शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११६७ - चोरी

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११६७     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३२ सालको फौ.पु.नं. ७९

फैसला भएको मिति : २०३२।१२।२७।६ मा

पुनरावेदक :  पाल्पा जिल्ला तानसेन नगरपञ्चायत वडा नं. ५ बस्ने रत्नप्रसाद शाक्य

विरुद्ध

वादी :       श्री ५ को सरकार

मुद्दा : चोरी

(१)    चोरीको २४ नं. को अवस्थाको विद्यमानताको अभावमा निवेदकलाई सजाय गर्न नमिल्ने ।

(प्र.नं. १६)

पुनरावेदक तर्फबाट : विद्वान विरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लिखित मुद्दा :   

फैसला

            न्या. वासुदेव शर्मा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३१।९।२८।१ का फैसलाउपर पुनरावेदन गर्न अनुमति पाउँ भन्नेसमेत निवेदन परी ०३२।४।१६।६ मा पुनरावेदन गर्न अनुमति दिईएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

            २.    मैले मौका विशेषमा भाग लगाउनको लागि बनाएको रु.७००।पर्ने दोस्रा नं. सून तोला ३१ को कण्ठी १ र ऐ.दर पर्ने ऐ.सुन १ को ढुंग्री जोर १ समेत जम्मा रु.३१५०।को गहना मेरो घरको तलामा माटोको हण्डा भित्र टिनको बट्टामा राखेको थिएँ । यहि ३१ साल वैशाख १२ गतेका दिन विहानको भात खाइसकेपछि तानसेन बजारतर्फ सामान किनमेल गर्न जान लाग्दा सो कण्ठी ढुंग्री लगाई जाने विचारले सो गहना लिन जाँदा उक्त गहना राखेको टिनको बट्टा हण्डा भित्र खाली पडिरहेको र सो गहना त्यहाँ नभएको देखिएकोले नमालुमको चोरले चोरी गरेको बुझिएको हुँदा अनुसन्धान तहकिकात खोज सुराकसमेत जो गर्नुपर्ने गरी चोरिएको गहना र चोरसमेत पत्तालगाई सजाय गर्न मुद्दासमेत चलाई दिनुहुन अनुरोध गर्दछु भन्नेसमेत जोतीसरा मास्की मगरनीको प्रहरी निरीक्षक कार्यालय पाल्पामा दिएको दरखास्त ।

            ३.    यही ०३१ साल वैशाख महिनाको गते बारको सम्झना भएन दिनमा निज जाहेरवालाको घरमा डुल्दै बस्न भनी गएको जाहेरवाला र निजको दुवै छोरासमेत बाहिर गए जाहेर बालीले लगाउने गरेको ढुग्रीको कण्ठी मालासमेत घरको तलाको माछाको हण्डी भित्र राख्ने गरेको मलाई थाहा जनक थियो । मलाई साहूले अन्यायले सो गहना लगी अडाना राखी पट्टिझिकी बुझाउँला भन्ने विचारबाट सो गहना सो हण्डीबाट झिकी ल्याई मेरो घरमा लगी राखें तीन दिन पछि सो चोरी गरेमध्येको कण्ठमाला तानसेन टक्सार बस्ने गोकुल भन्ने मैले नाउँ नजानेको बाँडाको घरमा चिन पहिचाहन भएकोले सो अं.३ तोलाको कण्ठीमाला १५ वरसुरई दुई समेत १७ गोटाको माला साहू तिर्न रुपैयाँ चाहिएको छ, मेरो यो सुनको कण्ठीमाला राखी रु.३००।दिनोस भनी माग्दा सो कण्ठीमाला निज बाँडाले हेरी महिना १ को रु.१००।को रु.३। व्याज लाग्छ हुन्छ भने लैजाउँ भनेकोले सो कण्ठीमाला रु.३००।मा अडनी लगेको छु । त्यसको दुई दिन पछि आजले चार दिन भयो सो चोरी गरेको ढुंग्री पाल्पा जोग पानी गा.पं.खैरधुन बस्ने लिमिटेड बैैंक पाल्पामा सिपाहीमा नोकरी गरी बसेका साहिंला भन्ने मैले नाउँ नजानेको कार्की क्षेत्रीको घरमा गई मेरा सुनको ढुंग्री तोला १ को अडाना राखी रु.३००।लिनुहोस भनी मागी किन चाहियो सोधे साहू तिर्नु परेको छ भनी र निजले हुन्छ भनी सो ढुंग्री अडाना राखी रु.३००।लिएको हुँ । यो पहिलोपटक मात्र हो भन्नेसमेत व्यहोराको मनबहादुर आले मगरले जि. प्र.ई.का. मा गरेको कागज ।

            ४.    ०३१।१।११ गतेका दिन मनबहादुर मेरो घरमा आई मेरो बाबुले दिएको ऋण तिर्न पर्‍यो मलाई साहूले साह्रै अत्याय १ महिनाको लागि मेरो सुनको ढुंग्री राखी रु.३००।दिनुहोस भनी साह्रै जिकिर गरेकोले छिमेकी चिनाजानीको मानिस हुँदा व्याजसमेत नलिने गरी सुनको ढुंग्री गहना राखी रु.३००।दिएको हुन । चोरीको माल हो भनी जानजानी अडाना राखेको छैन भन्नेसमेत पूर्णबहादुर कार्की क्षेत्रीको जि. अ.ई.का.मा गरेकोमा कागज ।

            ५.    चोरी ल्याएको माल हो भन्ने कुरालाई मलाई थाहा नहुँदा मैले कागजसमेत नगराई सो कण्ठी माल राखी रु.३००।दिएको हुँ । निज मनबहादुर चिन पहचान भएका मानिस हुन भन्नेसमेत जि. प्र.ई.क.मा रत्नप्रसाद शाक्यले गरेको कागज ।

            ६.    जोतीसराको गहना चोरेमा मनबहादुर सावित हुँदा चोरी गरेको होला भन्ने लाग्यो पूर्णबहादुर रत्नप्रसादले चोरीको माल हो भन्ने जानी जानी अडाना राखेको होला भन्ने हामीको चित्तमा लाग्दैन भन्नेसमेत सरजमिन मुचुल्का ।

            ७.    अभियुक्त मनबहादुरलाई चोरीका महलको १२।१४ नं. का ऐनअनुसार चोरीको माल अडाना राखिएका पूर्णबहादुर कार्की र प्र. रत्नप्रसाद शाक्यलाई सोही महलको नं. २३।२४ अनुसार कारवाही हुन अनुरोध गरिएको छ भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            ८.    ३।४ सय ऋण लागेकोले सो ऋण तिरुँला भनी चोरी गरेको हुँ भन्नेसमेत व्यहोराको मानबहादुरको अदालतमा गरेको बयान ।

            ९.    साहू तिर्नलाई रु.३००।चाहियो २०।२२ दिनमा ल्याउँछु भनी चिनाजाना भइरहेको मानिस ढुंग्री सुनको जोर २ राखेको कस्को हो सोध खोज पनि गरिन । त्यसैले रु.३००।दिई कागज पनि नगराई त्यसै दिइराखेको हो । चोरीको भन्ने नजानी राखेको हुँ । बन्धकी भनी सम्झी राखेको हो भन्नेसमेत पूर्णबहादुर कार्की क्षेत्रीले अदालतमा गरेको बयान ।

            १०.    पक्राउ भई आएका मानबहादुरले बैशाख महिनाको दिन याद सम्झना भएन अं.९ बजेतिर सुनको कण्ठमाला लिई आयो र यो बन्धकी राखेर मलाई ३००।दिन पर्‍यो भने कहाँबाट ल्याएको भन्दा आफ्नो घरको हो भन्यो । चिनाजानाको मानिस हुँदा १५ दिनको लागि भनेर केही नलिने गरी सो कण्ठमाला राखी रु.३००।दिएको थिएँ । बन्धकी राखेको सम्म हुँ । चोरीको भनी जानी बुझी लिए राखेको होइन भन्नेसमेत रत्नप्रसादले अदालतमा गरेको बयान ।

            ११.    मानबहादुर मेरो कान्छा बाबुको छोरा हो म माहिलाको छोरी छु । दिदी भाइ नाता पर्छ घरमा आउने जाने गथ्र्यो । सुनको कण्ठीमाला सूनको ढुंग्री जोर १ समेत चोरी गरी लगेछ बिगो रु.३१५०।भराई चोरीमा मानबहादुरलाई चोरीको माल धेरै नाफा हुने गरी बन्धकी लिने राख्ने रत्नप्रसाद पूर्णबहादुरलाई सजाय गरिपाउँ भन्नेसमेत जोतीसराको अदालतमा गरेको बयान ।

            १२.   प्र.मानबहादुरले पहिलापटक पारी रु.३१५०।को सुनको कण्ठमाला सुरहीसमेत र ढुंग्रीसमेत आँखा छली चोरी गरेको ठहरिने भई चोरीको १२ नं. बमोजिम सजाय गर्ने चोरीको १४ नं. बमोजिम सजाय गर्न नपर्ने चोरीको रु.७००।को तोला १ को ढुंग्री कागज नगराई सयकडा २० भन्दा बढी नाफा हुने गरी रु.३००।मा बन्धक राखी प्र.पूर्णबहादुरले पहिलापटक पारी चोरीका १३ नं. को अभियोग गरेको ठहर्ने भई चोरीका २४ नं. बमोजिम सजाय गर्न र प्र.रत्नबहादुर शाक्यके पहिलापटक पारी रु.२४५०।को सुरहीसमेतको कण्ठीमाला रु.३००।मा कागज नगराई बन्धकी राखेको २३ नं. को अभियोग गरेको हुँदा चोरीको २३ नं. बमोजिम सजाय गर्ने भन्नेसमेत पाल्पा जिल्ला अदालतको मिति ०३१।१।२४।३ को फैसला ।

            १३.   मिति ०३१।१।२४ गतेका फैसलामा चित्त नबुझी पुनरावेन गर्न आएका छौं, ईन्साफ उल्टाई हामीलाई लगाइएको जरिवाना फिर्ता दिलाई पाउँ भन्नेसमेत प्रतिवादी रत्नप्रसाद शाक्य र प्रतिवादी पूर्णबहादुर कार्की क्षेत्रीको पुनरावेदन परेकोमा कागज नगरी ७००।को माल रु.३००।मा र रु.२४५०।को माल रु.३००।मा कागज नगरी बन्धकी लिएको भई सयकडा २० भन्दा बढी नभएकोले उक्त चोरीको २३।२४ नम्बरबमोजिम रत्नबहादुर समेतलाई जरीवाना लाग्ने नै हुँदा पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत मिति ०३१।९।२८।१ मा पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको इन्साफ रहेछ ।

            १४.   संविधानको व्याख्या र सार्वजनिक महत्वको विषयमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले चोरीको २३ र २४ अ.बं.१८४ क १८५ र १८९ नं. गम्भिर प्रत्यक्ष कानूनी त्रुटि गरेको छ । यस कारण पुनरावेदन गर्न अनुमति माग्न निवेदन गरेको हुँ भन्नेसमेत प्रतिवादी रत्नप्रसाद शाक्यको निवेदनपत्र परेकोमा कुनै कुरा कसूर कायम गर्न र सजाय गर्न ऐनमा त्यसको प्रष्ट व्यवस्था भएको हुनुपर्छ । उक्त चोरीको २३ नं. को अवलोकन गरी हेर्दा उक्त ऐनमा लेखिएदेखि बढता नाफा हुने गरी कागज नगरी लिएकोमा यस्तो कसूर गरेको मानिने छ भन्ने कुरा उल्लेख भएको पाइंदैन । यसबाट सो सम्बन्धमा यसले कसूर कायम गरेको छैन । उक्त २३ मा लेखिए देखि बढ्ता नाफा हुने गरी लिएकोमा कागज नगरी लिएको रहेछ भन्ने यसै महलको २४ नं. बमोजिम हुनुपर्छ भन्ने लेखिएको छ । उक्त २४ नं. मा अन्यकुराको अतिरिक्त नजानी लिएको भए जरिवाना कैद हुँदैन । नजानी लिनेहरुले आफ्नो बिगो चोरसमेत जसबाट लिएको हो उसबाट कपाली सहर लिन पाउँछ । नाबालखसँग लिएकोमा थैली भराई लिन पाउँदैन भने उल्लेख भएबाट नजानी लिनेलाई जरिवाना र कैद नलाग्ने किटानी व्यवस्था गरेको देखिन्छ । तसर्थ उपरोक्त कारणबाट उक्त २३ नं. मा लेखिए देखि बढ्ता नाफा हुने गरी कागज नगरी लिएकोमा चोरीको माल हो भनी जानी लिएको ठहर्छ भन्ने किसिमको कुनै कसूर कायम नगरेकोमा उक्त २४ नं. लगाई सजाय गरेको प्रत्यक्ष गम्भिर कानूनी त्रुटि गरी निर्णय गरेको भन्नुपर्ने हुन आउँछ । यस प्रश्नको निर्णयबाट यस्ता धेरै मुद्दामा एउटा नजिर खडा भई असरदायी हुने भएकोले यो एउटा सार्वजनिक महत्वको विषय देखिन आउँछ । अतः उपरोक्त कारणबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अदालतका उक्त फैसलाउपर पुनरावेदनको अनुमति दिएको छ भन्नेसमेत मिति ०३२।४।१६।६ को डिभिजन बेञ्चको आदेश रहेछ ।

            १५.   तारेखमा रहेका पुनरावेदक प्रतिवादी रत्नप्रसाद शाक्यको वारेस ओमकारमानलाई मिति ०३२।१२।२० मा रोहवरमा राखी पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठको र विपक्षी वादी तर्फबाट वहस गर्न खटी उपस्थित हुनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको वहससमेत सुनी आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुुत मुद्दामा प्रतिवादी श्री रत्नप्रसाद शाक्यको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन सो को निर्णय दिनु परेको छ ।

            १६.    यसमा निवेदक प्र.रत्नप्रसाद शाक्यलाई चोरीको माल बन्धकीमा लिएको भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले सजाय गरेको छ मुलुकी ऐन चोरीको महलको २३ तथा २४ नं. ले सजाय गर्नलाई चोरीको माल जानी जानी लिएको प्रमाणित हुनुपर्छ । प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले चोरीको माल जानी जानी लिएको होइन भन्ने तथ्यको ठहर गरेको देखिँदैन मुलुकी ऐन चोरीको २३ नं. ले सजाय गर्नको निमित्त २४ नं. लाई अंगालेको देखिन्छ । तसर्थ चोरीको २४ नं. को अवस्थाको विद्यमानताको अभावमा निवेदकलाई सजाय गर्न नमिल्नुका अतिरिक्त प्रष्ट कानूनी व्यवस्थाको अभावमा सजाय गर्नसमेत फौज्दारी न्याय सिद्धान्तसमेतद्वारा नमिल्ने देखिँदा निवेदक प्रतिवादी रत्नप्रसाद शाक्यलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतले सुरुको सदर गरी सजाय गरेको गल्ति ठहर्छ । तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी रत्नप्रसाद शाक्य माथि ईन्साफ खण्डमा लेखिएबमोजिम निजले सफाई पाउने ठहरेकाले सुरु पाल्पा जिल्ला अदालत र प.क्षे.अ.बाट निजलाई गर्ने गरेको देहायबमोजिमको जरिवानासमेत नलाग्ने हुँदा व्यहोरा जनाई उक्त असुल तथा सदर स्याहा गर्ने गरेको जरिवानासमेत निजै प्रतिवादी रत्नप्रसादले फिर्ता माग्न आए कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी सुरु पाल्पा जिल्ला अदालतलाई पूर्जी लेखी पठाउन का.जि. अ.मा लगत दिनु..........१

सुरु जरिवानाको सयकडा १० ले लाग्ने जरिवाना समेत पश्चिमाञ्चल क्षेत्रीय अदादतमा पुनरावेदन गर्दा मिति ०३१।३।२४।२ मा पाल्पा जिल्ला अदालतमा राखेको धरौटी रुपैंया पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति ०३१।९।२८।१ का फैसलाले धरौटी सदर स्याहा गर्ने गरेको दुई सय पैतालिस रुपैंया २४५।

सुरु पाल्पा जिल्ला अदालतका मिति ०३१।१।२४ का फैसला र प.क्षे.अ.का मिति ०३१।९।२८।१ को फैसला तथा ०३१।११।२९।५ का लगतबमोजिम प्रतिवादी रत्नप्रसाद शाक्यलाई गर्ने गरेको जरिवानाको लगत कायम राख्न पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी सुरु पा.जिल्ला अदालतमा पूर्जी पठाउन का.जि. अ.मा लगत दिनु........२

सुरु मिसिल र पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिसिलसमेत पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई नियमबमोजिम गरी रेकर्ड मिसिल बुझाई दिनु....................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३२ साल चैत्र २७ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु