शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११३१     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३५ सालको रिट नं. १३०९

आदेश भएको मिति : २०३५।२।३१ मा

निवेदक : बागमती अञ्चल भक्तपुर जिल्ला न.पं. वडा नं. १२ बस्ने बलराम श्रेष्ठ

विरुद्ध

विपक्षी : काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति भक्तपुर मार्फत नगर विकास भक्तपुर समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   सामूहिक स्वास्थ्यको विषयलाई लिई निवेदनपत्र दिएकोमा संविधानको धारा ७१ ले आदेश जारी गर्न नमिल्ने ।

(प्र.नं. ७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली

उल्लिखित मुद्दा :   

आदेश

            न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी विपक्षी विष्णुप्रसाद खाइतुले सञ्चालन गरी आएको भैरव राइस मिलमा थप जडान गर्न स्वीकृति पाएको च्युरा कुट्ने मिलको सञ्चालन नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनी रिट निवेदन मिति २०३५।२।२६।५ मा दर्ता भएको रहेछ ।

            २.    संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : विपक्षी विष्णुप्रसाद खाइतुले भक्तपुर जिल्ला न.पं. वडा न. १२ लाकुलाछे टोलको भैरव राइस मिलमा च्यूरा कुट्ने मेशिन जडी च्युरा कुट्ने कामसमेत थाली त्यसबाट उठेको धुवाँ र धुलोले चारैतिरको वातावरण धमिल्याई मानिसहरू सामान्य जीवनमा असर पारी स्वास्थ्यमा समेत प्रतिकूल असर परेकोले सोही व्यहोरा खोली मैले विपक्ष वडाअध्यक्ष र विपक्ष नगर नियोजकसमक्ष कानूनबमोजिम कार्यवाही उठाई च्युरा कुट्ने कुटाउने काम बन्द गरियोस् भनी माग गरेको हुँ । मैले दिएको उजूरीमा कुनै प्रकरको कार्यवाही नउठाई विपक्ष वडाअध्यक्षको सिफारिसमा विपक्ष नगर नियोजकको समितिबाट मिति ०३५।१।२२ को समितिको निर्णयअनुसार भनी मिति ०३५।२।८ मा विपक्ष विष्णुप्रसाद खाइतुलाई च्युरा कुट्ने मिलको स्वीकृति प्रदान गर्नुभयो । पूर्वस्वीकृति बेगर च्यूरा कुट्ने मिल थप गरी सञ्चालन गर्ने विपक्षी विष्णुप्रसादलाई कानूनबमोजिम सजाय गर्नु त परैजावस विपक्ष महानिर्देशकको विभागबाट मिति ०३३।६।२४।१ मा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, ०१४ अनुसार नविकरण गराएको प्रमाणपत्र पाएको तथा टोल सँधियारको मञ्जुरीनामा भनी विपक्षी वडाअध्याको सिफारिसमा जनसाधारणमा पर्न गएको स्वास्थ्यसम्बन्धी खरावी दूषित वातावरण निरन्तरको मेशिनको आवाजबाट उत्पन्न स्थितिमाथि नियन्त्रण नगरी भक्तपुर शहरको मध्यभागमा मिलको स्वीकृति दिनु दिलाउनु प्राकृतिक न्याय सिद्धान्त विपरित हुन गएको छ । विपक्षीहरू आफ्नो कार्यालय र स्थानका कानूनबमोजिम आफूहरूले गर्नुपर्ने कानूनी दायित्व पूरा नगरी कानून प्रतिकूल कार्यवाही उठाई कानून प्रतिकूल तरिकाले च्यूरा कुट्ने मिलको स्वीकृति गैरकानूनी र त्रुटिपूर्ण भएको व्यहोरा निम्न बुँदाबाट प्रष्ट हुनेछ ।

            ३.    मैले विपक्ष वडाअध्यक्ष र विपक्ष नगरनियोजक समक्ष दिएको उजूरीमा कानूनबमोजिम कार्यवाही नउठाइएकोमा विपक्षहरूले इन्कार गर्नसक्नु हुने छैन । आफ्नो स्थान र कार्यालयले गर्नुपर्ने नगरपञ्चायत ऐन, ०१९ को दफा १७ (१) (ङ) ऐ.(२) (ङ) (छ) र (ण) को प्रतिकूल पारी तथा नगर निर्माण योजना कार्यान्वयन ऐन, ०२९ को मनसाय र सोही ऐनको दफा (५) (ङ) समेतको प्रतिकूल पारी विपक्ष विष्णुप्रसाद खाइतुलाई दिइएको च्यूरा कुट्ने मिलको स्वीकृति कानून प्रतिकूल र त्रुटिपूर्ण देखिएको छ ।

            ४.    विपक्ष महानिर्देशकज्यूबाट साविक मिलमा च्यूरा कुट्न मिल थाप्ने इजाजत दिंदा सहरी वातावरणमा पर्नसक्ने प्रतिकूल असरमा ख्याल विचार राखीमात्र दिनु दिलाउनुपर्ने कानूनी कर्तव्यको उल्लंघन गरेको छ ।

            ५.    विपक्ष वडाअध्यक्षले यसप्रकार मिल राख्दा तमडा सिफारिश दिनुपर्ने काम आफ्नो कार्यक्षेत्रभित्र परेको वा अधिकारक्षेत्र भनी भन्न सक्नु हुने छैन । आफूलाई कानूनबमोजिम प्राप्त नभएको अनधिकृत सिफारिश दिनु र त्यस्तो सिफारिसको आधारमा निर्णय गर्नु अनधिकृत तथा गैरकानूनी छ । अ.बं.३५ नं. ले बदर भागी छ ।

            ६.    तारेखमा रहेका निवेदक बलराम श्रेष्ठलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ ।

            ७.    यसमा निवेदक बलराम श्रेष्ठको रिट निवेदन लेखाइबाटै निजको वैयक्तिक स्वतन्त्रता वा निजको सम्पत्तिसम्बन्धी हकमा आघात पुगेको छ भनी जिकिर गर्नसकेको छैन । सामुहिक स्वास्थ्यको विषयलाई लिई निवेदनपत्र दिएकोमा संविधानको धारा ७१ ले निजको मागबमोजिमको आदेश जारी गर्न नमिल्ने देखाई विपक्षीहरूद्वारा लिखितजवाफ मगाइरहनु परेन प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम फायल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हेरम्बराज

 

इति सम्वत् २०३५ साल जेष्ठ ३१ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु