निर्णय नं. ३९८२ - उत्प्रेषण

निर्णय नं. ३९८२ ने.का.प. २०४६ अङ्क १०
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४६ सालको रिट नं. १०१४
आदेश भएको मिति : २०४६।१०।२६।५ मा
निवेदक : जिल्ला सप्तरी राजविराज न.पं. वार्ड नं. १ बस्ने वर्ष ६० को चैनरुप दुगडसमेत
विरुद्ध
विपक्षी : जि. स. जमुनी मधेपुरा गा.पं. वार्ड नं. १ बस्ने सचनादेवी दाससमेत
विषय : उत्प्रेषण
§ तथ्यगत त्रुटि केलाई हेर्ने हो भने पुनरावेदनको कार्यविधि अपनाई नक्शा, किल्ला सीमाना भिडाई निर्णय गर्नु पर्ने हुन जान्छ । रिट क्षेत्रबाट त्यसरी हेर्न नमिल्ने ।
(प्रकरण नं. ५)
§ तथ्यहरुमा प्रवेश नगरी कुनै कानुनी त्रुटि रहेको भएको स्पष्ट देखिने अवस्थाको नभई रिट क्षेत्रबाट हेर्न नमिल्ने ।
(प्रकरण नं. ५)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
आदेश
न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. वादी सचनीदेवीको ३९५ को १–१९–१९ र प्रतिवादीको ३५८को २–६–१३ चारैतिर पर्खाल भएकोमा पश्चिमतिर टाटी हटाई मेरो जग्गामा ०४१।१०।११ मा पर्खाल बनाउन शुरु गरी १९ गते बनाएको ०–४६ जग्गा खिचोला मेटाई उठाई चलन चलाई पाउँ भन्ने समेत वादी पर्खाल ०२९ सालमा बनाएको भन्ने समेत हामी प्रतिवादी शुरुले खारेज गरेकोमा पुनरावेदन पर्दा वादीको हक स्थापित हुनु भन्दा अगावै मिश्रीलालबाट खरीद गरिलिएको र वादीको ०–१८–१७
जग्गा पुगेकै हुँदा खिचोला गरेको ठहर्दैन भन्ने फैसलामा पुनरावेदन पर्दा ०–१–२ मा खिचोला गरेको ठहर्छ भन्ने प्रत्यर्थी पू.क्षे.अ.को फैसला कि.नं. ३९४ को दक्षिण खण्डको पर्खाल सहित ०–१–२ वादीको दर्ता कायम भएकोबाट चलन पाउने ठहर्छ भन्ने स.अं.अ. को फैसला ।
३. मेरो प्रतिउत्तरमा उल्लेख भए अनुसार जम्मा जग्गा वि. १–०–१९ हुनुपर्नेमा नक्शा नं. १३ मा नक्शामा ०–१६–१५ हिसाबबाट ०–१६–१५ भई मेरो ०–४–४ जग्गा कम्ती भएको देखिन आएको छ । सो नक्शा नं. १६ को नक्शाबाट ०–४–०
हिसाब जोड्दा चानचुन साढे तीन धुर जग्गा मेरो कमी नै देखिन आएको छ । फैसलामा सबै जग्गाको हिसाब मिलाउने गरी सबैको कित्ताकाटबाट भर्नु पर्नेमा सो नगरी ०–१६–१५
मात्र हुन गएको हुनाले मालपोत कार्यालयले सबै जोडी कित्ता संशोधन गरेको छ । यसबाट वादी दावीको जग्गा १–१९–१५
हुन नसक्ने । ०२१।९।६ मा खरीद ०–१६–१६–६ जग्गा हुँदा सो हाल अदालतबाट गराइएको न.नं. १३ मध्ये हिसाबबाट हुँदा ०–१६–१५
अंक यकीन गर्दा खरीदी हकमा साढे नौ धुर नखढी भएको पनि सो जग्गा ०२१ सालको लिखत बमोजिम कै छ । ०२१ सालपछि ०२५ र ०२६ गरी जम्मा ०–१–१३ र ०–३–३ गरी ०–४–१३ हुनु पर्नेमा हाल अदालतको नक्शाबाट न.नं. १६ मा उल्लेख भए अनुसार ०–४–०
हुन गएको छ । उक्त नरबढी जग्गा जोड्दा आफ्नै तीन धुर मेरो कम्ती हुन गएको छ । यस प्रकार प्रतिवादीको १–२–१९
मा ०–४–१३ कठ्ठा गर्दा १–१८–६
हुन जान्छ । हाल अदालतको नक्शाबाट नक्शा नं. ६ को समेतको टायल हाल्दा १–८–६–२ भए पनि न.नं. ६ को हिसाबबाट ७–२–२ र नक्शा नं. १४ को ०–७–१० र १५ को ०–३–१६ गरी जम्मा १–१८–७–२ भएको छ । यसरी वादीको एक धुर जग्गा बढी नै छ । मा.पो.का.ले कित्ताकाट गरी कि.नं. ५६९ मा १–९–५
र कि नं. ५७० मा ०–९–१२ गरी जम्मा १–१८–१७
जग्गा यकीन गरेको छ । मा.पो.का. ले कायम गरेको ११ धुर जग्गा बढी नै देखिन्छ भने मा.पो.का. को कित्ताकाट मनासिब भन्न नहुने । यसरी वादीको जग्गा बढी र मेरो घटी गरी इन्साफ गर्न नहुने । पर्खाल बनाए सम्बन्धमा ०४१।१०।१९ लाई वारदात कायम गरेको छ । न.नं. १६ मा मात्र १९ गते पर्खाल लगाएको कुरामा वादी सावित छ । पर्खाल ०२९ सालमा बनाएको हो । यसरी प्रमाण नबुझी गरेको फैसला उपर अनुमति पाउँ भनी दिएको निवेदन उपर अनुमति दिने व्यवस्था कानुनमा नभएको भनी निवेदन दर्ता समेत नगरेकोले अन्य उपचारको बाटो नहुँदा निवेदन गरेको छु । प्रत्यर्थी पू.क्षे.अ. को २०४६।३।१९ को निर्णय न्याय विपरीत वस्तुनिष्ट रहित तथा कानुनी त्रुटिपूर्ण एवं दोषपूर्ण भएको हुनाले सो बदर गरी प्रमाण बुझी यकीन निर्णय गर्न परमादेश समेतको आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदनको व्यहोरा ।
४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट रहनु भएका विद्वान व.अ. श्री कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहस समेत सुनियो । प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिम विपक्षीबाट लिखितजवाफ मगाउनु पर्ने नपर्ने के हो त्यसतर्फ निर्णय दिनु पर्ने हुन आएको छ ।
५. यसमा विपक्षी सचनीदेवी तथा यो निवेदक बीच चलेको जग्गा खिचोला पर्खाल हटाई पाउँ भन्ने मुद्दा जिल्ला अञ्चल हुँदै पूर्वाञ्चल क्षेत्रीय अदालत समेतबाट फैसला भई उक्त फैसलामा सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति नपाएपछि यो निवेदक आफूलाई मर्का परेकोले पूर्वाञ्चल क्षेत्रीय अदालतको कानुनी त्रुटि पूर्ण फैसला बदर गराई पाउँ भनी प्रस्तुत रिट लिएर आएको देखियो । रिटनिवेदनको प्रकरण ४, ५ र ७ समेतलाई हेर्दा प्रकरण ४ मा जग्गा ०–४–१३ हुनु पर्नेमा हाल अदालतको नक्शाबाट न.नं. १६ मा उल्लेख भए अनुसार ०–४–० हुन गएको छ । प्रकरण ५ मा “.....वादीको तर्फबाट १९ गते पर्खाल बनाएको भन्ने कुरा प्रमाणित नभएको” प्रकरण ७ मा “नाप अनुसार मेरो जग्गा कायम गर्दा वादीको सो ठाउँमा जग्गा कायम हुन नसक्ने” भन्ने विभिन्न तथ्यगत त्रुटि निवेदकले निवेदनमा औंल्याएको पाइन्छ । यस प्रकारको तथ्यगत त्रुटि केलाई हेर्ने हो भने पुनरावेदनको कार्यविधि अपनाई नक्शा, किल्ला सीमानामा भिडाई निर्णय गर्नु पर्ने हुन जान्छ । रिट क्षेत्रबाट त्यसरी हेर्न मिल्दैन । मिसिलका तथ्यहरुमा प्रवेश नगरी कुनै कानुनी त्रुटि रहेको भएको स्पष्ट देखिने अवस्थाको नभई रिट क्षेत्रबाट हेर्न मिलेन । प्रस्तुत रिटनिवेदनमा त्यसप्रकारको स्पष्ट कानुनी त्रुटि गरी फैसला भएको छ भन्ने कुरा निवेदकबाट खुलाउन सकेको पाइएन । यस स्थितिमा विपक्षीहरुबाट लिखितजवाफ झिकाई रहनु पर्ने सम्मको अवस्था नदेखिँदा लिखितजवाफ झिकाउनु परेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्दछ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
इति सम्वत् २०४६ साल माघ २६ गते रोज ५ शुभम् ।