निर्णय नं. ११४७ - जालसाजी लिखत बदर

निर्णय नं. ११४७ ने.का.प. २०३५
फुल बेञ्च
माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३३ सालको दे.फु.नं. ३१
आदेश भएको मिति : २०३५।३।१३।३ मा
निवेदक : भ.पु.जि. केलटोल बस्ने भूवनेश्वरी श्रेष्ठ
विरुद्ध
विपक्षी : हिरामान बुद्धाचार्य समेत
मुद्दा : जालसाजी लिखत बदर
(१) अघिबाट बाबु मरी पछिबाट छोरा मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
उल्लिखित मुद्दा :
फैसला
का.मु.प्र.न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक वादी भुवनेश्वेरी श्रेष्ठले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको जालसाजी लिखत मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएको हु.प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : मेरा बाजे श्यामसुन्दरका पालाको केलटोलको घर ०४७ सालमा र ८९ सालमा जिजुमानलाई बन्धकी दिएको निज परलोक भएपछि ९७ सालमा जेठा बाबु हरिसुन्दर र मेरा बाबु राम सुन्दरको बण्डा हुँदा सो घर आधा आधा भई दुवैतर्फबाट साहू बुझाउने रु.३०८५। रहेछ बण्डा भई सकेपछि आधा खाने हरिसुन्दर परलोक भई निजको छोरा हर्कसुन्दरले साहू तिर्नपर्ने रु.१५४२।५० मा रु.६६०। थप लिई जिजुमानलाई ९९ सालमा फर्छे गरी दिएको म नावालख भए पनि मेरा बाबु आमा दाजु परलोक भई अंश छोडपत्र गरे तापनि हेरविचार कान्छा बाबु न्हुछेसुन्दरले गरी आएको र मलाई कन्यादान पनि उहाँले नै गरी आएको हो तापनि मेरा बाबु रामसुन्दरको आधी घर मेरो कायम राखिदिनु भएको हुँदा बाबु ०६ सालमा परलोक भएदेखि सो घर मैले नै चलन भोग आजतक गरी आएको सो घरको ऋण जिजुमानको छोरा हिरा वज्राचार्यलाई बुझाउने कान्छा बाबुलाई भनी साहू खोजी रु.१५४२।५० रुपैयाँ रजिष्ट्रेशनमा ०२१।४।२७ गतेमा धरौट राखेको थियो । निज हिरा बज्राचार्यले मेरो हक मेटाउनको लागि धरौट नबुझी दाजु पर्ने हर्कसुन्दरसमेत मिली जालसाजीबाट सुक्री बिक्री फार्छे तमसुक खडा गरी ०२१।५।२१ गते भक्तपुर रजिष्ट्रेशनमा गई पास गरेको छन । गर्दैमा मेरो हक नजाने हुँदा जालसाजी गरे भन्ने मैले निवेदन गरेको हुँ । सो केलटोलको घर सबै हिरा बज्राचार्यका हक नपुग्ने ९९ सालमा आधी आफ्नु भाग बिक्री गरी सकेपछि आधी घरमा हर्क सुन्दरको हक नपुग्ने मैले निखनी पाउँ भनी धरौटी राखिसकेपछि मात्र जालसाजी लिखत फार्छे खडा गरी भक्तपुर गई पास गरेको अपुतालिमा ३ वर्ष भित्र निज हर्कसुन्दरले दावी र भोग चलन गर्न किन नसकेको मेरो हकको घर निजले फार्छे गरी दिंदैमा सदर नहुने हुँदा हक नपुग्ने हर्कसुन्दर दिने हिरा बज्राचार्य लिने भई जालसाजी फार्छे राजीनामा बदर गरी बन्धकी बुझाउन लगाई मेरो हक सदर गरिपाउँ भन्नेसमेत वादी भुवनेश्वरीको निवेदन बयान ।
३. वादी दावीको घर बाजेका पालाको घर हुँदा वादीका बाजेले मेरा बाबु जिजुमानलाई भोगबन्धकी दिई राखेको निज आसामी मरेपछि निखन्न पाउने व्यक्ति न्हुछेसुन्दर नहुँदा मिति अघि पछि पार्नुपर्ने अवश्यै नहुँदा जालसाज गरेको छैन । रुपैयाँ धरौट राखी न्हुछेसुन्दरले गरेको दरखास्त झुठ्ठा हो । वादीको बाबु हरिसुन्दरको हकदार अरू नभई हर्कसुन्दर भएकोले मर्नेको निजले नै काजक्रिया गरी आएको छ । रामसुन्दरको अपुताली घर वादीले भोगचलन गरेको नभई हर्कसुन्दरले भोगी आएको हुँदा निजले रुपैयाँ थप लिई रु.७०,०००। मा भक्तपुर रजिष्ट्रेशन मार्फत पास गरी दिएकोले जालसाजीबाट लिखत खडा गरेको होइन । वादीको हक पुग्नेसमेत होइन भन्नेसमेत हिरामानको प्रतिवादी बयान ।
४. वादीको बाबु रामसुन्दरको बाबु हरिसुन्दर म न्हुछे श्यामसुन्दरको छोरा हो । हामीहरूको बण्डा भएपछि ८९।१।१ गते दाजु रामसुन्दर र म मानो जोडी सँगै बसेको दाजु मरेपछि छोरा जगतबहादुर वादीलाई पालनपोषण गरी बसेको र भतिजा जगत पनि परलोक भएपछि दाजु भतिजाको दागबत्ती पिण्ड पानीसमेत मैले गरी आएको वादीको उमेर पुगेपछि मैले नै विवाह गरी दिएको बाबुको अपुतालीमा हक पुग्छ भनी वादीले र हर्कसुन्दरले छोडपत्र गरी दिएकोबाट मेरो हक भएकोले भोगी आएको केलटोलको घरमध्ये पश्चिम पट्टिको दुवै तालमा साजाबाटो २ हात लम्बाई बाहेक गरी अरू जम्मै घर पसलबाट चर्चेको लगापातसमेत जिजुमानलाई रु.३०८५। मा भोगबन्धकी दिएको बाबुको शेषपछि हर्कसुन्दरले रामसुन्दरको आधी घर पर सारी आधी रु.१५४२।५० मा थप रु.९६० लिइ मोरु.२५०२।५० मा फार्छे गरी दिएको र अघि रु.१५४३। हिरामानलाई बुझाउन जाँदा बुझी नलिएकोले का.पो.र. मा धरौट छ । मेरो एकलौटी हक भनी धरौट राखेको होइन छोडपत्र पास नभएको नाताबाट वादीले झुठ्ठा उजूर गरेको हो । वादीले आधी पाउने नपाउने के हो विचार होस धरौटी राखेको रुपैयाँ मेरै हो । वादीले राखेको होइन मसमेत भई जालसाज गरे भन्ने वादी भनाई झुठ्ठा हो भन्नेसमेत न्हुछेसुन्दरको प्रतिवादी बयान ।
५. वादीले बाबु रामसुन्दरको घरमा बसी आएको भनी वारेसनामा देखिएको वतनले पताई रहेको र छोरीले अपुताली नपाउने भन्ने कुनै कानूनमा उल्लेख भएको नदेखिएको । भुवनेश्वरीको विवाह भइसकेको हुनाले अपुतालीको २ नं. अनुसार रामसुन्दरको अपुतालीमा आधी वादीले आधी हर्कसुन्दरले पाउने ठहर्छ । बन्धकी थैली रु.३०८५। को खण्डको १ रु.७७१।३५ वादीले बन्धकी थैली बुझाएका बखत बाबुराम सुन्दरका हकको आधा घर निखनी लिन पाउने ठहर्छ भन्नेसमेत ०२३।९।४।२ को का.जि. अ.को फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी हिरामान न्हुछेसुन्दर श्रेष्ठको पुनरावेदन जिकिर । वादी भुवनेश्वरीको बाबुराम सुन्दर मरी अपुताली परेको घरमा झगडा परेको हर्कसुन्दरको आधा मात्र हक लाग्नेमा सबै हक गराई बिक्री गरेको देखियो । वादीले अपुताली माया मारेको र त्यसमा हक नभएको अंश मिसाई बसेको सबूद गुज्रन नआएकोले निजको पुनरावेदन जिकिर पनि पुग्न नसक्ने हुनाले इन्साफ सुरु का.जि. अ.को मनासिव ठहराई बागमती अञ्चल अदालतबाट ०२६।४।१५।४ मा गरेको फैसला ।
७. फिरादीका बाबु रामसुन्दरको ६ सालमा मृत्यु हुँदा निजको छोरा फिरादीका दाजू जगतसुन्दर जिवितै रही रामसुन्दरकै एकाघरमा रहेकोले बाबु मर्दा एकासंगोलको छोरा जिवितै रहेको अवस्थामा बाबु मरी अपुताली परेको भनी सो अपुतलीमा छोरीको हक पुग्ने व्यवस्था तत्काल प्रतलित अपुतालीको २ नं. ले गरेको नहुनाले रामसुन्दरको अपुतालीमा छोरी भुवनेश्वरीको हक पुग्ने अवश्यै परेन । बाबु मरेपछि दाजु मर्दा पर्नआएको अपुतालीमा यो कानूनको आधारमा मेरो हक लाग्ने हुँदा कायम गरिपाउँ भनी उजूर गरी हक सधाई दिएको पनि देखिन आएन । पहिला बाबु मेरी त्यसपछि छोरा मरी अपुताली परेकोमा त्यो अपुताली बाबुको छोरीले नपाउने कुरा तत्काल प्रचलित अपुतालीको ५ नं. मा उल्लेख भएकोले वादीका बाबु रामसुन्दर पहिले र निजका छोरा फिरादीका दाजु फिरादीको हक पुग्ने देखिन आएन । ४ भागको १ भाग भुवनेश्वरीले निखन्न पाउने ठहराएको सुरु र अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । अपुताली मेरो हक भएको भन्ने वादीको दावी साँचो नदेखिनाले अपुतालीको नाताबाट घर निखन्न पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत डिभिजन बेञ्चबाट ०२८।१२।७ मा निर्णय भएको रहेछ ।
८. निवेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले प्रधान न्यायालयबाट ९ सालमा भएको फैसलाबाट वादीको भोग रहेको भन्ने प्रमाणित हुन्छ यसरी हक भोग गरिरहेको कुरामा विपक्षीको हक भए उजुर गरी हक भोग प्राप्त गर्न सक्नुपर्ने सो सकेको देखिएन । १५ वर्षपछि मात्र हटक गर्न जालसाजी गरी बिक्री गरेकोले गरिपाउँ भन्नेसमेत र विपक्षी प्रतिवादी हिरामान बुद्धाचार्यतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले निवेदकले स्याहार संभार गरेको भए अपुतालीको ७ नं. ले चल सम्पत्तिसम्म पाउने देखिन्छ । स्याहार संभार गरेको पनि छैन । वादीको दाजु मरेको भन्ने उल्लेख गरेको छ । दाजुको अपुताली दिदी बहिनीले नपाउने हुँदा दावी कायम हुन सक्दैन भन्नेसमेत वहस प्रस्तुत गर्नु भएको छ ।
९. यसमा निर्णयतर्फ विचार गर्दा मेरा बाजे श्याम सुन्दरको पालामा का.केलटोलको घर जिजुमान वज्राचार्यसँग कर्जा लिई ८९ सालमा बन्धकी दिएको रहेछ । बाजे परलोक भएपछि ९७ सालमा जेठा बाबु हरिसुन्दर र मेरा बाबु रामसुन्दरको आधा घर बण्डा भइसकेपछि आधा भाग खाने हरिसुन्दर परलोक भई निजको छोरा हर्कसुन्दरले आधी साहू तिर्नुपर्नेमा थप लिई अघिल्लो साहू जिजुमानलाई ९९ सालमा फार्छे गरी दिएको सो अवस्थामा म नावालख भए पनि मेरा बाबु आमा दाजुसमेत परलोक भइसकेको अंश छोडपत्र गरे तापनि कान्छा बाबु न्हुछेसुन्दरले नै मेरो हेरविचार गरी कन्यादानसमेत गरी दिएको बाबु रामसुन्दरको हक आधी घर मेरो कायम राखी दिनुभएको हुँदा बाबु २००६ सालमा परलोक भएदेखि सो घर मैले नै चलन भोग गरी आएको घरको ऋण जिजुमानको छोरा हिरा वज्राचार्यलाई बुझाउन रजिष्ट्रेशनमा धरौट राखेको थियो सो धरौट नबुझी हर्कसुन्दरसमेत मिलेमतो गरी मेरो हकको घरसमेत जालसाजीबाट सुक्री बिक्री गरी हर्कसुन्दर दिने हिरा वज्राचार्यलाई लिने गरी जालसाजबाट गरेको फार्छे राजीनामा बदर गरी बन्धकी थैली बुझ्न लगाई मेरो हक सदर गरिपाउँ भन्नेसमेत वादीको मुख्य दावी भएकोमा बाबु मरी परेको अपुताली हक भएको भन्ने वादीको दावी साँचो नदेखिनाले अपुताली नाताबाट सो घर निखन्न पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत डिभिजन बेञ्चबाट ०२८।१२।७ मा निर्णय भई राखेकोसमेत देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा मुख्य वादीको बाबु रामसुन्दर मरी विवादको घर अपुतालीबाट वादीको हक हुन आएको छ छैन भन्ने कुरामा नै निर्णय गर्नुपर्ने हुन आएको छ । तत्सम्बन्धमा विचार गर्दा वादीको वादी बयानमा बाबु–आमा दाजुुसमेत परलोक भइसकेको अंश छोडपत्र गर्ने कान्छाबाबु न्हुछेसुन्दरले हेरविचार गरी कन्यादानसमेत गरिदिएको भन्ने उल्लेख गरेको र हाल मुद्दा दोहर्याइपाउँ भनी श्री ५ महाराजाधिराजका हजुरमा वादीले चढाएको निवेदनपत्रमा बाबु मरी दाजू पनि बाबुको ४५ दिनको काममात्र सिद्दिई परलोक भएको भन्ने उल्लेख गरेकोबाट वादीको बाबु मर्दा निजको छोरा वादीको दाजु जीवित रहेको भन्ने देखिएको छ । तत्कालिन मुलुकी ऐन अपुतालीको ५ नं. मा हकवालाहरू ऐनले संगबसेको ठहर्नेमा अंश नभएको धन हुनाले एउटाले मात्र आफ्नी छोरीलाई मात्र लेखिदिन हुँदैन । ती सबै मरी अपुताली पर्यो भने सबैको छोरीहरूले ऐनबमोजिम बाँडी खान पाउन ऐनले वेग्लै बसेको भए पनि आधी बाबु मरी पछिबाट छोरा मरी अपुताली परी त्यो अपुताली बाबुका छोरीले पाउँदैन । छोराका छोरीको हुन्छ । अघिबाट छोरो मरी पछिबाट बाबु मरी अपुताली परेको भए त्यो अपुताली बाबुका छोरीले पनि छोराका छोरीले पनि ऐनबमोजिम बाँडी खानु यिनीहरूबाहेक अरूको भए पछीबाट जुन मरी अपुताली पर्छ उसै तिरका छोरीहरूले मात्र बाँडी खान पाउँछन । अघिबाट मर्नेका छोरीहरूले पाइदैन भन्ने उल्लेख भएको देखिन्छ । सो कानूनी व्यवस्थाबाट अघिबाट बाबु मरी पछीबाट छोरो मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने भएको र प्रस्तुत मुद्दामा पनि वादीले बाबुको अपुतालीबाट हक भएको भन्ने देखाई दावी लिएको तर वादीको बयान निवेदनबाट पहिले वादीको बाबु मरेको पछि मात्र वादीको दाजु मरेको भन्ने देखिएको हुँदा वादीको बाबु मरेपछि त्यसबखत जीवित रहेको वादीको दाजुको अपुताली हक हुने र वादीको अपुताली हक नदेखिएको वादीको बाबु रामसुन्दर र निजको छोरासमेत परलोक भएकोबाट निज रामसुन्दरको दाजु हरिसुन्दरको छोरा हर्कसुन्दर तीन पुस्ता भित्रको हकदारसमेत देखिएकोले अपुताली हक भएको भन्ने वादीको दावी साँचो नदेखिँदा अपुतालीका नाताबाट घर निखन्न पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको ०२८।१२।७।२ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ अरू तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
निवेदक वादी भुवनेश्वरी श्रेष्ठकै माथी इन्साफ खण्डमा देखिएबमोजिम इन्साफ सदर भएकोले मुद्दा दोहर्याए वापत सुरु फैसलाले लाग्ने गरेको कोर्टफी रु.३८।४७ को कोर्टफी ऐन, २०१७ को दफा १९ (२) ले सयकडा १० को दरले लाग्ने कोर्टफी रु.३।८४ पछि मुद्दा किनारा हुँदा ठहरेबमोजिम हुनेगरी हाल पक्राउ नगर्नु भन्ने भएका आदेशानुसार कोर्टफी नरही दायर भएकोले उक्त कोर्टफी रु.३।८४ निज वादीलाई लाग्छ रुजु हुँदा कानूनबमोजिम असुल गरी का.जि. अ.त.मा लगत दिने...............१
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल आषाढ १३ गते रोज ३ शुभम् ।