शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९९५ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११

निर्णय नं. ३९९५     ने.का.प. २०४६                       अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामक्त माथेमा

सम्वत् २०४५ सालको रिट नम्बर १२७०

आदेश भएको मिति : २०४६।१०।१।१ मा

रिट निवेदक : नेपालगन्ज न.पं. वडा नं. १ मा डेरा गरी बस्ने कुञ्ज बिहारी चौधरी

विरुद्ध

विपक्षी : नेपालगन्ज न.पं. को बैठक, न.पं. कार्यालय, बाँकेसमेत

विषय : उत्प्रेषण

§  निवेदकले प्राप्त गरेको चलन पुर्जीमा भैंसीमा चुँगी कर लिन पाउने व्यवस्था देखिन नआएको, सो पुर्जी प्रतिकूल निवेदकले चुँगीकर लिएको देखिएको र सुठो, जडिबुटी समेतमा अनियमित कर लिएको कुरामा निवेदकले अन्यथा पुष्टि गर्न नसकेको, आफूलाई प्राप्त अख्तियारी बमोजिम चुँगीकर असूल गर्ने दायित्व निवेदकको रहेको, सो दायित्व अनुकूलको कार्य निवेदकले गरेको देखिन नआउँदा निवेदकलाई जरिवाना गरी अनियमित तवरबाट असूल गरेको चुँगीकर फिर्ता दिने गरी भएको नगरपञ्चायतको निर्णय कानुन अनुकूल नै देखिँदा निवेदक माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

आदेश

     न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण, तथ्य एवं निर्णय निम्नानुसार छ ।

      २.    म निवेदकले नेपालगन्ज न.पं. कार्यालयसंग भएको कबूलियत तथा चलनपुर्जी अनुसार आ.ब. २०४५/०४६ को लागि चुँगीकर (व्यापार कर) असूल उपर गरी आएको अवस्थामा विपक्षी राम किसुनले भैंसी माथि अनियमित कर लगायो भनी र विपक्षी लालविहारी तथा मैनुदिनले सुठो र टिमुरमा दोहोरो कर लियो भनी म उपर निवेदन दिएछन् र मलाई प्रतिवाद गर्ने मौका नै नदिई विपक्षी न.पं. ले मलाई जरिवाना रु. ३,५००।र अनियमित तरिकाले उठाएको चुंगीकर करदातालाई फिर्ता दिन लगाउने र आयन्दा यस्तो अनियमित कार्य गरेमा कडा कारवाही गर्ने भनी २०४५।८।१७ को बैठकबाट निर्णय भएकाले चुंगीकर फिर्ता गरी जरिवाना यस कार्यालयमा दाखिल गर्न ल्याउनु भनी २०४५।९।२ मा पत्र बुझाइएकोले सो बाट मेरो संवैधानिक एवं कानुनी हक आघात भएकाले निवेदन गर्न आएको छु । मलाई न.पं. ऐन, २०१९ को दफा ५४(१)(क) अनुसार जरिवाना गर्ने भनिएको छ भने उक्त दफामा परिच्छेद ७ को विपरीत गरेमा भन्ने छ । परिच्छेद ७ मा नक्शा पास र निर्माण सम्बन्धी कुरा मात्र भई अनियमित कर उठाए सम्बन्धी कुनै कुरा नहुँदा प्रयोगै हुन नसक्ने कानुनको प्रयोग गरी जरिवाना गरेको त्रुटिपूर्ण छ । प्रतिवाद गर्ने मौकाबाट बञ्चित गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरीत छ । रामकिसुनको उजुरीतर्फ हेर्दा चलनी पुर्जीको दफा १(ग) मा रांगा भन्ने लेखिएकोले भैंसीमा कर उठाउन नपाउने भन्न मिल्दैन । त्यस्तै दोहोरो कर भन्ने तर्फ चलनी पूर्जीको दफा (ग) मा न.पं. को बाटो गरी अन्य क्षेत्रमा लैजान लागेमा चुंगीकर नलाग्ने तर धरौट राख्नु पर्ने र ७२ घण्टा पछि सो धरौट चुंगीकरमा परिणत हुने प्रष्ट छ । साथै पहाडी भेगबाट उत्पादित घिउ, जडिबुटीको पैठारी सम्बन्धमा चलानी पुर्जीको दफा (७)(ड)(७) मा व्यवस्था छ । ऐ.को दफा (ग) अनुसार विदेश निकासीमा कर लिन बाधा नहुँदा दोहोरो कर भन्न मिल्दैन । मैले कुनै अनियमित काम गरेको नहुँदा कर फिर्ता दिने र जरिवाना गर्ने भनी गरिएको निर्णय त्रुटिपूर्ण छ । अतः विपक्षी न.पं. को बैठकले संविधानको धारा १०(१), ११(२) र १५ द्वारा प्रदत्त मौलिक हकमा आघात पुर्‍याई गरेको २०४५।८।१७ को निर्णय उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरी हक प्रचलन कायम गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

      ३.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

      ४.    भैंसीमा जबरजस्ती कर लियो भनी राम किसुनको र जडिबुटीमा दोहोरो कर लियो भनी मैनुद्दिन तथा लालविहारीको उजुरी निवेदन परेको । विभिन्न व्यक्तिहरुबाट अनियमित एवं दोहोरो चुंगीकर समेत लिएको उजुरी परी ठेकेदारसंग पटक पटक स्पष्टीकरण माग गर्दा पनि अटेर गरी आएको र पुनः उजूरीहरु परी विचार गर्दा ठेकेदारले अनियमित र दोहोरो चुंगीकर उठाएको प्रमाणित हुन आएकोले अनियमित उठाएको कर करदातालाई फिर्ता दिलाउने र रु. ३,५००।जरिवाना गर्ने गरी न.पं. को बैठकबाट निर्णय भएको हो । निर्णयमा दफा ५४(३)(ग) लेख्नु पर्नेमा ५४(१)(क) लेखिन गएको हो । यस्तो अनियमित कार्य गरेमा ऐनको दफा ५४(३)(ग) अनुसार अनियमित कर फिर्ता दिलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । विपक्षीले भैंसीमा कर नलाग्नेमा कर असूल गरेको र अनियमित दोहोरो कर लिएको प्रष्ट छ । अतः जि. पं. को बैठकको निर्णयबाट विपक्षीको कुनै पनि हक हनन् नभएकाले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नेपालगञ्ज न.पं. को लिखितजवाफ ।

      ५.    चलन पुर्जीको १(थ) अनुसार रांगामा मात्र चुंगीकर लिन पाउने हो, भैंसीमा लिन पाउने हैन । नेपाल कानुन व्याख्या सम्बन्धी ऐन चलन पुर्जीको व्याख्यामा लागू हुने होइन । निजी प्रयोगको लागि ल्याएको भैंसीमा कर लिन पाउने होइन । नगरपञ्चायत ऐन, २०१९ को दफा २९(क)(४) अनुसार न.पं. क्षेत्रको बाटो गरी अन्यत्र लैजान ल्याएको मालमा न.पं. क्षेत्र बाहिर नलगेसम्म चुंगीकर धरौटी मात्र लिन पाउने व्यवस्था छ । सो कुरा चलन पुर्जीमा पनि उल्लेखित छ । विपक्षीलाई कुनै पनि ऐन नियमले दोहोरो चुंगीकर लिन पाउने अधिकार छैन । न.पं. बैठकको निर्णय कानुनसंगत छ । हामीले विपक्षीको हक अधिकारमा कुनै आघात नपारेकाले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षीहरु मैनुद्दिन, रामकिशुन बर्मा, देवताद्दिन वैश्य समेतको संयुक्त लिखितजवाफ ।

      ६.    नियम बमोजिम पेश हुन आएकोमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको वहस जिकिर समेत सुनी, मिसिल संलग्न प्रमाण हेरी निवेदक माग बमोजिमको आदेश जारी हुने नहुने विषयमा निर्णय दिन पर्ने हुन आयो ।

      ७.    निर्णयतर्फ हेर्दा यसमा निवेदकले नेपालगञ्ज नगरपञ्चायतबाट चुंगीकर असूल गर्ने सम्बन्धमा प्राप्त गरेको चलनीको आधारमा, रामकिसुन, लाल विहारी, मैनदिन समेतबाट भैंसी, मुठातिया, जडिबुटी, सुठो समेतमा चुंगीकर असूल उपर गरेको देखिन्छ । निवेदकले प्राप्त गरेको चलन पुर्जीमा भैंसीमा चुंगी कर लिन पाउने व्यवस्था देखिन नआएको, सो पुर्जी प्रतिकूल निवेदकले चुंगीकर लिएको देखिएको र सुठो, जडिबुटी समेतमा अनियमित कर लिएको कुरामा निवेदकले अन्यथा पुष्टि गर्न नसकेको, आफूलाई प्राप्त अख्तियारी बमोजिम चुंगीकर असूल गर्ने दायित्व निवेदकको रहेको, सो दायित्व अनुकूलको कार्य निवेदकले गरेको देखिन नआउँदा निवेदकलाई जरिवाना गरी अनियमित तवरबाट असूल गरेको चुंगीकर फिर्ता दिने गरी भएको नेपालगन्ज नगरपञ्चायतको मिति २०४५।८।१७ को निर्णय कानुन अनुकूल नै देखिँदा निवदेक माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल माघ १ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु