निर्णय नं. ४००२ - ७ नं. फाँटवारी छानबीन

निर्णय नं. ४००२ ने.का.प. २०४६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको दे.पु.नं. ६८४
फैसला भएको मिति : २०४६।११।१।१ मा
पुनरावेदक/प्रतिवादी : जि. सुनसरी गा.प. तनमुना वा.नं. १ बस्ने श्रीमती रुकमणी देवी अग्रहरीसमेत
विरुद्ध
प्रत्यर्थी/वादी : श्री ५ को सरकार
मुद्दा : ७ नं. फाँटवारी छानबीन
§ एकपटक भइसकेको अन्तिम निर्णय उपर पुनः कारवाही उठाई निर्णय गर्ने अधिकार नै नरहेकोमा पुनः कारवाही उठाई अनाधिकार रुपमा दोश्रो पटक भएको निर्णय प्राङन्यायको सिद्धान्तको आधारमा समेत त्रुटिपूर्ण हुँदा जिल्ला समितिको निर्णय र सो सदर गर्ने गरेको अञ्चल अदालतको फैसला तथा क्षेत्रीय अदालतको अनुमति नदिने गरी गरेको आदेश समेत बदर हुने ।
(प्रकरण नं. १९)
पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
प्रत्यर्थी, वादी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को अनुमति नपाउने आदेश उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ।
२. विपक्षी एवं मानिकचन्द्र अग्रहरीले द.नं. ११८५ मिति २०२२।१०।१८ मा भू.सु.का. मोरंगमा पेश गरेको ७ नं. फाँटवारीमा जम्मा ज.वि. १२६–१५–१९ छोरा केशरीचन्द्रले द.नं. १९९ मिति २०२२।१०।२० मा गा.पं. तनमुना मार्फत पेश गरेको ७ नं. फाँटवारीमा जम्मा ज.वि. १–०–० रामानन्द अग्रहरी नं. ११८६ मिति २०२२।१०।१८ मा भु.सु.का. मोरंगमा पेश गरेको फाँटवारी अनुसार २९–९–१ धुर छोरा कुलदिप नारायणले द.नं. १३१० मिति ०२२।१०।२४ मा भू.सु.का. मोरंगमा पेश गरेको फाँटवारी अनुसार २७–८–१६ छोरा श्यामसुन्दरले गा.पं.का. तनमुना मार्फत पेश गरेको १८९।०२२।१०।२० को फाँटवारीमा १–१८–० को फाँटवारी पेश गरेको देखियो ।
३. विपक्षी स्व. मानिकचन्द्रका उल्लेखित परिवारहरुको सबै एकीकृत गरी हेर्दा जम्मा ज.वि. १८६–११–१८ को फाँटवारी पेश भएको ।
४. फाँटवारी बमोजिमको जग्गा नापीमा रैकर तथा गुठी दुवैतर्फ गरी जम्मा ज.वि. १४२–१५–१० कायम भएको देखिँदा मिति २०२६।१०।९ को भू.सु.का. सुनसरीको आदेशानुसारको प्रष्टीकरणको माग गर्दा उमेर पुगेका छोरा कुलदिप नारायण–१, रामानन्द–१, केशरीचन्द्र–१ र श्यामसुन्दर १ समेत उमेर पुगेका ५ परिवार छौं र उल्लेखित जग्गा हामीले राख्न पाउने हद मुनिको छ भन्ने विपक्षी मुल व्यक्ति मानिकचन्द्रको प्रष्टीकरणको लिखितजवाफ ।
५. पुनः विपक्षी ५ परिवारमा राख्न सकिने १४०–०–० भन्दा बढी देखिएको हुँदा जग्गा कुन जग्गाबाट छाड्ने भनी विपक्षी मुख्य व्यक्ति मानिकचन्द्र अग्रहरीको नाउँमा समाहृवान जारी गर्दा निज उपस्थित भई पेशी देखिएको २–१५–१८ जग्गा हातीमुडा गा.पं. वडा नं. ७(क) कि.नं. ९८, १०२ वडा नं. ८ कि.नं. ८५–८८, १७६, ८४ समेतको २–४–१३ र जि. सु. छिटाहा गा.पं. अन्तर्गतको वडा नं. १(ख) कि.नं. ३५ को जग्गा मध्ये ०–११–५ समेत गरी २–१५–१८ जग्गा छाडन मञ्जुरी छु भन्ने ०२८।४।२५ को मानिकचन्दको बयान ।
६. भू.सु.का. सुनसरीको २०२८।४।१६ को आदेश अनुसार बढी देखिएको ज.वि. २–१५–१८ जग्गा भू.सु. ऐन, २०२१ को दफा ५ बमोजिम प्राप्त गर्ने र सो को ८ नं. अनुसूची समेत प्रकाशन गर्ने र हाजिर रहेका विपक्षीलाई तारेख टुटाई दिने भन्ने आदेश भएको र ०३०।४।१५ का आदेशानुसार विपक्षीका नाउँको जग्गाको फाँटवारी भू.प्र.का. मोरंगबाट मगाउने र विपक्षी समेत झिकाउने उमेर सम्बन्धी प्रमाण पेश गराउने भन्ने आदेश ।
७. विपक्षीले पेश गरेको ७ नं. फाँटवारीको सक्कलै मिसिल समेत भू.प्र.का. मोरंगको ०३०।३।१५ को आदेशानुसार भू.सु.का. सुनसरीमा प्राप्त हुन आएको ।
८. विपक्षीहरुले ७ नं. फाँटवारीमा देखाएको जग्गा नापीमा के कति कायम भएछ भनी ज.ध.द.प्र. पूर्जा र उमेर पुगेको प्रमाण समेत लिई उपस्थित गराउने भन्ने आदेश भएकोमा ०४०।६।१५ मा तामेल भएको म्यादमा निजहरु उपस्थित नभई म्यादै गुजारी बसेका ।
९. फाँटवारी अनुसारको जग्गा नापीमा रैकर तथा गुठी दुवैतर्फ के कति कायम छ बुझी पेश गर्नु भन्ने समेतको आदेशानुसार विपक्षीका नाउँमा जग्गा १३६–१–११ मात्र कायम भएको प्रमाणबाट देखिएको ।
१०. पुनः सो मानिकचन्द्र परलोक हुँदा निजका हकदार श्रीमती रुकमणीदेवी र छोरा रामानन्द, कुलदीप नारायण, केशरीचन्द्र, श्यामसुन्दर समेतका वा.उपस्थित भई ७ नं. फाँटवारी बमोजिम जग्गा साविकमा बिक्री भएको र भोगबन्धकी समेत खुलाई ७ नं. फाँटवारी दाखिल भएमा सो कटाउँदा हाम्रो परिवारमा साविकमा जग्गा बिगहा १४३–०–१६ मात्र भएको र हाल नापी अनुसार रैकर तथा गुठी दुवै तर्फ गरी हाम्रो परिवारमा १२८–०–१७ मात्र कायम छ । बुझी पाउँ भन्ने ०४१।१०।८ को बयान ।
११. विपक्षीले नापी बमोजिम जग्गा १२८–०–१७ जग्गा कायम भएको भन्ने जिकिर लिएको पनि मिसिल संलग्न प्रमाणबाट प्रतिवादीका नाउँमा जम्मा १३६–१–२ जग्गा कायम भएको ५ परिवार भन्ने जिकिर भएकोमा छोरो श्यामसुन्दर अग्रहरीले मोरंग जर्दा फैक्टरीलाई ०२२ साल आषाढमा जग्गा बिक्री गरेको लिखतबाट निजको उमेर त्यस बखत १३ वर्ष मात्र देखिँदा ४ परिवारमा ११२–०–० जग्गा मात्र कायम राखी बढी देखिएको जग्गा कहाँबाट छोडने भनी ०४१।१२।१४ को आदेशानुसार मुख्य व्यक्ति मानिकचन्द परलोक हुँदा निजकी पत्नी र नाबालक छोरा श्यामसुन्दर अग्रहरीलाई निजहरु उपस्थित नभई म्यादै गुजारी बसेका ।
१२. जम्मा जग्गा बिगहा २४–१–२ जग्गा भू.सु. ऐन, २०२१ को दफा १५ बमोजिम प्राप्त गर्ने गरी ८ नं. अनुसूची प्रकाशित गर्ने ठहर्छ भन्ने श्री ५ को सरकार भूमिसुधार मन्त्रालयको जिल्ला समिति सुन्सरीबाट ०४२।१।२६ को फैसला ।
१३. शुरु जिल्ला समिति सुनसरीको फैसला चित्त बुझेन सो फैसला बदर गरी म श्यामसुन्दर अग्रहरी सहित हाम्रो ५ परिवारका नाममा राख्न पाउने अधिकतम हक हदबन्दी भन्दा बढी जग्गा मात्र प्राप्त हवस भन्ने पुनरावेदनपत्र ।
१४. प्र.श्यामसुन्दरको उमेर यस जिल्लामा भू.सु. लागू भएको मिति २०२२।८।१ मा १६ वर्ष पुगी सकेको रहेछ कि भन्नलाई निजका बाबुले भू.सु.अ. समक्ष गरेको बयानमा २००५ सालमा जन्मेको भनेका र सत्यनारायण हाइस्कूलको पत्रबाट स्कूलको रेकर्ड अनुसार निजको जन्म मिति २००६।१।९ देखिन आएको भनेबाट सो उमेर विरोधाभासपूर्ण रहेको साथै प्रतिवादीहरुले ७ नं. फाँटवारी दाखिल गर्नु भन्दा पहिले नै मिति २०२२ साल आषाढ महीनामा प्र.श्यामसुन्दरले मोरंग जर्दा फैक्ट्रिलाई पारित गरिदिएको लिखतमा निज श्यामसुन्दरको उमेर १३ वर्ष उल्लेख भएको यदि त्यस अवस्थामा सावालक भइसकेको भए १३ वर्ष उल्लेख हुनुपर्ने कुनै मनासिब कारण देखिन नआएको र विद्यालयको भन्दा मा.पो.का. बाट पारित भएको राजीनामामा उल्लेखित उमेर अकाट्य प्रमाणको रुपमा ग्रहण गर्नु पर्ने देखिँदा जर्दा फैक्ट्रिको राजीनामा अन्दाजी उमेर लेखिएको भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । भूमिसुधार लागू भएको अवस्था श्यामसुन्दर अग्रहरी नाबालकै देखिँदा ४ परिवार कायम गरी सबैबाट कायम भएको जग्गा बिगहा १३६–१–१२ मा ४ परिवारले राख्न पाउने अधिकतम हदबन्दीको ज.वि. ११२–०–० कटाई बाँकी ज.वि. २४–१–२
प्राप्त गर्ने गरी भएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको २०४४।२।५ को फैसला ।
१५. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी रुकमिणीदेवी अग्रहरी समेतको प.क्षे.अ. मा निवेदन परेकोमा न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान नहुँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत पु.क्षे.अ.एक न्यायाधीशको इजलासको मिति २०४४।९।३ को आदेश ।
१६. पु.क्षे.अ.ले पुनरावेदनको अनुमति नदिने गरी गरेको आदेशमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी रुकमणी देवी अग्रहरी समेतको निवेदन परेकोमा पू.क्षे.अ.को अनुमति नदिने गरी गरेको आदेशमा भू.सु. ऐन, २०२१ को दफा १३(३) तथा १४ समेतको व्याख्यामा त्रुटी गरी गरेको देखिन आएकोले न्या. प्र.सु. (संशोधन सहित) ऐनको दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।३।१० को आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह तथा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१८. अब यसमा पू.क्षे.अ.ले अनुमति नदिने गरेको आदेश मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।
१९. निर्णयतर्फ विचार गर्दा यसमा भूमिसम्बन्धी ऐन, २०२१ मोरंग तथा सुनसरी जिल्लामा ०२२ सालमा लागू हुँदा पुनरावेदक प्रतिवादीका पति, पिता स्व. मणिकचन्द अग्रहरीले ऐनका म्याद भित्र आफ्नो र आफ्ना परिवारको समेत ७ नं. फाँटवारी भरेको देखिन्छ । सो सम्बन्धमा अधिकार प्राप्त निकाय सम्बन्धित भूमिप्रशासन कार्यालय सुनसरीले छानबीन गर्ने सिलसिलामा लिइएका बयान तथा बुझिएका कागज प्रमाणहरुको मूल्यांकन गरी निज माणिकचन्द अग्रहरी समेत पाँच परिवार कायम हुने ठहर्याई कायम हुन आएको जग्गा मध्ये भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गत राख्न पाउने जग्गा भन्दा बढी देखिन आएको ज.वि. २–१५–१८ ऐ.ऐनको दफा १५ बमोजिम प्राप्त गर्ने गरी मिति २०२८।४।१६ मा अन्तिम निर्णय गरिसकेको देखिन्छ । सो पछि श्री ५ को सरकार भूमिसुधार मन्त्रालयबाट नेपाल राजपत्रमा मिति २०४०।२।१६ तथा २०४१।१०।१ मा सूचना प्रकाशित गरी ऐन बमोजिम तोकिएको भूमिसुधार अधिकारीले गर्नु पर्ने काम कारवाही मध्ये हदबन्दी छानबीन सम्बन्धी काम कारवाही गर्ने सुनसरी जिल्लामा पनि एउटा समिति गठन गरेको पाइन्छ । जसबाट उक्त समितिलाई पुनरावेदन तहको अधिकार क्षेत्र प्रदान गरेको नभई सम्बन्धित भूमिसुधार कार्यालयको कार्य गर्न अधिकार तोकिएको देखिन्छ । यस्तोमा भूमिप्रशासन कार्यालयबाट एकपटक भइसकेको मिति २०२८।४।१६ को अन्तिम निर्णय उपर पुनः कारवाही उठाई निर्णय गर्ने अधिकार नै नरहेकोमा पुनः कारवाही उठाई ४ परिवार कायम गरी जम्मा ज.वि. २४–१–२ प्राप्त गर्ने गरी अनाधिकार रुपमा सो समितिबाट दोश्रो पटक भएको मिति २०४२।१।२६ को निर्णय प्राङन्यायको सिद्धान्तको आधारमा समेत त्रुटिपूर्ण हुँदा जिल्ला समिति सुनसरीको उक्त मिति २०४२।१।२६ को निर्णय र सो सदर गर्ने गरेको कोशी अञ्चल अदालतको मिति २०४४।२।५ को फैसला तथा पूर्वाञ्चल क्षेत्रीय अदालतको अनुमति नदिने गरी गरेको मिति २०४४।९।३ को आदेश समेत बदर हुने ठहर्छ । भूमिप्रशासन कार्यालय सुनसरीबाट ज.वि. २–१५–१८ प्राप्त गर्ने गरी भएको मिति २०२८।४।१६ को निर्णय नै कायम हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरी ज.वि. २–१५–१८ मात्र प्राप्त गर्ने भू.सु.का. सुनसरीको निर्णय कायमै रहेबाट जिल्ला समिति सुनसरीको मिति २०४२।१।२६ को निर्णय बमोजिमको लगत राख्न परेन । कट्टा गर्नु भनी सम्बन्धित भू.सु.का. मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु...१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदक प्रतिवादीहरुले शुरु कोर्टफी रु. १०।– तथा यस अदालतको आदेश बमोजिम रु. १।५० कोर्टफी दाखिल गरेको देखिँदा जम्मा कोर्टफी रु. ११।५० कानुन बमोजिम फिर्ता माग्न आए भराई दिई फिर्ता खर्च लेखी दिनु भनी शुरुमा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु....१
मिसिल नियमानुसार गरी बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल फाल्गुण १ गते रोज १ शुभम् ।