शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९९४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११

निर्णय नं. ३९९४     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४५ सालको रि.नं. ९७४

आदेश भएको मिति : २०४६।१०।१५।१ मा

निवेदक : नेपालगन्ज न.पं. वार्ड नं. १७ बस्ने रामचन्द्र श्रेष्ठ

विरुद्ध

विपक्षी : क्षेत्रीय साझा विकास कार्यालय, सुर्खेतसमेत

विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

§  फ्नो पदस्थापन भए रहेको कार्यालयमा पनि हाजिर हुन नगएको, निवेदककै माग बमोजिम तराईको जिल्लामा सरुवा गरी दिएकोमा पनि हाजिर नभई राजीनामा पेश गरेकोबाट निवेदकले पद अनुकूलको आचरण गरेको भन्न सकिएन ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

आदेश

     न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।

      २.    निवेदक बढी मालिका साझा संस्थामा व्यवस्थापक पदमा कार्यरत रहेको अवस्थामा उपचारको लागि विमारी विदा माग गरेको अवस्थामा नै बर्दिया नेउलापुर साझा संस्थामा सरुवा गरियो । विमारीको कारण कार्यालयमा उपस्थित हुन नसकेकोमा मिति २०४३।९।१७ को पत्रबाट मलाई निलम्बन गरियो । मैले दिएको राजीनामा स्वीकृत गरिएन । यसै बीचमा मेरो राजीनामा स्वीकृत गर्ने तर्फ कारवाही नगरी, सफाईको मौका समेत नदिई, मिति २०४४।१०।१८ को पर्चाबाट मलाई अवकाश दिइयो । त्यस उपर दिएको पुनरावेदनमा पनि सोही पर्चा निर्णय कायम राखियो, म बिमारी रहेको अवस्थामा नै खडा गरिएको पर्चामा गयल मानी कारवाही गरिएको छ । मलाई प्रष्टीकरण पेश गर्ने मौका समेत नदिई सिधै अवकास दिइएको छ । पर्चामा सफाइको मौका दिंदा के कति कारणबाट अव्यवहारिक हुन गएको हो उल्लेख छैन । म बाट बेरुजु हुन गएका रकमहरु ठहर भएको खण्डमा सोही बमोजिम हुन्छ नै । बेरुजु रकमलाई आधार बनाई बिरामी परी कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा मलाई पर्चा खडा गरी पदबाट हटाउने गरी भएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा मिति २०४४।१०।१८ को शुरु निर्णय र सोलाई सदर गरेको पुनरावेदन निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

      ३.    यसमा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

      ४.    निवेदक बढी मालिका साझा संस्थामा व्यवस्थापक पदमा कार्यरत रहँदा गैरहाजिर रहेको, सो कार्यालयको रकम हिनामिना गरेको एउटा कर्मचारीको हैसियतले संस्थाको कार्य सुसंचालनमा पद अनुसारको आचरण गरेको नदेखिँदा साझा संस्थाको हितलाई ध्यानमा राखी निजलाई सफाईको मनासिब माफिकको मौका दिंदा अव्यवहारिक देखिएकोले अभियोगको आधारमा साझा संघ संस्थाहरुको आर्थिक तथा प्रशासनिक नियम, २०३७ को परिच्छेद ४ को नियम १५ को (घ) तथा सोही नियमको उपनियम ६(ग) बमोजिम निवेदकलाई मिति ०४४।१०।१८ मा क्षेत्रीय साझा विकास कार्यालय सुर्खेतले पर्चा खडा गरी अवकाश दिने निर्णय भएको, सो निर्णय कानुनसम्मत नै देखिएकोले यस विभागबाट पनि सदर भएकोले, निवेदक माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन, रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको साझा विकास विभागबाट प्राप्त लिखितजवाफ ।

      ५.    साझा संघ संस्थाहरुको आ.प्र.नि., २०३७ को नियम १५(६)(ङ) अनुसार निवेदकलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिंदा साझालाई तिर्न बुझाउन पर्ने रकम पनि नतिर्ने, संस्थामा उपस्थित पनि नहुने, सरुवा गरेको सुगम स्थानमा पनि नजाने, उल्टो राजीनामा प्रस्तुत गर्ने, आदि कारणबाट अव्यवहारिक देखिएकोले सफाईको मौका दिन नपरेको हो । तसर्थ निवेदक माग बमोजिमको आदेश जारी हुन नपर्ने हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको क्षेत्रीय साझा विकास कार्यालय सुर्खेतबाट प्राप्त लिखितजवाफ ।

      ६.    निवेदक यस कार्यालयको व्यवस्थापक पदमा कार्यरत रहँदा बिदा स्वीकृत नभई कार्यालयमा अनुपस्थित रहेको, निजको नाउँबाट असूल उपर हुनुपर्ने रकम बुझाउन तरताकेता गर्दा पनि नबुझाएकोले कार्यवाही भइरहेको, यसै बीचमा निवेदकले राजीनामा पेश गरेको तर स्वीकृत नभएकोले, निवेदकलाई नियम बमोजिम पर्चा खडा गरी सेवाबाट हटाइएको हुँदा, निवेदक माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको साझा विकास शाखा बाजुराबाट प्राप्त लिखितजावफ ।

      ७.    निवेदक यस संस्थामा २०४२।२०४३ देखि २०४४।०४५ सम्म कार्यरत रहँदा लिएको पेश्की फर्छ्यौट गर्न बाँकी रकम बेरुजु रु. ४,२७६।५१, १०४७१।८८ र ब्याज रु. ५,३०९।६४ देखिएको, सो रकम निवेदकले नतिरेको नबुझाएकोले अदालतमा नालेश परिसकेको हुँदा रिटनिवेदन खारेज गरीपाउँ भन्ने समेत व्यहोराको बडी मालिका साझा संस्थाबाट प्राप्त लिखितजवाफ ।

      ८.    नियम बमोजिम पेश हुन आएकोमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले र विपक्षी तर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

      ९.    निवेदक माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने विषयमा निर्णय दिन पर्ने हुन आयो ।

      १०.    निर्णयतर्फ हेर्दा, यसमा निवेदक बडी मालिका साझा संस्था बाजुरामा साझा व्यवस्थापक पदमा कार्यरत रहेको अवस्थामा कार्यालयमा हाजिर नभएको कुरामा निवेदकले अन्यथा भन्न सकेको पाइँदैन सो कार्यालयमा निवेदक हाजिर नरहेको कुरा सोही कार्यालयबाट प्राप्त लिखितजवाफबाट देखिन्छ । साझा संस्थाको आ.प्र.नि., २०३७ को नियम ९(५)(ङ) मा बेगर सूचना अनुपस्थित रहेमा गयल मानिने भनी उल्लेख भएको पाइन्छ । निवेदकले आफू कार्यालयमा अनुपस्थित हुनु रहनु पूर्व उक्त नियम बमोजिम बिदा स्वीकृत गराई अनुपस्थित रहेको पाइँदैन । यसै बीचमा निवेदकलाई नेउलापुर साझा संस्थामा सरुवा गरिएको, सो कार्यालयमा पनि निवेदक हाजिर भई आफ्नो कार्यभार सम्हालेको देखिँदैन । यसको अतिरिक्त निवेदकको नाउँमा सो कार्यालयलाई तिर्न बुझाउन बाँकी वेरुजु रकमको सम्बन्धमा कारवाही समेत भइरहेको, रकम तिरेको बुझाएको भन्न निवेदकले नसकेको समेतबाट निवेदकलाई गयल गरी आवश्यक कारवाही हुन् भनी मिति २०४३।२।१४ को सञ्चालक समितिबाट निर्णय भएको देखिन्छ ।

      ११.    यसरी आफ्नो पदस्थापन भए रहेको कार्यालयमा पनि हाजिर हुन नगएको, निवेदककै माग बमोजिम तराईको जिल्लामा सरुवा गरी दिएकोमा पनि हाजिर नभई राजीनामा पेश गरेकोबाट निवेदकले पद अनुकूलको आचरण गरेको भन्न सकिएन, यस स्थिति अवस्थाको निवेदकको आचरण साझा संघ संस्थाको आ.प्र. नियम, २०३७ विपरीत देखिन आएकोले, उपरोक्त आधारमा निवेदकलाई सोही नियमको परिच्छेद ४ को नियम १५(६) तथा उपनियम ६(ग) बमोजिम अवकाश दिएको कानुन अनुकूल नै देखिन आउँदा निवेदक माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

 

इति सम्वत् २०४६ साल माघ १५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु