निर्णय नं. ६९४० - विष खुवाई कर्तव्य ज्यान

निर्णय नं. ६९४० ने.का.प. २०५७ अङ्क ८/९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
सम्वत २०५४ सालको फौ.पु.नं. ...१५८०
सम्वत २०५६ सालको फौ.सा.नं. .. ३२३
फैसला मितिः २०५६।११।१६।२
मुद्दाः विष खुवाई कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः गण्डकी अञ्चल तनहु जिल्ला, भिरकोट गा.वि.स. वडा नं. १ घर भै हाल कास्की कारागार शाखामा थुनामा रहेकी वर्ष २३ की मिठु भन्ने देवीमाया रानाभाट
विरुद्ध
विपक्षी/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादीः देवीमाया रानाभाट
§ प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून बमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था बमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएतापनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैँन । यी पुनरावेदिका प्रतिवादी मिठु भने देवी मायाले अदालतमा गरेको बयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती बयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनुपर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव नदेखिँने ।
(प्र.नं. २५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीकान्त बराल
विपक्षी वादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. मिति २०५२ पुस २१ गते डोलनाथ रानाभाट ढुंगाडे भन्ने ठाउँमा विवाह नाचगान हेरी बेलुकी घर फर्किइ खाना खाई सुतेको रहेछ । २२ गते अबेरसम्म निज डोलनाथ नउठेकाले आमा पदमा छोराको घरतर्फ जाँदा घर बाहिर छाँदैछाँद भएको त्यहीनेर कुखुरा मरी रहेको र डोलनाथ आफ्नै घरको विस्तारमा छादैछाद भई मृत अवस्थामा देखी हल्ला हुँदा निजको श्रीमती मिठु रानाभाट घरमा नदेखिएको हुँदा निज मिठुले नै खानामा विषादी प्रयोग गरी मारे मराएकोमा विश्वास लागेकोले कानुन बमोजिम गरी पाउँ भन्ने अपराधको सूचना ।
3. ढुंगा माटोले बनेको ढुंगाको छानो भएको घर, घरको ढोका अगाडि छादको दाग देखिएको, आँगन वरपर ११ वटा कुखुरा मरेको र घरको भित्र दुई थाम मध्ये नजिक उत्तरतर्फ गुन्द्री विछ्याएको, गुन्द्री माथि सिरक ओढी मृत अवस्थामा डोलनाथको लास रहेको, सो नजिक भुइमा सागभात मिसिएको छाद रहेको, मृतकको मुखबाट रगत निस्किएको वाया कोखामा कालो देखिएको, लिंगबाट विर्य निस्किएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति र मृत लास प्रकृति मुचुल्का ।
4. भिषेरा रिपोर्ट प्राप्त भएपछि मृतकको मृत्युको कारण खुलाउन सक्ने भन्ने समेत व्यहोराको पोष्टमार्टम राय ।
5. पहिलो, दोश्रो, तेश्रो विवाह गर्दा पनि लोग्नेहरुबाट मेरो सन्तान नभएकाले माइतमा बसेकी थिएँ । मिति २०५२।९।१४ गते सुमित्रा विश्वकर्माले डोलनाथ रानाभाटसँग लगाई दिएकीले निजसँग पोइल गएँ । निजको श्रीमती मरेको र छोरा र छोरी भएको कुरा पछि थाहा भयो । छोरा छोरी भएको मानिससँग परिएछ भनेर मन बिक्रिन थाल्यो, निज डोलनाथ रानाभाटले मलाई छोरा छोरीलाई खान दिएन । केही ढंग नभएको भनी गाली गरी रहने र निज परिवार नियोजन गरी बसेको हुँदा बालबच्चा पनि नहुने भएकोले जिन्दगी वरवाद भएकाले सुमित्रालाई पनि लोग्नेले कवोल गरेको रु.५००।- दिई नसकेकाले निज समेत डोलनाथ रानाभाटसँग रिसएकी थिइन । सुमित्राले बिष हालेर डोलनाथलाई मारी दे भनी २०५२।९।१९ गते भनेकीले मुसा मार्न भनी मुसाको विष खरिद गरी ल्याई २०५२।९।२१ गते राती भातसँग पकाई झोलवाला सागमा विष हाली दिई रक्सीले मातिएका लोग्ने डोलनाथलाई भात र साग खान दिएँ । त्यसपछि छटपटाउन थाल्यो र म भागी गएँ । भोलिपल्ट निजको मृत्यु भै सकेको थाहा भयो । मैले नै विष हाली खाना खान दिई डोलनाथ रानाभाटलाई मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी मिठु भन्ने देवीमाया रानाभाटले प्रहरीमा गरेको बयान ।
6. डोलनाथ रानाभाटसँग मिठुलाई लगाई दिए वापत मलाई दिनुपर्ने रुपैया दिई सकेको थिएन । निजको स्वास्नी मिठुले खानामा विषादी राखी खान दिएकोले डोलनाथ रानाभाटको मृत्यु भएछ । निजको मृत्यु सम्बन्धमा मेरो कुनै संग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी कोप्रि भन्ने सुमित्रा वि.क.ले प्रहरी समक्ष गरेको बयान कागज ।
7. सुमित्रा वि.क.ले डोलनाथ रानाभाटसँग विवाह गराई दिएकी र विवाह गराई दिएकोमा मलाई रु.५००।– चाहिन्छ भनी भनेकीले रु.२००।- दिई रु.३००।- बाँकी नै थियो । बाँकी रुपैया दिएन । विषालु औषधी राखी खानदिनु भनी भनेकीले मुसाको विष ल्याई खान दिएको भनी देवी माया रानाभाटले गाउँलेको सामुन्ने भनेकीले निजहरुकै मिलेमतोबाट डोलनाथ रानाभाटको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सूर्यबहादुर रानाभाट, कृष्णबहादुर रानाभाट, भिमबहादुर रानाभाट, भक्तबहादुर रानाभाट, रामनाथ काफ्ले समेतको पृथक पृथक व्यहोराको कागज ।
8. मिति २०५२।९।२१ गतेका दिन घर मै बसिरहेकी बुहारी देवीमाया भोलिपल्ट बिहान घरमा देखिन। सुमित्रा विश्वकर्माको मिलेमतोबाट बुहारी देवीमायाले विषादी प्रयोग गरी डोलनाथ रानाभाटलाई कर्तव्य गरी मरेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मृतककी आमा पदमा रानाभाटले प्रहरीमा गरेको कागज ।
9. मिति २०५२।९।२२ गते जोती रहेको थिएँ । त्यहाँ सदस्य डोलराज आई मिठुलाई देख्नु भयो । मिठुको मित आमा चिरन थापाको श्रीमती चौपारीमा दाउरा खोज्न आउनु भएको थियो । मिठु बिरामी छु भनी आएकी थिई । लिमास्वारा तर्फ गएकी छु भनेकाले लिमास्वाराकरुमाक्कीकोमा जाँदा गोठमा बसेकी छे भनेकाले जाँदा गोठमा लुकिछिपी बसेकी रहिछ । त्याहाँ पुग्दा लोग्ने मारेर आएकी भनी कृष्णले भनेकाले रुन कराउन लागि भन्ने समेत व्यहोराको डम्बर बहादुर सुगरी मगरले प्रहरीमा गरेको कागज ।
10. मिति २०५२।९।२१ गते साँझ हामीलाई सानी आमा मिठुले खाना खान दिइनन् । बुबाले पछि खाना खानुभयो । बुबा बिरामी हुँदा सुति सकेको थिएँ । पछि सानीमा मिठुले हजुरआमासँग सुत्न जा भनी भनेकीले सुत्न गएँ । बुबा पेट पोल्यो भनी छटपटाई रहेका थिए । २०५२।९।२२ गते बुबा मृतक अवस्थामा देखेको हुँ भन्ने समेत व्यहोराको मृतकको छोरा लिल बहादुर रानाभाटले गरेको कागज ।
11. मिति २०५२।९।२२ गते बिहानी पख मिठु मेरो घरमा बिरामी छु भन्दै आएकी थिइ र उपचार गराउन माक्कीम थापा मगरकोमा गई पछि लोग्नेलाई विषालु औषधी खुवाई मारेकाले समातेर लगे भन्ने सुनेकी हुँ भन्ने समेत व्यहोराको कुलमाया माक्कीम मगरले प्रहरीमा गरेको कागज ।
12. मेरो दोकानमा दैनिक उपभोगका सामान लगायत मुसा मार्ने औषधी पनि बिक्री गर्न राखेको छु । २०५२।९।२१ गते दिउसो मिटु मेरो दोकानमा आई मुसाले धान खायो । मुसाकोऔषधी दिनुहोस भनी भनेकाले रु.५।- लिई एक पुडिया मुसाको औषधी दिएकी थिएँ । सो मुसा मार्ने औषधी (विष) मिठुले लोग्ने डोलनाथलाई खुवाएर मारेको भन्ने हल्ला भएकोले डोलनाथको मृत्यु भएको थाहा भयो भन्ने समेत व्यहोराको रुक्मणी रानाभाटले प्रहरीमा गरेको कागज।
13. प्रतिवादी देवीमाया रानाभाटले डोलनाथ रानाभाटलाई प्र.सुमित्रा वि.क.ले विष खुलाउन लगाएकीले मुसा मार्ने विष सागमा मिसाई खान दिई डोलनाथ रानाभाटको ज्यान मरेको स्पष्ट देखिँदा अभियुक्त देवीमाया रानाभाटलाई मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १ नं. र १३(२) नं. मा वर्णित भएको कसूर अपराधमा सोही ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वश्व सहित जन्मकैद र प्रतिवादी सुमित्रा वि.क.लाई ज्यान सम्बन्धी महलको १ नं. र १३(२) नं. मा वर्णित कसूर अपराधमा सोही ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम जन्म कैदको सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
14. म हाल पाँचौ लोग्ने मृत्यु हुने डोलनाथ रानाभाटसँग पोइल गएकी हुँ । यस भन्दा अगाडीका लोग्ने छोडी २, ३ वर्ष अगाडी देखि आफ्नै माइतमा बसेकी थिएँ । मृतक डोलनाथ रानाभाट पेन्सीने लाहुरे हो भनी सुमित्रा वि.क.ले लगाई दिएकी हुन । डोलनाथसँग पोइल लगाई दिए वापत सुमित्राले रु.२००।- मात्र पाएकी र ३००।- दिन बाँकी थियो । मृतक डोलनाथले बाँकी रुपैया पनि नदिएको र रक्सि पनि नखुवाएकोले मैले भनेको रुपैया पुरै नदिए अर्को ठाउँमा पोइल लगाई दिन्छु भनी भनेकी थिइन । मलाई पोइल लगाई दिँदा लाहुर जान पाइन्छ भनी झुक्याई पोइल लगाई दिएको र घरमा जाँदा २ छोरी १ छोरा भएको र मलाई लगेपछि सधै गाली गरी रहन्थे । उक्त २१ गते विहान विवाहमा डोलनाथले रक्सी दाल भात खाएर बेलुका घरमा आएको थियो । मैले उक्त २१ गते दिउसो १२ बजेतिर बिहान घर नजिकको साप्रे भन्ने मान्छेको दोकानबाट रु.५।- को मुसाको विष किनेर ल्याई सोही दिन बेलुका ७ बजे तिर केटा केटीलाई खाना खुवाई गरी आफ्नो हजुरआमाको घरमा सुत्न गएको थिएँ । त्यसपछि डोलनाथ आए । मैले सागको तरकारी बनाएकी थिएँ । खाना पाकी वरी सागको तरकारीमा विष हाली खान दिएँ । खाना खाएको १, २ घण्टा जति म आमा छोरा छोरीसँग गफ गर्दै थिएँ । सोही दिन निजको बहिनीको छोरा बिरामी भएकोले लामा कहाँ लिएर दाजु बहिनी गए । फर्कि आएपछि बान्ता भयो पानी खान दिएपछि केही आराम भयो । केहीबेरपछि पेट पोल्यो भनी छटपटाउन थाल्यो र आमा बहिनीले दहि झिकेर खान दिए । फेरी शान्त भयो फेरी पेट पोल्यो भन्यो त्यसपछि वान्ता गर्यो । पानी माग्यो पानी खान दिएँ पटक-पटक शान्त हुने छटपटाउने गर्यो त्यसबेला बिहानको कुखुरा बासी सकेको थियो । मलाई त्यस्तो अवस्था देखेपछि डर लाग्यो र कसैलाई पनि नउठाई नबोलाई मित बाबु लुरे मगर कहाँ बसिरहेको अवस्था २०५२।९।२२ गते नन्देभाई सूर्य रानाभाट लिन गई म मेरो घरमा आए । घरमा आई हेर्दा डोलनाथ रानाभाट आफ्नो ओछ्यानमा मरी रहेको अवस्था थियो । मृतकले छादेको छाँद खाई ५ वटा कुखुरा पनि मरेका थिए । निजका पहिलो श्रीमती तिर छोरा तथा छोरी भएका र निजको परिवार नियोजन गरी सकेको हुँदा मेरो मन उराठ भई मन थाम्न नसकी यसै उसै मारी दिन्छु भनी डोलनाथ रानाभाटलाई विष हाली मारी दिएकी हुँ । सुमित्रा वि.क.ले विष हालेर मारी दे भनी सल्लाह दिएकी होइन भन्ने समेत व्यहोराको मिठु भन्ने देवीमाया रानाभाटले शुरु अदालतमा गरेको बयान ।
15. मिति २०५१ साल पौष १६ गते बिहान ८ बजेतिर देवीमाया र डोलनाथ भै डोलनाथ रानाभाटको घरमा भएका हुन् । देवीमाया रानाभाटलाई डोलनाथ रानाभाटले स्वास्नी बनाउन लैजाँदा डोलनाथले दिदी म तिमीलाई रु.५००।- दिउँला है भनेका थिए तर मलाई केटी लाँदाकै दिनमा रु.१००।- दिएका थिए । मैले स्वास्नी मिलाई दिए वापत रु.५००।- दिनुपर्छ भनी भनेको थिइन । मैले मृतकसँग रुपैया पनि नमागेको र रुपैया दिएन भनी मृतकलाई मार्नुपर्छ भनी देवीमाया रानाभाटसँग सर सल्लाह भएकोसमेत होइन र मेरो सहमतीबाट मृतक डोलनाथलाई मारेको समेत होइन । डोलनाथ रानाभाटलाई देवीमाया रानाभाटले विष खुवाई मारेको भनी भनेकी छन् । निजलेहोला भन्ने समेत व्यहोराको सुमित्रा वि.क.ले शुरु अदालतमा गरेको बयान ।
16. जाहेरवाला डोलनाथ रानाभाट तथा प्रहरीमा कागज गर्ने भक्तबहादुर रानाभाट, सूर्यबहादुर रानाभाट, रामनाथ काफ्लेको बकपत्र मिसिल सामेल रहेछ ।
17. प्र.देवीमया रानाभाटले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. मा वर्णित कसूर गरेको सिद्ध हुन आएकोले निजलाई ज्यान सम्बन्धीको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्र.सुमित्रा वि.क.अदालतमा इन्कार रहेकी सुमित्रा वि.क.को कुनै पनि कसूर प्रमाणित गर्ने प्रमाण वादी पक्षबाट पेश गर्न सकेको नदेखिँदा निज सुमित्रा वि.क.ले वादी अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु तनहुँ जिल्ला अदालतको फैसला ।
18. देवीमायाको मौकाको पोल बयान र बुझिएका सूर्य बहादुर रानाभाटको बकपत्र समेतका भनाई प्रमाण ऐन, २०३१ को दफा १८ समेत प्रमाण ग्राह्य देखिँदा देखिदैँ कसूर प्रमाणित गर्ने प्रमाण वादी पक्षबाट पेश गर्न सकेको नदेखिएको भन्दै सुमित्रा वि.क.लाई सफाई दिने गरेको हदसम्मको शुरुको फैसला वदर गरी निज सुमित्रा वि.क.लाई अभियोग पत्र मागदावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
19. सर्वोच्च अदालतबाट प्रतिपादित प्रशस्त कानूनी सिद्धान्तलाई अवलम्बन गरी तनहुँ जिल्ला अदालतबाट अ.वं.१८८ नं. को प्रयोग नगरी भएको फैसला वदर गरी अ.वं. १८८ नं. बमोजिम न्यूनतम सजाय गर्ने गरी राय प्रस्तुत गरी पाउँ भन्ने समेत व्यहोराको मिठु भन्ने देवीमया रानाभाटको पुनरावेदन पत्र ।
20. प्र.सुमित्रा वि.क. र प्र.देवीमाया रानाभाटको हकमा शुरु तनहुँ जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । श्री ५ को सरकारको तर्फको र प्र.देवीमाया रानाभाट समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.देवीमाया रानाभाटको हकमा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक सदरको लागि श्री सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेत पुनरावेदन अदालत पोखराको मिति २०५३।९।१७।४ को फैसला ।
21. हामी जस्ता सिधा साधा व्यक्तिबाट भएको घटनाक्रममा उदारतापूर्वक विचार गरी म २३ वर्षिय एक अवला महिलाको घटनाक्रम मृतक र सुमित्राले ढाँट छल गरी मलाई षडयन्त्रमा फसाई गराएको विवाहको कारण म एकाएक आवेशमा आई प्रस्तुत घटना घटेको कारण अ.वं. १८८ नं. लगाई प्रयोग गरी साह्रै न्यूनतम सजाय गरी पाउँ भन्ने पुनरावेदक प्रतिवादी देवीमाया रानाभाटको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
22. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट नियुक्त कानून व्यवसायी विद्बान अधिवक्ता श्री श्रीकान्त वरालले मेरो पक्ष प्रतिवादीलाई दिएको सजायमा दण्डको सुधारात्मक सिद्धान्त समेतको आधारमा अ.वं. १८८ नं. प्रयोग गरी सजायमा कमी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
23. विद्बान अधिवक्ताको बहस सुन्नुको साथै इजलास समक्ष प्राप्त हुन आएको सम्पूर्ण मिसिल कागजात समेत अध्ययन गरी पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो र पुनरावेदन अदालतले गरेको निर्णय इन्साफ मिले नमिलेको के हो भनी निर्णयतर्फ विचार गरी हेर्दा यसमा प्र.देवीमाया रानाभाटले डोलनाथ रानाभाटलाई प्र.सुमित्रा विश्वकर्माको सिकायतबाट मुसा मार्ने विष सागमा मिसाई खान दिई डोलनाथ रानाभाटको ज्यान मारेको स्पष्ट देखिँदा अभियुक्त देवीमाया रानाभाटलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद र प्र.सुमित्रा विश्वकर्मालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम जन्मकैदको सजायको माग दावी लिई चलेको प्रस्तुत मुद्दाको कारबाही किनारा हुदै जाँदा प्रतिवादी मिठु भन्ने देवीमाया रानाभाटलाई ज्यान सम्बन्धी महलको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर हुनुको साथैं प्रतिवादी मध्येकी कोप्रि भन्ने सुमित्रा विश्वकर्माले अभियोग माग दावीबाट सफाई पाउने ठहराई भएको शुरु तनहुँ जिल्ला अदालतको मिति २०५२।११।२० गते भएको ठहर फैसला उपर श्री ५ को सरकार तथा यी प्रतिवादी देवीमाया रानाभाट समेतको पुनरावेदन पर्दा शुरु जिल्ला अदालतको निर्णयलाई नै सदर कायम गरी पुनरावेदन अदालत पोखराबाट मिति २०५३।९।१७।४ मा ठहर फैसला भए उपर चित्त नबुझी यी पुनरावेदक प्रतिवादी देवीमाया रानाभाटको यस अदालत समक्ष प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
24. यसमा कसूरदार ठहर भएकी प्रतिवादी मिठु भन्ने देवीमायाको पुनरावेदन परी आएको देखिँदा निजको हकमा पुनरावेदन रोहबाटै विचार हुने हुँदा प्रस्तुत मुद्दाको साधकको लगत काटी दिनु ।
25. अब सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्बन नगरी अ.वं.१८८ नं. समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सुधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. बमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून बमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था बमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएतापनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैँन । यी पुनरावेदिका प्रतिवादी मिठु भने देवी मायाले अदालतमा गरेको बयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती बयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनुपर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव देखिएन । यस स्थितिमा यी प्रतिवादी पुनरावेदिकालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहराई गरेको शुरु सदर गरेको पुन।वेदन अदालत पोखराको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । पुनरावेदिकाको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.दिलिपकुमार पौडेल
इतिसम्वत २०५६ साल फागुन १६ गते रोज २ शुभम् ..................।