निर्णय नं. ३९९९ - अंश बुझाई पाउँ

निर्णय नं. ३९९९ ने.का.प. २०४६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४५ सालको दे.पु.नं. ७६८
फैसला भएको मिति : २०४६।१०।६।६ मा
पुनरावेदक/वादी : का.जि. साखुपुखुलाक्षी वा.नं. ३ बस्ने पूर्णराज मुनि बज्राचार्य
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं. ३ बस्ने चैत्यलक्ष्मी बज्राचार्य
मुद्दा : अंश बुझाई पाउँ
§ लोग्ने स्वास्नीको ४ नं. अनुसार स्वास्नीले लोग्नेसंग अंश माग्ने र अंश बण्डाको १० नं. मा स्वास्नी छोराले बाबु पतिसंग अंश माग्ने कानुनी व्यवस्था भएको पाइन्छ, लोग्नेले स्वास्नीलाई अंश बुझाई पाउँ भन्ने र त्यसरी स्वास्नीले अंश बुझी लिनु पर्ने कानुनमा व्यवस्था नभएको ।
(प्रकरण नं. १३)
पुनरावेदक, वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ
फैसला
न्या. त्रिलोकप्रताप राणा : म.क्षे.अ.को मिति ०४५।७।१६ गतेको फैसला उपर चित्त नबुझी वादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. विपक्षी मेरी श्रीमती हुन् निजबाट ३ छोरा र १ छोरी समेत जन्म भएको छ । निजले घरको सम्पत्ति हेरचाह नगरी लथालिङ्ग गरी बसेको र गाउँलेको कुरा सुनी गाली समेत गरेकोले छुट्टै बस भन्दा इन्कार गरी अनेक बखेडा गरी अंशबण्डाको १० नं. मा कि अंश दिनु पर्ने कि इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने उल्लेख भएको संधै माना चामल भराउन म असमर्थ छु । कानुन बमोजिम आमा ज्ञानमाया र मेरो २ भाग मध्ये १ भाग अंश विपक्षीलाई बुझ्न लगाई बुझ्नु पर्ने अंश नबुझेमा कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. अंशबण्डाको १० नं. ले विपक्षीको हक लाग्दैन अतः वादी दावी खारेज गरी झुठ्ठा दावी दिएमा निजलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. अंश लिन्न भन्ने स्वास्नीलाई लोग्नेले कर लगाई अंश छुट्याउन पाउने देखिन नआएकोबाट अंश बुझाई पाउँ भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने का.जि. अ.को फैसला ।
५. का.जि. अ.को फैसला चित्त बुझेन सो फैसला उल्टी गरी वादी दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको वादी पूर्णराज मुनिको बा.अं.अ.मा पुनरावेदनपत्र ।
६. शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराएको इन्साफ मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला ।
७. बा.अं.अ.को फैसला चित्त बुझेन उक्त फैसला बदर गरी पाउँ र उक्त फैसलामा कानुनी त्रुटि विद्यमान भएकोले उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको म.क्षे.अ.मा परेको निवेदनपत्रमा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ.को आदेश रहेछ ।
८. अंशबण्डाको १०नं. बमोजिम स्वास्नीले लोग्नेको मञ्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन तर लोग्ने स्वास्नीको महलको ४ नं. मा उल्लेखित अवस्थामा भने अंश लिई छुट्टिन पाउँछ भन्ने विधायकी मनसाय रहेको देखिँदा छुट्टिई अंश लिन मञ्जुर नगर्ने स्वास्नी छोरालाई कर लगाई लोग्ने बाबुले छुट्याई दिन पाउने पनि देखिन्न । वादी पूर्णराज मुनि बज्राचार्यले आफ्नी स्वास्नी चैत्यलक्ष्मीलाई अंश दिई छुट्याई पाउँ भन्ने दावी पुग्न नसक्ने शुरु अदालत र बा.अं.अ.को फैसला मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को ०४५।७।१६ गतेको फैसला ।
९. वादी दावी पुग्न नसक्ने ठहराएको शुरु फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफमा कानुनको व्याख्या सम्बन्धी त्रुटि हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी वादी पूर्णराजको यस अदालतमा पर्न आएको निवेदनमा यसै लगाउको माना चामलमा अनुमति दिएको हुँदा यसमा पनि अनुमति दिइएको भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४५।९।५ को आदेश रहेछ ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेको पक्ष विपक्षका वा.लाई समेत रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले लोग्नेले कुटपिट गरी निकाला गर्यो भने स्वास्नीले अंश बण्डाको १० नं. अन्तर्गत अंश बुझ्दिन भनी इन्कार गर्न पाउने होइन किनकी लोग्ने स्वास्नीको कुरा अंश बण्डाको १० नं. अन्तर्गत नपरी लोग्ने स्वास्नीको महलको ४ नं. भित्र पर्ने कुरा हो तसर्थ अंश बुझाई पाउँ भन्ने वादी दावा नपुग्ने ठहर गरेको म.क्षे.अ. को इन्साफ मिलेको नहुँदा उल्टी हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठले अंश बण्डाको १० नं. बमोजिम स्वास्नीले लोग्नेको मञ्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन तर लोग्ने स्वास्नीको महलको ४ नं. मा उल्लेखित अवस्थामा भने अंश लिई छुट्टिन पाउँछ भन्ने विधायिकाको मनसाय रहेको र अंश लिन मञ्जुर नगर्ने स्वास्नी छोरालाई कर लगाई लोग्ने बाबुले छुट्याई दिन पाउने नहुँदा अंश दिई छुट्याई पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर गरेको शुरु तथा अञ्चलको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा वादीले फिराद दावी गर्दा मु.ऐन अंश बण्डाको १, २, १० नं. र लोग्ने स्वास्नीको ४ र ६ नं. लाई अंगाली आमा ज्ञानमाया र मेरो दुई भाग अंश लोग्ने सो दुई भाग मध्ये छोरा ३ र विपक्ष म समेत गरी ५ भाग मध्ये १ भाग अंश विपक्षीलाई बुझ्न लगाई पाउँ भन्ने दावी लिएको पाइन्छ । अंशबण्डाको १० नं. हेर्दा “बाबुको जिउ छउन्जेल अंश दिन छोराहरुले बाबुलाई बाध्य गराउन सक्ने छैनन म अहिले छुट्टिन्न भन्ने छोरालाई बाबुले कर लगाई छुट्याउन पनि हुँदैन । स्वास्नीले पनि लोग्नेको जिउ छउन्जेल लोग्नेको मञ्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन । छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ । लोग्ने स्वास्नीको महलको ४ नम्बरमा लेखिएको कुरामा भने सोही बमोजिम हुन्छ” भन्ने र लोग्ने स्वास्नीको महलको ४ नं. मा “सासु ससुरा समेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कुटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे । त्यो स्वास्नी मरी वा पोईल गई भने उसले खाई लाई बाँकी रहेजति हकवालाको हुन्छ । सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ” भन्ने व्यवस्था भएको पाइन्छ ।
१३. लोग्ने स्वास्नीको ४ नं. अनुसार स्वास्नीले लोग्नेसंग अंश माग्ने र अंशबण्डाको १० नं. मा स्वास्नी छोराले बाबु पतिसंग अंश माग्ने कानुनी व्यवस्था भएको पाइन्छ । लोग्नेले स्वास्नीलाई अंश बुझाई पाउँ भन्ने र त्यसरी स्वास्नीले अंश बुझिलिनु पर्ने उक्त कानुनहरुमा व्यवस्था नभएकोले वादी दावी नपुग्ने ठहराएको शुरु जि. अ.को इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल माघ ६ गते रोज ६ शुभम् ।