निर्णय नं. ६९२७ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ६९२७ ने.का.प. २०५७ अङ्क ६/७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
सम्वत २०५५ सालको रिट नं...... ३५७७
आदेश मितिः २०५७।३।१३।३
विषयः उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः जिल्ला भक्तपुर नखेल गा.वि.स. वडा नं. ८ बस्ने स्व.मानबहादुरको हकमा कुमार खड्का
विरुद्ध
विपक्षीः भक्तपुर जिल्ला अदालत भक्तपुर समेत
§ मृतक मानबहादुरको मृत्यु भएको भन्ने कुरा निजको नाममा मिति ०५४।८।३० मा घरदैलामा टाँस भएको म्यादको व्यहोराबाट देखिन्छ । मिति २०५४।८।३० मा म्याद तामेल भएकोमा सो मितिले ३० दिनभित्र प्रतिउत्तर फिराउनु पर्ने कानूनी व्यवस्था भएको र कावु बाहिरको परिस्थिति परेकोमा अ.वं. ५९ नं. बमोजिम ३० दिनको म्याद थमाई प्रतिउत्तर दिन पाउन सक्ने अवस्था देखिएको तथा यी निवेदकले मिति २०५४।१०।२७ मा अर्थात उल्लेखित म्यादभित्रै मृतकको हकवाला हुँ भनी प्रतिउत्तर पत्र अदालत समक्ष पेश गरेको समेत देखिन्छ । अ.वं.६२ नं. बमोजिम मृतकका तर्फबाट दैयादारले ३५ दिनभित्र सकार गर्नुपर्ने प्रावधान भएकोमा सो म्याद नघाई सकार गर्न आएको भनी दरपीठ गरिएको तर्फ हेर्दा अ.वं. ६२ नं. को व्यवस्थालाई मात्र अलग गरी व्यख्या गर्दा अ.वं.५९ नं. को कानूनी अधिकारबाट पक्ष बन्चित हुन जाने हुँदा यस्तो अवस्था परेकोमा अ.वं. ५९ र ६२ नं. दुवैलाई साथै राखेर व्याख्या गर्नुपर्ने हुन्छ । यसरी हेर्दा अ.वं. ५९ नं. ले थमाएर मुद्दा सकार गर्न उक्त कानूनले बाधा दिएको देखिदैँन । मिति २०५४।६।१४ मा मानबहादुरको मृत्यु भएकोमा निजको नामको म्याद मिति २०५४।८।३० मा मात्र तामेल भएको देखिन्छ । म्याद तामेल भएपछि मात्र मुद्दा परेको जानकारी हुने हुँदा मुद्दा परेको जानकारी नहुदैँ सकार गर्न आउनु पर्ने भन्न नमिल्ने हुँदा मृत्यु भएको मितिले अ.वं. ६२ नं. बमोजिमको म्याद भित्र नथमाएको भन्ने कुरा तर्कसंगत पनि देखिएन । तसर्थ पक्षले तारिख थामी प्रतिउत्तर पत्र दर्ता गरी पाउ भनी दिएको निवेदनमा अ.वं. ६२ नं. बमोजिम गरी पाउन माग गरेको र त्यस्तोमा अदालतबाट पक्षलाई मुद्दा सकार गरी माग्न छुट्टै निवेदन दिनुपर्ने भएमा सोही व्यहोरा जनाई अर्को निवेदन लिई मुद्दा सकार गरी प्रतिउत्तर पत्र दर्ता गर्नुपर्नेमा सो नगरी म्याद गुज्रेको भनी श्रेस्तेदारले गरेको दरपीठलाई सदर गरेको जिल्ला न्यायाधीश र पुनरावेदन अदालत पाटन समेतको आदेश मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्बारा वदर गरी दिएको छ । निवेदकको सो अंश मुद्दा सकार गराई प्रतिउत्तर पत्र दर्ता गरी दिनु भनी भक्तपुर जिल्ला अदालतका नाममा परमादेशको आदेश समेत जारी हुने ।
(प्र.नं.१०)
निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री सविता बराल
विपक्षी तर्फबाटः
अवलम्बित नजिरः
आदेश
न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. स्व. मानबहादुर खड्काले मलाई मिति २०५३।५।१७ मा शेषपछिको बकसपत्र पारित गरिदिनु भएको हुनाले म उहाँको हकवाला भएकोमा विवाद छैन । विपक्षी हरिबहादुर खड्काले स्व.मानबहादुर उपर मिति २०५४।४।३१ मा अंश मुद्दा दायर गरेकोमा मानबहादुरको मिति २०५४।६।१४ मा कालगतिले परलोक भएको कुरा उक्त अंश मुद्दाको मिति २०५४।८।३० को तामेली म्यादबाटै प्रष्ट हुन्छ । यसरी मानबहादुर खडकाको निधन भईसकेको र म हकदार भएकोले गुज्रेको म्याद अ.वं.५९ नं. बमोजिम थामी प्रतिउत्तर पत्र दर्ता गरी पाउन भक्तपुर जिल्ला अदालत समक्ष जाँदा तहाँका श्रेस्तेदारबाट मुलुकी ऐन अ.वं.६२ नं. बमोजिम म्याद भित्र मुद्दा सकार गरेको नहुँदा प्रतिउत्तर दर्ता गर्न मिलेन । अ.वं.२७ नं. बमोजिम दरपिठ गरी दिएको छ भनी दरपीठ गरिदिएको हुँदा उक्त आदेश वदरमा लागि निवेदन गरेकोमा भक्तपुर जिल्ला अदालतका जिल्ला न्यायाधीशबाट तथा पुनरावेदन अदालत पाटन समेतबाट मिति २०५५।२।७ मा श्रेस्तेदारको उक्त आदेश सदर हुने आदेश भयो । उपरोक्त आदेशले मेरो संवैधानिक तथा मौलिक हकाधिकारमा आघात परेको हुँदा अन्य उपचारको अभावमा प्रस्तुत निवेदन दिन आएको छु ।
3. स्व.मानबहादुरको हकवाला भएकोले सो अंश मुद्दामा मृतकको मुद्दा सकार गरी प्रतिवाद गर्न पाउने मेरो हकलाई कुनै कानूनले बन्देज नगरेको हदम्यादको कुरा इन्साफको रोहबाट हेरिनु पर्ने विषय हो । अ.वं. ६२(३) मा प्रतिउत्तर पत्र दर्ता गर्नका लागि सकार गर्नुपर्ने बाध्यता छैन । अ.वं. ५९ नं. ले थमाउने अवधि बाँकी भै थाम्ने निवेदन समेत साथै पेश गरेकोमा म्याद गै सक्यो भनी दरपीठ गर्न मिल्ने होइन । त्यसरी व्याख्या गर्ने हो भने अ.वं. ५९ नं. प्रयोजनहीन हुनेछ । तसर्थ उत्प्रेषणको आदेशद्बारा उक्त दरपीठ आदेश वदर गरी दरपिठ हुने ठहराएको मेरो प्रतिउत्तर पत्र दर्ता गर्नु भनी परमादेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन दावी ।
4. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाममा म्याद पठाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एकल इजलासको मिति २०५५।४।१२ को आदेश ।
5. मैले बुबा मानबहादुर उपर अंश मुद्दा दायर गरेकोमा विपक्षीले पिताको निधन पछि उक्त मुद्दा सकारको माग गर्नुभएको रहेछ । निजले प्रतिउत्तर फिराएमा मेरो आपत्ति छैन । ३ भागको १ भाग मैले अंश पाउने नै हुँदा रिट जारी हुनुपर्ने होइन भन्ने समेत हरिबहादुर खडकाको लिखित जवाफ ।
6. मानबहादुर खडका समेतलाई विपक्षी बनाई ३ खण्डको १ खण्ड अंश पाउँ भनी निजको छोरा हरिबहादुरले अंश मुद्दा दायर गरेकोमा निजको पिता मानबहादुरको २०५४।६।१४ मा परलोक भएको र मिति २०५४।८।३० मा निज मानबहादुरको नामको म्याद निजको घर दैलामा टाँस भएकोमा अ.वं. ६२(३) को म्याद भित्र कसैले मुद्दा सकार नगरेको र सकार गर्ने अवधि नाघी सकेपछि कुमार खडकाले प्रतिउत्तर दर्ता गर्न ल्याएको देखिँदा पहिले मुद्दा सकार गरेर मात्र प्रतिउत्तर दर्ता गर्नुपर्ने तथा उपरोक्त म्याद समेत समाप्त भै सकेपछि प्रतिउत्तर ल्याएको देखिएकोले अ.वं. २७ नं. बमोजिम दरपिठ भएको हो । कानून बमोजिम भएको काम कारबहीबाट विपक्षीको हकाधिकारमा कुनै आघात नपरेकोले रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको लिखित जवाफ ।
7. भक्तपुर जिल्ला अदालतबाट प्रतिउत्तर दरपिठ भएकोमा चित्त बुझेन भनी अ.वं. १७ नं. बमोजिमको कुमार खड्काको निवेदन परी पेश हुँदा यसमा कानून बमोजिम गर्नु भन्ने आदेश भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको लिखित जवाफ ।
8. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री सविता बरालले गर्नुभएको बहस समेत सुनी मिसिल संलग्न सम्पूर्ण कागजातहरुको अध्ययन गरी निवेदन माग बमोजिमको आदेश जारी हुने हो होइन भनी तत्सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
9. निर्णय तर्फ विचार गर्दा यसमा विपक्षी हरिबहादुर खडकाले निजको पिता मानबहादुर खडका समेतलाई विपक्षी बनाई भक्तपुर जिल्ला अदालतमा अंश मुद्दा दिएकोमा निज मानबहादुरको म्याद तामेल नहुदै निधन भएको र निजले मलाई शेषपछिको बकसपत्र गरिदिएको समेत कारणबाट म हकवालाको हैसियतमा उक्त मुद्दा सकार गरी प्रतिउत्तर दर्ता गरी पाउँ भनी भक्तपुर जिल्ला अदालत समक्ष जाँदा मुद्दा सकार गर्ने म्याद नाघीसकेको भनी श्रेस्तेदारबाट उक्त प्रतिउत्तर दरपिठ गरेकोमा उक्त दरपिठ जिल्ला न्यायाधीश र पुनरावेदन अदालत समेतबाट सदर भएकोले यो निवेदन दिन आएको छु । गैरकानूनी तरिकाबाट भएको दरपिठ आदेश वदर गरी प्रतिउत्तर दर्ता गर्नु भन्ने समेत आदेश जारी गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर देखिन्छ । हकवालाले अ.वं. ६२ नं. को म्याद भित्र मृतकको तर्फबाट मुद्दा सकार गर्नुपर्नेमा सो नगरेको र सकारको लागि छुट्टै निवेदन समेत नपरेको भन्ने आधारमा प्रतिउत्तर दरपिठ भएको कुरा दरपिठ व्यहोराबाट देखियो ।
10. मृतक मानबहादुरको मृत्यु भएको भन्ने कुरा निजको नाममा मिति ०५४।८।३० मा घरदैलामा टाँस भएको म्यादको व्यहोराबाट देखिन्छ । मिति २०५४।८।३० मा म्याद तामेल भएकोमा सो मितिले ३० दिनभित्र प्रतिउत्तर फिराउनु पर्ने कानूनी व्यवस्था भएको र कावु बाहिरको परिस्थिति परेकोमा अ.वं. ५९ नं. बमोजिम ३० दिनको म्याद थमाई प्रतिउत्तर दिन पाउन सक्ने अवस्था देखिएको तथा यी निवेदकले मिति २०५४।१०।२७ मा अर्थात उल्लेखित म्यादभित्रै मृतकको हकवाला हुँ भनी प्रतिउत्तर पत्र अदालत समक्ष पेश गरेको समेत देखिन्छ । अ.वं.६२ नं. बमोजिम मृतकका तर्फबाट दैयादारले ३५ दिनभित्र सकार गर्नुपर्ने प्रावधान भएकोमा सो म्याद नघाई सकार गर्न आएको भनी दरपीठ गरिएको तर्फ हेर्दा अ.वं. ६२ नं. को व्यवस्थालाई मात्र अलग गरी व्यख्या गर्दा अ.वं.५९ नं. को कानूनी अधिकारबाट पक्ष बन्चित हुन जाने हुँदा यस्तो अवस्था परेकोमा अ.वं. ५९ र ६२ नं. दुवैलाई साथै राखेर व्याख्या गर्नुपर्ने हुन्छ । यसरी हेर्दा अ.वं. ५९ नं. ले थमाएर मुद्दा सकार गर्न उक्त कानूनले बाधा दिएको देखिदैँन । मिति २०५४।६।१४ मा मानबहादुरको मृत्यु भएकोमा निजको नामको म्याद मिति २०५४।८।३० मा मात्र तामेल भएको देखिन्छ । म्याद तामेल भएपछि मात्र मुद्दा परेको जानकारी हुने हुँदा मुद्दा परेको जानकारी नहुदैँ सकार गर्न आउनु पर्ने भन्न नमिल्ने हुँदा मृत्यु भएको मितिले अ.वं. ६२ नं. बमोजिमको म्याद भित्र नथमाएको भन्ने कुरा तर्कसंगत पनि देखिएन । तसर्थ पक्षले तारिख थामी प्रतिउत्तर पत्र दर्ता गरी पाउ भनी दिएको निवेदनमा अ.वं. ६२ नं. बमोजिम गरी पाउन माग गरेको र त्यस्तोमा अदालतबाट पक्षलाई मुद्दा सकार गरी माग्न छुट्टै निवेदन दिनुपर्ने भएमा सोही व्यहोरा जनाई अर्को निवेदन लिई मुद्दा सकार गरी प्रतिउत्तर पत्र दर्ता गर्नुपर्नेमा सो नगरी म्याद गुज्रेको भनी श्रेस्तेदारले गरेको दरपीठलाई सदर गरेको जिल्ला न्यायाधीश र पुनरावेदन अदालत पाटन समेतको आदेश मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्बारा वदर गरी दिएको छ । निवेदकको सो अंशमुद्दा सकार गराई प्रतिउत्तर पत्र दर्ता गरी दिनु भनी भक्तपुर जिल्ला अदालतका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेश जारी भएको जानकारी भक्तपुर जिल्ला अदालतमा पठाई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.गोपालप्रसाद खत्री
इति सम्वत २०५७ साल असार १३ गते रोज ३ शुभम् .................।