निर्णय नं. ११६८ - ज्यान

निर्णय नं. ११६८ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३४ सालको फौ.पु.नं. १११
फैसला भएको मिति : २०३५।६।१०।३ मा
प्रतिवादी : रामेछाप जिल्ला बाँके भेरी गा.पं. वडा नं. ५ गोठपानी घर भई हाल सर्लाही कारागारमा बन्दी रहेको दिपमाया उपाध्याय
विरुद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) मुसा मार्ने विष दिनु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया नहुने ।
बिना प्रयोजन कसैको ज्यान लिन साधारणत कोही पनि सरिक हुँदैन । बिनाप्रमाण कसैलाई कसुरदार ठहर्याउन न्यायसंगत नहुने ।
(प्र.नं. १६)
पुनरावेदिका तर्फबाट : विद्वान अधिवक्ता गंगाप्रसाद उप्रेती
वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा
उल्लिखित मुद्दा :
फैसला
न्या विश्वनाथ उपाध्याय : रामेछाप जिल्ला अदालतले प्रतिवादीलाई १० वर्ष कैद गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोले पुनरावेदन परी यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. बाँके भेरी गा.पं. वडा नं. २ गोठपानी बस्ने चेतबहादुर क्षेत्रीलाई छोरी विष्णुकुमारी विवाह गरी गरिदिएको निज ज्वाइँ परलोक भई निजको बाबा अम्वरबहादुरसँग अंशवण्डा गरिपाउँ भनी प्र.जि. अ. मा आवेदन परिरहेको छ । यही २०२८ साल फाल्गुण १९ गतेका रात अन्दाजी ६ बजेको टायममा चक्रपाणीको घर दलानमा छोरी विष्णुकुमारी मरिरहेकी रहिछ । मुहार हेर्दा विषबाट मरेको जस्तो लागेकोले छोरी विष्णुकुमारीलाई ससुराले विष पारी मारेको शङ्का लाग्छ । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत कृष्णकुमारी क्षेत्रीनीको जाहेरी दर्खास्त ।
३. चक्रपाणीको घर दलानमा सुकुलमाथि च्यादरले छोपेको सो उतारी हेर्दा मुहडा उत्तानो परेको बाँया घुँडा केही खुम्चिएको दायाँबायाँ दुवै हात बगलमा फैलिएको, मुठी खुला देखिएको, चोलो लगाएको छातिको तुना खुला रहेको फरिया लगाएको, जिब्रो टोकेको, सम्पूर्ण शरीर फुलेको, आँखा बन्द भई किरा परेको, सबै शरीर सडेको देखिएको, मुख निलो–पहेँलो भएको, छादेको र विष खाई मरेको भन्ने लास प्रकृति मुचुल्का ।
४. म बनबाट आउने वित्तिकै गहत खाएँ । गन्ध आएजस्तो लाग्यो । खाइसकेपछि पेट पोल्ने वाकवाकी आउने, रिंगटा लाग्ने भई वान्ता हुन थालेकोले औषधी उपचार गर्न आएको हुँ भनिन । रातभर छटपटाउने, पानी माग्ने र बराबर वान्ता गर्दै रात बिताइन । ऐ.१९ गतेको बिहान ५ बजे मेरै दलानमा परलोक भइन । निज विषक पदार्थबाट मरेको हो । विष खुवाउनेमा विष्णुकुमारीको भनाइबाट निजकै घर गोठमा बस्ने मानिस हुनुपर्छ भन्नेसमेत चक्रपाणी उपाध्यायको प्रहरीमा भएको कागज ।
बुहारी विष्णुकुमारीले अंशवण्डामा धेरै दुःख दिई रहेकोले मेरो र श्रीमती सन्तकुमारीको बुहारी मार्नामा इच्छा भइरहेको थियो । २०२८।११।१६ गते वंशिधर छाउन जाँन लागेको मौका श्रीमती शन्तकुमारीले दिपमाया उपाध्यायनीसँग रुपैयाँ कबोली ल्याएको विष दाल तरकारी जे मा मौका पर्छ, हालिदिनु भनी दिएकीले बुहारीले भात तिउन केही बाँकी राखी गाई–गोरु चराउन गएपछि कराइमा रहेको गहतको दालमा हालिदिएँ । सो दाल खाई केही बेरपछि पेट पोल्यो भनी वान्ता गरी चक्रपाणीको घरमा गएकी थिइन । १९ गते बिहान बुहारी मरिछन भन्ने मर्नेको ससुरा अम्मरबहादुर कार्कीको बयान ।
५. विष्णुकुमारीसँग लोग्ने अम्बरबहादुरको र मेरो कलझगडा भइरहने हुनाले दिपमायासँग विष मागी ल्याई २०२८।११।१६ गते दाल तरकारी जे मा मौका पर्छ, त्यसमा हालिदिनु भनी लोग्नेलाई दिएको हुँ । सोही विषबाट बुहारीको मृत्यु भएछ भन्नेसमेत सासु सन्तकुमारीको बयान ।
मर्ने विष्णु कुमारीको सासु सन्तकुमारीले बुहारीले धेरै दुःख दिई बुहारीलाई मार्नु पर्यो, विष खोजिदेउ भनी कराउँदा मैले मदुमाया दमिनीसँग मागी ल्याएको विष सन्तकुमारीलाई दिएको हुँ भन्नेसमेत दिपमाया उपाध्यायनीको बयान ।
६. लुगा सिउन नगएको रिसले विष दिएको हो । निजले मसँग विष मागेको छैन भन्ने मदुमाया दमिनीको बयान ।
७. मदुमाया दमिनीलाई अदालतबाट खोजी भएको बखत उपस्थित गराउने गरी हाजिर जमानीमा छाडिदिने । अम्बरबहादुर कार्की १, सन्तकुमारी १ लाई ज्यानसम्बन्धीको १३ नं. को देहाय २ बमोजिम सजाय हुन र जानी जानी विष दिने दिपमायालाई ज्यानसम्बन्धीको महलको दफा १ बमोजिम सजाय गरिपाउँ भन्नेसमेत प्रहरी प्रतिवेदन ।
८. प्रहरीमा भएको कागज साँचो होइन २०२८।११।१४ गते बद्री श्रेष्ठ साहुको पसलबाट रु.।५० पैसाको मुसा मार्न विष ल्याउँदा सन्तकुमारी पनि टुप्लुक्क आइपुगी मेरो घरमा पनि मुसाले दुःख दिएको छ भनी म पनि लान्छु भनी अलिकति राखिदिई अरू विष सबै मैलो कपडाको टालोमा पोका पारी घरमा लगेको थिइन । सन्तकुमारी र अम्बरबहादुरले बुहारी विष्णुकुमारीलाई विष खुवाई मारे भन्ने सुनेकोले निजहरुउपर शङ्का लाग्छ भन्नेसमेत दिपमाया उपाध्यायनीको अदालतमा भएको बयान ।
९. दिपमाया उपाध्यायनीसँग मुसा मार्न भनी विष ल्याएको थिएँ । सो विष लोग्ने अम्बरबहादुरले वेंसी गोठमा मुसा मार्न पर्यो भनी लगेका थिए । गहतका दालमा विष हाली बुहारी विष्णुकुमारीलाई खुवाई मारे भन्ने कुरा सुनेको हुँ । लोग्नेसँग सल्लाह गरी बुहारी मार्न भनी सो विष दिई पठाएको होइन भन्नेसमेत सन्तकुमारीको बयान ।
१०. बुहारी विष्णुकुमारीले सासु सन्तकुमारीसँग बराबर कलह गर्ने भएकोले म र मेरो श्रीमती सन्तकुमारीको सल्लाहअनुसार श्रीमतीले दिपमायासँग मागी ल्याएको विष दालमा मिसाई खुवाउनु भनी ०२८।११।१६ गते दिएको सो विष मैले दालमा हाली दिएँ । सोही विष भएको दाल बुहारी विष्णुकुमारीले पिई मरेकी हुन भन्नेसमेत अम्मरबहादुर कार्कीको बयान ।
११. मेरो दोकान कपडाको हो । विषादी कुनै पनि पदार्थ दोकानमा राखेको र बेचेको समेत छैन भन्नेसमेत बद्रीदास श्रेष्ठको बयान ।
१२. मर्ने कुरा जानी–जानी विष जुटाई दिने दिपकुमारीलाई ज्यानसम्बन्धीको १७ नं. को १ ले १० वर्ष कैद हुन्छ । सन्तकुमारीले दिपमायासँग लिएको विष लोग्ने अम्मरबहादुरलाई दिई अम्वरबहादुरले श्रीमतीबाट विष लिई मार्ने सल्लाह गरी मर्नेले खाने गहतको दालमा राखी दिई विष खुवाएको ठहरेकोले अम्मरबहादुर र सन्तकुमारीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुन्छ भन्नेसमेत ०३०।२।२८।१ को रामेछाप जिल्ला अदालतको फैसला ।
उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत दिपमाया उपाध्यायानीले जनकपुर अञ्चल अदालतमा चढाएको पुनरावेदन ।
१३. अभियुक्तहरुलाई कसुरदार ठहराएको रामेछाप जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत ०३२।११।५।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. शुरु जिल्ला अदालतको सदर गरी गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन । हक इन्साफपाउँ भनी सर्लाही कारागार मार्फत दिपमाया उपाध्यायनीले सर्वोच्च अदालतमा चढाएको पुनरावेदन ।
१५. दिपमाया ब्राम्हणीसँग घरमा मुसाले दुःख दिएकोले मुसा मार्ने औषधी चाहियो भनी निज ब्राहृमणीले दिई पठाएको थिइन भनी अभियुक्त सन्तकुमारीले अदालतमा बयान गरेको र पुनरावेदिका दिपमाया उपाध्यायनीले मर्ने विष्णुकुमारीलाई मार्नुपर्ने कारण पनि केही नदेखिएको र निज मार्ने षडयन्त्रमा पसेको भन्ने कुरा प्रमाणित हुन नआएकोले पुनरावेदक दिपमायालाई कसुरदार ठहराई सजाय गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिलेको नदेखिँदा छलफल निमित्त अ.बं.२०२ नं. बमोजिम सरकारतर्फबाट वहस गर्न सरकारी अधिवक्तालाई झिकाई पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चको २०३५।५।२।५ को आदेश ।
१६. पुनरावेदिका (प्रतिवादी) तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको र वादी (विपक्षी) श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी दिपमायाले मर्ने विष्णुकुमारीलाई मार्नको लागि जानी जानी विष दिनुपर्ने प्रयोजन केही पनि देखिँदैन । विष्णुकुमारीसँग निजको कुनै रिस ईवी वा झैंझगडा भएको पनि पाइँदैन । प्रतिवादी दिपमायाले प्रहरी हिरासतमा गरेको भनेको बयानलाई लिएर सुरु जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले निजलाई कसुरदार ठहराएको देखिन्छ । तर निजले प्रहरी हिरासतमा भएको बयानलाई खण्डन गर्दै अदालतमा बयान गरेकी र सो बयानलाई सहअभियुक्त सन्तकुमारीको बयानले समर्थित गरेको पाइन्छ । मुसा मार्ने विष दिएको भन्ने प्रतिवादीको भनाई छ र सो कुरा विष लिने सन्तकुमारीले पनि समर्थन गरेको देखिन्छ । मुसा मार्ने विष राख्नु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया होइन । यस स्थितिमा प्रतिवादी दिपमायाले सन्तकुमारीलाई विषै दिएकी र सन्तकुमारीले विष लिएकी भन्ने कुरा प्रमाणित हुँदैमा विष्णुकुमारीलाई मार्ने षडयन्त्रमा पसेर दिपमायाले जानी जानी विष दिएको हो भन्ने तथ्य प्रमाणित भएको भन्न मिल्दैन । तसर्थ विष्णुकुमारीलाई मार्न निजकी सासु सन्तकुमारीले विष माग्दैमा दिपमायाले जानी जानी विष खोजी ल्याई दिएको भन्ने कुरा मानवप्रकृतिका विपरित एउटा अनुमानको कुरामात्र देखिन आउँछ । विनाप्रयोजन कसैको ज्यान लिने काममा साधारतः कोही पनि सरिक हुँदैन । यस्तो स्थितिमा बिना प्रमाण कसैलाई कसुरदार ठहराउनु न्यायसंगत हुँदैन । प्रहरीको हिरासतमा प्रतिवादी दिपमायाले गरेको भनेको बयानबाट निजउपर शङ्कासम्म उपस्थित हुन्छ । तर फौजदारी अपराधको कसुरदार ठहराउन शङ्का हुनु पर्याप्त होइन । शङ्काको लाभ अभियुक्तले नै पाउने हुँदा प्रतिवादी दिपमायाले सफाई पाउने ठहर्छ, तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ईन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदिका (प्रतिवादी) दिपमाया उपाध्यायनीले सफाई पाएकोले रामेछाप जिल्ला अदाअतको २०३०।२।२८।१ को फैसलाले गर्ने गरेको कैद बर्ष १० दश र सो सदर गरी मध्यमाञ्चल क्षत्रीयअदालतले पुनरावेदन गरे वापत थप कैद वर्ष १ एक गर्ने गरेको हाल नलाग्ने हुँदा उक्त लागत कट्टा गरी दिनु भनी जिल्लामा पूर्जी गर्न का.जि. अ.त.मा लागत दिनु .......................१
नियमानुसार गरी मिसिल बुझाई दिनु ...................... २
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३५ साल आश्विन १० गते रोज ३ शुभम् ।