निर्णय नं. ३९६९ - माना चामल

निर्णय नं. ३९६९ ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४५ सालको दे.पु.नं. ७६९
फैसला भएको मिति : २०४६।१०।६।६
पुनरावेदक/प्रतिवादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने पूर्णराज मुनि बज्राचार्य
विरुद्ध
विपक्षी/वादी : का.जि. साँखु पुखुलाक्षी वा.नं. ३ बस्ने चैत्यलक्ष्मी बज्राचार्यसमेत
मुद्दा : माना चामल
§ लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार ईज्जत आमद अनुसार खान लाउनको लागि लोग्ने बाबु उपर दावी आउने स्थिति नदेखिने।
(प्रकरण नं. १७)
§ वादी छोरा र स्वास्नीको प्रतिवादी लोग्ने उपर माना चामलमा दावी हुँदा प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको दावी रहेछ भन्ने अवस्था नदेखिने ।
(प्रकरण नं. १८)
§ अंशबण्डाको महलको १० नं. बमोजिम माना चामल भराउने हदम्याद सो ऐनमा उल्लेख नभएको हुँदा अ.बं. ३६ नं. लाई नै अंगाल्नु पर्ने ।
(प्रकरण नं. १९)
§ अंशबण्डाको महलमा समेत १ वर्षको माना चामल मात्र भराउनु पर्छ भन्ने कानुनी व्यवस्था भएको नदेखिने ।
(प्रकरण नं. १९)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ
फैसला
न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।७।१६ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. माना चामल भराई पाउँ भनी म.क्षे.अ. मा फिराद परी २७६०।– भरी पाउने गरी ०३७।१०।२२ मा फैसला भएकोमा २०२८ सालदेखि २०३८ सालसम्मको प्रति वर्ष ३,०००।– का दरले हुने रु. ३०,०००।– अंशबण्डाको ४ नं. बमोजिम माना चामल भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. मिति २०३८।१०।५।४ मा तामेल भएको म्यादमा प्रतिवादीले म्याद गुजारी बसेको । शुरु म्याद गुजारी बसेकोले वादी दावी बमोजिम भराई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको का.जि. अ. को मिति ०३८।११।१८ को फैसला ।
४. विपक्षीले मलाई दुःख दिने मनसायबाट यो फिराद दिएका हुन् विपक्षीको माग दावी खारेज गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पूर्णराज मुनिकारको प्रतिउत्तरपत्र ।
५. शुरु जिल्ला अदालतबाट एकतर्फी फैसला भएको देखिन आएबाट उक्त फैसला बदर गरिदिएको छ अब जेजो बुझ्नु पर्छ बुझी पुनः इन्साफ गर्नु भनी मिसिल का.जि. अ. पठाई दिनु भन्ने बा.अं.अ. को फैसला ।
६. ९ वर्षको माना चामल भरी पाउँ भन्ने नालेश खारेज हुने र १ वर्षको माना चामल ३,०००।– भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.जि. अ. को ०४२।८।६ को फैसला ।
७. का.जि. अ. को फैसला चित्त बुझेन अतः बाँकी २७,०००।– भराई पाउँ भन्ने समेत व्यहोराको बा.अं.अ. मा परेको पुनरावेदन पत्र ।
८. वादीले प्रतिवादीबाट ३ महीना २० दिनको रु. ६००।– का हिसावले १० वर्षको माना चामल भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०४३।५।५ को फैसला ।
९. बा.अं.अ. को फैसलामा चित्त बुझेन । उक्त फैसलामा कानुनी त्रुटि विद्यमान भएकोले न्याय प्रशान सुधार ऐन, २०३१ को दफा १३ (४) खण्ड (ख) (घ) को प्रश्नमा त्रुटि देखिन आएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति ०४४।४।७।५ को आदेश ।
१०. प्रस्तुत मुद्दामा वादीले माना चामलको मात्र माग दावी लिएको देखिँदा वादी अंशबण्डाको १० नं. अन्तर्गतको अधिकार प्रचलन गराई माग्न अदालतमा नालेश लिई प्रवेश गरेको देखिएको र उक्त अंशबण्डामा यति अवधि भित्र नालेश गर्नु पर्ने वा यति अवधिको मात्र माना चामल भरी पाउने भन्ने कानुनी व्यवस्था भएको नदेखिँदा बागमती अञ्चल अदालतले वादी दावी बमोजिम १० वर्षको माना चामल वादीले प्रतिवादीबाट भरी पाउने ठहर्याएको शुरुको उल्टी फैसला मिलेको देखिँदा मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत म.क्षे.अ. को मिति ०४५।७।१६ को फैसला ।
११. न्या. प्र.सु. ऐन, ०३१ को दफा १३ को उपदफा ६ अनुसार अनुमति दिएको आधार मिले नमिलेको हदम्याद भित्रको वा नाघेको भन्ने कुरामा बोल्दै नबेली म.क्षे.अ.ले कानुन र व्याख्या सम्बन्धी त्रुटि गरी निर्णय गरेको त्रुटिपूर्ण हुँदा इन्साफमा चित्त बुझेन । उक्त फैसला उपर पनुरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनमा मानाचामलको दावी गर्ने अधिकार लोग्ने स्वास्नीको महलको ४ नं. ले व्यवस्था गरेको र सोही महलको ६ नं. हेर्दा यस महलको १ नं. मा लेखिएको कुरामा बाहेक अरु कुरामा भए गरेको मितिले १ वर्ष भित्र नालेश नदिए लाग्न सक्तैन भन्ने कानुनी व्यवस्था भएको हुँदा वादी दावी बमोजिम १० वर्षको माना चामल भराई दिने गरी म.क्षे.अ.ले गरेको फैसलामा लोग्ने स्वास्नी महलको ४ नं. तथा ६ नं. को व्याख्यामा त्रुटि गरी गरेको देखिन आएकोले न्या. प्र.सु. ऐन, ०३१ को दफा ५ को खण्ड (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४५।९।५ गतेको आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका दुवै पक्षलाई रोहवरमा समेत राखी पुनरावेदक प्रतिवादीका तर्फबाट बहसका लागि उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले विपक्षी वादीहरुले दावी गर्दा मुलुकी ऐन अंशबण्डाको ४ नं. लाई उल्लेख गरी माना चामल तर्फ दावी गरे पनि उक्त अंशबण्डाको ४ नं. सान्दर्भिक छैन । सो लोग्ने स्वास्नीको महलको ४ नं. को आधारमा दावी हुँदा लोग्ने स्वास्नीको महलको ६ नं. को हदम्याद यस्मा लागू हुने हुँदा वादीले अदालती बन्दोवस्तको ३६ नं. को आधारमा दावी गरेको मिलेको छैन र म.क्षे.अ.ले बागमती अञ्चल अदालतको इन्साफ सदर गरी १० वर्षको माना चामल भराएको पनि मिलेको छैन । लोग्ने स्वास्नीको महलको ६ नं. बमोजिम १ वर्षको मात्र माना चामल भराउनु पर्ने भन्ने जिकिर लिंदै ने.का.प.नि.नं. ४७२ निवेदक खिलकुमारी बाहुनी विरुद्ध शेखरप्रसाद उपाध्याय समेत भएको माना चामल मुद्दामा सिद्धान्त समेत प्रतिपादीत भएकोले सोही नजीर लागू हुनु पर्ने भन्ने मुख्य बहस जिकिर गर्नु भएको र विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठले वादीले दावी गर्दा अंशबण्डाको महल अनुसार दावी भएको हुँदा त्यस्तोलाई लोग्ने स्वास्नीको महलको ४ नं. अन्तर्गतको दावी हो भन्ने निष्कर्षमा पुग्न मिल्ने होइन । मु.ऐ. अंशबण्डाको १० नं. मा माना चामल भराउने व्यवस्था भएको र त्यस्तो हदम्यादको व्यवस्था समेत नहुँदा वादीले मु.ऐ. अदालती बन्दोवस्तको ३६ नं. लाई अंगालेको मिलेकै हुँदा १० बर्षको मानाचामल भराउने ठहर गरेको बा.अं.अ.को इन्साफलाई सदर गरेको म.क्षे.अ. को इन्साफ मिलेकै हुँदा सोही इन्साफ सदर हुनुपर्दछ भन्ने गर्नु भएको बहस जिकिरहरु समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा दुवै पक्ष तर्फका विद्वान अधिवक्ताहरुले गर्नु भएका बहस जिकिरहरुलाई समेत मध्य नजर राख्दै वादी दावी बमोजिम १० वर्षको मानाचामल भरी पाउने ठहर गरेको म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१४. यस्मा मुख्यतः उपरोक्त बहस जिकिरहरुबाट वादीको दावी कुन महल तथा नम्बर अन्तर्गत पर्न आएको हो अर्थात लोग्ने स्वास्नीको महलको ४ नं. अन्तर्गत हो वा अंशबण्डाको महल अनुसार हो सो कुराको नै विवाद देखिन आएकोले प्रथमतः सो कुराको निष्कर्षमा पुग्नु पर्ने देखिन आयो ।
१५. वादीको फिराद दावी हेर्दा विपक्षी पूर्णराज मुनिले फिरादीलाई विवाह गरी निज तर्फबाट ३ छोरा र १ छोरी जन्मेपछि विपक्षीसंग वैमनस्य भई यिनै लोग्नेबाट छोरा छोरी ३ प्राणीको र फिरादी समेत ४ जनालाई मानाचामल भराई पाउँ भनी फेराद गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट रु. २७६०।– माना चामल बापत पाउने गरी २०३७।१०।२२।४ मा फैसला भएको र विपक्षी संग मुद्दा परिरहेको कारणबाट छोराछोरीलाई शिक्षा दिक्षा दिन परैजावस १ छाक ख्वाउन पनि मुश्किल परिरहेको र २०३८ साल कार्तिक २९ गतेसम्मको मानाचामल रु. २७६०।– लिन बाँकी छ तापनि सो मिति देखिको मानाचामल नपाउने भनी कुनै कानुनले नरोकेको हुँदा विपक्षीबाट २०२८।७।३० देखि आमा छोराले ऋण कर्जा लिई जीविका चलाई आएकोले चार प्राणीलाई वर्ष १ को मानचामल रु. ३,०००।– चाहिने हुनाले २०२८ साल कार्तिक ३० देखि २०३८।७।२९ तक वर्ष १० को चाहिने मानाचामल रु.३०,०००।– मु.ऐ. अंशबण्डाको ४ नं. ले विपक्षीले आमद अनुसार खान लाउन दिनु पर्नेमा खान लाउन नदिई कुटपिट गरी निकाली बैमनस्य उठाई झगडा गरेको हुँदा सो १० वर्षको माना चामल मुद्दा फैसला भएको २०३७।३।२२ ले १ वर्षभित्र अ.बं. ३६ नं. बमोजिम फिराद गर्न आएको भन्ने दावी लिएको पाइन्छ ।
१६. यस सम्बन्धमा कानुनी व्यवस्था तर्फ हेर्दा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ४ नं. मा “सासु ससुरा समेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा वरावर कुटपिटर गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुटाई लिन पाउँछ त्यो स्वास्नी मरी वा पोइल गै भने उस्ले खाईलाई बाँकी रहे जति हकवालाको हुन्छ । सासू ससुराले मात्र निकाला गरेकोमा ईज्जत आमद अनुसार खान लाउन दिनु पर्छ” भन्ने व्यवस्था भएको र मु.ऐ. अंशबण्डाको १० नं. मा “बाबुको जीउ छउन्जेल अंश दिन छोराहरुले बाबुलाई बाध्य गराउन सक्ने छैनन् । म अहिले छुट्टिन्न भन्ने छोरालाई बाबुले कर लगाई छुट्टाउन पनि हुँदैन, स्वास्नीले पनि लोग्नेको जीउ छउन्जेल लोग्नको मन्जूरी बिना अंश लिई छुट्टिन पाउँदिन । छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन ईज्जत आमद अनुसार खान लाउन दिनै पर्छ । नदिए अंश दिनु पर्छ । लोग्ने स्वास्नीको महलको ४ नम्बरमा लेखिएको कुरामा भने सोही बमोजिम हुन्छ” भन्ने व्यवस्था भएको पाइन्छ ।
१७. उपरोक्त लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट सो सन्र्भमा हेर्दा वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी पूर्णराज मुनि उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार इज्जत आमद अनुसार खान लाउनको लागि लोग्ने बाबु उपर दावी आउने स्थिति देखिन्न ।
१८. प्रस्तुत मुद्दाको फिराद पर्नु पूर्व यिनै वादीहरुले माना चामल मुद्दामा नालेश दिँदा समेत बाबु लोग्नेले कुटपिट गरी निकाला गरेको आधारमा माना चामल भरी पाउँ भनी दावी लिएकोमा समेत सो मानाचामल भरी पाउने गरी मिति २०३७।८।८।१ मा म.क्षे.अ.बाट समेत फैसला भइसकेको प्रमाण स्वरुप इजलास समक्ष पेश हुन आएको सम्बन्धित मिसिलबाट देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसारको दावी स्वास्नीले लोग्ने वा सासू ससुरा समेत उपर अंश छुटाई लिन र सासू ससुराले मात्र निकाला गरेकोमा ईज्जत आमद अनुसार खान लाउन दावी गर्ने अवस्था देखिन आउँछ । प्रस्तुत मुद्दामा स्वास्नीको मात्र सासूससुरा उपर दावी नभई स्वास्नी र छोराको समेत लोग्ने बाबु उपर मात्र माना चामल उपर दावी भएको देखिन्छ । स्वास्नी छोरालाई ईज्जत आमद अनुसार खान लाउन दिनु पर्छ भन्ने अंशबण्डाको १० नं. मा उल्लेख भएको र वादी छोरा नित्यराज र वादी स्वास्नी चैत्यलक्ष्मीको प्रतिवादी लोग्ने पूर्णराज उपर माना चामलमा दावी हुँदा प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको दावी रहेछ भन्ने अवस्था देखिन्न ।
१९. फेरादको रुप तर्फ हेर्दा वादीले आफ्नो फेरादमा अंशबण्डाको ४ नं. उल्लेख गरी गल्ती नम्बर उद्धृत गरे पनि वादीले फेराद गर्दा अंश बण्डाको महललाई नै अंगालेको र अंशबण्डाको महलको १० नं. बमोजिम माना चामल भराउने हदम्याद सो ऐनमा उल्लेख नभएको हुँदा अ.बं. ३६ नं. लाई नै अंगाल्नु पर्ने हुँदा र वादीको फेराद समेत अ.बं. ३६ नं. अन्तर्गर्त परेको देखिँदा वादीको दावी अंशबण्डाको महल बमोजिम होइन भन्ने स्थिति रहेन । लोग्ने स्वास्नीको ४ नं. को दावी भएकोमा सो महलको ६ नं. को हदम्याद लाग्छ र उक्त सिद्धान्त उपरोक्त कि.नं. ४७२ निवेदक खीलकुमारी विरुद्ध शेखरप्रसाद भएको माना चामल मुद्दाबाट सिद्धान्त प्रतिपादित भएको छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा वादीको दावी अंशबण्डाको महल बमोजिम भएकोले उपरोक्त उल्लेखित नजीर यस मुद्दामा आकृष्ट हुन सक्ने देखिन आएन । अंशबण्डाको महलमा समेत १ वर्षको माना चामल मात्र भराउनु पर्छ भन्ने कानूनी व्यवस्था भएको देखिन नआएको र अंशबण्डाको महल बमोजिम मानाचामल भराउने तर्फ आएको दावीमा हदम्यादको व्यवस्था समेत भएको नदेखिएकोले अ.बं. ३६ नं. बमोजिमको फेराद अमिल्दो भन्ने मिलेन । वादी दावी बमोजिम १० वर्षको माना चमल भराउने गरेको बा.अं.अ. को इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा इन्साफ म.क्षे.अ. को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल माघ ६ गते राज ६ शुभम् ।