निर्णय नं. ११४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ११४९ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको रिट नम्बर ९४८
आदेश भएको मिति : २०३५।४।१०।३ मा
निवेदक : जिल्ला का.न.पं. वडा नं. ३३ ज्ञानेश्वरे बस्ने पुष्पकुमारी पन्त
विरुद्ध
विपक्षी : मोती रत्न शाक्य, धर्म रत्न शाक्यको मुद्दा सकार गर्ने बुद्धिहर्ष बज्राचार्य
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्रभित्र नपर्ने ।
(प्र.नं. ८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
उल्लिखित मुद्दा :
आदेश
न्या. हेरम्बराज : उपयुक्त विषयमा विपक्षी का.न.पं.मुद्दा फाँट र का.न.पं.बैठकले मिति २०३३।३।२१।१ र २०३४।७।१७।४ मा कानूनी त्रुटिपूर्ण निर्णय गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन परी बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : हामीहरूका नाममा भू.प्र.का.काठमाडौं डिल्लीबजार मौजा हा.नं. ५६० का लगतमा दर्ता भएको वडा नं. २९ अन्तर्गत हाल नापी नभएको पूर्व तुंगध्वजको घर जग्गा पश्चिम उत्तर मूलबाटो दक्षिण सिंहदरवारको पर्खाल र शिवकाजीको घर यति ४ किल्ला भित्रको फिलंडोल खेत रोपनी ३ मा बनेको पूर्व उत्तर कुनामा कच्ची पराले छाना भएको छाप्रो हामीहरूका दाता रत्नकाजी शाक्यले नै अघिदेखि बनाई राखेको ०१९।९।९ मा भैरव पाध्यासँग पुष्पकुमारी पाध्यानीले मोहियानी हक राजीनामा गरी लिई निजले उक्त छाप्रोभित्र पाको इँटले चारैतर्फ गारो उठाई पक्की घर बनाउन देखाउने नियत गरेको रहेछ । सो बनाउन तलसिंहरूको र नक्सासमेत केही स्वकृति नलिई जथाभावी कर्कटपाताको छानासमेत राखी उक्त जग्गाको हकसमेत आफ्नै गर्ने नियत लिई बनाएकोले जाँची बुझी पाउँ भन्नेसमेत वादी रत्नकाजी शाक्यले भैरव रत्नलाई ०१६।९।२।५ मा पक्की घर बनाउने स्वीकृति दिएको उक्त स्वीकृतिमा तपाई वा तपाईका हकदार वा तपाईले बिक्री गरी दिएबाट अरू केही हुन आएमा पनि घर बनाउन दिनलाई मञ्जुर छ भनी मञ्जुरीको लिखत गरी दिएको विपक्षीका दाताबाट नै घर बनाउन पाउने गरी स्वीकृति प्राप्त भइसकेको र निज भैरवदत्तको उक्त मञ्जुरीको लिखतको आधारमा घर बनाउन नक्सा पास गरिपाउँ भनी यसै कार्यालयमा निवेदन दिई त्यसमा कारवाई भई ०१८।३।२०।३ मा नक्सा पास प्रमाणपत्र प्राप्त निज भैरवदत्तले गरिसकेको श्रेस्ता यसै कार्यालमा हुनुपर्छ । प्रमाण लगाइपाउँ र निज भैरवदत्तबाट ०१९।९।९ गते रु.९००।–मा मैले रजिष्ट्रेशन पास गराई लिई मञ्जुरनामा बमोजिम घर बनाएको हुँ । उजूरी बमोजिम हाल घर बनाएको होइन भन्ने प्रतिवादी बयान । प्रतिवादीले ०१९।९।९ मा भैरवदत्तबाट राजीनामा गराई लिएको नक्कलबाट देखिएको र साथै चारैतिर काँचो इँटको गारो भएको उक्त घरका भित्र चारैतर्फ ईंटको गारो राखी जस्ताका छाना राखेको सो को दस्तुर नलाग्ने भनी ओभरसियरबाट लेखी आएको हुँदा उक्त घरको बाहिरी भाग साविक देखि हालसम्म काँचो ईंटको गारोको गारो नै कायम रही प्रतिवादीले कच्ची घरलाई पक्की घर बनाएको भन्न मनासिव नहुँदा त्यस्तो भित्री जग्गा अदल बदल गर्ने तलसिंको स्वीकृति लिइरहन र नक्सा पास गर्नसमेत जरुरत देखिएन । उक्त भित्री भाग मर्मत स्वरुप पक्की ईंट एकसरो लगाए तापनि बाहिरी भाग कुनै अदल बदल नभई साविक बमोजिम कच्ची गारो नै कायम गरी कच्ची घरको स्थितिमा नै रहने हुँदा हाल वादीको उजूरीतर्फ केही विचार गरी रहन नपर्ने भन्नेसमेत काठमाडौं नगरपञ्चायत मुद्दा फाँटको ०३३।३।२१।१ को फैसला र सो इन्साफ सदर गरी का.न.पं.बैठकबाट ०३४।८।१७।४ को फैसला ।
३. उपरोक्त निर्णयहरू कानूनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने बारेमा निवेदनमा दिएको जिकिर यसप्रकार छ : विपक्षीको दावी अनुसार स्वीकृति बेगर घर बनायो भन्ने मुद्दा हेरी कारवाई गर्ने अधिकार विपक्षी नगरपञ्चायतलाई कुनै पनि ऐनले प्रदान गरेको छैन । प्रस्तुत मुद्दामा मूल विषय नै स्वीकृति बेगर घर बनायो भन्ने छ र त्यसको प्रत्युत्तरस्वरुप भैरवदत्तले रत्नकाजीबाट पाएको मञ्जुरी र निजले नक्सा पास प्रमाणपत्र पाएको कुरा उल्लेख गर्दै सोही आधारमा अगाडि नै घर बनाइसकेको जिकिर लिएको स्थितिमा उक्त मञ्जुरी नक्सा पास प्रमाण तथा घर बनाएको अवधि समेत जाँची बुझी इन्साफ गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । यस्तो लिखितहरूको व्याख्यासमेत गरी फैसला गर्नुपर्ने स्थितिमा त्यसलाई असर पार्ने गरी त्यसरी ओभरसियरबाट लेखी आएको उल्लेख गर्दै मेरो उपरोक्तबमोजिम पक्की घरलाई कच्ची भन्ने ठहराई फैसला भएको छ, यस्तो अधिकारक्षेत्रको अतिक्रमण गरी भएको फैसला हुँदा अ.बं.३५ नं.ले बदर भागी छ मोहियानी हक कायम गरिपाउँ भन्ने मुद्दामा का.जि. अ.बाट ०३५।५।७।५ मा भएको फैसलाबाट घर पक्की भन्ने देखिन्छ । अदालतको फैसला विपरित निर्णय भएको हुँदा विपक्षीको उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत रिट निवेदनमा जिकिर लिएको देखिन्छ ।
४. विपक्षीहरूको लिखितजवाफ लिई पेशगर्नु भन्ने डि.नबेञ्चको ०३४।८।१३।२ को आदेश ।
५. निवेदकले जहाँसम्म न.पं.को बैठकको निर्णय बदर गरिपाउँ भन्ने जिकिर लिनु भएको छ सो निवेदनबाट पनि विपक्षी मोही देखिएको छ र नक्सा पास नगरी जग्गाधनीको समेत स्वीकृति नलिई घर बनायो भन्ने उजूरी भएको मुद्दामा विपक्षी निवेदकले भैरवप्रसादबाट ०१९।९।९ मा रु.९०००।–मा पास गराई लिई भैरवदत्तलाई गरी दिएको मञ्जुरीनामा अनुसार घर बनाएको हुँ भन्ने बयान गरेकोले सो विषयमा नगरपञ्चायत ऐन, ०१९ द्वारा प्रदत्त अधिकार प्रयोग गरी गरेको निर्णयलाई अधिकारक्षेत्रको अतिक्रमण भन्न मिल्दैन । कच्ची घर बनाउनलाई नगरपञ्चायतबाट स्वीकृती लिइरहन नपर्ने विषय भएको र भू.सु.ऐन, ०२१ अनुसार तलसिंको स्वीकृति नलिइकन पनि कच्ची घर बनाउन सकिने हुँदा यसप्रकारको विषय तथ्य हुँदा न.पं.ले निर्णय लिइरहन नपर्ने विषय हुन आएकोले वादीको उजूरीतर्फ केही विचार गरिरहनु नपर्ने भनी कानूनी मर्यादालाई कायम राखी निर्णय गरी दिएको हो । विपक्षीले भू.सु.ऐन दफा २६ (क) अनुसार यदि हक विद्यमान छ भने न्यायिक निर्णय दिने अदालतबाट प्रचलन गराउन कुनै पनि प्रतिबन्ध नलगाएकोले उपचारको माध्यम अवलम्बन नगरी आएको विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत का.न.पं.फाँटको लिखितजवाफ ।
६. जग्गाधनी रत्नकाजी मात्र होइन । दर्तावाला रत्नकाजी समेत ५ जनाका नाउमा दर्ता छ निवेदिकाको दाता भैरवदत्तले रत्नकाजीबाट ०१६।९।२।५ मा पछि घर बनाउने स्वीकृति नगरपालिकामा घर बनाउन नक्सा पासको लागि दर्खास्त दिई ०१८।३।२०।३ मा नक्सा पास प्रमाण लिई भैरवदत्तबाट ०१९।९।९ गते मैले राजीनामा पास गरी लिई रत्नकाजीले दिएको स्वीकृतिपत्रमा हकदार र बिक्री गरी हक हुन आउने समेतले बनाउन पाउने उल्लेख भएकोले मैले इच्छाअनुसार घर बनाएको हुँ भन्ने विपक्षीको लेख छ । यस विषयमा रत्नकाजीको स्वीकृति भैरवदत्तलाई गरी दिएको भनेको विपक्षीको भनाई मात्र छ । सो प्रमाण दिन सकेको छैन । रत्नकाजीसमेत ५ जनाको नाम दर्ता भएको एकजना रत्नकाजीले मात्र घर बनाउन मञ्जुर गरी दिन सक्दैन । भैरवदत्तले नक्सा प्रमाणपत्र प्राप्त गरेको भन्नु भए पनि सो बमोजिमको घर निजले बनाउनु भयो भनी विपक्षीले नै भन्न सकेन । विपक्षीले भैरवदत्तबाट राजीनामा लिंदा नै मोहियानी हकका जग्गा रोपनी ३ र सो जग्गामा बनेको ९।१३ को १ तले कच्ची पराले घर भनी जनिएको छ । पक्की घर कुन साल मितिमा बनाएको हो भन्न नसकी इच्छाअनुसार बनाएकी हुँ, हाल बनाएको हैन भन्नेसमेत लेख्नुभएको छ । त्यसबाट उजूर परेपछि पुरानो अघि बनाएको भन्ने पार्न नियत लिई आउनु भएको हो । न.पं.बाट जाँच हुँदा पक्की जति नयाँ हो भन्ने देखिएको छ । का.न.पं.मुद्दाफाँटसमेतले कानूनद्वारा प्रदत्त अधिकार भित्र रही कानूनबमोजिम निर्णय भएको हुँदा विपक्षीको रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत बुद्धीहर्ष बज्राचार्यको लिखितजवाफ ।
७. यसमा निवेदकका वा.दुर्गाराजपन्त तथा विपक्षी बुद्धिहर्ष बज्राचार्य र न.पं.तर्फको वा.शिवध्वज समेतलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी न.पं.तर्फबाट विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली तथा विपक्ष वुद्धिहर्षतर्फ विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठसमेतले गर्नुभएको वहससमेत सुनी विचार गर्दा रिट निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
८. निर्णयतर्फ हेर्दा यसमा नक्सा पास नगरी मेरो स्वीकृति बिना घर बनाएको छ भन्ने मोतिरत्न शाक्य, धर्मराज शाक्यको उजूर परे पनि नगरपञ्चायतबाट ओभरसियरलाई जाँच गर्न पठाएको, भित्रपट्टि पाको र बाहिरपट्टि काँचो ईंटको गारो लगाएको भन्ने ओभरसियरको प्रतिवेदन परे पछि त्यस्तो घर बनाउन नगरपञ्चायत ऐन, ०१९ को दफा ४३ ले नक्सा पास गर्न पर्दैनथ्यो भनी जाँचबाटै मुद्दा नचल्ने देखिएकोमा विपक्षीहरूलाई झिकाई निर्णय गर्ने आदि कारवाही फैसला गर्न नपर्नेमा विपक्षीलाई झिकाई नगरपञ्चायतले उक्त घर बनाउन पास गर्न नपर्ने भनी ठहर गरेको र त्यसै उपर नगरसभाले पुनरावेदन सुनी सदर गरेको निर्णय समेतमा विचार गर्दा नक्सा पास नगरी घर बनायो भन्ने तर्फ नगरपञ्चायतले मुद्दै दायर गरी यस रिटको निवेदक र उस मुद्दाको विपक्षीलाई झिकाउन नपर्नेमा दायर गरेको र मेरो स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकारक्षेत्र नपर्नेमा त्यसको उजूर लिएको आधार र कानून केही नदेखिएको हुँदा नगरपञ्चायतको प्रस्तुत उजूर र विपक्षीलाई झिकाउने कारवाही गरी ठहर गरेको समेत र त्यसउपरको पुनरावेदन लिई नगरसभाले ठहर गरेकोसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ नियमबमोजिम गरी मिसिल बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल श्रावण १० रोज ३ शुभम् ।