निर्णय नं. ३९७० - फैसला दर्ता बदर

निर्णय नं. ३९७० ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ९००
फैसला भएको मिति : २०४६।८।७।४ मा
पुनरावेदक/प्रतिवादी : बारा जि. बिसमपुर गा.पं.वा.नं. ८ बस्ने खातुन नेसा सोखिन
विरुद्ध
प्रत्यर्थी/वादी : बारा जि. कलैया न.पं.वा.नं. १० बस्ने मादेव राउत अहिर
मुद्दा : फैसला दर्ता बदर
§ फिराद अ.बं. ८६ नं. को हदम्याद भित्र परेको स्थितिमा हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने नदेखिने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोक्का
प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या. पृथ्वीबहादुर सिंह : विपक्षी खातुन नेसाको पतिले आफ्नो निजी आर्जनको आफ्ना नाउँको दर्ता भोगको भिममुक्तेश्वर गुठी विर्ता तालुकको जि. वारा प्र. टोकनी गा.पं. सिरा इनरवा अन्तर्गतको साविक श्रेस्ताको नं. २३० को ज.वि. ०–८–८ नं. २३१ को ०–३–० नं. २३६ को ०–३–१७ नं. २६० को ०–१७–० नं. २६१ को ०–२–० नं. ३०६ को ०–१५–१० नं. ३१५ को ०–१२–१० नं. ३१६ को ०–८–५ नं. ३८६ को ०–११–१ समेत ज.वि. ४–१–११ हाल सर्भे नाप नक्शा हुँदा ठहर्न आएको वडा नं. ७ कि.नं. १० को ज.वि. ०–४–१५ कि.नं. ७२ को ०–१६–० कि.नं. ८२ को ज.वि. १–२–० वडा नं. ८ कि.नं. ५ को जि. वि. ०–४–३ कि.नं. ६ को ०–१६–० कि.नं. ३७ को ०–१०–० कि.नं. ४१ को ०–३–१९ समेत जम्मा ज.वि. ३–१६–१७ मध्ये म.क्षे.अ. का फैसला अनुसार ठहर्न आएको ज.वि. ३–०–६ दर्ता हुन पर्नेमा २–१२–४ जग्गा मात्र निजका नाउँमा बाँकी देखिन आएको भनी दर्ता गरी पोत बुझी रसीद दिएकोले बुझ्दा खातुन्नेसाले ३ खण्डको १ खण्ड अंश पाउने ठहरी विपक्षी जहुसलदिनका नाउँमा रहेको जग्गा मध्ये वडा नं. ७ कि.नं. ८२ को ज.वि. १–२ मध्ये ०–६–१४, वडा नं. ८ कि.नं. ५ को ०–४–३ कि.नं. ३७ को ०–१०–० वडा नं. ७ कि.नं. १० को ०–४–१५ विपक्षी खातुन्नेसाले आफ्ना नाउँमा र वडा नं. ७ कि.नं. ८२ को ज.वि. १–२–० मध्ये ज.वि. ०–३–१५ निज खातुन्नेसाको छोरी विपक्षी जिन्न ताराको नाउँमा दर्ता गराई दिएको रहेछ । मलाई लिखत गरी दिइसकेको लिखत र फैसला समेतले मेरो हक पाको भइसकेको जग्गा मेरो हक मेटने उद्देश्यले विपक्षीहरु आपसमा मिली मुद्दा गरी गराई अंश विपक्षी खातुन्नेसाले र जिन्नतारा समेतले गराई लिएको दर्ता र वादी खातुन्नेसा प्र. जध्यदिन भएको अंश मुद्दाको ०३५।४।१७ को फैसला बदर गरी मेरा नाउँमा दर्ता भएको जग्गा कटाई मैले पाउनु पर्ने फैसला बमोजिम जग्गा मेरा नाउँमा दर्ता समेत गराई पाउँ भन्ने समेत व्यहोराको महादेव राउत अहिरको मिति २०३९।१।२ को फिरादपत्र ।
२. वादी समेत उपर म खातुन्नेसाले दिएको ०३३ सालको जालसाजी मुद्दामा वादीले प्रतिवादी दिएकै बखत अंश मुद्दा चलेको कुरा वादीलाई उसै अवस्थामा थाहा भइसकेको, वादीले मिति ०३८।१०।१९ गतेमा श्री भिममुक्तेश्वर गुठीको बिर्ता कचहरीमा जग्गा दर्ता गराउँदाको अवस्थामा पनि वादीलाई थाहा भइसकेकोले सो थाहा पाएका मितिले ३५ दिन भित्रको यो उजूर नहुँदा खारेज हुनुपर्छ भन्ने समत व्यहोराको प्र.खातुन्नेसा र जिन्नतारा सेखीन समेतको प्रतिउत्तरपत्र ।
३. वादी लिखत पारीत मुद्दा पर्नु अघि नै परेको अंश मुद्दाबाट प्र. खातुन्नेसा समेतको नाउँमा भएको दर्ताको जग्गाबाट वादीले अपुग जग्गा दर्ता गराउन पाउने अवस्था देखिएन फैसला र दर्ता बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको मिति २०४०।४।१९ को फैसला ।
४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी महादेव राउत अहिरले दिएको पुनरावेदनमा शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति २०४२।३।११ को फैसला ।
५. नारायणी अञ्चल अदालतको फैसला प्रत्यक्षत विवाद रहित र त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी महादेव राउत अहिरले म.क्षे.अ. मा गरेको निवेदन ।
६. म्याद नाघेको ३५ दिनभित्र पारीत गरिपाउँ भनी दावी लि नालिश गरेकोमा पनि उक्त लिखत उपर जालसाजमा मुद्दा परी खारेज भएको समेत देखिँदा उक्त पारीत लिखतको कानुनी अवस्था के हुने हो सो को विवेचना अञ्चल अदालतको फैसलामा गरेको नदेखिँदा कानुन व्याख्या सम्बन्धी त्रुटि देखिन आएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत म.क्षे.अ. सिंगलबेञ्चको मिति २०४३।४।१२ को आदेश ।
७. बिक्री लिखतको अवस्थामा सगोलमा नै रहेका यी प्र. खातुन्नेसाले लिखतलाई अदालतबाट बदर नगराउज्यालसम्म सो लिखतको दायित्वलाई पन्छाउन नमिल्ने स्पष्टै देखिँदा प्र. खातुन्नेसाको नाममा अंश मुद्दाबाट दर्ता हुन आएको कि.नं. ८२ र कि.नं. ५ समेत वादीको हक हुने हुँदा सो हदसम्मको अंश मुद्दाको फैसला बदर भई सो जग्गा सम्म मात्र वादीको नाममा दर्ता हुने देखिएकाले सो हदसम्म दर्ता बदर हुने समेत ठहर्छ भन्ने समेत २०४४।१०।७ को म.क्षे.अ.को फैसला ।
८. म.क्षे.अ. को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत खातुन्नेसा सेखिनको पुनरावेदन अनुमति निवेदनमा अ.वं ८६ नं. को व्याख्यामा त्रुटि भई अनुमति प्रदान गरिएको छ भन्ने समेत २०४४।११।४ मा संयुक्त इजलासको आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री विनोद रोक्का र प्रत्यर्थीतर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१०. अब मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन निर्णय दिनु परेको छ।
११. निर्णयतर्फ विचार गर्दा यस्मा विपक्षी खातुन्नेसाको पति भोलविशेखजहरुदिनले आफ्नो निजी आर्जनको आफ्नो दर्ता भोगको भिम मुक्तेश्वर गुठी बिर्ता तालुकको जि. बारा टोकनी गा.पं. सिरा इनरवा अन्तर्गतको साविक श्रेस्ताको विभिन्न कित्ता जग्गा ३–१६–१७ मध्ये मलाई लिखत गरी दिइसकेको लिखत र म.क्षे.अ. को फैसला बमोजिम पारीत हुने ठहरेको ३–०–६ जग्गा मेरो हक मेट्ने उद्देश्यले विपक्षीहरु आपसमा मिली अंश मुद्दा गरी गराई विपक्षी खातुन्नेसा सेखिनले र जिन्नतारा समेतले गराई लिएको दर्ता र वादी खातुन्नेसा प्रतिवादी जध्यदिन भएको अंश मुद्दाको २०३५।४।१७ को फैसला समेत बदर गरी मेरो नाउँमा दर्ता भएका जग्गा कटाई मैले पाउनु पर्ने फैसला बमोजिमको जग्गा मेरो नाउँमा दर्ता समेत गराई पाउँ भन्ने मुख्य फिराद दावी लिएकोमा वादी समेत उपर म खातुन्नेसाले दिएको ०३३ सालको जालसाजी मुद्दामा वादीले प्रतिवादी दिएकै बखत अंश मुद्दा चलेको कुरा वादीलाई उसै अवस्थामा थाहा भइसकेकोले सो थाहा पाएको मितिले ३५ दिन भित्रको यो उजूर नहुँदा खारेज हुनुपर्छ भन्ने प्रतिवादीले प्रतिउत्तर जिकिर लिएको देखिन्छ । वादीले प्रतिवादीहरु बीच चलेको अंश मुद्दाको फैसलाको नक्कल ०३८।११।२९ मा लिएको भन्ने कुरा फिरादबाट देखिन आउँछ । सो भन्दा पूर्व नै थाहा पाएको थियो भन्ने तथ्ययुक्त सबूद प्रमाण सहित प्रतिवादीले लेखी देखाउन सकेको देखिदैन । फैसलाको नक्कल सारेको मिति ०३८।११।२९ ले वादीको फिराद अ.बं. ८६ नं. को हदम्याद भित्रै परेको देखिन आउँछ । यस स्थितिमा हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने देखिएन । तसर्थ मध्यमाञ्चल क्षेत्रीय अदालतको वादी दावी बमोजिम फैसला एवं दर्ता बदर हुने ठहर गरेको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी दर्ता भएको हुँदा प्रतिवादीहरुलाई केही गरिरहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४६ साल मार्ग ७ गते रोज ४ शुभम् ।