको पु.क्षे.अ. को इन्साफमा चित्त बुझेन कानुनी त्रुटि हुँदा उक्त फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादी उपकार धिमालको यस अदालतमा पर्न आएको निवेदनमा अंशबण्डा हुनु अगावै जन्मेको अंशियार समेतको भाग लगाई अंश बण्डा गर्नुपर्नेमा सो नगरी वादी दावी बमोजिम अंश पाउने ठहराएको पु.क्षे.अ. को फैसलामा अंशबण्डाको १,२ नं. को व्याख्यात्मक कानुनी त्रुटि देखिन आएकोले न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४४।११।१७ को आदेश रहेछ ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा विपक्षी वादीलाई म्याद पठाएकोमा रीतपूर्वक म्याद तामेल भई आएको मिसिलबाट देखिन आएको तर इजलास समक्ष उपस्थित हुन आएको देखिन आएन । तारेखमा रही इजलास समक्ष उपस्थित र निवेदकको वा. लाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले पू.क्षे.अ.बाट फैसला हुँदा वादी दावी बमोजिम ५ अंशियार कायम गरी फैसला भएको छ । २०३५।१२।८ मा फिराद दायर भएपछि २०३६।६।१७ तथा २०४०।१।२४ मा जन्मेको छोरा अंशियारलाई अंशियार नै नदेखाई ५ खण्डको १ खण्ड वादीलाई अंश दिलाउने गरेको मु.ऐ. अंशबण्डाको ११ नं. प्रतिकूल व्याख्या गरी क्षेत्रीय अदालतले गरेको फैसला मिलेको छैन अंशबण्डा पाउने गरी २०४१।४।२४ मा शुरु जि. अ.बाट फैसला हुनु पूर्व जन्मेका अंशियारको समेत भाग कटाई मात्र वादीले अंश पाउनु पर्ने साथै बकसपत्रबाट अन्य व्यक्तिका नाउँमा कानुनन भई सकेको अवस्थामा सो समेत बण्डा लाग्ने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन उल्टी हुनुपर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१५. प्रस्तुत मुद्दामा पु.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१६. यस्मा पुनरावेदक प्रतिवादीको, फिराद दायर भई सकेपछि अदालतबाट बण्डा छुट्टाउनु पूर्व जन्मेका छोराहरुलाई समेत भागबण्डा लगाई फैसला गर्नुपर्नेमा केवल वादी दावी बमोजिम ५ अंशियार कायम गरेको मिलेन भन्ने मुख्यतः पुनरावेदन जिकिर देखिन आएको छ । वादी फिराद हेर्दा लोग्ने १ छोरा १ र आफू र २ सौता समेत गरी ५ अंशियार देखाई ५ खण्डको १ खण्ड अंश दिलाई पाउँ भनी मिति २०३५।१२।८।४ मा फिराद दायर गरेको पाइन्छ ।
१७. तर प्रतिवादीको प्रतिउत्तर हेर्दा त्यसरी वादीले दावी लिए बमोजिम ५ भागको १ भाग अंश दिनु पर्ने होइन अथवा ५ अंशियार बाहेकका अन्य यति उति अंशीयार छन् भनी कुनै पनि कुरा उल्लेख नगरी केवल वादीलाई खान लाउन दिएकै हुँदा अंश दिनु पर्ने होइन भन्ने सम्म प्रतिउत्तरमा उल्लेख गरेको देखिन्छ । शुरु जि. अ.बाट २०३८।३।१४ मा वादीले प्रतिवादीबाट ५ भागको १ भाग अंश पाउने ठहराई फैसला भए उपर अञ्चल अदालतमा पुनरावेदन पर्दा वादीले दावी गरेको छोरा छोरीलाई पालन पोषण गर्ने खर्च पाउने नपाउने तर्फ बोलेको देखिएन भन्ने आधारमा मिसिल पुनः शुरु जि. अ. मा पठाउने गरी अञ्चलबाट फैसला भएकोमा तायदाती फाँटवारीको जग्गा बिगोको सयकडा ५।– हुने रकम पर सारी बाँकी तायदाती फाँटवारीको ५ भागको १ भाग अंश वादीले पाउने ठहर गरेको फैसलालाई अञ्चल अदालतले सदर गरी सोही इन्साफलाई पु.क्षे.अ. ले मनासिब ठहर गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले सुरु प्रतिउत्तरमा उल्लेख गरेको जिकिरहरुलाई पुनरावेदनमा समावेश नगरी प्रतिउत्तरमा वैकल्पिक जिकिर ९ब्तिभचलबतभ उभिब० लिन नसकेको समेत कुरालाई पुनरावेदनमा समावेश गरेको देखिन आउँछ । साथै पुनरावेदन जिकिरमा वादीले ५ भागको १ भाग अंश पाउने ठहर गरी शुरु जि. अ.ले २०३८।३।१४ मा फैसला गरी सकेको कुरालाई लुकाई केवल २०४१।४।२४ मा शुरु फैसला भएको भनी जिकिर लिएको देखिन आउँछ ।
१८. तर सुरु जि. अ. बाट उक्त २०३८।३।१४ मा भएको फैसला उपर पुनरावेदन जिकिर दिँदा समेत वादीले जिकिर लिए बाहेकका अन्य छोराहरु समेत जन्मी सकेको वा अरु अंशियारलाई समेत भागबण्डा लगाउनु पर्ने भन्ने प्रतिवादीले उल्लेख गरेको देखिन नआई केवल शुरु जि. अ. बाट २०४१।४।२४ मा पुनः वादीले ५ भागको १ भाग अंश पाउने भनी ठहर गरे उपर प्रतिवादीको अञ्चल अदालतमा पुनरावेदन परेकोमा मात्र अरु छोरा जन्मेको र सो छोराहरुको भाग बण्डा लगाउनु पर्ने भन्ने उल्लेख गरेको देखिन आउँछ । यसरी अंश पाउने शुरु ठहर भई सकेपछि जन्मेका छोराहरुमा बण्डा हुनु पर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने देखिँदैन । विद्वान अधिवक्ताले समेत बहसको सिलसिलामा पेश गर्नु भएको नजीर प्रस्तुत मुद्दासंग मेल खाने देखिँदैन । यसरी पुनरावेदकले जिकिर लिए बमोजिम मुद्दा फैसला भई सकेपछिका अंशियारहरुमा पुनरावेदन तहबाट अंशियार कायम तर्फ बोल्दै लग्ने हो भने समेत मुद्दाको क्रम कहिल्यै नरोकिने हुन जान्छ, साथै बण्डापत्र भइसके पश्चात अर्थात अदालतबाट अंशियार कायम भई सकेपछि जन्मेका अंशियारको कानुन बमोजिम नालेस परेको बखत कानुन बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट बिचार गरी रहन मिलेन । तसर्थ प्रतिवादीले बकसपत्र गरिदिएको सम्पत्ति समेतबाट वादी दावी बमोजिम ५ भागको १ भाग अंश पाउने ठहर गरेको शुरु तथा अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर गरेको पु.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा इन्साफ पू.क्षे.अ. को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल माघ २ गते रोज २ शुभम् ।