शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९३७ - कर्तव्य ज्यान

भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक:

निर्णय नं. ६९३७          ने.का.. २०५७            अङ्क ८/

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

सम्वत २०५६ सालको साधक नं. ... २८१

फैसला मितिः २०५६।११।३।३

मुद्दाः कर्तव्य ज्यान 

वादीः छलि थापाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः  स्यङजा जिल्ला, स्वरक गा.वि.. वडा नं. ५ बस्ने मनबहादुर थापा

§  प्रतिवादी मनबहादुर थापा वारदातको लगत्तै भागी वेपत्ता भै आफ्नो सफाई पेश गर्न सकेको देखिदैँन । जाहेरवाली छली थापाले लोग्ने र जेठाजु बीचमा अंश वेइज्जती मुद्दाहरु चलि बराबर झगडा हुने गरेको जेठाजु मनबहादुर थापाले लोग्ने मेगबहादुरलाई बन्चरोले टाउकोमा हानी कर्तव्य गरी मारेको भनी जाहेरी र अदालतमा आई बकपत्र गरेको पाइन्छ । शव परीक्षण प्रतिवेदन हेर्दा Cause of death is shock due to grievious injury of Brain भनी उल्लेख गरेको देखिन्छ । यसरी शव परीक्षण प्रतिवेदनबाट जाहेरीमा उल्लेखित घटना पुष्टि भैरहेको छ भने आफ्नो भाईको मृत्यु भएकोमा प्रतिवादी उपस्थित हुनुको सट्टा फरार रहेको अवस्था तथा मृतक र प्रतिवादी बीच मुद्दाहरु चलि बराबर झगडा भैरहेको परिस्थिति समेत विचार गर्दा प्रतिवादी निर्दोष रहेको कुरा पुष्टी हुन नआएकोले प्रतिवादी मनबहादुर थापालाई सर्वश्‍वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरु स्याङजा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्ने ।          

  (प्र.नं.२१)

वादी तर्फबाटः

प्रतिवादी तर्फबाटः

अवलम्बित नजिरः

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १०() बमोजिम साधक जाँचको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

2.            मेरो लोग्ने मेघबहादुर थापालाई जेठाजु मनबहादुरको र लोग्ने मेगबहादुरका बीच परेको अंश मुद्दा र बेइजती मुद्दा चलेको रिसइविको कारणबाट २०४३।२।२९ गते रातको १ बजेतिर लोग्ने मेगबहादुर घरको बाहिर पिंढीमा सुती निदाएको अवस्था जेठाजु मनबहादुरले फलामको बन्चरोले हानी कर्तव्य गरी मारेमा कारवाही गरी पाउँ भन्ने पुतली भन्ने छली थापाको जाहेरी दर्खास्त ।

3.            लासको टाउको समेतमा धारिलो हतियारले हानेको घाउ चोट परेको फलामको बन्चरो विडमा समेत रगत लागेको देखिएको भन्ने समेत व्यहोराको २०४३।२।३० को घटनास्थल तथा लास प्रकृति मुचुल्का रहेछ ।

4.           बन्चरो कस्को हो थाहा छैन । मेगबहादुरको मृत्यु कर्तव्यबाट भएको हो भन्ने समेत रोजकुमारी थापा, खगी थापाको भनाइ र मनबहादुरले कर्तव्य गरी मारेको भन्ने सोवितबहादुर थापाले प्रहरीमा गरेको बयान कागज ।

5.            मृतक मेगबहादुरलाई मनबहादुरले कर्तव्य गरी मारेछन् निज मनबहादुर भागी गएछन् भन्ने समेत २०४३।१२।१८ को सरजमिन मुचुल्का रहेछ ।

6.            बन्चरो रमबहादुरको भन्ने बुझिको, दण्डपाणी धरमबहादुर मेरो प्रतिवादी पक्षका मानिसहरु हुँदा मेरा पतिलाई मार्नमा निजहरु पनि सहमति हुनु पर्दछ भन्ने समेत छली थापाको दोश्रो जाहेरी रहेछ ।

7.            मेरो सौतेनी आमा रोजकुमारीको चिठीबाट बेगबहादुर कर्तव्यबाट मरेको भन्ने र वाबु घर छाडी हिडे भन्ने कुरा थाहा पाएको हुँ । मेगबहादुरलाई कसले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत लालबहादुर थापाले प्रहरीमा गरेको बयान कागज ।

8.           मनबहादुर मेगबहादुरका बीचमा अंश मुद्दा परेको कारणबाट मनबहादुर थापाले कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत धरमबहादुर थापाले जि.प्र.का.मा गरेको कागज ।

9.            प्र.मनबहादुर थापालाई ज्यान सम्बन्धीको १३() नं. बमोजिम सजाय हुन र प्र.धरमबहादुरलाई ऐजन ऐनको १७() बमोजिम र अन्य प्रतिवादी दण्डपाणी लालबहादुर थापा समेतलाई ऐ. ऐनको १७() बमोजिम सजाय हुन अनुरोध गरिन्छ भन्ने समेतको व्यहोराको प्रहरी प्रतिवेदन ।

10.         मेगबहादुरलाई कसले मारे मलाई थाहा छैन । मैले मारेको पनि होइन चिठीमा कुनै नराम्रो लेखेको छैन भन्ने लालबहादुरले अदालतमा गरेको बयान ।

11.         जाहेरवालीको लोग्ने र मनबहादुरका बीच अंश मुद्दामा मैले मनबहादुर तर्फबाट साक्षी बसेको कारण रिसबाट झुठ्ठो जाहेरी दिएकी हुन्, मेगबहादुरलाई मैले मार्न लगाएको पनि होइन बन्चरो पनि मेरो होइन भन्ने समेत धरमबहादुर थापाले अदालतमा गरेको बयान ।

12.         मृतकको लोग्ने मेगबहादुरको र मनबहादुरको बीच परेको अंश मुद्दामा जाहेरवालीको तर्फबाट साक्षी वकी दिएनन् भन्ने इवी लिई मेरा उपर झुठ्ठा जाहेरी दिएको हुन भन्ने समेत दण्डपाणी अर्यालले अदालतमा गरेको बयान ।

13.          प्र.मध्येका मनबहादुरका नाउँमा जारी भएको ७० दिने म्यादी पूर्जी २०४४।८।२९ गते तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको रहेछ ।

14.        प्रतिवादी मध्येका मनबहादुर थापाको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी राखी दिने र सो बाहेक अन्य प्र.हरुले सफाइ पाउने ठहर्छ भन्ने समेत शुरु स्याङजा जिल्ला अदालतको २०४६।२।२२ को फैसला ।

15.         प्रतिवादीहरुलाई सफाई दिने गरेकोमा चित्त बुझेन भन्ने वादी श्री ५ को सरकार तर्फबाट तत्कालीन ग.अं..पोखरामा पुनरावेदन परेको रहेछ ।

16.         स्याङजा जिल्ला दालतको इन्साफ मनासिव छ भन्ने समेत पुनरावेदन अदालत पोखराको २०४८।१२।२०।५ को फैसला ।

17.         शुरु अदालतको २०५२।११।१३ का आदेश बमोजिम मुल्तवीबाट जगाई दायरीमा दर्ता भएको मुद्दा रहेछ ।

18.         प्रतिवादी निर्दषी भएको भए आफ्नो भाइ मृत्यु भएबाट गाउँ घरमा आउनु पर्ने र सोही राती बेपत्ता हुनुपर्ने देखिँदैन । साँझ ७ बजे लुगा लगाई बाहिर गएको भन्ने कुरा प्रतिवादीकै श्रीमतीको कागजबाट देखिन्छ । तत्पश्चात् अन्यत्र रहेभएको यहाँ छ भन्ने समेत सुराक नदिई बसेको समेत देखिन्छ । अन्य रिसइवीवाला व्यक्ति कोही नभएका र मृतकलाई अरुले मार्नुपर्ने कारण समेत केही नहुँदा परिस्थितिजन्य प्रमाण र मिसिल संलग्न प्रमाण आधारबाट प्रतिवादी मनबहादुर थापाले बन्चरोले हानी मृतक मेगबहादुरलाई मारेको देखिँदा प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्बन्धीको महलको १३() नं. अनुसार निज प्र.मनबहादुर थापालाई सर्वश्‍वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु स्याङजा जिल्ला अदालतको मिति २०५३।२।२० को फैसला ।

19.         शुरु स्याङजा जिल्ला अदालतको मिति २०५३।२।२० को फैसला उपर साधक जाहेरका लागि दर्ता हुन आएको रहेछ ।

20.         जाहेरी र शव परीक्षण प्रतिवेदनले घटना पुष्टि भइरहेको र बारदातको लगत्तै प्र.मनबहादुर भागी बेपत्ता भएकोले निज निर्दष रहेछन भन्न सकिने अवस्था देखिएन । तसर्थ शुरु स्याङजा जिल्ला अदालतले प्रतिवादी मनबहादुर थापालाई ज्यान सम्बन्धी महलको १३() नं. अनुसार सर्वश्‍वसहित जन्मकैदको सजाय गर्ने ठहर्‍याएको फैसला मिलेकै हुँदा सदर हुन्छ । निज प्रतिवादी मनबहादुर थापाको हकमा साधक सदरको लागि सर्वोच्च अदालतमा जाहेर गर्नु भन्ने समेत पुनरावेदन अदालत पोखराको २०५५।२।१९ को फैसला ।

21.         नियम बमोजिम दैनिक पेशी सूचीमा चढी साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदन अदालत पोखराले प्रतिवादी मनबहादुर थापालाई सर्वश्‍वसहित जन्मकैदको सजाय गर्ने ठहराएको फैसला मिलेको छ, छैन ? निर्णय दिनु पर्ने भई इन्साफ तर्फ विचार गर्दा प्रतिवादी मनबहादुर थापा वारदातको लगत्तै भागी वेपत्ता भै आफ्नो सफाई पेश गर्न सकेको देखिदैँन । जाहेरवाली छली थापाले लोग्ने र जेठाजु बीचमा अंश वेइज्जती मुद्दाहरु चलि बराबर झगडा हुने गरेको जेठाजु मनबहादुर थापाले लोग्ने मेगबहादुरलाई बन्चरोले टाउकोमा हानी कर्तव्य गरी मारेको भनी जाहेरी र अदालतमा आई बकपत्र गरेको पाइन्छ । शव परीक्षण प्रतिवेदन हेर्दा Cause of death is shock due to grievious injury of Brain भनी उल्लेख गरेको देखिन्छ । यसरी शव परीक्षण प्रतिवेदनबाट जाहेरीमा उल्लेखित घटना पुष्टि भैरहेको छ भने आफ्नो भाईको मृत्यु भएकोमा प्रतिवादी उपस्थित हुनुको सट्टा फरार रहेको अवस्था तथा मृतक र प्रतिवादी बीच मुद्दाहरु चलि बराबर झगडा भैरहेको परिस्थिति समेत विचार गर्दा प्रतिवादी निर्दोष रहेको कुरा पुष्टी हुन नआएकोले प्रतिवादी मनबहादुर थापालाई सर्वश्‍वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरु स्याङजा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिँदा मनासिव  ठहर्छ । साधकको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. दिलिपकुमार पौडेल

 

इति सम्वत २०५६ साल फागुन ३ गते रोज ३ शुभम ................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु