निर्णय नं. ३९८१ - उत्प्रेषण

निर्णय नं. ३९८१ ने.क.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको रि.नं. ८६९
आदेश भएको मिति : २०४६।९।१७ मा
निवेदिका : लमजुङ्ग चिनीपानी गा.पं.वार्ड नं. ५ बस्ने श्रीमती पद्मकुमारी जोशी
विरुद्ध
प्रत्यर्थी : लमजुङ्ग चिती गा.पं.वार्ड नं. ३ बस्ने जङ्गबहादुर विष्टसमेत
विषय : उत्प्रेषण
§ आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्ने ।
(प्रकरण नं. १२)
§ आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर्खास्त सनाखत गराएको देखिन आएको भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा दर्खास्त लिई सनाखत सम्म गराएको देखिन आएकोले निवेदकको जिकिर बमोजिम निवेदकको लोग्नेबाट निवेदन दावी बमोजिम जबरजस्ती डरत्रास देखाई विपक्षीले कागज गराएको नदेखिने ।
(प्रकरण नं. १२)
निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट
विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
आदेश
न्या. हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. स्व.पति फणिन्द्रबहादुर जोशीसँग २०१९ सालमा विधिवत विवाह भई ४ छोरीहरु जायजन्म भई घर व्यवहार राम्ररी चली आएकोमा विपक्षी मध्येकी मैया तिवारीले के कस्तो उजूर पारी पराई मेरा पति फणिन्द्रबहादुरसँग २०३९ सालमा नाता कायम गराई अंश लिई आफ्नो नाम जङ्गबहादुर कहाँ २०३९ साल देखि बसेकी र एक छोरी समेत जायजन्म भएकोमा सो पछि मेरो पति फणिन्द्र र निज विपक्षी मैयाको कुनै सम्बन्ध रहेको थिएन विपक्षी मैयाले मामा कहाँ बस्दा बस्दै अनुचित सम्बन्ध कायम गरी २०४४ सालमा गते बार मिति थाहा छैन गर्भ बोकिछन् । यस प्रकार मैयासंग अनुचित सम्बन्ध कायम राख्ने व्यक्ति विपक्षी मध्येको श्यामबाबु तिवारी हो भन्ने गाउँ घरमा हल्लासम्म चलेको तर वास्तविक यर्थाथमा प्रकाशनमा आएको थिएन । यसै क्रममा मैयाको अनुचित सम्बन्ध कायम भई गर्भधारण भएको यकीन भएपछि विपक्षी श्यामबाबु तिवारी, जङ्गबहादुर विष्ट समेतले जिल्ला कार्यालय लमजुङ्गका सुब्बा, खरीदार, प्रशासकीय अधिकृत समेतलाई अनुचित प्रभावमा पारी झुठ्ठा जाली परिपञ्च विवरण आपसी मिलोमतोबाट तयार पारी के कस्तो मैखिक वा लिखित निवेदन हो जि. का.मा पार्न लगाई पति फणिन्द्रबहादुर जोशीलाई आदेश बमोजिम प्रहरी कार्यालयका ४ जवान गई पतिलाई २०४५।३।२८ मा गैरकानुनी तरीकाले पक्राउ गरी लगी जि. का. मा बुझाए । मलाई प्राङ्गणबाट बाहिर निकाली दिए विपक्षीहरु सबै जि. का.भित्र यस २०४५।३।२९ का दिन देवर शंकरकान्त र सम्मबहादुरलाई जि. का. मा पठाउँदा पति फणिन्द्रबहादुरले लेखेको पत्र, लगाएको चप्पल, कपडा मात्र जिल्ला कार्यालयबाट केही दक्षिणपूर्वमा रहेको मस्र्याङ्गदी नदीको पुलको बीचमा भेटिएको र विपक्षी जि. प्र.का.ले सो कपडा र मेरो पतिले लेख्नु भएका स्वहस्ताको पत्र समेत बरामद गरी देवर शंकरकान्तबाट सनाखत गराई कब्जामा राखेको रहेको छ जुन पत्र र कपडाबाट विपक्षीहरुको जोरजुलुम यातनाको साथमा विपक्षी मैयाको अवैध गर्भलाई सकार गराउने किसिमको परिपञ्च मिलाई सो देखिने गरी कागज गराएको कारणबाट मेरा पति फणिन्द्रबहादुर २०४५।३।२८ गते गैरकानुनी जोरजुलुम साथ कागज गराएको दिन अं. ६ बजेतिर मस्र्याङ्गदी नदीमा असार महीनाको बाढी आएको अवस्थामा हामफालेर देह त्याग गर्नु भएको रहेछ भन्ने देखिन आयो । किनकी विपक्षीहरुको गैरकानुनी जोरजुलुमयुक्त काम कारवाहीले मेरा पतिको सास र लाश समेत फेला परेन । उहाँबाट लेखिएको पत्र र लगाएको कपडा र चप्पल बरामद भएबाट उहाँको ज्यान गएको स्पष्ट हुन गई काज क्रिया समेत गरी सम्मानीत अदालतमा मेरा पतिको मर्नु पर्ने कारण र जोरजुलुम साथ गराइएको कागज समेत बदर गराउन यो निवेदन गर्न आएकी छु । जाल परिपञ्चयुक्त २०४५।३।२८ मा मेरो पतिबाट गराइएका कागज काम कारवाही अ.बं. ३५ नं. ले स्वतः बदरभागी छन् । स्व. पति फणिन्द्रबहादुरले आफ्नो भाइ शंकर र शंभुलाई लेखिएको पत्रमा गर्भ आफ्नो नभएको, स्वेच्छा विरुद्ध कागज गर्नु परेको, यातना दिइएको भन्ने कुरा लेखी सो कार्य गर्न गराउन विपक्ष जि. का. समेतमा विपक्षी महलमा उल्लेखित व्यक्ति निकाय जिम्मेवार रहेको अवस्थामा मर्नु पर्ने कारण उत्पन्न हुने विपक्षी जि. का. समेतको अनाधिकृत गैरकानुनी काम कारवाही र विपक्षी श्यामबाबुको गर्भलाई मेरा पतिको गर्भ हो भनी प्रमाणित गर्न गराउन खोज्ने विपक्षी जङ्गबहादुर, मैया र श्यामबाबुको कार्यवाही बदर वातिल गराउन स्व.पतिले ज्यान समेत गुमाई सक्नु भएको हुँदा घरको मुख्य नै म हुँदा संविधानको धारा १०(१), ११(५)(६), १५ को मौलिक हक हनन् हुन गएकोले धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएकी छु । उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षीहरुबाट अनधिकृत गैरकानुनी तरीकाले मेरो पतिबाट गराइएको २०४५।३।२८ का कागज कामकारवाही बदर गरी पाउन र स.अ. नियमावली नियम ५७ बमोजिम मनासिब माफिकको खर्च समेत विपक्षीहरुबाट भराई पाउँ भन्ने रिटनिवेदन जिकिर ।
३. यस्मा के कसो भएको हो प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश रहेछ ।
४. जिल्ला कार्यालय लमजुङ्गको च.नं. २८६८ मिति २०४५।३।२७ को पत्रानुसार मैया सिलुवाल र निजको लोग्ने फणिन्द्रबहादुर जोशी दुबैलाई बेसी शहर आएको बेला देखि यस कार्यालयमा झिकाई शान्तिपूर्ण रुपले मिल जुली बस्न सम्झाउँदा आपसमा मिल्न नचाहेकोले पत्र साथ जि. का. मा पठाएको सम्म हो । अरु निवेदकको हक हितमा असर पर्ने कुनै कार्य भए गरेको छैन भन्ने समेत जिल्ला प्रहरी कार्यालय लमजुङ्गको लिखितजवाफ ।
५. जि. प्र.का. लमजुङ्गले मिति २०४५।३।२७ का दिन फणिन्द्रबहादुर र मैया सिलवाल जोशी दुवैलाई झिकाई यस कार्यालयमा पत्र साथ दाखेल गरेको यस कार्यालयबाट शान्तिपूर्वक मिली बस्न सम्झाउँदा भोलिपल्ट २०४५।५।२८ का दिन दुवै पक्षले आफसमा शान्तिपूर्वक मिली बस्न मञ्जूर गरी संयुक्त निवेदन दिएकोले सोही व्यहोराको सनाखतसम्म यस कार्यालयमा भएकोहो यस जि. का.ले फणिन्द्रबहादुर जोशीलाई पक्राउ गर्ने कुनै आदेश कसैलाई दिएको पनि होइन छैन र जोरजुलुम र करकापका साथ कुनै किसिमको कागज गराउनु पर्ने अवस्था पनि छैन र गराएको पनि होइन तसर्थ निवेदकको मौलिक हकमा असर पर्ने कुनै पनि कार्य यस कार्यालयबाट गराइएको नहुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत जि. का. लमजुङ्गको लिखितजवाफ ।
६. रिट निवेदिका तथा निजको लोग्ने फणिन्द्रलाई म समेतको मिलोमतोबाट यातना दिनु पर्ने कागज गराउने र मौलिक हकमा हनन् हुने किसिमका कुनै पनि कार्य नगरे नभएको हुँदा झुठ्ठा रिटनिवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको प्रशासकीय अधिकृत, ना.सु., खरीदार समेतको छुट्टाछुट्टै लिखितजवाफ ।
७. निवेदिकाको सौता मैया जोशीको घर र मेरो घर करीब २ घण्टाको फरकमा भएको दैनिक व्यवहारमा भेटघाट हुनसक्ने समेत नपर्ने भएको हुनाले निवेदिकाले मेरो बहिनी सरह मैया जोशीलाई करणी गरी भर्ग बोकाएको समेत होइन छैन साथै म समेतले जि. का. तथा जि. प्र.का. मा गई कर्मचारीहरु समेतलाई जाल परिपञ्च मिलाई उजूर पारी पराई फणिन्द्रबहादुरलाई साथमा लिई जिल्ला कार्यालय भित्र गई कागज गरायो भन्ने कुरा सम्पूर्ण झुठ्ठा हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत श्यामबाबु तिवारीको लिखतजवाफ ।
८. मैया जोशी मेरी भान्जी हुन् निजको विवाहिता लोग्नेको सत्य डगाई निवेदिकाको पति फणिन्द्रबहादुरले २०३९ सालमा गर्भ बोकाएको हुँदा निजसंग अंश मुद्दा गरी अदालतका फैसलाबाट अंश प्राप्त भई निज फणिन्द्रबहादुर निवेदिका भान्जी मैया समेत एक घरमा बसी आएका छन् निवेदिकाको भनाई अनुसार मेरा घरमा आई बसेकी छैन । मैया जोशीले के कुरामा निवेदन दिए मलाई कुनै थाहा छैन भन्ने निवेदिकाको हकाधिकारमा हनन् हुने कार्य कुनै नगरेको हुनाले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत जङ्गबहादुर विष्टको लिखितजवाफ ।
२०३९ सालमा मेरो विवाहिता लोग्नेको सत्य डगाई फणिन्द्रबहादुरले गर्भ बोकाएको हुँदा मैले लमजुङ्ग जिल्ला अदालतमा अंश मुद्दा समेत दायर गरी मिति २०४०।१२।७ मा अंश पाउने समेत फैसला भई सोही मितिदेखि अंश लिई लोग्ने फणिन्दबहादुर र सौता निवेदिका समेत बसेको घरमा चिती गा.पं. वार्ड नं. ५ को कि.नं. ८९ को ३ खण्डको १ खण्ड घर मेरो अंश भाग परी लोग्ने तथा सौता र म सोही घरमा अवछिन्न रुपमा बसी आएकी छु । निवेदिकाको भनाई अनुसार मामा घरमा बसेकी छन् । विपक्षी निवेदिकाले मेरो इज्जत ख्याती समेतमा धक्का पुग्ने गरी जान पहिचान नै नभएको श्यामबाबु तिवारीको गर्भ बोकेकी भनी करणी दोष समेत लगाएकी हुनाले निजउपर गर्न पर्ने कारवाही ऐनको म्याद भित्र जिल्ला अदालतमा नालिस दिई न्याय लिने नै छु ।
९. फैसला समेतबाट हक प्राप्त भएका २०४० सालका सर्भे नापीमा मेरा नाउँमा दर्ता भएको चिती गा.पं. वार्ड नं. ५ को कि.नं. ८८ र ८९ वडा नं. ६ को कि.न. ८१८ समेत जग्गामा पतिदेव फणिन्द्रबहदुरले खिचोला गरी अशान्ती गरी मार्ने काट्ने धम्की दिनु भएकोले एक असहाय गर्भवती महिला स्थानीय प्रशासन सुधार ऐन, २०२८ को दफा ६(५) ले शान्ति सुरक्षा कायम राख्ने र ३ महीनादेखि जस्को हकभोगमा छ उसको नै जिम्मा लगाउने समेत व्यवस्था समेत भएको हुनाले जिल्ला कार्यालयमा गई उजूर गरेकी र जिल्ला कार्यालयबाट निजलाई हामी दुवैको मञ्जूरीले जग्गामा खिचोला नगर्ने सम्मको कागज भएको हुनाले निवेदिकाको माग बमोजिम सम्पत्ति सम्बन्धी हकमा आघात नपुर्याएको हुँदा जि. का.ले आफ्नो अधिकार क्षेत्रभित्र रही गरे गराएको लिखत कानुन मान्य हुने हुँदा विलम्ब गरी परेको विपक्षीको झुठ्ठा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत मैया जोशीको लिखितजवाफ रहेछ ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा तारेखमा रहेको निवेदिकाको वा.लाई समेत रोहवरमा राखी रिट निवेदिकाको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रामजी विष्ट तथा विपक्षी कार्यालय समेतको तर्फबाट बहसको लागि उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत विषयमा रिट निवेदिकाको निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यस्मा निवेदकले आफ्नो लोग्ने फणिन्द्रप्रसादलाई जिल्ला कार्यालयबाट झिकाई विपक्षी मैयाले बोकेको अरुको गर्भ समेतलाई सकार गराउन मिलापत्र आदि जस्ता नाटकीय परिपञ्च रची २०४५।३।२८ मा कागज गराएकोले सो कागज उत्प्रेषण वा उपयुक्त आदेश जारी गरी बदर गराई पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर लिएकोमा जि. का. तर्फबाट पेश हुन आएको लिखितजवाफमा मैया सिलवालले शान्ति सुरक्षा कायम गरी खेत रोपाई गरी पाउँ भनी निवेदिकाको लोग्ने फणिन्द्रबहादुर जोशी माथि कारवाहीका लागि २०४५।३।२७ मा निवेदन दिएकोबाट अशान्ति हुन गर्न नपाउने व्यवस्था मिलाई दिन जि. प्र.का. लमजुङ्गमा पत्र लेखी पठाएकोमा जि. प्र.का.लमजुङ्गले सोही मितिमा निज मैया सिलवाल र फणिन्द्र जोशीलाई झिकाई यस कार्यालयमा पत्र साथ दाखेल गरेको र यस कार्यालयबाट मिली बस्न सम्झाउँदा भोलिपल्ट २०४५।३।२८ मा दुवै पक्षले आपसमा शान्तिपूर्वक मिली बस्न मञ्जूर गरी संयुक्त निवेदन दिएकोले सोही व्यहोराको सनाखत सम्म यस कार्यालयमा गराइदिएको हो निजलाई पक्राउ गरी जोरजुलुम गरी कुनै किसिमको कागज गराएको छैन भन्ने र जि. प्र.का.बाट सोही मिलानको मैया सिलवालको निवेदन प्राप्त भई निवेदकको लोग्ने फणिन्द्रबहादुरलाई झिकाई सम्झाउँदा मिल्न मञ्जूर नगरेकोले निजहरुलाई जि. का.मा सम्म पठाएको हो भनी र जि. का.का प्रशासकीय अधिकृतले समेत सोही बमोजिम संयुक्त निवेदन परेकोमा सनाखत सम्म गराएको कुरा स्वीकार गरी लिखितजवाफ पेश गरेकोबाट निवेदकले बदर गरी पाउँ भनी भनेको जि. का. बाट कारवाही भएको मिसिल साथ रहेको सो कागज हेरिएमा सो कागज जिल्ला कार्यालयबाट गराएको नदेखिई विपक्षी मैया सिलवाल र निवेदकको लोग्ने फणिन्द्रले संयुक्त निवेदन लेखी कानुन बमोजिम टिकट टाँसी जिल्ला कार्यालय लमजुङ्गमा २०४५।३।२८ मा द.नं. ८१८६ मा दर्ता गराएकोमा सोही मितिमा विपक्षी जिल्ला कार्यालयबाट सनाखत गराएको सम्म देखिन आएको छ । सो संयुक्त निवेदनको व्यहोरा हेरिएमा विपक्षी मैया सिलवालको निवेदनमा उल्लेख गरे बमोजिम निजलाई खेत रोप्ने काममा बाधा अड्चन गरे तापनि अब झगडा नगरौं मिली जाऔं भनी मिली आएको शर्त के भने निज कान्छी श्रीमती मैया सिलवाल हाल गर्भिणी अवस्थाकी भएकीले निजको संरक्षण र संवर्धन गर्ने मेरो प्रमुख कर्तव्य हुने हुँदा निज गर्भिणी अवस्थाकी श्रीमतीलाई काट्छु मार्छु भनेको होइन गोरु फुकाई खेत रोपाई गर्न नदिई हटक खिचोला समेत गर्ने छैन निजको अंश भाग जग्गा खेत रोपाईं गर्ने कुरामा म समेतले सक्दो मद्दत समेत गर्नेछु भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन आउँछ । विपक्षी मैया सिलवालले आफूले अंश पाएको जग्गामा रोपाईं गर्न जाँदा हल गोरु फुकाई रोपाई गर्न नदिई अशान्ति गर्नु भएकोले शान्ति सुरक्षा कायम गरी खेत रोपाई पाउँ भन्ने सम्म दावी लिई निवेदन दिएकोमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा सो निवेदन विपक्षबाट जि. का.को अधिकार क्षेत्रकै भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्नेमा रिटनिवेदनको लेखाइबाट विवाद उठाएको आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर्खास्त सनाखत गराएको देखिन आएको भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा दर्खास्त लिई सनाखत सम्म गराएको देखिन आएकोले निवेदकको जिकिर बमोजम निवेदकको लोग्नेबाट निवेदन दावी बमोजिम जबरजस्ती डर त्रास देखाई विपक्षीले कागज गराएको नदेखिएकोले सो संयुक्त दर्खास्तमा उल्लेख भएको गर्भको कुरामा विवाद परी कानुन बमोजिमको उजूर परेमा सोही मुद्दाबाट यो निवेदनमा उल्लेख भएको कुराहरु बाहेकको अरु सबूद प्रमाणबाट ठहरे बमोजिम हुने भएकोले निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिएको हुनाले निवेदकको यो रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल पौष १७ गते रोज शुभम् ।