निर्णय नं. ६९४१ - कर्तव्य ज्यान

निर्णय नं. ६९४१ ने.का.प. २०५७ अङ्क ८/९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५४ सालको फौ.सा.नं. .. २५५
फैसला मितिः २०५६।४।१०।२
मुद्दाः कर्तव्य ज्यान ।
वादीः खेमबहादुर रेशमीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः धादिङ जिल्ला, मैदी गा.वि.स. वडा नं. ८ बस्ने दानबहादुर गुरछान मगर
§ प्रतिवादी दानबहादुर गुरछान मगरले प्रहरी र अदालतमा समेत मृतक अमरबहादुरको कोखमा छुरीले हानी सो चोटबाट नै निजको मृत्यु भएको भनी साविती भएको र अर्का प्रतिवादी नरबहादुर गरछान मगरको अदालतमा भएकोमा बयानबाट पनि दानबहादुरले नै प्रहार गरेको छुरीको चोटबाट अमरबहादुरको मृत्यु भएको भन्ने देखिँदा माग दावी अनुसार प्र.दानबहादुरलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । वारदातको रुप हेर्दा मृतकलाई मार्नुपर्ने सम्मको कुनै पूर्व रिसइवि नभएको र प्रतिवादी दानबहादुरले रक्सी खाई रक्सीले मातेको अवस्थामा मृतक स्वयंले प्र.दानबहादुरलाई इख्याउने कुरा गरी मुक्का समेतले हानेको रिस उठी रक्सीको सुरमा प्र.ले दलिनमा घुसारी राखेको छुरी थुती प्रहार गरेबाट अमरबहादुरको मृत्यु हुन गएको देखिँदा निजलाई कानून बमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार प्रतिवादी दानबहादुर गुरछान मगरलाई १० वर्ष कैद सजाय हुने ।
(प्र.नं.२६)
वादी तर्फबाटः
प्रतिवादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.राजेन्द्रराज नाख्वाः न्याय प्रशासन ऐन, २०४८ को दफा १० अन्तर्गत साधक सदरका लागि यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. २०५२।७।८ गते दानबहादुर गुरछान मगरको घरमा मृतक अमरबहादुर, दानबहादुर, भुमेबहादुर, नरबहादुर श्रीमती देवीकुमारी, विन्दा ग्यान्दीस (रानामगर) समेत थियौं । चेतबहादुर राना बाहिर सुतिरहेका थिए । अमरबहादुर र नरबहादुर बीच झगडा पर्यो । साधारण होला भनी छुट्याउन लागेनौं । अमरबहादुर एकपटक आटोमा आड लागि उभियो र एक्कासी भर्याङको फेदमा लडायो । सबै बाहिर निस्की बस्यौं । प्रेमबहादुर गुरछान आई कपडा खोली हेर्न लगाउँदा अमरबहादुरको वायाँपट्टिको कोखामा धारिलो हतियारले कोपेको घाउ थियो । बोलाउँदा मरिसकेको रहेछ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
3. नाक मुखबाट तरल पदार्थ बगेको, ढाडको वायाँ तर्फको भागमा १ इन्च लम्बाईको धारिलो हतियारको घोपिएको जस्तो घाउ देखिएको, लिंगबाट तरल पदार्थ बगेको अन्य घाउ नदेखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का ।
4. अमरबहादुरलाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मार्नमा प्रयोग भएको चक्कु र दानबहादुरले लगाउने सुइटर समेत बरामद भएको बरामदी मुचुल्का ।
5. नरबहादुर गुरछान मगर, दानबहादुर, भुमेबहादुर, खेमहादुर रेश्मी मगर समेत चारजनालाई पक्राउ गरेको प्रतिवेदन ।
6. मृतक अमरबहादुरको जिउबाट बरामद भएको जम्मा रु. ५६ प्रेमबहादुर गुरछान मगरले बुझी लिएको भरपाई कागज ।
7. २०५२।७।८ गते तिहारको दिन बैनी विन्दा मगर्नी, टिका लगाई दिनको निम्ति आएकी मेरो घरभित्र दाजु नाता पर्ने नरबहादुर र भतिजा अमरबहादुर झगडा गरिरहेका रहेछन् । बहिनीले मलाई र नरबहादुरलाई टिका लगाई सकेपछि खेमबहादुर रेश्मी मगर र छोरा भुमे बहादुरलाई बहिनीले टिका लगाउँदै गर्दा मेरो श्रीमती पनि माइतबाट आइपुगेको रहिछ । अमरबहादुरले नरबहादुरलाई टिपेर हुत्याई दिन्छु भन्दा मैले सुनेपछि किन नरबहादुरलाई मलाई हुत्या भन्दा अमरबहादुरले एक बक्सिङ हिर्कायो र दाहिने हातको बुढी औंलामा टोकी दियो । रिस उठेकोले दलिनमा भएको छुरीले अमरबहादुरको कोखामा एक चोट हिर्काएँ । अमर रन्थनिएर भर्याङमुनि लड्न पुग्यो छुरी प्रहार गर्ने म मात्र हुँ । पहिला झगडा नरबहादुर र अमरबहादुरबीच शुरु भयो । अमरबहादुरसँग पूर्व रिसइवी थिएन भन्ने व्यहोराको दानबहादुर गुरछान मगरको बयान ।
8. २०५२।७।८ गतेका दिन ६ बजेतिर बहिनी विन्दा मगरनीले टिका लगाउन डाकेकीले टिका लगाउन दानबहादुरको घरमा जाँदा नरबहादुर र अमरबहादुर घरभित्र कराइरहेका थिए, भुमेबहादुर र म समेतलाई विन्दाले टिका लगाउन लाग्दा अमरबहादुरले नरबहादुरलाई गुहु खुवाई दिन्छु भनेकाले दानबहादुरले त्यसो नभन भन्दा दानबहादुरलाई एक मुड्कीले हान्यो । दानबहादुरले छुरी कहाँबाट झिक्यो । एक्कासी अमरबहादुरको वायाँ कोखामा हान्यो र छुरी झिक्यो अमरबहादुर भर्याङनिर ढल्यो, मृत्यु भयो । अमरबहादुर र नरबहादुरको पहिला झगडा भएको थियो भन्ने समेत व्यहोराको खेमबहादुर रेश्मीको बयान ।
9. बहिनी विन्दाले तिहारमा मलाई टिका लगाई २०५२।७।८ गते मसँग दक्षिणा दिने पैसा नभएकोले भतिजा अमरबहादुरसँग पैसा माग्दा कहाँ पाउने भनी हामी दुईबीच ठ्याकठुक पर्दै दुवै जना दानबहादुरले घरमा विन्दासँग टिका लगाउन गयौं । विन्दाले दानबहादुरलाई टिका लगाई भुमेबहादुर र खेमबहादुरलाई टिका लगाई दिने तरखर गर्दैको अवस्थामा म र अमरबहादुर बीच रक्सीको सुरमा ठ्याकठुक गर्दै थियौं । अमरबहादुरले मलाई हुत्याई दिउँला भनेकोले दानबहादुरले किन मलाई हुत्याउँछस् भन्दा दानबहादुरलाई अमरबहादुरले एक बक्सिङ हिर्कायो । दानबहादुरले छुरीले अमरबहादुरको वायाँ कोखामा हान्यो । अमरबहादुर भर्याङमुनि लड्न पुग्यो । म रुन कराउन थालें । अमरबहादुरसँग मेरो रिसइवी नभएको, मार्ने सल्लाह थिएन भन्ने व्यहोराको मंगलबहादुर भन्ने नरबहादुर गुरछान मगरले गरेको बयान ।
10. २०५२।७।८ गते साँझ ६:१५ बजे घर पुग्दा फुपु विन्दा, बाबु दानबहादुर, माइला बाबु नरबहादुर, अमरबहादुर समेत रहेछन् । खेमबहादुर पछि आइपुगे । अमरबहादुर र नरबहादुर रक्सीको सुरमा घरभित्रै कराइरहेका थिए । म र खेमबहादुर फुपुसँग टिका लगाउने तरखरमा थियौं । अमरबहादुरले दानबहादुरको मुखमा हिर्काएको देखिएको हुँ । बाबुले छुरी झिकी एक्कासी अमरबहादुरको वायाँ कोखामा छुरीले प्रहार गरी अमरबहादुर भर्याङमुनि लड्न पुग्यो । मैले बाबु दानबहादुरलाई तँ अपराधी होस कि डाक्टर बोलाउन जा कि प्रहरी बोलाउन जा भन्दा बावु बाहिर निस्किएर गए । अमरबहादुरलाई उठाउन लाग्दा निजको तत्कालै मृत्यु भयो । मार्नमा अरु कसैको सल्लाह सहमति छैन भन्ने व्यहोराको भुमेबहादुर गुरछान मगरले गरेको बयान ।
11. २०५२।७।८ गते टिका लगाइदिन भनी दिनको १७:३० बजे म माइती घर पुग्दा घरमा कोही थिएन । केही समयपछि नरबहादुर र अमरबहादुर आए, त्यसपछि दानबहादुर आए । निजलाई पहिला टिका लगाई त्यसपछि नरबहादुर र अमरबहादुरलाई टिका लगाइ दिएँ । खेमबहादुर, भुमेबहादुरलाई टिका लगाइ दिन लाग्दा अमरबहादुर र नरबहादुरबीच झगडा भइरहेको थियो । त्यस्तैमा अमरबहादुरले नरबहादुरलाई हान्न खोज्दा दानबहादुरले दाजुलाई नहान मलाई हान भनेकोले निजलाई हान्दा मुखमा लागी लडेपछि उठी दलिनबाट छुरी निकाली अमरबहादुरको दायाँ कोखामा हानेका हुन् । दानबहादुरले छुरी हानी मारेका हुन भन्ने समेत व्यहोराको विन्दा कुमारीले गरी दिएको कागज ।
12. २०५२।७।८ गते बेलुका अं. १९ बजेको समयमा श्रीमान दानबहादुर गुरछान मगर, विन्दा राना मगर, अमरबहादुर, भुमेबहादुर, नरबहादुर, खेमबहादुर हाम्रो घरमा बसी रक्सी खाइरहेका थिए । नरबहादुरले अमरबहादुरसँग टिका लगाउँदा पैसा माग्दा पछि दिउँला भन्यो, नरबहादुरले भट्टा भन्दा अहिले मुडकाइदिन्छु भन्यो । दानबहादुरले बाबुलाई किन हिर्काउँछस मलाई हिर्का भन्दा अमरबहादुरले तिमीलाई पनि हिर्काइदिन्छु भन्यो । लौ हान भन्दा दानबहादुरलाई एक मुड्कीले हिर्कायो । दुवै लछारपछार गरे त्यत्तिकैमा दानबहादुरले अमरबहादुरलाई छुरीले वायाँ कोखामा हिर्काएका हुन भनी मेरो श्रीमानले भन्दा थाहा पाएको हुँ निज दानबहादुरले छुरी हानी हुत्याइ दिँदा मेरो अंगालोमा आयो । के भयो भनी पानी खान दिएँ, निजको मृत्यु भयो भन्ने व्यहोराको देवीकुमारी गुरछान मगरले गरी दिएको कागज ।
13. दानबहादुरले अमरबहादुरलाई छुरी हानी मारेका हुन भन्ने समेत व्यहोराको रतिकुमारी रानामगरले गरी दिएको कागज ।
14. दानबहादुर र अमरबहादुरको साधारण वादविवाद हुँदा दानबहादुरले चक्कुले प्रहार गरी मारेका हुन भनी सुनेको भन्ने समेत व्यहोराको दिलकुमारी मगरले गरेको कागज ।
15. अमरबहादुरलाई दानबहादुरले छुरी हानी मारेको भनी गाउँलेहरुले भनेको सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको चेतबहादुर रानामगरको कागज ।
16. मृतकको मृत्यु स्प्लिनबाट रगत बगेका कारणबाट भएको भनी धादिङ जिल्ला अदालतको मेडिकल सुपरिटेण्डेण्टले दिएको लास जाँच प्रतिवेदन ।
17. अमरबहादुरलाई दानबहादुरले धारिलो हतियारले हिर्काइ मारेको हो भन्ने समेत व्यहोराको प्रेमबहादुर राना मगर समेतको भिन्दाभिन्दै व्यहोराको कागज ।
18. प्रतिवादी दानबहादुरले छुरी धारिलो हतियारले मृतकको वायाँ कोखामा रहेको स्प्लिनमा चोट पुर्याएको कारण मृतक अमरबहादुरको तत्काल मृत्यु भएकोले प्रतिवादी दानबहादुरले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. मा व्यवस्थित कसुर अपराध गरी ऐ. महलको १ नं. द्वारा निषेध कार्य गरेको हुँदा ऐ.महलको १३(१) नं.मा व्यवस्थित हदैसम्म सजाय हुनका साथै अर्का प्रतिवादी नरबहादुरले समेत मारेको भनी प्रतिवादीहरु तथा बुझिएका मानिसहरुले स्पष्ट रुपमा उल्लेख नगरेको भए तापनि प्रतिवादी र अमरबहादुरको बीचमा झगडा भइरहेको थियो भनी उल्लेख भएबाट यी प्रतिवादीले ऐ.महलको १७(३) मा व्यवस्थित कसुर अपराध गरेकोले यी प्रतिवादीलाई यसै नं.मा व्यवस्थित हदैसम्म सजाय हुन र खेमबहादुर रेश्मी मगर तथा भुमेबहादुर गुरछान मगर अनुसन्धानबाट संकलन हुन आएको प्रमाणको आधारमा वारदातस्थलमा उपस्थित देखिए तापनि यि व्यक्तिहरु टिका लगाउने कार्यमा व्यस्त रहेका देखिन्छन् । अमरबहादुरलाई मार्न मराउन कुनै क्रियाकलाप गरेको खुल्न नआएकोले यी उपर मुद्दा नचलाई हाजिरी जमानीमा छाडिएको व्यहोरा अनुरोध गर्दै अभियोग पत्र दायर भएको रहेछ ।
19. २०५२।७।८ गते बेलुका म छोरीको घरबाट आफ्नो घरमा आउँदा नरबहादुर र अमरबहादुर मेरो घरभित्र झगडा गरी मृतक अमरबहादुरले नरबहादुरलाई हुत्याइदिन्छु भन्यो । मैले किन हुत्याउने भन्दा मलाई नै हुत्याइ दिउँला भनी मेरो चिउडोमा १ घुस्सा हिर्काइ घाउ लाग्यो । पन्छाउन खोज्दा मेरो हातको औंलामा टोकीदियो । रिस थाम्न नसकी छुरी निकाली मृतकलाई हानी कोखामा लागेछ । मैले हिर्काएको छुरीको वेदनाले निजको मृत्यु भयो । कसैको सहयोग लिएको छैन भन्ने व्यहोराको दानबहादुर गुरछान मगरले अदालतमा गरेको बयान ।
20. २०५२।७।८ गते तिहार भाइ टिकाको दिन मेरो दिदी नभएको दानबहादुरको बहिनीसँग टिका लगाई दक्षिणा दिन पैसा नहुँदा भतिजो अमरबहादुरलाई भेटी पैसा ले भने, छैन भन्यो रक्सी लागेको कारणले पैसाको विषयमा वादविवाद भयो । दानबहादुरको घरमा दुवै जना गयौं । त्यहाँ पनि वादविवाद भयो । बेलुका ६ बजे दानबहादुर गाउँबाट आयो । अमरबहादुरले मलाई रक्सीको सुरमा हुत्याइ दिउँला भन्यो । दानबहादुरले दाइलाई किन हुत्याउने भन्दा अमरबहादुरले दानबहादुरलाई मुक्का हिर्कायो । दानबहादुरले अमरबहादुरलाई कोखामा छुरी प्रहार गर्यो । सोही चोटबाट निजको मृत्यु भयो । मैले कर्तव्य गर्नमा सहयोग गरेको छैन भन्ने व्यहोराको नरबहादुर गुरछान मगरले अदालतमा गरेको बयान ।
21. दानबहादुर गुरछानले अमरबहादुरलाई छुरी हानेको कारणबाट मृत्यु भएको हो भन्ने जाहेरवाला खेमबहादुर र वादीका साक्षी पूर्णबहादुर, देवीकुमारी, विन्दा कुमारी, प्रेमबहादुर, नारायण समेतले गरेको बकपत्र ।
22. प्रतिवादी दानबहादुरलाई ज्यान सम्बधी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी नरबहादुर गुरछान मगरले ज्यान सम्बन्धी महलको १७(३) नं. को कसुर गरेको भनी भन्न नमिल्ने देखिँदा निजले अभियोग पत्र माग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धादिङ जिल्ला अदालतको मिति २०५२।११।३० को फैसला ।
23. प्रतिवादी नरबहादुर गुरछानलाई अभियोग दावीबाट सफाई दिने ठहर्याएको फैसलामा चित्त बुझेन, प्रतिवादी नरबहादुर गुरछान, अमरबहादुरलाई मार्ने मतलबमा पसेको देखिन आएको हुँदा प्रतिवादी अमरबहादुर गुरछान उपर शुरु अभियोग माग दावी बमोजिम हदैसम्म सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पाटन ललितपुरमा परेको पुनरावेदन पत्र ।
24. मृतक अमरबहादुरलाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मार्ने प्रतिवादी दानबहादुर गुरछान मगर अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत बयान गर्दा सावित भई बयान गरेको देखिएको र निजको साविती बयानलाई मौकामा प्रत्यक्ष रुपमा देख्ने दिलकुमारी, रितकुमारी, देवीकुमारी, विन्दाकुमारी, भुमेबहादुर, खेमबहादुर समेतको कागजबाट समर्थन भइरहेको देखिनुका साथै पेश हुन आएका अन्य सवुद प्रमाणबाट समेत निज प्रतिवादी दानबहादुर गुरछान मगर कसुरदार देखिन आएकोले निजको हकमा शुरु माग दावी अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ जिल्ला अदालतको इन्साफ साधकको रोहबाट जाँच्दा मुनासिव देखिएकोले साधक सदरको लागि मिसिल श्री सर्वोच्च अदालतमा पठाई दिने ठहर्छ । प्रतिवादी मंगल भन्ने नरबहादुर गुरछान मगरलाई सफाई दिने गरेको शुरुको फैसला मिलेको छैन भन्ने पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादी मंगल भन्ने नरबहादुर गुरछान मगर अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत बयान गर्दा कसुर गरेमा इन्कार रही बयान गरेको देखिनुका साथै मिसिल संलग्न प्रमाण कागजबाट निजले मृतक अमरबहादुरलाई मार्ने संयोग पारी दिएको भन्ने कुरा देखिन आएकोले निज प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठहर गरेको शुरु धादिङ जिल्ला अदालतको मिति २०५२।११।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५४।५।३ को फैसला ।
25. पुनरावेदन अदालत पाटनको मिति २०५४।७।५।३ को फैसला अनुसार प्र.दानबहादुर गुरछान मगरलाई माग दावी अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ जिल्ला अदालतको इन्साफ साधकको रोहबाट पुनरावेदन अदालत पाटनले सदर गरी यस अदालतमा साधक सदरका लागि मिति २०५४।१०।१७।६ मा दर्ता हुन आएको देखिन्छ ।
26. यसमा नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला सहित मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा यसमा प्रतिवादी दानबहादुर गुरछान मगरले प्रहरी र अदालतमा समेत मृतक अमरबहादुरको कोखमा छुरीले हानी सो चोटबाट नै निजको मृत्यु भएको भनी साविती भएको र अर्का प्रतिवादी नरबहादुर गरछान मगरको अदालतमा भएकोमा बयानबाट पनि दानबहादुरले नै प्रहार गरेको छुरीको चोटबाट अमरबहादुरको मृत्यु भएको भन्ने देखिँदा माग दावी अनुसार प्र.दानबहादुरलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । वारदातको रुप हेर्दा मृतकलाई मार्नुपर्ने सम्मको कुनै पूर्व रिसइवि नभएको र प्रतिवादी दानबहादुरले रक्सी खाई रक्सीले मातेको अवस्थामा मृतक स्वयंले प्र.दानबहादुरलाई इख्याउने कुरा गरी मुक्का समेतले हानेको रिस उठी रक्सीको सुरमा प्र.ले दलिनमा घुसारी राखेको छुरी थुती प्रहार गरेबाट अमरबहादुरको मृत्यु हुन गएको देखिँदा निजलाई कानून बमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार प्रतिवादी दानबहादुर गुरछान मगरलाई १० वर्ष कैद सजाय हुने ठहर्छ । फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयमा दिनु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी दानबहादुर गुरछान मगरलाई अ.वं. १८८ नं. अनुसार १० वर्ष कैद सजाय गर्ने राय ठहर भई फैसला भएको हुँदा सर्वश्वसहित जन्मकैद सजाय गर्ने गरी राखिएको लगत कट्टा गरी १० वर्षको कैदको लगत राख्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु .....................१
मिसिल नियमानुसार गरी बुझाई दिनु..................२
उक्त रायमा म सहमत छु ।
न्या.टोपबहादुर सिंह
इति सम्वत २०५६ साल श्रावण १० गते रोज २ शुभम् ...................।