निर्णय नं. ६९३२ - कर्तव्य ज्यान

निर्णय नं. ६९३२ ने.का.प. २०५७ अङ्क ८/९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य
सम्वत २०५४ सालको साधक नं. .. ११८
फैसला मितिः २०५७।३।१४।४
मुद्दाः कर्तव्य ज्यान ।
वादीः लक्ष्मी श्रेष्ठको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षीः मोरङ्ग जिल्ला, विराटनगर नगरपालिका वडा नं. १३ बस्ने मन्जु श्रेष्ठ समेत
§ शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य फौजदारी न्यायको सिद्धान्त हो । यस सिद्धान्त अनुसार शंकाविहिन तरिकाबाट कसूर प्रमाणित गर्ने भार वादीमा रहन जान्छ । त्यस्तो परमाणको भार पुर्याउन नसके प्रतिवादीलाई कसूर र स्थितिको लाभ पुग्दछ भन्ने हो । प्रस्तुत मुद्दामा प्रतिवादी मन्जु श्रेष्ठले मट्टितेलको सिसीले हानी मट्टितेल पोखिन गई आगो लाग्न गई तारा श्रेष्ठको मृत्यु भएको वा जाडोको याममा रातको बखत हिटर ताप्दा आगो लाग्न गै मृत्यु भएको हो भन्ने दुवै अवस्था संलग्न प्रमाण परिबन्धबाट सम्भव हुन सक्ने देखिएको छ । यस्तो द्धिविधात्मक स्थितिमा नै शंकाको सुविधाको प्रसंग उठ्ने हुँदा यस मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले शंकाको सुविधाको आधार समेतमा प्रतिवादीलाई सफाई दिने गरेको मिति २०४६।६।३० को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी मध्येकी मन्जु श्रेष्ठलाई वादी दावी बमोजिम कसूरदार ठहर्याई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला मिलेको नदेखिँदा उल्टी हुने ।
(प्र.नं.२२)
वादी तर्फबाटः विद्बान उपन्यायाधिवक्ता श्री भरतमणि खनाल
विपक्षी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या. लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला साधक सदरको लागि यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छः
2. मेरी छोरी तारा श्रेष्ठलाई मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठ समेतले मिति २०४५।१०।२५ गते होटल होलिडे इनमा बोलाई शरीरमा मट्टितेल खन्याई आगो लगाई घाइते पारी वीर अस्पतालमा उपचार गराउँदा मिति २०४५।१०।२५ गते रातको २३:५५ को मृत्यु भएको हुँदा मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठलाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त।
3. मिति २०४५।१०।२५ गते ७:३० बजेको समयमा सौता तारा श्रेष्ठ र लोग्ने नरसिंह श्रेष्ठ अंगालो मारी होटल अगाडि बाटो हिडेको देखी रिस उठी राती तारा श्रेष्ठलाई सोही होटलमा बोलाई शरीरमा मट्टितेल खन्याई आगो लगाइ दिएको हुँ भन्ने समेत व्यहोराको अञ्चल सरकारी वकिल कार्यालयमा प्रतिवादी मन्जु श्रेष्ठले गरेको बयान ।
4. २०४५।१०।२५ गते तारा श्रेष्ठलाई बोलाई मेरो लोग्नेसँग किन अंगालो मारी हिडेको भनी झगडा गर्न थालिन । झगडा हुँदाको बखत नै आमा मन्जु श्रेष्ठले मट्टितेलको सिसिले तारा श्रेष्ठलाई टाउकोमा हिर्काएको र भुइमा लडाएपछि ताराको शरीर बल्न थाल्यो भन्ने समेत व्यहोराको अञ्चल सरकारी वकिलको कार्यालयमा प्रतिवादी सुरक्षा श्रेष्ठले गरेको बयान ।
5. २०४५।१०।२५ गते होटेलमा आगलागी भई मान्छे मर्यो भन्ने सुनें । मन्जु श्रेष्ठ र होटलकै स्टाप भएर तारा श्रेष्ठलाई बोलाएर ल्याएको रहेछ । मन्जु श्रेष्ठले जीवन श्रेष्ठको दोकानबाट मट्टितेल किनेर ल्याएको, के कुरामा मन्जु श्रेष्ठ र तारा श्रेष्ठको वादविवाद भएको भन्ने समेत व्यहोराको सरजमिन मुचुल्का ।
6. प्रस्तुत मुद्दामा मेरी छोरी तारा श्रेष्ठलाई मेरै घरबाट बोलाई मन्जु श्रेष्ठले लगी निजको आमा छोरी भई शरीरमा मट्टितेल खन्याई आगो लगाई उपचार हुँदाहुँदै मृत्यु भएकोले कारवाही गरी पाउँ भन्ने लक्ष्मी श्रेष्ठको जाहेरी घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति मुचुल्का, प्रतिवादी मन्जु श्रेष्ठको बयान गराउँदा २०४५।१०।२५ गते तारा श्रेष्ठ र मेरो लोग्ने नरिसिंह श्रेष्ठ बाटोमा अंगालो मारी हिडेको देखी रिस उठी तारा श्रेष्ठलाई बोलाई शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएकी हुँ भनी साविती बयान गरेकी, होटेल होलिडे इनमा काम गर्ने ललितमान राजवंशीलाई कागज गराउँदा २०४५।१०।२५ गते म तथा मन्जु श्रेष्ठ भई तारा श्रेष्ठलाई बोलाई होटेलमा ल्याएको, निजहरु रुम नं. १०१ मा गए म आफ्नो काममा गएँ केही छिनपछि आगो लाग्यो भनी कराएको सुनी गई हेर्दा तारा श्रेष्ठ र नरसिंह श्रेष्ठको शरीरमा आगोले पोलेको देखें । दुवैलाई वीर अस्पताल लगी उपचार हुँदाहुँदै तारा श्रेष्ठको मृत्यु भएको भनी कागज गरी दिएको, प्रतिवादी सुरक्षा श्रेष्ठको बयान गराउँदा मेरो आमा मन्जु श्रेष्ठले तारा श्रेष्ठलाई मेरो लोग्नेसँग किन अंगालो मारी हिडेको भनी निजको टाउकोमा मट्टितेलको सिसीले हानी भुइमा लडेपछि आगो बलेको हो भनी बयान गरेकी, घाइते नरसिंह श्रेष्ठको कागज गराउँदा म सुतिरहेको समयमा आगोले पोल्यो भनी तारा श्रेष्ठ कराएको सुनी उठी हेर्दा तारा श्रेष्ठको शरीरमा आगो बलिरहेको देखी खाटमा भएको पछ्यौराले निजको शरीर छोप्दा मेरो हात तथा शरीरमा आगोले पोलेको भनी कागज गरिदिएको, मृतकको लासको पोष्टमार्टम हुँदा उपरोक्त जलेको घाउको कारण रक्तश्राव दुषित भई र शक भई मृत्यु भएको देखिन्छ भन्ने पोष्टमार्टम प्रतिवेदन, बुझिएका सरजमिनका मानिसहरुले पनि तारा श्रेष्ठलाई मन्जु श्रेष्ठले बोलाई होटल होलिडे इनमा ल्याई शरीरमा मट्टितेल खन्याई आगो लगाई मृत्यु भएको हो भनी लेखाइ दिएबाट प्रतिवादी मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. अनुसारको कसुर गरेको प्रष्ट हुन आयो । प्रतिवादी मन्जु श्रेष्ठ उपर ज्यान सम्बन्धी महलको १३(३) अनुसारको सजाय हुन र सुरक्षा श्रेष्ठले मार्नमा कुनै सहयोग नगरेको भए तापनि पसलबाट मट्टितेल किनी ल्याएको र मेरो लोग्नेसँग किन अंगालो मारी हिडेको भनी मट्टितेलको सिसीले टाउकोमा हानी भुइमा लडाउँदा छुट्याउने कुनै प्रयास गरेको नदेखिएको हुँदा निज सुरक्षा श्रेष्ठ उपर सोही महलको १७(३) अनुसार सजाय हुन माग दावी लिई सक्कल मिसिल प्र. मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठलाई यसै साथ पेश गरिएको छ । साथै सुरक्षा श्रेष्ठको हकमा मुलुकी ऐन दण्ड सजायको १ नं. बमोजिम कारवाही हुन अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४५।११।२२।२ को प्रहरी प्रतिवेदन माग दावी भएको रहेछ ।
7. प्रहरी अधिकृत तथा सरकारी वकिल समक्ष भएको बयान मैले भने बमोजिम लेखिएको होइन । सहीछाप मेरै हो । मैले मृतक तारा श्रेष्ठलाई चिनेको छैन । २०४५।१०।२५ गते राती तारा श्रेष्ठलाई आमा मन्जु श्रेष्ठले कुटपिट गरी आगो लगाएको छैन । सर्जमिन र ललितमान, जीवनमान श्रेष्ठको लेखाई झुठ्ठा हो । २०४५।१०।२५ गते बेलुका म र आमा मन्जु श्रेष्ठ होटल होलिडे इनमा बसेका थियौं । आगो लाग्यो भन्ने सुनेको कसरी लाग्यो थाहा छैन । केटी जलेको भन्ने थाहा भएको हो र त्यसपछि आमा र म प्रहरीलाई खबर गर्न गयौं । तारा श्रेष्ठलाई हामीले कुटपिट गरेको, आगो लगाएको होइन । प्रहरी प्रतिवेदन माग दावीबाट अलग फुर्सद पाउँ भन्ने सुरक्षा श्रेष्ठले २०४५।११।२४ मा अदालतमा गरेको बयान ।
8. प्रहरी अधिकृत तथा सरकारी वकिल समक्ष भएको बयान मेरो राजीखुशीबाट भएको होइन । कुटपिट गरी सही गराएका हुन् । तारा श्रेष्ठलाई म र छोरी सुरक्षा श्रेष्ठ भई मट्टितेल खन्याई आगो लगाई दिएको होइन । ललितमान राजवंशीलाई मैले चिनेको छैन । २०४५।१०।२५ गते हामीहरु बस्ने गरेको रुम नं. १०१ को कोठामा आगो लाग्यो भनी कराएको सुनेको, एकजना केटीलाई आगो लाग्यो भन्ने सुनेकोसम्म हुँ । तारा श्रेष्ठ कुन समयमा कोठामा आइन थाहा छैन । झुठ्ठा व्यहोरा किन लेखाई दिए थाहा छैन । माग दावी बमोजिमको सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको २०४५।११।२४ को प्र.मन्जु श्रेष्ठले अदालतमा गरेको बयान ।
9. २०४५।१०।२५ गते तारा श्रेष्ठ समेतलाई आगलागी भयो भन्ने सुनें नरसिंह श्रेष्ठलाई भेट्न भनी हस्पिटल गएँ, नरसिंहसँग के भई आगो लाग्यो भनी सोध्दा म कोठामा सुतेको समयमा चिच्याएको सुनें र उठी हेर्दा तारालाई आगो लागिरहेको रहेछ निभाउन कोशिस गरें अरु मानिस पनि आए, श्रीमती र छोरी तल मान्छामा थिए भनी भन्नुभयो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षीहरु रवि थापा, तिलक श्रेष्ठ समेतको बकपत्र ।
10. २०४५ साल माघ २५ गते कालिमाटीको कोपिला रेष्टुरेन्टमा साथीहरुसँग अलिअलि रक्सी खाएर अ.८ बजेतिर म होटेल होलिडेमा आएँ । मलाई रक्सी लागेको हुँदा कोठामा सुतें । श्रीमती र छोरीलाई होटलको भान्छा कोठामा गएर खाना खाएर आओ भनी निजहरु खाना खान गए । म सुती रहें, एकछिन पछि चिच्याएको सुनें । व्यूँझी हेर्दा तारा श्रेष्ठको पछाडिपट्टी आगो लागेको देखें पछ्यौराले छोपी दिएँ । होटलमा काम गर्ने मानिसहरु आई मलाई र तारा श्रेष्ठलाई हस्पिटल लगे । त्यस बेलासम्म उक्त कोठामा मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठलाई देखिन । कसरी आगो लाग्यो निदाएको हुँदा थाहा पाइन भन्ने समेत व्यहोराको नरसिंह श्रेष्ठले अदालतमा गरेको बकपत्र ।
11. अभियोग खम्वीर गर्न वादी पक्षबाट कुनै ठोस साक्षी सवुद पेश हुन नसकेको हुँदा प्रस्तुत ज्यान मुद्दामा प्रतिवादीहरु मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठलाई क्रमशः ज्यान सम्बन्धीको १३(३) र १७(३) अनुसार सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने हुँदा प्रस्तुत मुद्दाबाट प्रतिवादी मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठले सफाइ पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०४६।६।३० को फैसला ।
12. मृतकको लास जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रतिवेदन, अभियुक्तहरुको पूर्व नियोजित कार्य जस्तो मृतकलाई डेराबाट बोलाएर होटलमा लानु, आवश्यक नै नपर्ने स्थानमा एक सिसी मट्टितेल किनेर लानुबाट अभियुक्तहरुले प्रहरीमा गरेको घटना परिस्थितिसँग मेल खाने बयान, जाहेरवालीको किटानी जाहेरी, मौकामा बुझिएका जीवन श्रेष्ठको कागज आदि सबुद प्रमाणहरुबाट अभियुक्त मन्जु श्रेष्ठको मनसायपूर्ण कार्यबाट तारा श्रेष्ठको मृत्यु भएको पुष्टि भइरहेको र सो कार्यमा निजकी छोरी सुरक्षा श्रेष्ठले कुनै विरोध समेत गरेको नदेखिँदा निज समेत अप्रत्यक्ष रुपमा सो कार्यमा संलग्न भएको स्थितिमा केवल अदालतमा गरेको इन्कारी बयानलाई मात्र आधार लिई गरेको काठमाडौं जिल्ला अदालतको फैसला अन्यायपूर्ण कानुनी त्रुटिपूर्ण हुँदा वदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
13. यसमा मिसिल अध्ययन गरी हेर्दा जाहेरी दरखास्त, लास प्रकृति मुचुल्का र घाँउ जाँचको केस समेतबाट शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला विचाराधीन देखिन आएकोले अ.वं. २०२ नं. बमोजिम प्रस्तुत मुद्दामा झगडिया झिकाई म्यादभित्र हाजिर भए वा म्याद गुजारी बसेमा कानुन बमोजिम पेश गर्नु भन्ने तत्कालीन बागमती अञ्चल अदालतको संयुक्त इजलासको २०४८।४।२६ को आदेश ।
14. प्रतिवादी मध्येकी सुरक्षा श्रेष्ठले आरोपित कसुर गरेकी भन्ने ठोस सवुद प्रमाण नभएको समेतबाट सफाई दिने गरेको शुरु जिल्ला अदालतको इन्साफ मिलेको देखिँदा सदर हुन्छ । प्रतिवादी मन्जु श्रेष्ठलाई विना कारण सावित गराउनु पर्ने अवस्था नदेखिएको, मौकाको साविती बयानलाई विश्वास गर्नु नपर्ने कुनै मनासिव आधार समेत नभएको, सम्पूर्ण परिस्थितिजन्य प्रमाणहरु समेतका आधारबाट निजकै मनसायपूर्ण अपराधजन्य कर्तव्यबाट मृतक तारा श्रेष्ठको मृत्यु भएकोले निजलाई ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । सफाई दिने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला ।
15. पुनरावेदन अदालत पाटनको उक्त फैसला साधक जाँचको लागि यस अदालत समक्ष दायर भएको ।
16. यसमा मृतक तारा श्रेष्ठको मृत्यु शरीरमा लागेको आगोबाट भएको देखिन्छ । वारदात हुँदाको अवस्थामा नरसिंह श्रेष्ठ कोठामा रहेको भन्ने देखिन्छ । नरसिंह श्रेष्ठको बयानबाट मन्जु र सुरक्षा खाना खान उक्त होटलको रेष्टुरेन्टमा गएको भन्ने र सोही मिलानको मन्जु र सुरक्षाको बयान देखिन्छ । आगलागी हुँदा मन्जु र सुरक्षाको अनुपस्थिति देखिन आउँछ र मिसिल सामेल रहेको फोटोबाट ग्यास लाइटर रहेको भन्ने देखिएको छ । मट्टितेलको सिसी फुटेको छैन । मन्जु श्रेष्ठले उक्त मट्टितेलका सिसीले हानेको भन्ने लेखाई पाइन्छ । आगो लागेपछि मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठले प्रहरीमा जनाउ दिएको भन्ने व्यहोरा भएको, होटलमा को को मानिसहरु आई आगो निभाएको हो ती व्यक्तिहरुलाई बुझी प्रमाण पुर्याउने प्रयत्न भएको पनि देखिदैन । कसले कुन अवस्थामा आगो लगाई दिएको हो भन्ने स्पष्टतः खुल्न आएको नदेखिने अवस्थामा अनुमानको आधारमा मन्जु श्रेष्ठले मट्टितेल खन्याई आगो लगाई दिएबाट तारा श्रेष्ठको मृत्यु भएको ठहराएको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिँदा छलफल निमित्त अ.वं. २०२ नं. बमोजिम उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०५५।४।६ को आदेश ।
17. जाहेरवालीको जाहेरी अन्य प्रमाणले पुष्टि भएको छैन । घटनास्थलको प्रकृति मुचुल्काबाट मृतकको शरीरमा आगो लाग्दा त्यस ठाउँमा भएका अन्य सामान पोलिएका छैनन् । ललितमान राजवंशीले आगो लागेको तर त्यस अवस्थामा प्र.मन्जु श्रेष्ठ नभएको, आगो लगाउनेलाई नदेखेको, स्वयं नरसिंह श्रेष्ठले आगो लगाउने को हो थाहा नभएको अवस्था रहेको छ । प्रेषित प्रमाणको कतै कुनै अंशमा समेत प्र.हरुको कर्तव्यबाट मरेको हो भनी किटानी बकपत्र छैन । मृतकले पनि मन्जु श्रेष्ठद्वारा गरेको भनी उल्लेख नगरेको समेत अवस्थामा ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला कानुन विपरित छ । काठमाडौं जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्र.मन्जु श्रेष्ठको हुलाकमार्फत् प्राप्त निवेदन ।
18. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनालले परिस्थितिजन्य प्रमाणलाई पनि हेरी मूल्यांकन हुनुपर्ने अवस्था छ । जीवन श्रेष्ठले पसलबाट प्रतिवादी मन्जु श्रेष्ठले मट्टितेल किनी ल्याएको यथार्थ हो । मृतकलाई मार्ने मनसायबाट प्रेरित भएको अवस्थामा घटना भएको कुरालाई आधार लिई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
19. यसमा निर्णय तर्फ विचार गर्दा मेरी छोरी तारा श्रेष्ठलाई मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठ समेतले २०४५।१०।२५ गते होटल होलिडे इनमा शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको र वीर अस्पतालमा उपचार गर्दागर्दै सोही रात मृत्यु भएको भन्ने जाहेरवाली लक्ष्मी श्रेष्ठको २०५६।१०।२६ मा जाहेरी दरखास्त परेको देखिन्छ । किटानी जाहेरी, घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति मुचुल्का, प्रतिवादीहरुको बयान, ललितमान राजवंशी, नरसिंह श्रेष्ठको कागज, सर्जमिन लगायतका कागज प्रमाणका आधारमा प्रतिवादी मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठले ज्यान सम्बन्धी १३(१) नं. अनुसारको कसुर गरेको भनी प्रतिवादी मध्येकी मन्जु श्रेष्ठलाई ज्यान सम्बन्धीको १३(३) नं. अनुसारको सजाय हुन र प्रतिवादी सुरक्षा श्रेष्ठलाई सोही महलको १७(३) नं. अनुसारको सजायको माग दावी लिई प्रहरी प्रतिवेदन दायर भएको देखिन्छ । अभियोग खम्वीर गर्न वादी पक्षबाट कुनै ठोस साक्षी सवुद पेश हुन नसकेको अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरुबाट भएको साविती बयानलाई मात्र आधार बनाई शंकारहित तवरले अभियोगको कसुर प्रतिवादीहरु गरेको प्रमाणित नभएको अवस्थामा शंकाको सुविधा प्रतिवादीहरुले पाउने हुँदा प्रतिवादीहरुले सफाई पाउने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसलाबाट देखिन्छ । पुनरावेदन अदालतबाट भने प्रतिवादी सुरक्षा श्रेष्ठका हकमा ठोस सवुद प्रमाण नभएको, निजले मृतकलाई मार्नुपर्नेसम्मको कारण नदेखिएको भनी निजले सफाई पाउने ठहर्याएको र प्रतिवादी मन्जु श्रेष्ठका हकमा मिसिलका सम्पूर्ण परिस्थितिजन्य प्रमाणहरु समेतका आधारबाट मन्जु श्रेष्ठकै कर्तव्यबाट मृतक तारा श्रेष्ठको मृत्यु भएको भनी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पाइन्छ । सोही फैसला उपर साधक जाहेर भएको र प्र.मन्जु श्रेष्ठको निवेदन परेको देखियो ।
20. मिसिल संलग्न कागजहरुको अध्ययनबाट प्रतिवादीहरुको कर्तव्यबाट तारा श्रेष्ठको मृत्यु भएको हो होइन भनी विचार गर्दा मट्टितेल किनी ल्याई मृतक तारा श्रेष्ठको शरीरमा आगो लगाइदिएको हो वा कोठामा रहेको हिटरको आगोले पोल्न गई मृत्यु भएको हो भन्ने कुरामा निश्चित हुन सकेको देखिँदैन । रु. ५।- को मट्टितेल सबै खन्याई आगो लाग्न गएको भए कोठाको ओछ्यान भुईका सामान पूरा डढेको हुनुपर्ने हुन्छ सो बमोजिम नभई हिटरको आगोबाट पोलिंदा शरीरको जुन भाग हिटरमा पर्दछ सो भाग तुरुन्त डढ्न गई अन्यत्र सल्कने अवस्था पर्दछ । लास प्रकृति मुचुल्कामा मृतकको मुख, टाउकोको भाग धेरै पोलिएको देखिन्छ । पुनरावेदन अदालतबाट फैसला हुँदा प्रतिवादी सुरक्षा श्रेष्ठलाई सफाई दिई प्रतिवादी मन्जु श्रेष्ठलाई मात्र कसुरदार ठहर्याएको पाइन्छ । निज प्र.सुरक्षा श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा मट्टितेलको सिसीले मन्जु श्रेष्ठले तारा श्रेष्ठको टाउकोमा हानेको, मृतक लड्न गएको अनि बलिरहेको हिटरमा परेको भन्ने व्यहोरा उल्लेख भएको छ । प्रतिवादी मन्जु श्रेष्ठको अधिकार प्राप्त अधिकारी समक्ष भएको कागजमा पनि निजले मट्टितेलको सिसीले हानेपछि हिटरमा परी आगो लागेको भन्ने व्यहोरा लेखिएको पाइन्छ । मट्टितेलको सिसीले हानी तारा श्रेष्ठको मृत्यु भएको भन्ने अभियोग र लास जाँच प्रतिवेदन नभई आगो लगाई मारेको भन्ने देखिन्छ । कोठामा हिटर रहेको र उक्त हिटरको तार र पछाडिको भाग पनि जलेको भन्ने समेत घटनास्थलको प्रकृति विवरणमा उल्लेख भएको पाइन्छ । नरसिंह श्रेष्ठले गरेको कागजमा तारा श्रेष्ठले चिच्याएको आवाज सुनी बीउँझदा कोठामा श्रीमती मन्जु र छोरी सुरक्षालाई देखिन भनेको पाइन्छ । वारदातको प्रत्यक्षदर्शी निज नरसिंह श्रेष्ठ बाहेक अरु कोही नभएको र निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज तथा अदालत समक्ष गरेको बकपत्रमा प्रतिवादी मन्जु श्रेष्ठ समेतले आगो लगाएको भनी व्यक्त गर्न सकेको पाइएन ।
21. वारदातस्थल होटल होलिडे इनका वेटर तथा भाडावर्तन सफा गर्ने काममा लागेको भनिएको ललितमान राजवंशीले वारदात हुँदा त्यहाँ पुगेको भनी प्रहरी समक्ष कागज गरेको, निजले पनि प्रतिवादी मन्जु श्रेष्ठ समेतलाई नदेखेको कसरी कसले आगो लगायो भन्न सक्दिन भनेको, वादी पक्षका गवाह र अन्य अनुसन्धानको सिलसिलामा बुझिएका खड्गबहादुर घले समेतका व्यक्तिले स्वयं म्याद बुझेर पनि अदालतमा उपस्थित नभएको हुँदा अभियोग पक्षलाई पुष्ट्याई मिल्ने गरी प्रत्यक्षदर्शी वा ठोस प्रमाणबाट पुष्टि हुन आएको देखिएन ।
22. मट्टितेल आदि खन्याई लगाएको आगो पहिले लुगा आदिमा पर्न जान्छ अनि आगो सक्लन गई शरीरमा पोल्ने कार्य हुन्छ । यसप्रकारको पोलाई तत्काल पानी आदिले निभाउन सकिने हुन्छ । प्रस्तुत मुद्दामा नरसिंह श्रेष्ठले तुरुन्त वाथरुमबाट बाल्टिनमा पानी ल्याई आगो निभाउन प्रयास गरेको भन्ने र ललितमानले पनि बाल्टिनमा पानी लगी खन्याएको भन्ने व्यहोरा देखिन्छ । प्रतिवादी सुरक्षा श्रेष्ठले गरेको ठाडो कागजमा पनि पानी हाली आगो निभाउन प्रयास गरेको भन्ने व्यहोरा छ । हिटरको आगो कडा हुने चाँडै पोली घाइते पार्ने हुँदा निभाउँदा पनि कठिन हुने कुरा तत्काल पानी खन्याई आगो निभाउन खोज्दा सफल नभएको र तुरुन्त वीर अस्पताल पुर्याई मौकामा उपचार गर्दा पनि निको हुन नसकेको पुष्टी हुन्छ । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य फौजदारी न्यायको सिद्धान्त हो । यस सिद्धान्त अनुसार शंकाविहिन तरिकाबाट कसूर प्रमाणित गर्ने भार वादीमा रहन जान्छ । त्यस्तो परमाणको भार पुर्याउन नसके प्रतिवादीलाई कसूर र स्थितिको लाभ पुग्दछ भन्ने हो । प्रस्तुत मुद्दामा प्रतिवादी मन्जु श्रेष्ठले मट्टितेलको सिसीले हानी मट्टितेल पोखिन गई आगो लाग्न गई तारा श्रेष्ठको मृत्यु भएको वा जाडोको याममा रातको बखत हिटर ताप्दा आगो लाग्न गै मृत्यु भएको हो भन्ने दुवै अवस्था संलग्न प्रमाण परिबन्धबाट सम्भव हुन सक्ने देखिएको छ । यस्तो द्धिविधात्मक स्थितिमा नै शंकाको सुविधाको प्रसंग उठ्ने हुँदा यस मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले शंकाको सुविधाको आधार समेतमा प्रतिवादीलाई सफाई दिने गरेको मिति २०४६।६।३० को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी मध्येकी मन्जु श्रेष्ठलाई वादी दावी बमोजिम कसूरदार ठहर्याई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
प्रतिवादी मन्जु श्रेष्ठके पुनरावेदन अदालतको २०५३।८।१० को फैसलाको तपसिल खण्ड १ अनुसार सर्वश्वसहित जन्मकैदको लगत र सो बमोजिम अंश रोक्का गरी सर्वश्व गर्ने गरेको लगत समेत कायम नरहने हुँदा कट्टा गरी दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु .......................१
मिसिल नियमानुसार गरी बुझाई दिनु ....................२
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत २०५७ साल आषाढ १५ गते रोज ४ शुभम् .......................।