शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९७२ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १०

निर्णय नं. ३९७२    ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको रि.नं. १६१९

आदेश भएको मिति : २०४६।८।१९।२ मा

निवेदक : का.न.पं. थापाथली बस्ने मकबुल अहमद लारी

विरुद्ध

विपक्षी : महेन्द्र नगर न.पञ्चायत महेन्द नगरसमेत

विषय : उत्प्रेषण

§  बिक्री गर्ने मालको मूल्यको आधारमा व्यापार कर लगाउनु पर्नेमा सो बमोजिम नगरी निवेदकको मदिरा उत्पादनको प्रतिलिटरको आधारमा व्यापार कर लगाउने भनी विपक्षी नगर सभाबाट भएको निर्णय र सो बमोजिम विपक्षी नगरपञ्चायतको पत्रानुसार विपक्षी ठेकेदारबाट व्यापार कर उठाउने गरेको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

आदेश

     न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २.    श्री ५ को सरकारसँग भएका करार बमोजिम वार्षिक अन्तशुल्क रु. २१,००,०००।बुझाउने शर्तमा निवेदकले कन्चनपुर जिल्लाको नगरपञ्चायत क्षेत्र बाहिर बेलौरी भन्ने ठाउँमा मझौला खालको डिष्टिलरी खोली निम्न कोटीको मदिरा उत्पादन गर्ने गरिआएको छु । न.पं. नियमावली, २०२० को नियम ७ को उपनियम (२) को खण्ड (छ) मा आफ्ना क्षेत्र भित्रको मझौला खालको डिष्टिलरीमा वार्षिक रु. ७००।सम्म र ठुला ठुला खालकोमा रु. १५००।सम्म वार्षिक कर लगाई नगर पं. ले लिन पाउने व्यवस्था छ । सो भन्दा बढी लिन पाउने अधिकार छैन । विपक्षी न.पं. बाट लारी डिष्टिलरीका नाममा एउटा पत्र आयो । जसमा महेन्द्र नगर कन्चनपुरमा उत्पादित मदिरामा नगरपञ्चायतको दशौं नगर सभाबाट प्रतिलिटर ।३५ (पैतिस पैसा) का दरले व्यापार कर लिने निर्णय भएकोले ठेकेदार गणेशराज बोहरालाई बुझाउनु भन्ने व्यहोराको मिति २०४५।६।२ को पत्र रहेछ । उत्पादनमा अन्तशुल्क लगाई श्री ५ को सरकारले लिने कानुनी व्यवस्था छ । उत्पादनमा व्यापार कर लगाउने कानुनी व्यवस्था छैन । व्यापार कर लिनेमा पनि मूल्य उपर लिने र मूल्य नखुलेकोमा नगरपञ्चायत नियमावलीको नियम ७ को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम समितिले निर्धारित नगरी यति मालमा यति कर लाग्छ भन्ने लगाई लिने कुनै कानुन छैन । विपक्षीले कानुनको अधिकार बेगर आफ्नो क्षेत्र बाहिरको डिष्टिलरीबाट उत्पादन हुने मदिरामा लिटरको ।३५ (पैतिस पैसा) को हिसाबले कर लाग्दछ भनी मलाई विपक्षी ठेकेदार मार्फत २०४४।५।१७ मा रु. २,२४१।०५ असूल समेत गरी लिएको र बराबर यसै गरी बुझाउनु पर्छ भनी माग गर्दै आएकोले यसरी त्रुटिपूर्ण तवरबाट विपक्षी नगर सभाको दशांै नगर सभाबाट गरेको कर लगाउने निर्णय र विपक्षी महेन्द्र न.पं. को कर बुझाउने माथि उल्लेखित आदेश बदर गरी आयन्दा कर नउठाउनु भन्ने जो चाहिने आज्ञा, आदेश विपक्षीहरुको नाउँमा जारी गरिपाउँ साथै कर बुझाउन ताकेता गरेकोले यो निवेदनको टुंगो नलागेसम्म कर असूल नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

      ३.    यस्मा के कसो भएको हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

      ४.    मैले मिति २०४४।५।११ मा महेन्द्र नगर न.पं. संग गरेको कबूलियत बमोजिम उक्त व्यापार कर न.पं. ले तोकेको दररेटमा उठाई न.पं. लाई बुझाउने व्यक्ति हुँदा न.पं. ले विपक्षीको डिष्टिलरीमा उत्पादित हुने मदिरामा ।३५ पैसा प्रतिलिटिर व्यापार कर लगाई उठाउनु होला भन्ने व्यहोराको पत्र मलाई प्राप्त हुँदा सो पत्रको व्यहोरा विपक्षीलाई बुझाई रु. २,२४१।०५ पैसा उठाएको हुँ । बारम्बार यस किसिमले उक्त व्यापार कर मलाई बुझाउनु होला भनी मौखिक रुपमा भनी आएकै छु । सो कुरा मेरो व्यक्तिगत विचार हैन । उक्त न.पं. संग कबूलियत गर्दा न.पं. ले तोकेको दररेट अनुसार कन्चनपुरको मदिरा उत्पादनमा ।२५ पैसा प्रतिलिटर व्यापार कर ।१० पैसा प्रतिलिटर असहाय सहायता कोष भनी उल्लेख गरे अनुसार विपक्षीबाट ।३५ पैसा प्रतिलिटर व्यापार कर लिनु होला भन्ने पत्र बुझाई व्यापार कर लिँदै आएको छु अतः उत्प्रेषणको रिट खारेज गरिपाउँ भन्ने समेतको विपक्षी गणेशराज बोहराको लिखितजवाफ ।

      ५.    विपक्षीको डिष्टिलरी न.पं. क्षेत्रभित्र पर्ने नहुँदा वार्षिक ७,०००।कर लगाइएको छैन । न.पं. ऐन, २०१९ को दफा ३९ को उपदफा २ बमोजिम व्यापार व्यवसाय वा पेशामा तोकिएको कर दस्तूर वा लाइसेन्स फी लगाई असूल उपर गर्नसक्ने भनी स्पष्ट व्यवस्था छँदैछ । अन्तशुल्क तिरी सकेपछि व्यापार कर लिन नपाउने कुनै ऐनमा व्यवस्था छैन । विपक्षीको मदिरा यस न.पं. क्षेत्रभित्र पनि बिक्री हुने हुँदा व्यापार कर लगाइएको हो । न.पं. नियमावली, २०२० को नियम ७(१) मा न.पं. ले आफ्नो क्षेत्रभित्रका जुनसुकै व्यापारीसँग निजहरुको सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु. १००।मा ।५० मा नबढाई कर उठाउन सक्नेछ भन्ने व्यवस्था बमोजिम सो कर लगाइएको छ । यस न.पं. को दशौं नगर सभाको बैठकले पारीत गरेको नि.नं. १ मा बाहिरबाट आउने निम्न कोटीको मदिरामा प्रतिलिटर ।२५ पैसा व्यापार कर लगाउने र ।१० (दश) पैसा असहाय स्वास्थ्य सहायता कोषको लागि व्यापार कर लगाइएको हो । विपक्षीलाई पत्र दिँदा नछुटाई सगोलमा प्रतिलिटर ।३५ पैसा भन्ने उल्लेख गरिएको मात्र हो । विपक्षीले एकातिर कर लगाउन नपाउने उल्लेख गर्नु भएको छ भने अर्कोतर्फ समितिले मूल्य निर्धारण गरेर मात्र लगाउनु पर्ने भन्ने उल्लेख गर्नु भएको स्वयं विरोधाभाष छ अतः न.पं. ऐन, २०१९ को दफा ३९(२) बमोजिम न.पं. नियमावली, २०२० को नियम ७(१) बमोजिम व्यापार कर लगाउन पाउने अधिकार यस न.पं. लाई भए बमोजिम न.पं. को दशौं नगर सभाको बैठकबाट समर्थन गराई ठे.गणेशराज बोहरासँग मिति ०४४।५।११ को कर उठाउन पाउने सम्झौता अनुसार विपक्षीबाट उक्त कर रकम असूल उपर गरी यस न.पं. मा बुझाउनु होला भन्ने व्यहोराको पत्र पठाइएको हो उक्त पत्रमा २०४४।६।२ हुनु पर्नेमा भुलले २०४५।६।२ लेखिन गएको हो । अतः विपक्षीको कुनै संवैधानिक हक हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत महेन्द्र नगर न.पं. को लिखितजवाफ।

      ६.    न.पं. ऐन, २०१९ को दफा ३९(२) बमोजिम व्यापार व्यवसाय वा पेशामा तोकिएको कर दस्तूर वा लाइसेन्स फी लगाई असूल गर्न सक्ने छ भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै न.पं. नियमावली, २०२० को ७(२) खण्ड (६) बमोजिम दावी लिन पाउने हैन । विपक्षीको मदिरा यस न.पं. भित्र बिक्री वितरण हुने हुँदा व्यापार कर लगाइएको उक्त प्रस्ताव समर्थन गर्ने अधिकार यस न.पं. लाई छ । यस न.पं. को दशांै नगर सभाको बैठकले पारीत गरेको नि.नं. १ को मादक पदार्थ शिर्षकको ६ मा बाहिरबाट आउने निम्न कोटीको मदिरामा प्रतिलिटर ।२५ पैसा व्यापार कर लगाउने र ।१० पैसा असहाय स्वास्थ सहायता कोषको लागि व्यापार कर लगाइएको हो विपक्षीलाई पत्र दिँदा नछुट्याई सगोलमा प्रतिलिटर ।३५ पैसा भन्ने उल्लेख गरिएको मात्र हो । विपक्षीले कहीं कर लगाउन नपाउने कुरा उल्लेख गर्नु हुन्छ भने कही मूल्य समितिले निर्धारण गरी लगाउन पाउने भन्ने उल्लेख गरेकोबाट पनि कर लगाउन पाउने कुरा स्वीकार गर्नु भएको छ । यसरी कानुन अनुरुप व्यापार कर लगाउने प्रस्ताव समर्थन गरिएको हुँदा रिटनिवेदन खारेज होस भन्ने समेत महेन्द्रनगर नगर पं. सभाको लिखितजवाफ ।

      ७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल संलग्न कागज प्रमाण हेरी रिटनिवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे तथा विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

      ८.    अब यसमा निवेदकले माग गरे बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो निर्णय दिनु परेको छ ।

      ९.    निर्णयतर्फ विचार गर्दा यसमा कञ्चनपुर जिल्लाको नगरपञ्चायत क्षेत्र बाहिर बिलौरी भन्ने ठाउँमा मझौला खालको डिष्टिलरी खोली मदिरा उत्पादन गर्ने गरी आएकोमा न.पं.ऐन, नियम विपरीत आफ्नो क्षेत्र बाहिरको डिष्टिलरीबाट प्रतिलिटर मदिराको ।३५ पैसाको हिसाबले कर लाग्छ भनी विपक्षी महेन्द्रनगर नगरसभाले गरेको निर्णय र सो बमोजिमबाट कर असूल गरेको त्रुटिपूर्ण छ भन्ने मुख्य रिटनिवेदन जिकिर भएकोमा नगरपञ्चायत ऐन, ०१९ को दफा ३९(२) तथा नगरपञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) बमोजिम विपक्षीले उत्पादन गरी यस न.पं. क्षेत्रभित्र बिक्री वितरण गर्ने मदिरामा व्यापार कर लिन पाउने नै हुँदा प्रतिलिटर ।२५ पैसा व्यापार कर र ।१० पैसा असहाय स्वास्थ्य सहायता कोषको लागि व्यापार कर लगाइएको र पत्रमा सगोल भई प्रतिलिटिर ।३५ पैसा उल्लेख गरिएको हो भन्ने लिखितजवाफ परेको देखिन्छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(२) हेर्दा नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र तोकिएको व्यापार व्यवसाय वा पेशामा तोकिए बमोजिम कर दस्तूर वा लाइसेन्स फी लगाई असूल गर्न सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ भने नगरपञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) हेर्दा नगरपञ्चायतले आफ्नो क्षेत्रभित्रका जुनसुकै किसिमका व्यापारीहरुसंग निजहरुले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु. १००।मा ।५० पैसामा नबढाई कर उठाउन सक्ने छ भन्ने व्यवस्था गरेबाट न.पं. लाई व्यापार कर उठाउन पाउने अधिकार दिएको पाइन्छ । तर कुनै मालको मूल्य नखुलेको कारणले मूल्य निर्धारित गर्नुपर्ने आवश्यकता पर्न आएमा नगरपञ्चायतका प्रधानपञ्च, स्थानीय जिल्ला पञ्चायत सचिव र सम्बन्धित नगरपञ्चायत क्षेत्रभित्र व्यापार संघ भए सो संघले मनोनीत गरेको एकजना व्यक्ति वा व्यापार संघ नभए स्थानीय अञ्चलाधीशले मनोनीत गरेको १ जना गैरसरकारी व्यक्ति सम्मिलित भएको समितिले न्यायोचित आधारमा मूल्य निर्धारण गर्नेछ भनी ऐ. नियमावलीको नियम ७(१) मा नै स्पष्ट व्यवस्था गरेको पाइन्छ । उपरोक्त व्यवस्था बमोजिम बिक्री गर्ने मालको मूल्यको आधारमा व्यापार कर लगाउनु पर्नेमा सो बमोजिम नगरी निवेदकको मदिरा उत्पादनको प्रतिलिटरको आधारमा व्यापार कर लगाउने भनी विपक्षी नगरसभाको दशौं नगरसभाबाट भएको निर्णय र सो बमोजिम विपक्षी नगरपञ्चायतको पत्रानुसार विपक्षी ठेकेदारबाट व्यापार कर उठाउने गरेको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । अब निवेदकको हकमा कानुन बमोजिम गर्नु भनी विपक्षीका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४६ साल मंसीर १९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु