शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९७७ - लेनदेन

भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १०

निर्णय नं. ३९७७    ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७८४

फैसला भएको मिति :      २०४६।९।२५।३ मा

पुनरावेदक/प्रतिवादी : जि. रौतहट, गा.पं. जयनगर वा.नं. ४ बस्ने मौजेलाल यादव

विरुद्ध

विपक्षी/वादी : जि. रौतहट, गा.पं. जयनगर, वा.नं. १ बस्ने रामवरण राय यादव

मुद्दा : लेनदेन

§  अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न नमिल्ने ।

 (प्रकरण नं. १५)

§  तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति रकम भराई पाउने हो वादीले प्रष्ट दावी लिन सक्नु पर्ने ।

(प्रकरण नं. १५)

§  हालैदेखिको बकसपत्रबाट सम्पत्ति पाउनु र अपुतालीबाट सम्पत्ति पाउनु बेग्ला बेग्लै कुरा हुन् ।

(प्रकरण नं. १६)

§  साक्षीले अपुताली खाएकै हो भनी बकेकै भरमा त्यसलाई पुष्टि गर्ने भरपर्दो अन्य प्रमाणको अभावमा अपुताली खाएको मान्न नमिल्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पूर्णमान शाक्य

फैसला

     न्या. गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको अनुमति दिन नमिल्ने भनी भएको आदेश उपर यस अदालतबाट पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :

      २.    विपक्षीको जेठा बाबु मुखलाल रायले म संग रु. २४०५।लिई ०३८।३।२१ गते कपाली तमसुक गरिदिनु भएकोमा साँवा व्याज नबुझाई निजको मृत्यु भएकोमा निजको स्वास्नी धेरै अघि मरिसकेकीले निजको रेखदेख स्याहार सम्भार समेत गर्दै आइरहेका तथा निजको मृत्युपछि श्राद्ध कृया कर्म समेत गर्ने कार्य निज प्रतिवादीले गरेको र निजको खती उपती चल धन समेत प्रतिवादीले नै खाएको हुँदा मेरो साँवा व्याज फिर्ता दिन निजलाई भन्दा निजले आलटाल गरी नदिएकोले नालेस गर्न आएको छु । मेरो साक्षी सबूद बुझी हक इन्साफ भई निज प्रतिवादीको जेठा बाबु मुखलालले गरिदिनु भएको मिति ०३८।३।२१ ले आजसम्म ३ वर्ष १ महिना १ दिनको समेतको व्याज र साँवा रु. २४०५।को हुने व्याज रु. ७४१।६० समेत र अन्तिम फैसला सम्मको साँवा व्याज दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।

      ३.    वादी दावी बमोजिमको साँवा व्याज मैले तिर्नु पर्ने होइन । मुखलालबाट गराएको तमसुकको साँवा व्याजका लागि मेरा नाउँमा यो नालेस दिनु भएको देखिन्छ । मैले मर्ने मुखलालको अपुताली खाएको छैन । मृतकको अपुतालीमा मेरो अपुताली हक लाग्ने पनि होइन । मुखलालको छोरा छोरी स्वास्नी नभएकोले म र मेरी स्वास्नी फुलवतीले निज मुखलालको सेवा सुसार गरेको ठिकै थियो । सो सेवा सुसार गरेको रिझ बापत निज मुखलालले आफ्नु जिन्दगीमै मेरो स्वास्नीलाई केही जमीन घर घडेरी समेत बकसपत्र गरिदिएकोले त्यति मात्र लिए पाएको हुँ । सो बाहेक कुनै पनि सम्पत्ति लिए खाएको नहुँदा निज मुखलालले खाएको ऋण मैले तिर्नु पर्ने होइन । झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।

      ४.    वादीको साक्षी जवान २ एंव प्रतिवादीको साक्षी जवान १ समेत ३ जनाको बकपत्र भई मिसिल सामेल रहेको ।

      ५.    अपुताली खाएको होइन भन्ने कुराको सबूद प्रमाण प्रतिवादीले गुजार्न नसकेको तथा वादीका साक्षीले प्रतिवादीले नै अपुताली खाएको हो भनी किटानी बकपत्र गरेको देखिँदा वादी दावी बमोजिम साँवा व्याज भरी पाउने ठहर्दछ भन्ने समेत रौतहत जिल्ला अदालतको मिति ०४१।११।१४ को फैसला ।

      ६.    उक्त फैसलामा चित्त बुझेन शुरु फैसला उल्टाई वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदन ।

      ७.    मृतक मुखलालको कृया श्राद्ध यिनी पुनरावेदकले गरेको भन्ने देखिएको, वादीका साक्षीले प्रतिवादीले अपुताली खाएको भनी बकपत्र गरेको, यो प्रतिवादी मृतकको भतिजो भएको र निजको श्रीमतीलाई मृतकले अचल सम्पत्ति बकसपत्र गरिदिएको तथा प्रतिवादी स्वयंले मृतकको सेवा गरेकोमा स्वीकार गरेको अवस्थामा मृतक मुखलालको अपुताली यस प्रतिवादीले खाएन भन्न मिल्ने नदेखिँदा मृतकले खाएको ऋण यो प्रतिवादीबाट वादी दावा बमोजिम साँवा व्याज भराई पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्दछ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति ०४३।६।१४।३ को फैसला ।

      ८.    उक्त फैसलामा चित्त बुझेन । पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट शुरु सदर गरेको अञ्चल अदालतको फैसला त्रुटिपूर्ण भन्न मिलेन भन्ने आधारमा पुनरावेदकको अनुमति प्रदान गर्न मिलेन भन्ने समेतको आदेश ०४४।५।९ मा भएको रहेछ ।

      ९.    वादीले मैले के कति अपुताली खाएको भन्ने कुरा प्रष्ट पार्न सक्नु भएको छैन । मेरी श्रीमतीले मृतकबाट हालैदेखिको बकसपत्र पाएकोमा सो बकसपत्रलाई आधार बनाई मलाई वादीले पक्रन मिल्ने होइन । तसर्थ नारायणी अञ्चल अदालतको फैसला मनासिब ठहर्‍याई अनुमति दिन नमिल्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी पक्षको यस अदालतमा पर्न आएको निवेदन ।

      १०.    यसमा मर्ने मुखलालबाट निवेदक प्रतिवादीकी श्रीमतीले बकसपत्र पाएको भन्ने आधारमा मात्र प्रतिवादीले अपुताली खाएको भन्न सकिने स्थिति नहुँदा प्रतिवादीले अपुताली खाएको ठहर्‍याई ऋणको दायित्व बहन गराएको नारायणी अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेशमा लेनदेन व्यवहारको २२ नं. को कानुनी व्याख्या सम्बन्धी त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।९।१५।४ को आदेश ।

      ११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाशले मेरो पक्षले मृतकको अपुताली खाएको कुरा वादी पक्षले प्रमाणित गर्न सकेको छैन । मेरो पक्षकी श्रीमतीले मर्नेबाट हालदेखिको बकसपत्र लिएको आधारमा मेरो पक्षले मृतकले लिएको ऋण तिर्नु पर्ने गरी गरिएको फैसला त्रुटिपूर्ण छ । हालदेखिको बकसपत्र र अपुताली भिन्दा भिन्दै कुरा हो । मेरो पक्षले मृतकको काजक्रिया गर्दैमा निजले अपुताली पनि खाएको हो भन्न मिल्ने होइन । तसर्थ शुरु, अञ्चलको फैसला र सो उपर पुनरावेदनको अनुमति दिन नमिल्ने भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश समेत त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्ने समेत एवं विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पूर्णमान शाक्यले प्रतिवादीले अपुताली नखाएको प्रमाणित गर्न सकेको छैन । चल सम्पत्ति अपुतालीमा खाएकोमा लिखत भएको हुँदैन । मृतकको सम्पत्ति कसले खायो कहाँ गयो भनी प्रतिवादीले देखाउन नसकेको एवं निजले नै मृतकको काजकृया गरेको अवस्थामा निजबाट वादी दावी बमोजिम रकम भराउने ठहर्‍याएको फैसलामा पुनरावेदनको अनुमति नदिने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा सोही इन्साफ सदर हुनुपर्दछ भन्ने समेत गर्नु भएको बहस समेत सुनियो ।

      १२.   प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको रकम प्रतिवादीबाट भराउने गरी गरेको इन्साफमा पुनरावेदनको अनुमति नदिने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन निर्णय दिनु पर्ने हुन आयो ।

      १३.   यसमा विपक्षीका जेठा बाबुले रु. २४०५।लिई कपाली तमसुक गरिदिएकोमा निज जेठा बाबुको मृत्यु भएको र निजको श्राद्ध कर्म समेत गरिदिई निजको खती उपती चल धन समेत विपक्षीले खाएको हुँदा विपक्षी प्रतिवादीबाट निजको जेठा बाबुले लिएको रकमको साँवा र भरी भराउ हुँदाका बखतसम्मको व्याजसमेत दिलाई भराई पाउँ भन्नेसमेत वादी दावी एवं मृतक जेठा बाबुको अपुताली मैले लिए खाएको छैन । निजको अपुतालीमा मेरो हक लाग्ने पनि होइन । तसर्थ मैले वादी दावी बमोजिमको रकम तिर्न बुझाउनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ ।

      १४.   प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा मृतक मुखलाल जीवित छँदा यी प्रतिवादी र निजको श्रीमतीले सेवा सुसार गरेको र निजको मृत्यु भएपछि यी प्रतिवादीले निजको काजक्रिया सदगत गरेको एवं मृतक मुखलालले यिनी प्रतिवादीकी श्रीमतीलाई घर घडेरी हालैदेखिको बकसपत्र गरिदिएको भन्ने कुरामा विवाद देखिएन । अञ्चल अदालत समेतबाट वादीका साक्षीले प्रतिवादीले अपुताली खाएको भनेको, प्रतिवादीको श्रीमतीले ०३९।२।१३ मा हालैको बकसपत्र पाएको र प्रतिवादीले मृतकको काजक्रिया गरेको स्वीकारेको भन्ने आधार लिई वादी दावी बमोजिम मृतकले लिएको ऋण यिनी प्रतिवादीबाट भरी पाउने ठहर्‍याई गरेको फैसला मनासिब ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति नदिने आदेश भएको देखिन्छ ।

      १५.   मुलुकी ऐन अपुतालीको महलको १५ नं. मा “........... अपुताली खाए पनि नखाए पनि मर्नेको सदगत भने गर्नु गराउनु पर्दछभन्ने बाध्यात्मक व्यवस्था भएकोले अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न मिल्ने देखिँदैन । लेनदेन व्यवहारको २२ नं. मा अपुताली नखानेलाई साहुले पक्रन हुँदैन .... जुन हिसाबको अंश अपुताली पाउँदछ सोही हिसाबसंग साहु पनि तिर्नु पर्छ ।भन्ने व्यवस्था भएबाट तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति रकम भराई पाउने हो वादीले प्रष्ट दावी लिनसक्नु पर्ने प्रष्ट छ । प्रस्तुत मुद्दामा वादी पक्षबाट यति अपुताली खाएको भन्ने कुरा आउन सकेको देखिएन । अझ यिनी प्रतिवादीले अपुताली खाएकै हो भन्ने कुरा समेत यस मुद्दामा प्रमाणित हुन सकेको पाइएन ।

      १६.    प्रतिवादीकी श्रीमती फूलमतीले मृतक मुखलालको मृत्यु हुनु पूर्व नै पाएको हालैको बकसपत्रको आधारमा यिनी प्रतिवादीले निज मृतकको अपुताली खाएको भन्नु कानुनी तर्क होइन । कारण हालैदेखिको बकसपत्रबाट सम्पत्ति पाउनु र अपुतालीबाट सम्पत्ति पाउनु बेग्ला बेग्लै कुरा हुन् । त्यसमा पनि प्रस्तुत मुद्दामा हालैको बकसपत्र यो प्रतिवादीले नपाई निजकी श्रीमतीले पाएकी छिन् । त्यसकारण साक्षीले अपुताली खाएकै हो भनी बकेकै भरमा त्यसलाई पुष्टि गर्ने भरपर्दो अन्य प्रमाणको अभावमा अपुताली खाएको मान्न नमिल्ने हुँदा वादी दावी पुग्न सक्दैन भन्नु पर्नेमा मुखलाल मरेपछि निजको काजक्रिया यिनै मौजेलालले गरेको भन्ने कुरामा प्र. मौजेलालले यो कुरा होइन भनी प्रतिउत्तरमा खण्डन गर्न सकेको देखिँदैन । वादीका दुई साक्षीले मुखलालको अपुताली प्र.मौजेलालले खाएका छन् भनेको......इत्यादि भनी ऋणको साँवा व्याज भराई दिने गरेको जिल्ला र अञ्चल अदालतको फैसलामा त्रुटि नदेखिएको भनी भनेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४४।५।९।३ को अनुमति नदिने आदेश कानुन विपरीत हुँदा वादी पुग्ने भन्ने जिल्ला र अञ्चल अदालतको निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त आदेश उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु र अञ्चलको इन्साफ मनासिब ठहर्‍याई अनुमति नदिने गरी गरेको क्षेत्रीयको आदेश उल्टी हुने ठहरेकोले शुरु रौतहट जिल्ला अदालतको मिति ०४१।११।१४ को फैसलाको तथा नारायणी अञ्चल अदालतको मिति ०४३।६।१४ का फैसलाले राख्न पठाएको लगत राख्नु परेन व्यहोरा जनाई कट्टा गर्नु भनी शुरु रौतहट जिल्ला अदालत लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु...१

पु.प्र. मौजेलाल यादव के निजले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा मिति ०४१।१२।१५ मा राखेको धरौटी रु. १४५।९५ फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र फिर्ता पाउँ भनी निवेदन दिन आए कानुनको रीत पुर्‍याई व्यहोरा जनाई फिर्ता खर्च लेखी दिनु भनी ऐ.ऐ. ...२

ऐ.के ना.अं.अ. मा मिति ०४१।१२।१५ मा राखेको कोर्टफी रु. २१।९० तथा यस अदालतको मिति ०४४।१०।१० गतेको आदेशले राखेको कोर्टफी रु. २२।८० समेत जम्मा रु. ४४।७० वादीको यसै सरहदको ज्यथा देखाई भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिन आए कानुन बमोजिम गरी भराई दिनु भनी ऐ.ऐ. ..३

इन्साफ उल्टीमा मध्यमाञ्चल क्षेत्रीय अदालतका तात्कालिक माननीय मुख्य न्यायाधीश श्री मोहनप्रसादको उल्टी रेकर्ड राख्नु...४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ...५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

 

इति सम्वत् २०४६ साल पौष २५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु