शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९३२ - अंश

भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२

ने.का.प. २०६९,            अङ्क १२

निर्णय नं.८९३२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

०६६CI१०१६

फैसला मितिः २०६९।३।२०।४

 

मुद्दाःअंश 

 

पुनरावेदक प्रतिवादीः कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं. ११ फूलवारी बस्ने वर्ष ४६ की   बुद्धिकुमारी गुरुङ्ग

विरुद्ध

प्रत्यर्थी वादीः कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं १० वस्ने धनप्रसादको छोरा वर्ष २८ को             सन्तोष गुरुङ्ग

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री पवनकुमार शर्मा

पुनरावेदन फैसलाः

मा.न्या.श्री खेमराज शर्मा

मा.न्या.श्री चोलेन्द्र शमशेर ज.व.रा.

 

§  हालैको बकसपत्र भन्ने र राजीनामा भन्ने कुरा स्वाभावैले हक हस्तान्तरण गर्ने सम्बन्धी भिन्नभिन्न किसिमका तरिका भएकाले एउटा तरिकाको लिखतबाट अर्को लिखतको प्रयोजन हासिल हुन नसक्ने 

§  रजिष्ट्रेशन गर्ने प्रयोजनार्थ नगद लिएको कुरा लेखिएको भन्ने कुरालाई मात्र आधार मानी दातालाई सहयोग गरी खुशी तुल्याई जग्गा बकस पाएको अस्तित्वलाई अनदेखा गरी त्यसरी पाएको जग्गालाई खरीद गरी लिएको भन्ने अर्थ गरी उक्त जग्गा बण्डा लाग्ने सम्पत्ति हो भनी निष्कर्षमा पुग्न नमिल्ने 

§  बकसपत्र मूल्य वेगरै दिइने र त्यस्तो प्राप्त गर्नेले पनि निजी रूपमा प्रयोग गर्न पाउने हुँदा यस्तो सम्पत्ति अंशियारहरू बीच बण्डा समेत लाग्न नसक्ने 

(प्रकरण नं.४)

§  राजीनामा र बकसपत्रको दुवै लिखतलाई रजिष्ट्रेशन पारित गर्ने ढाँचा एकै किसिमको रहेको कारणबाट जनसाधारणको सम्पत्ति भोगचलन गर्ने साम्पत्तिक अधिकारमा कानूनी जटिलता र द्विविधा सिर्जना गर्ने गरेकोले यस्ता जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्तिको अधिकारको प्रमाणका रूपमा रहने राजीनामा र बकसपत्र लिखतलाई राजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि भिन्नभिन्न ढाँचा प्रयोगमा ल्याउनु भनी मालपोत विभागका नाममा निर्देशनात्मक आदेश जारी हुने 

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद सुवेदी र गोपाल शर्मा सापकोटा

प्रत्यर्थी वादीको तर्फबाटः विद्वान अधिवक्ताद्वय जयनारायण पौडेल र सन्तोषकुमार पाण्डे

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, अंशबण्डा महलको १८ नं.

§  रजिष्ट्रेशनको १ नं.

 

फैसला

न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत कास्कीको मिति २०६५।१२।५।४ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन २०४८ को दफा १२ बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहाय बमोजिम छ :

            विपक्षी हजुरबुबा मीनबहादुर गुरुङ्ग, हजुरआमा चन्द्रकुमारी गुरुङ्गको कोखबाट काका तयन प्रसाद गुरुङ्ग, फुपू चिनकुमारी गुरुङ्ग, शारदा गुरुङ्ग र मेरा पिता धनप्रसाद गुरुङ्गको जायजन्म भएकोमा मेरा पिताको २०४४।११।२९ मा मृत्यु भएको हो । पिता र मेरी आमा मनादेवी गुरुङ्गको दाम्पत्य सम्बन्धबाट म सन्तोष गुरुङ्गको २०३८।४।१९ मा जन्म भै मिति २०४४।८।१४ मा आमा मनादेवी र पिताबीच यसै अदालतबाट छोडपत्र गरी वस्नु भएकोमा पिताले कान्छीआमा बुद्धिकुमारीसंग विवाह गरी उहाँतर्फबाट एक वहिनी सुस्मिताको जन्म भएको छ । फुपू शारदा, म र वहिनी सुस्मिताको विवाह हुन वाँकी छ 

            बुबाको मृत्यु भएको, आमाले पहिला नै छोडपत्र गरी वस्नु भएकाले घरमा राम्रो वातावरण नपाउँदा मैले राम्रोसँग पढन लेख्न सकिन । हाल केही व्यवसाय गर्नुपर्ने ठानी २०६२।४।१ को दिन घरमा विपक्षीमध्येका हजुरबुबा तथा हजुरआमा र काका समेतसंग पिताको भागबाट पाउनु पर्ने मेरो भागको अंश माग्दा विपक्षीहरूले अंश दिन्नौ जानेको गर भनी एकै स्वरमा भनेकोले वाध्य भै अदालतको शरणमा आएको छु । आजका मितिसम्म हामीहरूको बण्डापत्र भएको छैन । बण्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरूको जिम्मामा छ । अंशबण्डाको २०,२१,२२,२३ र २४नं समेतका आधारमा विपक्षीहरूबाट तायदाती फाँटवारी मागी फिराद परेको अघिल्लो दिनलाई मानु अलग भएको मिति कायम गरी सम्पूर्ण श्री सम्पत्तिबाट विवाह हुन बाँकी फुपू शारदा, म फिरादी तथा वहिनी सुस्मिताको विवाह खर्च परसारी मूल रूपमा विपक्षीहरू मध्येका मीनबहादुर १, चन्द्रकुमारी १, तयनप्रसाद १, शारदा गुरुङ्ग १ तथा पिता धनप्रसाद १ समेत गरी मूल अंशियारा ५ जना कायम गरी सोमध्ये पिताको १ अंशलाई म फिरादी १, विपक्षी कान्छीआमा बुद्धिकुमारी १ र वहिनी सुस्मिता १ समेतको ३ भाग लगाई सो ३ भागमध्येबाट मेरो १ भाग अंश छुट्याई दिलाई भराई न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र 

            म प्रतिवादी मीनप्रसाद भारतीय सेनामा भर्ती भई पेन्सनमा आएको हुँ । म पेन्सनमा आउँदाको अवस्थामा नै वादीका पिता धर्मप्रसाद गुरुङ्गलाई भर्ती गराई आएको हुँ । वादीका पिता धनप्रसाद र निजकी आमा मनादेवी गुरुङ्गको बीचमा सम्बन्धविच्छेद भएको हो । सम्बन्धविच्छेद पश्चात् विपक्षीका पिता धनप्रसाद प्रतिवादीमध्येकी बुद्धिकुमारीलाई लिई सबै परिवारसँग छुट्टी भिन्न भै अलग बसेका हुन् । बुद्धिकुमारीसंग विवाह भएको कारण नै सम्बन्धविच्छेद भएको हुन सक्दछ । धनप्रसाद गुरङ्गको भारतीय सेनामा कार्यरत् रहेकै अवस्थामा मिति २०४४।११।२९ मा मृत्यु भएको हो । हाम्रो वास्तविक घर पर्वत जिल्लामा पर्दछ । हाम्रो भएको पैतृक सम्पत्ति जे छ पर्वतको भुकताङले गा.वि.स.मा नै छ । विपक्षीका पिता भारतीय सेनामा कार्यरत् हुँदाको अवस्थामा नै मृत्यु हुन गएकोले तत्कालीन अवस्थामा उसले पाउनु पर्ने तलव सञ्चयकोष, क्षतिपूर्ति (रहेलपहेल) र १५ वर्षसम्म प्राप्त हुने तलव र सो पछि प्राप्त हुने पेन्सन समेतको रकम वादीको बाबु धनप्रसादले बुझेको हो । अंश समेत विपक्षी वादी र निजकी सानीआमा बुद्धिकुमारीले समान रूपमा बुझी आमा बुद्धिकुमारीका नाउँमा जग्गा किनेर घर वनाई वसी आएका हुन् । विपक्षीले आफ्नो भागको पैसा के गरे थाहा भएन । गुरुङ्ग जातिको संस्कारअनुसार मैले विपक्षीको बाबुको मृत्यु संस्कार अर्घौमा खर्च भएको पैसा र विष्णु गुरुङ्गलाई तिरी दिएको क्रमशः ३२,०००। र ४५,०००। रूपैया तिमीहरूले दिनुपर्छ ल्याउ भनी माग्दा सो दिनुपर्छ भन्ने ठानी सो खाने पचाउने उद्देश्यबाट मात्र यो झूठा मुद्दा दिएका हुन् विपक्षी वादीलाई हामीले अंश दिनुपर्ने होइन 

            प्रतिवादीमध्येको म तपप्रसाद गुरुङ्ग, शारदा गुरुङ्ग र चन्द्रकुमारी गुरुङ्गले वादीलाई अंश दिनुपर्ने होइन । वादीका पिता धनप्रसाद गुरुङ्गको मृत्युपश्चात् निजले पाउने तलव भारतीय कानूनअनुसार म धनप्रसादकी आमा चन्द्रकुमारीले पाउनु पर्ने हो । छोरा धनप्रसाद पहिले नै छुट्टी भिन्न भई आफ्नो अंश लिई अलग वसेकाले निजको मृत्युपश्चात् मैले लिन नैतिक रूपमा नमिल्ने हुँदा निजकै छोरा वादीलाई दिएको हो । विपक्षीले अंश लिई भिन्न वसेको समेत हुँदा प्रस्तुत फिराद खारेज गरिपाऊँ । विपक्षीको बाबु धनप्रसाद जीवित हुदै छुट्टी भिन्न भै आफूले प्राप्त गरेको अंशको सम्पत्तिबाट विपक्षीकी सानीआमा प्रतिवादी बुद्धिकुमारीले आफ्नो नाउँमा जग्गा किनी वसिआएकी छन् । म मीनबहादुर भारतीय सेनामा हुँदा केही मेरो कमाई र म चन्द्रकुमारीले आफ्नो पेवाबाट खरीद गरेको निजी आर्जनको सम्पत्ति स्त्री अंशधनको २, ५ नं ले अंश दिनु पर्दैन सो वाहेक म चन्द्रकुमारीसंग केही पनि छैन भने म मीनबहादुरसँग भएको पैतृक सम्पत्ति पर्वत भुकताङले गा.वि.स.मै छ । सो वाहेक अन्य सम्पत्ति मसँग केही छैन । हामीउपर प्रस्तुत फिराद दिन अ.व. ८२ नं ले विपक्षी वादीलाई अधिकार छैन । प्रस्तुत फिराद अंशबण्डाको ३० नं को प्रतिकूल हुँदा खारेज गरिपाऊँ । इन्साफै हुने हो भने पनि वादीको बाबुले म मीनबहादुरबाट अंश लिई भिन्न बसी आफ्नो खतिउपति गरी वसेको संलग्न कागज एवं विपक्षीकी सानीआमाले गरेको मिलापत्रबाट समेत देखिंदा हामीहरूको हकमा अंश पाऊँ भन्ने विपक्षी वादीको दावीबाट अलग फुर्सद गराई पाऊँ भन्ने समेत व्यहोराको मीनबहादुर गुरुङ्ग समेतको प्रतिउत्तर पत्र 

            मेरा पतिसँग मिति २०३५।१०।१२ मा विवाह भई घरवार भएपछि श्रीमान् भारतीय सेनामा भर्ना भई कार्यरत् रहँदा म संयुक्त परिवारसँग मिली बसी आएकी थिएँ । सबै व्यवहार बाजे बज्यैले गर्दै आउनु भएको हो । पतिले कमाएको रकम सबै बजै चन्द्रकुमारी र बाजे मीनबहादुरको हातमा दिँदै आउनु भयो । मेरा पतिको २०४४।११।२९ मा मृत्यु हुँदा म गर्भिणी अवस्थामा थिएँ । मिति २०४५।३।२१ मा छोरीको जन्म भएको हो । छोरी जन्मेको ११औं दिनमा मेरी आमा मलाई भेट्न भनी पर्वत माइतबाट आएको अवस्थामा अन्य प्रतिवादीहरूले संयुक्त रूपमा म र मेरी छोरीलाई घरमा खान बस्न नदिई निकालेकाले माइती घरमा गै माइतीकै आड भरोसामा छोरीलाई हेरचाह गरी वसेको अवस्था छ । छोरी सुस्मिता ४ वर्षकी भएपछि घर जाँदा बस्न नदिएकाले पोखरा उ.म.न.पा.वडा नं. २ फूलवारी स्थित माइतीको सहयोगमा बस्दै छोरीलाई पठनपाठन गराउदै आएकी छु । अंश लाग्ने सम्पत्ति मेरो जिम्मामा छैन । यस अवस्थामा विपक्षी वादीले म समेतसँग अंश माग्ने आधार केही छैन । मेरो निजी आर्जन बाहेक अन्य पैतृक सम्पत्ति मेरो जिम्मामा छैन । भएको पैतृक सम्पत्ति सबै बाजे बज्यै समेतका घरपट्टिका व्यक्तिहरूसंग भएको जानकारी हुँदाहुदै मसंग अंश माग्न मिल्दैन । मैले पाउने अंशको सम्पत्ति पनि अन्य प्रतिवादीहरूसंगै छ । २०४५ सालदेखि अन्य प्रतिवादीहरू समेतले म र मेरी छोरीलाई घरबाट जवर्जस्ती निकाला गरेकाले माइतीको शरणमा बसी आएकी र पैतृक सम्पत्ति समेत मेरा नाउँमा नभएको अवस्थामा मबाट वादीले अंश प्राप्त गर्ने अवस्था नहुँदा झूठा फिराद दावीबाट अलग फुर्सद पाऊँ भन्ने समेत व्यहोराको बुद्धिकुमारी गुरुङ्गको प्रतिउत्तर पत्र 

            प्रतिवादीका साक्षीको वकपत्र भई मिसिल संलग्न रहेको रहेछ 

            बाजे मीनबहादुर गुरुङ्ग समेतसंगबाट ५ भागको १ भाग बुबाको भागमध्येबाट मैले १ भाग आमा बुद्धिकुमारीले १ भाग र दाइ सन्तोषले १ भाग अंश पाउने हो भन्नेसमेत व्यहोराको अ.व. १३९ नं. बुझिएकी सुस्मिता गुरुङ्गले गरेको बयान 

            वादी प्रतिवादीबाट अंशको तायदाती फाँटवारी पेश भै मिसिल संलग्न रहेछ 

            यसमा वादी प्रतिवादीको बीचमा नातामा विवाद नभएको, वादीले अंश लिई छुट्टी भिन्न भएको भन्ने आधार प्रमाण प्रतिवादी पक्षबाट पेश दाखिला हुन नसकी एकासँगोलमा बसेको देखिएको र यस अदालतका मिति २०६३।०१।२७ को आदेश यथावतै कायम रहेकोले वादीका बाबु धनप्रसाद गुरुङ्गले अंश वुझेको भन्ने पुष्टि नहुँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिंदा तायदाती फाँटवारीमा उल्लिखित श्रीसम्पत्तिमध्ये प्रतिवादी चन्द्रकुमारी गुरुङ्गका नाउँमा कि.न. ५१९७ र कि.नं १२२५ को जग्गा बण्डा नलाग्ने भनी प्रतिवादीहरूले आ(आफ्नो हकमा जिकीर लिएतापनि सो पुष्टि गर्न नसकेकोले उक्त दुवै फाँटवारीमा उल्लिखित सम्पत्ति बण्डा लाग्ने देखिंदा उक्त सम्पत्तिबाट प्रतिवादी शारदा गुरुङ्गको विवाह खर्च परसारी बाँकी सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई ५ भागको १ भाग वादीका बाबु धनप्रसाद गुरुङ्गका नाउँमा पर्ने सम्पत्तिबाट वादी सन्तोष गुरुङ्ग र वुझिएकी प्रतिवादी सुस्मिता गुरुङ्गको विवाह खर्च परसारी उक्त सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग फिराद माग दावीबमोजिम प्रतिवादीबाट वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको कास्की जिल्ला अदालतबाट भएको मिति २०६४।०२।२७।१ को फैसला 

            विपक्षीका बाबुको मृत्युपश्चात् निजले पाउने रकम, सञ्चयकोष, क्षतिपूर्ति एवं पेन्सन समेतको रकममा कुनै दृष्टि दिइएन । म चन्द्रकुमारी गुरुङ्गले आफ्नो दाइजो पेवाबाट खरीद गरेको कि.न. ५१९७ र कि.नं १२२५ समेतका जग्गा बण्डा लाग्ने गरी भएको फैसला गम्भीर त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको चन्द्रकुमारी गुरुङ्ग समेतले पुनरावेदन अदालत पोखरामा दिएको पुनरावेदन 

            मैले हा.व. गरी लिएको कि.नं. ४०८७, ४०८९ को जग्गा र सो जग्गामा बनेको घर समेत बण्डा लाग्ने गरी भएको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको बुद्धिकुमारी गुरुङ्गले पुनरावेदन अदालत पोखरामा दिएको पुनरावेदन पत्र 

            यसमा हालैको बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको सम्पत्ति समेत बण्डा लगाएको शुरुको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको आदेश 

            यसमा वादी सन्तोष गुरुङ्गका बाबु तथा प्रत्यर्थी प्रतिवादी बुद्धिकुमारी गुरुङ्गका स्व. पति धनप्रसाद गुरुङ्ग भारतीय सैनिक सेवामा कार्यरत् रहेकै अवस्थामा मृत्यु भएको र निजको मृत्युपश्चात निजले पाउने पेन्सनलगायतका अन्य सुविधाको कसले, कहिले, के कति प्राप्त गरेका हुन् सम्पूर्ण विवरण पुनरावेदकहरू र प्रत्यर्थी दुवै पक्षबाट अ.व. १३३ नं बमोजिम कागज गराई भए सोको प्रमाण समेत पेश गर्न लगाई पुरानो मुद्दा हुँदा १५ दिनभित्र कार्य सम्पन्न गरी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराबाट भएको आदेशानुसारको कागज गराउने कार्य सम्पन्न भई मिसिल संलग्न रहेको 

बुद्धिकुमारी गुरुङले कि.नं. ४०८७ र ४०८९, चन्द्रकुमारी गुरुङले कि.नं. ५१९७ र १२२५ समेतका जग्गा बण्डा गर्न कर लाग्ने जग्गाहरू होइन अंशबण्डाको १८ नं. तथा स्त्री अंशधनको १ र ५ नं. ले बण्डा गर्नु नपर्ने निजी आर्जनका हुन् भनी दावी लिएको देखिन्छ । चन्द्रकुमारी गुरुङ समेतका प्रतिवादीहरूले उक्त जिकीर लिएतापनि सो कुरालाई पुष्टि गर्ने दह्रो प्रमाण निज प्रतिवादीहरूले पेश गर्न सकिरहेको अवस्था नहुँदा तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण चलअचल सम्पत्ति बण्डा लाग्ने नै देखिन आयो । उक्त सम्पत्तिबाट प्रतिवादी शारदा गुरुङ्गको विवाह खर्च परसारी वाँकी सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई ५ भागको १ भाग वादी सन्तोष गुरुङका बाबु धनप्रसाद गुरुङको भागमा पर्ने सम्पत्तिबाट वादी सन्तोष गुरुङ्ग र अ.वं. १३९ नं. अनुसार बुझिएकी प्रतिवादी सुस्मिता गुरुङको विवाह खर्च परसारी उक्त सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग फिराद माग दावीबमोजिम प्रतिवादीबाट वादीले अंश पाउने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको मिति २०६४।२।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०६५।१२।०५।४ को फैसला 

मिति २०५०।२।१७ मा मितदिदी शीला गुरुङ दिने र म मितवहिनी बुद्धिकुमारी गुरुङ लिने गरी निजी तवरले हा.व. गरी प्राप्त गरेको कि.नं. ४०८७ र कि.नं. ४०८९ समेतका जग्गा र सो जग्गामा आफ्नै आर्जनले बनाएको घर समेत बण्डा लगाउने गरी गरेको फैसला अंशबण्डाको १८ नं. को कानूनी व्यवस्थाप्रतिकूल छ । अंशबण्डाको १८ नं. र स्त्री अंशधनको कानूनी व्यवस्थाको सन्दर्भ र सापेक्षतालाई समेत हेरी कुनै पनि अंशियारको नाउँमा रहेको सम्पत्ति पैतृक वा निजी आर्जनको आफूखुश गर्न पाउने हो वा होइन भन्ने कुराको निरोपण नै नगरी गरिएको उक्त फैसला गम्भीर त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बुद्धिकुमारी गुरुङले यस अदालत दायर गरेको निवेदन 

      यसमा दावीको कि.नं. ४०८७ र ४०८९ को जग्गा निवेदिका बुद्धिकुमारी गुरुङले आफ्नो मीत नाताकी दिदी शीला गुरुङबाट मिति २०५०।२।१७ मा हालैको बकसपत्रबाट पाएको भन्ने उक्त मितिको पारित लिखतबाट देखिँदा त्यस्तो निजी तवरबाट बकस पाएको जग्गा अंशबण्डाको महलको १८ नं. बमोजिम पाउनेको निजी ठहरी आफूखुश गर्न पाउने र बण्डागर्न कर नलाग्ने प्रकृतिको जग्गा भएको देखिएकोले सोमा वादीलाई अंश दिलाउने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसलामा अंशबण्डाको महलको १८ नं., अ.वं. १८४ क.नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दामा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्ने मिति २०६७।२।७।६ को आदेश 

यस अदातलबाट भएको उल्लिखित मितिको आदेशअनुसार प्रस्तुत मुद्धा पुनरावेदनको रूपमा दर्ता हुन आएको 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय हरिप्रसाद सुवेदी र गोपाल शर्मा सापकोटाले प्रतिवादी बुद्धिकुमारी गुरुङले बकसपत्रबाट प्राप्त गरेका जग्गा र सोमा आफ्नै आर्जनले बनाएको घर बण्डा नहुने कानूनी व्यवस्था रहँदारहँदै उक्त घर जग्गा बण्डा लगाउने गरी भएको शुरु एवं पुनरावेदन अदालत पोखराबाट भएको फैसला अंशबण्डाको १८ नं. विपरीत छ । बकसपत्रको लिखित व्यहोरामा सहयोग गरेबापत हालैको बकसपत्र दिएको भन्ने स्पष्ट उल्लेख हुँदाहुँदै उक्त सम्पत्ति बण्डा लाग्ने गरेको फैसला बदरभागी हुँदा बदर हुनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय जयनारायण पौडेल र सन्तोषकुमार पाण्डेले वादी प्रतिवादीहरू बीच अंशबण्डा भएकै छैन । एकासगोलमा रहेको अवस्थामा तायदातीमा आएको सम्पत्ति बण्डा नलाग्ने भन्ने हुँदैन । प्रतिवादीले बकस लिएको भनी जिकीर लिइएका जग्गाहरू नगद तिरी खरीद गरी लिएका जग्गा हुँन । बकस पत्र लेखिदैमा बकसपत्रबाट पाएको भन्न नमिल्ने हुँदा शुरु एवं पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो 

उल्लिखित बहस सुन्नुका साथै मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी शुरु कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ, छैन ? र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा नै हेरी इन्साफ दिनुपर्ने देखियो 

२. यसमा हालसम्म हामीहरू बीच बण्डा भएको छैन । पिताको स्वर्गवास भई सकेको छ । बण्डा हुनुपर्ने सम्पत्ति विपक्षी जिम्मा हुँदा म समेतको विवाह खर्च परसारी पिताको कायम हुने अंश भागमध्येबाट ३ भाग लगाई सोको १ भाग अंश पाऊँ भन्ने वादीको फिराद जिकीर देखिन्छ । वादीका पिताले निधनपूर्व नै आफ्नो भागको अंश लिई छुट्टि भिन्न भैसकेका हुन । निजी आर्जनको सम्पत्तिबाट वादीलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकीर देखिन्छ । हालैको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति पनि बण्डा लगाउने गरी भएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण भएकोले दोहोर्‍याई हेरिपाऊँ भनी प्रतिवादी बुद्धिकुमारी गुरुडको निवेदनमा मुद्दा दोहोर्‍याइ दिन निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दर्ता हुँन आएको देखियो 

३. अन्य प्रतिवादीहरूले वादीले वादी दावीबमोजिम अंश पाउने भन्ने शुरु र पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई नै बसेका र निजी आर्जनको सम्पत्ति समेतमा बण्डा लगाउने गरेको हदसम्म उक्त फैसला दोहोर्‍याई हेरी पाऊँ भनी ०६६-RI-१२१५ को निवेदक प्रतिवादी चन्द्रकुमारी गुरुङ्ग र विपक्षी वादी सन्तोष गुरुङ्ग भई यसै लगाउको रूपमा दायर भएको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्न मिलेन भनी आदेश भैसकेको छ 

४. अव पुनरावेदिका बुद्धिकुमारीले लिएको पुनरावेदन जिकीरको सम्बन्धमा इन्साफतर्फ विचार गर्दा, आफूले हालैदेखिको बकसपत्रबाट प्राप्त गरेका जग्गाहरूबाट समेत वादीले अंश पाउने भनी गरेको शुरु र पुनरावेदन अदालतको इन्साफ पुनर्विचार हुनुपर्ने भन्ने नै प्रतिवादीको पुनरावेदन जिकीर देखिन्छ । वादीका पिता तथा यी प्रतिवादीका पति स्व. धनप्रसादतर्फका यी वादी प्रतिवादी र यिनै प्रतिवादीबाट जन्मेकी छोरी गरी ३ जना अंशियार भएको भन्ने कुरामा विवाद देखिदैन । यी प्रतिवादी वादीकी सौतेनी आमा भएकीमा पनि विवाद देखिदैन । आफूलाई सासू ससुरा समेतले घरबाट निकालेकाले माइतीमा बस्दै आएकी र आफूसँग हालैको बकसपत्रबाट पाएको सम्पत्ति वाहेक वादीलाई अंश दिनुपर्ने, कुनै सगोलको सम्पत्ति नभएको भन्ने यी प्रतिवादीको जिकीर रहेको देखियो । यी प्रतिवादीले शुरु कास्की जिल्ला अदालतमा मिति २०६३।०२।१८ मा पेश गरेको तायदाती फाटवारीमा उल्लिखित कि.नं. ४०८७ र कि.नं. ४०८९ का जग्गाहरू बकसपत्रबाट प्राप्त गरेकाले आफूखुश गर्न पाउने सम्पत्ति हुँदा सो बण्डा गर्न कर नलाग्ने भन्ने देखिन्छ । उक्त जिकीरलाई पुष्टि गर्ने सन्दर्भमा प्रतिवादीले मिति २०५०।२।१७ मा र.नं. ७५५९ बाट पारित बकसपत्र लिखतको फोटोकपी प्रमाणस्वरूप पेश गरेको देखिन्छ । दिने शीला गुरुङ्ग र लिने बुद्धिकुमारी गुरुङ्ग भएको हालैको बकसपत्र लिखतको मुद्रित व्यहोरा (Printed Matter) मा नगद रु.१९,००० (उन्नाईस हजार) घरसारमा बुझी लिखतबमोजिमको अचल सम्पत्ति हालैको बकसपत्र गरिदिएको भन्ने व्यहोरा लेखाएको देखिन्छ । सोही लिखतको हक छाडिएको अचलसम्पत्तिको विवरणमा मेरा नाउँमा जग्गाधनी प्रमाणपूर्जा भएको रोक्का धितोमा नपरेको उल्लिखित जग्गा मित नाताबाट वैनी तपाई बुद्धिकुमारी गुरुङले मलाई व्यवहारमा सहयोग गरिआएबापत हालैको बकसपत्र लेखिदिया भन्ने व्यहोरा लेखिएको समेत देखिन्छ । पोखरा उपनगरपालिकाभित्रको ५ आना भन्दा बढी जग्गा लिखतमा लेखिएको रु.१९,००० (उन्नाईस हजार) मात्रमा खरीद गर्न सकिने कुरालाई समान्य रूपमा नै अनुमान गर्न सकिदैन । फेरि पारित लिखतमा हालैको बकसपत्र लेखिँदालेखिदै प्रतिवादीले उक्त जग्गाहरू नगद रकम तिरी राजीनामाबाट खरीद गरेका हुन् भनी यथार्थ प्रमाण विना भन्न समेत सकिने हुँदैन । हालैको बकसपत्र भन्ने र राजीनामा भन्ने कुरा स्वाभावैले हक हस्तान्तरण गर्ने सम्बन्धी भिन्नभिन्न किसिमका तरिकाहरू हुन् । यी तरिकामध्ये एउटा तरिकाको लिखतबाट अर्को लिखतको प्रयोजन हासिल हुन सक्दैन । जग्गाजमिन जस्तो अचल सम्पत्ति हक हस्तान्तरण गरी लिँदादिँदा रकम तिरी खरीद गरी लिइन्छ भने सोको सम्बन्धमा राजीनामाको लिखत खडा गरिन्छ र कसैलाई सेवा टहल गरी रिझाए बापतमा कुनै मूल्य नलिई अचल सम्पत्ति हक हस्तान्तरण गरी सोको प्रमाणस्वरूप खडा गरिने कागजलाई बकसपत्रको लिखत भनिन्छ । कसैबाट निजी तवरले दान वा बकस पाई बकसपत्रको लिखत गरी हक हस्तान्तरण गरी दिएको अचल सम्पत्ति पाउनेको निजी सम्पत्ति हुने भै कसैलाई अंशबण्डा गरी दिन कर नलाग्ने भनी अंशबण्डाको १८ नं. ले स्पष्ट व्यवस्था गरेको देखिन्छ । उक्त कानूनी व्यवस्थाले त्यस्तो बकसबाट पाएको सम्पत्तिलाई अंशबण्डा गर्ने सम्पत्तिबाट वाहेक गरेको देखिन्छ । यी प्रतिवादी वादी सरहकै अंशियार देखिएको र निजले पाएको हालैदेखिको बकस पत्र लिखतमा उल्लिखित सम्पत्तिबाट वादीले अंश पाउनुपर्ने अवस्था अंशबण्डाको १८ नं. को कानूनी व्यवस्थाबाट देखिदैन । यी प्रतिवादीले घरको मुख्य भई व्यवहार सञ्चालन गर्ने गरेको समेतको अवस्था पनि मिसिल प्रमाणबाट देखिदैन । प्रतिवादीले दाखिल गरेको हालैदेखिको पारित बकसपत्रको लिखतको व्यहोरामा सहयोग गरी रिझाएबापतमा जग्गा बकस गरी दिएको व्यहोरा खुलाई दिएको देखिन्छ । सो देखिँदादेखिंदै रजिष्ट्रेशन गर्ने प्रयोजनार्थ नगद लिएको कुरा लेखिएको भन्ने कुरालाई मात्र आधार मानी दातालाई सहयोग गरी खुशी तुल्याई जग्गा बकस पाएको अस्तित्वलाई अनदेखा गरी त्यसरी पाएको जग्गालाई खरीद गरी लिएको भन्ने अर्थ गरी उक्त जग्गा बण्डा लाग्ने सम्पत्ति हो भनी निष्कर्षमा पुग्न समेत मिल्दैन । बकसपत्र दिइने कारणतर्फ हेरिंदा पनि यो मूल्य वेगरै दिइने र त्यस्तो प्राप्त गर्नेले पनि निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ । साथै यस्तो सम्पत्ति अंशियारहरू बीच बण्डा समेत लाग्दैन 

५. तसर्थ, प्रतिवादी बुद्धिकुमारी गुरुङले बकसबाट पाएको कि.नं. ४०८७ र ४०८९ का जग्गा र सोमा बनेको घर बण्डा लाग्ने प्रकृतिको नदेखिएकोमा सो बण्डा लाग्ने गरी भएको शुरु कास्की जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०६५।१२।५।४ को फैसला सो हदसम्म केही उल्टी हुन्छ 

६. अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने विभिन्न प्रक्रियाहरू मध्ये आफ्नो हकभोग भएको घर जग्गा आदि अचल विक्री गरी हक छोडी दिएको प्रमाणस्वरूप गरिने लिखतलाई राजीनामाको लिखत भनिने र मूल्यवेगरै कसैले कसैलाई सेवा टहल गरेबापत वा घर व्यवहारमा सरसहयोग पुर्‍याएबापत वा बकस पाउनेको शीलस्वभावबाट खुशी भएको कारणबाट घर जग्गा आदि अचल सम्पत्ति बक्सीस दिएर त्यसको प्रमाणस्वरूप लेखीदिने लिखतलाई बकसपत्र भनिन्छ । दुवैको उत्पत्ति र प्रयोजनसमेत फरकफरक रहेको हुन्छ । बकस दिइने सम्पत्ति मूल्यवेगरै दिइने प्रचलन रहिआएको छ । बकसपत्रलाई मुलुकी ऐन, रजिष्ट्रेशनको १ नं. अनुसार रजिष्ट्रेशन गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था गरेको र रजिष्ट्रेशन गर्दा बुझाउनु पर्ने राजश्व रकम निर्धारण गर्ने प्रयोजनार्थ मूल्य उल्लेख गरी त्यस्तो लिखत रजिष्ट्रेशन गर्ने गरिएको प्रचलन देखिन्छ । राजीनामा र बकसपत्रको उद्देश्य र प्रयोजन समेत फरकफरक रहेको र दुवैको प्राप्तिको तरिका समेत फरक रहेको सन्दर्भमा फरक फरक प्रकृतिका दुवै लिखतलाई रजिष्ट्रेशन पारित गर्ने सन्दर्भमा हालसम्म पनि फरकफरक ढाँचा निर्धारण गरी प्रयोगमा ल्याउन सकिएको पाइदैन । यसरी दुवै लिखतलाई रजिष्ट्रेशन पारित गर्ने ढाँचा एकै किसिमको रहेको कारणबाट यसले जनसाधारणको सम्पत्ति भोग चलन गर्ने साम्पत्तिक अधिकारमा कानूनी जटिलता र द्विविधा सिर्जना गर्ने गरेको देखिन्छ । यस्ता भ्रमयुक्त र द्विविधाजनक व्यवस्थाको समाधान नखोज्ने हो भने बकसपत्रबाट सम्पत्ति प्राप्त गर्दाको परिणाममा पनि जहिलेसुकै अस्पष्टता कायम रही नै रहने यथार्थतालाई नकार्न सकिदैन । त्यसैले यस्ता जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्तिको अधिकारको प्रमाणका रूपमा रहने राजीनामा र बकसपत्र लिखतलाई राजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि भिन्नभिन्न ढाँचा प्रयोगमा ल्याउनु भनी मालपोत विभागका नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु 

 

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी बुद्धिकुमारी गुरुङले हालैको बकसपत्रमार्फत् प्राप्त गरेका कि.नं. ४०८७ र ४०८९ जग्गा र सोमा बनेको एक तले आर. सि.सी. घरसमेत बण्डा लाग्ने भनी गरेको शुरु र पुनरावेदन अदालत पोखराको फैसला सो हदसम्म उल्टी भै उक्त कि.नं. का जग्गाहरू र सोमा बनेको घर वादीलाई बण्डा नलाग्ने हुँदा उक्त कि.नं. ४०८७ र ४०८९ का जग्गा सोमा बनेको घरसमेतबाट वादीले अंश छुट्याई लिन पाउने भनी शुरु कास्की जिल्ला अदालतले राखेको लगत अव कायम नरहने हुँदा सो हदसम्ममा उक्त लगत कट्टा गरी यो फैसलाबमोजिमको लगत अध्यावधिक गर्नु भनी शुरु कास्की जिल्ला अदालतमा लेखी पठाउनू ......                १

            माथि ईन्साफ खन्डमा उल्लिखित भएबमोजिम राजीनामा र बकसपत्र लिखत रजिष्ट्रेशन पारित गर्ने भिन्नभिन्न ढाँचा प्रयोगमा ल्याउने भन्ने व्यवस्थालाई कार्यान्वयन गर्न लेखी पठाउनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाई सोको जानकारी फैसला कार्यान्वयन निर्देशनालयलाई समेत दिनू .........२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू..........३

 

उक्त रायमा म सहमत छु 

 

न्या.वैद्यनाथ उपाध्याय

 

इति संवत् २०६९ साल असार २० गते रोज ४ मा शुभम्

 

इजलास अधिकृत :बाबुराम सुवेदी 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु