शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९७१ - दर्ता बदर

भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १०

निर्णय नं. ३९७१     ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ६३९

फैसला भएको मिति :      २०४६।९।३।२ मा

पुनरावेदक/वादी : का.न.पं.वा.नं. ३१ बस्ने रत्नकुमारीको मु.स.गर्ने ताराबहादुर विष्ट

विरुद्ध

विपक्षी/प्रतिवादी : का.जि. कोटेश्वर बस्ने सिवलालको मु.स. गर्ने प्रेममाया श्रेष्ठसमेत

मुद्दा : दर्ता बदर

§  दर्ता गर्ने गरेको निर्णय नै बदर नभएसम्म सो निर्णयानुसार गरिएको दर्ता पनि बदर हुन नसक्ने ।

 (प्रकरण नं. १६)

§  मुद्दा पर्दाका बखतमा दर्ता हक नै नभएका व्यक्तिलाई प्रतिवादी बनाएको एवं कानुनको हदम्याद समेत नघाई ल्याएको फिरादपत्रबाट इन्साफ तहकिकात गर्न नमिल्ने ।

(प्रकरण नं. १६)

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

फैसला

     न्या. पृथ्वीबहादुर सिंह : यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।१८ को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    २०२९ र ०३१ को दर्खास्त बमोजिम धनी पुर्जा पाउन दावी गर्दा हा.नं. १६ कै जग्गा मध्ये कि.नं. ३०३ र ३४० छुट हुन गएको रहेछ । सो को धनी पुर्जा पाउन २०३६ वैशाखमा मालपोत कार्यालयमा दर्खास्त दिई कारवाही हुँदा कि.नं. ३१७, ३०४, ३४० को हकमा ०३४।९।८ को आदेशले शिवलालको नाउँमा दर्ता भई गएको हक बेहकमा जान भनी मलाई सुनाई दिने गरी ०३६।६।३१ मा निर्णय भयो । विपक्षीले झुट्टा रसीद भिडाई मेरो हकको हा.नं. १६ को जग्गा दर्ता गराएकोले सो दर्ता बदर गरी मेरो हक कायम गरिपाउँ भन्ने समेत फिराद दावी ।

      ३.    विपक्षीको दावी जग्गामा हकाधिकार छैन । हदम्याद नै नाघी दायर भएको फिराद अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने प्रतिउत्तर ।

      ४.    वादी दावा पुग्न सक्दैन भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।

      ५.    सो फैसलामा चित्त बुझेन मेरो हक कायम गरिपाउँ भनी वादी मु.स गर्ने ताराबहादुर विष्टको बा.अं.अ. मा परेको पुनरावेदन ।

      ६.    हदम्याद प्रतिवादीका नाउँमा दर्ता रहे भएको समेततर्फ केही नबोली नबुझी गरेको शुरु फैसला बदर गरिदिएको छ । अब कानुन बमोजिम फैसला गर्नु भनी शुरु जिल्ला अदालतमा पठाई दिने भन्ने समेत ०३९।५।५ को बागमती अञ्चल अदालतको फैसला ।

      ७.    ०३४।१२।२० मा हालैदेखिको बकसपत्र पारीत गरिदिएकोले मेरो हक हुन आएकोले मैले सानुलाललाई बकसपत्र गरिदिएको हुँ भन्ने समेत सन्तमायाको बयान ।

      ८.    कोटेश्वर गा.पं.वा.नं. ४क. कि.नं. ३४०, ३०३ र ३१७ को जग्गा सन्तमायाबाट हा.ब. पाई घर बनाई बसोवास गरिआएको छु भन्ने समेत सानुलालको का.जि. अ. मा भएको बयान ।

      ९.    फिराद दावी ज.मि.को. १८ नं. भित्रको नदेखिँदा खारेज हुने ठहर्छ भन्ने समेत का.जि. अ. को ०४१।२।१७ को फैसला ।

      १०.    सो फैसलामा चित्त बुझेन भन्ने वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र खारेज गरेको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०४१।८।२४ को फैसला ।

      ११.    खारेजी फैसलामा प्रत्यक्ष कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादीको म.क्षेत्रीय अदालतमा परेको निवेदनपत्र ।

      १२.   थाहा पाएको मितिले ६ महीना भित्र नालेश गरेकोलाई सदर गरेको बागमती अञ्चल अदालतको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत म.क्षे. अदालतको २०४२।३।११ को आदेश ।

      १३.   विवादको जग्गा शिवलालबाट तह तह हुँदै बकसपत्र रजिष्ट्रेशन हस्तान्तरण भई गएको भन्ने प्रतिवादीको प्रतिउत्तरबाट समेत देखिन आउँछ । वादीको उक्त बकसपत्रतर्फ उजूर भए परेको नदेखिएको र बकसपत्र लिखतबाट जग्गाको स्वामित्व अन्यत्र सरी सकेको देखिन आएको अवस्थामा जग्गामा जग्गाको दर्ता हक नै नभएको शिवलाल उपर दर्ता बदर गरिपाउँ भनी दिएको फिरादबाट इन्साफ दिन नमिल्ने देखिएबाट शुरु जिल्ला अदालतले खारेज गर्ने गरेको फैसलालाई सदर गरेको बागमती अञ्चल अदालतको फैसला मनासिब देखिँदा कुनै परिवर्तन गर्नु परेन । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४४।३।१८ को फैसला ।

      १४.   म.क्षे.अ. को मिति २०४४।३।१८ को फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदन र यसमा मेरा नाउँमा दर्ता भएको जग्गा विपक्षी प्र. शिवलालका नाउँमा मालपोत कार्यालयले २०३४।८।९ मा दर्ता गर्ने गरी गरेको निर्णय तथा दर्ता बदर गरिपाउँ भन्ने समेत मुख्य दावी लिई वादी दायर भएकोमा सो जग्गा तह तह शिवलालबाट अन्यत्र गएको कुरा प्रतिवादीका पेटबोलीबाट मात्र सो कुरा खुल्न आएको देखिन्छ । सो विवादित जग्गा बकस पाउने भनेको सानुलाल समेतलाई अदालतले अ.बं. १३९ नं. बमोजिम बुझी मात्र निर्णय गर्नु पर्नेमा सो कुनै नबुझी जिल्ला अदालतले खारेज गर्ने गरेको निर्णयलाई बा.अं.अ. ले सदर गरेको इन्साफ मनासिब ठहर्‍याई म.क्षे.अ. ले गरेको फैसलामा अ.बं. १३९ नं. को प्रत्यक्षतः त्रुटि देखिन आएकोले न्या. प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख)(ग) तथा उपदफा (७) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।५।२९ को आदेश ।

      १५.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी विपक्षी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा म.क्षे.अ. ले गरेको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

      १६.    यसमा निर्णयतर्फ विचार गर्दा कोटेश्वर गा.पं. वडा नं. ४क. कि.नं. ३१७ को जग्गाको समेत पुर्जा पाउँ भन्ने २०२९+२०३१ सालमा निवेदन दिएको र कि.नं. ३०३+३४० को जग्गा छुट हुन गएको भू.प्र.का. काठमाडौंको मिति २०३४।९।८ को आदेशले शिवलाल श्रेष्ठको नाउँमा दर्ता हुन गएकोले हक बेहकमा जानु भनी सुनाउने गरी मिति २०३६।६।३१ मा भएको मा.पो.का. काठमाडौंको निर्णयानुसार तथा जग्गा मिच्नेको १८ नं. का आधारमा नालेस गर्न आएको छु भन्ने वादी र कि.नं. ३०३+३१७+३४० का विवादित जग्गाहरु मेरो हकभोगका हुँदा भू.प्र.का. काठमाडौंको मिति २०३४।८।९ को निर्णयले मेरा नाउँमा दर्ता भएका जग्गा हुन् सो जग्गाहरु मैले मिति २०३४।१२।२० मा सन्तमाया श्रेष्ठलाई बकसपत्र गरी दिएको र सन्तमायाले पनि सानुलाललाई बकसपत्र गरी दिइसकेकी छिन्, विवादित जग्गाहरुमा विपक्षीको हकाधिकार नभएकोले अ.बं. ८२ नं. बमोजिम उजूर गर्ने हकदैया छैन साथै ज.मि.को १८ नं. को हदम्याद नाघी दायर भएको हुँदा प्रस्तुत फिराद अ.बं. १८० नं. ले खारेजभागी छ भन्ने प्रतिवादी जिकिर भई चल्दै आएको प्रस्तुत मुद्दामा म.क्षे.अ.को मिति ०४४।३।१८ को निर्णय उपर यस अदालतबाट अनुमति दिँदा सानुलाल समेतलाई अ.बं. १३९ नं. बमोजिम बुझी निर्णय गर्नु पर्नेमा सो नगरी गरेको निर्णयमा अ.बं. १३९ नं. को कानुनी त्रुटि देखिन आएको भन्ने बुँदा उल्लेख भएको तर शुरु काठमाडौं जिल्ला अदालतबाट सानुलाललाई बुझी बकपत्र गराई तारेखमा राखी निर्णय गरेको देखिएकोले निज सानुलाललाई नबुझी निर्णय गरेको भन्न मिलेन । अब विवादको मूल विषयतर्फ हेरिएमा विवादको जग्गा २०२२ सालमा नापी भई भूमिप्रशासन कार्यालय काठमाडौंको मिति २०३४।८।९ को निर्णयानुसार प्रतिवादी शिवलालका नाउँमा दर्ता भएको र त्यसपछि शिवलालका नाउँबाट मिति ०३४।१२।२० मा पारीत बकसपत्र लिखतको आधारमा सन्तमायाको नाउँमा दर्ता हुन आएको सन्तमायाबाट फेरी सानुलालका नाउँमा बकसपत्रबाट दर्ता हुन गएको कुरा मिसिल साथ पेश भएका पारीत बकसपत्रको प्रतिलिपिबाट देखिन्छ । यसरी विवादको जग्गाको स्वामित्व शिवलालबाट तह तह हुँदै बकसपत्र लिखतको आधारमा अन्यत्र सरी गएको र फिराद दायर हुँदाको अवस्थामा सो जग्गा प्रतिवादी शिवलालका नाउँमा दर्ता नरहेको कुरालाई वादीले समेत फिरादबाट स्वीकार गरेका छन् । विवादित जग्गा प्रतिवादी शिवलालका नाउँमा भू.प्र.का. काठमाडौंको मिति २०३४।८।९ का निर्णयबाट दर्ता हुन आएको र वादीले दर्ता बदर हक कायममा मात्र दावी लिई फिराद दायर गरेको तर भू.प्र.का.काठमाडौंको मिति २०३४।८।९ को निर्णय बदरतर्फ उजूर गरेको देखिएन । यसरी विवादित जग्गा प्रतिवादीका नाउँमा दर्ता गर्ने गरेको निर्णय नै बदर नभएसम्म सो निर्णयानुसार गरिएको दर्ता पनि बदर हुन नसक्ने र प्रतिवादीको दर्ता बदर नभइकन विवादित जग्गामा वादीको हक स्थापित हुन सक्ने भएन । वादी समेतले २०२९+२०३१ सालमा ज.ध.द.प्र. पुर्जा पाउँ भनी दिएको निवेदन अनुसार भू.प्र.का. काठमाडौंको मिति २०३५।९।२३ का निर्णयले गिरीराजकुमारी र वादी रत्नकुमारीका नाउँमा दर्ता प्रमाणित भई तयार हुन आएको ज.ध.प्र. पुर्जामा वादीले दावी लिएको कित्ता नं. ३१७ र दावीमा नपरेको कित्ता नं. ३०३३४० का जग्गा उल्लेख नभएपछि सो कुरा उक्त निर्णय मितिबाट फिरादीलाई थाहा हुनसकेको रहेनछ भन्न नसकिने हुँदा मिति २०३६।९।२३ मा दायर हुन आएको फिराद ज.मि.का. १८ नं. को हदम्याद भित्र परेको देखिन आएन । अतः मुद्दा पर्दाका बखतमा दर्ता हक नै नभएका व्यक्तिलाई प्रतिवादी बनाएको एवं कानुनको हदम्याद समेत नघाई ल्याएको फिरादपत्रबाट इन्साफ तहकिकात गर्न नमिल्ने हुँदा वादी दावी खारेज गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला र सो सदर गरेको बागमती अञ्चल अदालतको फैसला समेत मनासिब ठहराई गरेको म.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा इन्साफ म.क्षे.अ. को मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रहेको मुद्दा हुँदा अरु केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल पौष ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु