निर्णय नं. ६९४३ - कर्तव्य ज्यान

निर्णय नं. ६९४३ ने.का.प. २०५७ अङ्क १०/११
पूर्ण इजलास
माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत २०५४ सालको फौ.पु.इ.नं. ..३२
फैसला मितिः २०५७।५।८।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला बर्दिया, धधवार गा.वि.स. वडा नं.६ बनगाइ घर भै हाल कारागार शाखामा बर्दियामा थुनामा रहेकी हिमा कुमारी भट्टराई
विरुद्ध
विपक्षी/वादीः केशुनाथ उपाध्यायको जाहेरीले श्री ५ को सरकार
§ पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को फैसला सोही अदालतको मिति २०५३।५।२० को पत्रानुसार साधक जाहेरी भई आई यस अदालतमा फौ.साधक नं.१८३ मा मिति २०५३।१०।११ मा दर्ता भै यस अदालतको मिति २०५३।११।२२ को पत्रानुसार सोधनी भएकोमा पुनरावेदन दर्ता फाँटबाट यी प्रतिवादी हिमाकुमारीको पुनरावेदन म्याद तामेल भएको मिति २०५४।६।७ देखि यस अदालतमा पुनरावेदन नपरेको भन्ने २०५३।२।२९ को जवाफको आधारबाट सो साधक सुनुवाई भई पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को साधक जाहेरी फैसला सदर भई यस अदालत संयुक्त इजलासबाट मिति २०५३।१२।८ मा फैसला भएको देखिन्छ । तथापी यी पुनरावेदक प्रतिवादी हिमाकुमारीको कारागार शाखा बर्दियाको मिति २०५३।१।१६ को पत्रद्बारा प्रस्तुत पुनरावेदन पत्र यस अदालतमा मिति २०५३।३।२८ मा पुनरावेदन दर्ता हुन सक्ने म्याद भित्रै दाखिला भएतापनि पुनरावेदन लगतमा भने २०५४।४।१७ मा मात्र दर्ता हुन आएको देखिन आउँछ र समयमा दर्ता नभए तर्फ सम्बन्धित कर्मचारीहरुलाई सोधपुछ स्पष्टीकरण लिने सम्बन्धी कारबाही समेत भएको देखिन आउँछ । यसरी यी पुनरावेदिकाको पुनरावेदन कानूनले निर्धारित गरेको अवधि भित्रै यस अदालतमा दायर हुन आएको भन्नेमा विवाद देखिएन । न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) ले साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेरिनु पर्ने स्पष्ट कानूनी व्यवस्था गर्नुका साथै मुलुकी ऐन अदालती बन्दोबस्तको २१५ नं. ले साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी सो मुद्दा पुनरावेदनको तहबाट हेर्नुपर्छ भन्ने बाध्यात्मक अर्को कानूनी व्यवस्था समेत गरेको पाइन्छ । यसप्रकार पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेर्नुपर्ने र साधकको लगत स्वतः कट्टा हुने व्यवस्था रहेबाट पुनरावेदन परिरहेको अवस्थामा साधकको रोहबाट फैसला भईसकेको भन्ने आधारमा पुनरावेदनको मार्गलाई निस्प्रभावतुल्य बनाउन मिल्ने देखिदैँन । किनकी साधकको रोहबाट माथिल्लो अदालतले सुपरीवेक्षकीय अधिकार अन्तर्गत तल्लो अदालतको निर्णय जाँच्ने सम्म हो तर पुनरावेदकीय मार्ग भनेको व्यक्तिको कानूनी अधिकार भएको र सो कानूनी अधिकार प्रयोग गर्दा पुनरावेदन सुन्ने अदालतले पुनरावेदकले उठाएको प्रश्नहरुको समेत निराकरण गरी निर्णय गर्नुपर्ने अवस्था रहन जान्छ । साधकको रोहबाट इन्साफ जाँच भईसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकार (Substanative Right) मा नै संकुचन लाग्न जाने सम्भावना रहन्छ जो सर्वथा न्यायिक स्वविवेक अनुकूल हुन सक्तैन । साधकबाट इन्साफ जाँच गरिसकेको भनी पुनरावेदन तामेलीमा राखेको नमिल्ने (ने.का.प. २०४१, अंक १, पृष्ठ ४३) भनी यस अदालतबाट पूर्व निर्णय पनि भईरहेको परिप्रेक्ष्यमा पुनरावेदकको यस अदालतमा कानून बमोजिमको रीत पुर्याई परिरहेको पुनरावेदनबाट हेर्न मिल्दैन भन्न मिल्ने अवस्था देखिन आएन । अतः पुनरावेदनको रोहबाट सुनुवाई हुने हुँदा साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।८ को फैसला स्वतः वदर हुने ।
§ मृतक लिलावतीलाई बन्चरोले घाँटी टाउकोमा प्रहार गरी सोको चोटले निजको मृत्यु भएको र बन्चरोले आफूले प्रहार गरेकोमा यी पुनरावेदन प्रतिवादी अधिकार प्राप्त अधिकारी र अदालतको बयानमा समेत सावित नै रहेको पाइन्छ । मृतकको मृत्यु बन्चरोको प्रहारबाट भएको भन्ने कुरा पोष्ट मार्टम रिपोर्ट समेतका कागजातबाट पुष्टी हुनुका साथै सो बन्चरो समेत बरामद भै आएको अवस्था देखिँदा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. आकर्षित नहुने भनी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम पुनरावेदक प्रतिवादी हिमाकुमारीलाई जन्मकैद हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिँदा साधक जाहेरी फैसला सदर हुने ।
§ मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी मनसाय केही नभएको मृतक लिलावती र प्रतिवादीका लोग्ने टिकाराम भट्टराईका बीच अनुचित यौन सम्पर्क रहेको भन्ने आशंकामा सोही कारणबाट उब्जेको रीस थाम्न नसकी मृतकलाई मारेको पुष्टी हुन आएको अवस्था हुँदा ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम जन्मकैद गर्दा सजाय चर्को पर्ने अवस्था हुँदा अ.वं.१८८ नं. बमोजिम निज प्रतिवादी हिमाकुमारी भट्टराईलाई कैद वर्ष १० मात्रको सजाय हुने राय व्यक्त गरेको समेत मनासिवै देखिन्छ ।
(प्र.नं.२३,२४ र २५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री टिकाराम भट्टराई
प्रत्यर्थी वादी तर्फबाटः विद्बान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक
अवलम्बित नजिरः ने.का.प. २०४१, अंक १, पृ.४३
फैसला
प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा परेको प्रस्तुत पुनरावेदनमा संयुक्त इजलासको मिति २०५२।१०।१ को आदेशानुसार समेत यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छः–
2. धधवार गा.वि.स. वडा नं. ६ बस्ने सूर्य सार्की मेरो घरमा आई तपाइकी छोरीलाई कसैले कुटेर लडेकी हुन हिड्नुस भनी बोलाएपछि मेरो छोरी लिलावती उपाध्यायको घरमा गई हेर्दा निजको गर्दनमा धारिलो हतियारले काटेको घाउ चोट भएको र मृत अवस्थामा भएकीले सो देखी मेरी छोरीलाई निजको सौता र सौताका छोराले अंशको पुरानै रिसइवीले पटक पटक कुटपिट गर्ने हुँदा निजहरुले नै कर्तव्य गरी मारेको हुन भन्ने मेरो शंका भएकोले मेरी छोरीको सौता ढाका उपाध्याय र निजको छोरा बलराम उपाध्यायलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
3. मृतकको टाउकोमा कपाल पोका पारेको अवस्थामा रहेको ठाउँको टुप्पी पछाडि डेढ इन्च लम्बाईको धारिलो हतियारले काटेको भित्र हड्डी देखिएको र सोको नजिक वायाँ कान माथि २ इन्च लम्बाई छाला काटिएको घाउ हड्डी मात्र देखिएका, वायाँ कान बीचको बीचबाट काटिएको मृतकको पछाडिबाट घाँटीमा ७५ प्रतिशत हड्डी पूरै धारिलो हतियारले काटेको हड्डी छिन्न केही मात्र भाग बाँकी रहेको, घाँटीको पछाडिबाट ठाउँ ठाउँमा हतियारले रोपी काटिएको घाउ देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
4. मैले कर्तव्य गरी मारेको होइन । म सौता भएकोले जाहेरी परेको हुनुपर्छ । टिकाराम भट्टराई र मृतक लिलावतीसँग शारीरिक सम्बन्ध थियो । एकपटक शारीरिक सम्बन्ध हुनेबेला मैले स्वयं देखेकी हुँदा निजका केटाकेटीले दुःख पाउलान भनी अन्त नभनेकी हुँ । यी कुरा गाउँघरमा व्यापक चर्चा छ । आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राखेको रिसले निजकी श्रीमती हिमाकुमारी भट्टराईले मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको ढांकादेवी उपाध्यायको प्रहरी समक्ष भएको बयान ।
5. कान्छी आमा लिलावतीको र हाम्रै गाउँको टिकाराम भट्टराईको बीचमा एक डेढ वर्षदेखि अनैतिक सम्बन्ध रहेको गाउँघरमा चर्चा चलेको थियो । सो कुरा हिमाकुमारी भट्टराईलाई पनि थाहा भइसकेको थियो । आफ्नो श्रीमानसँग अनैतिक सम्बन्ध राखेको रिसले हिमाकुमारी भट्टराईले मारेको हुनुपर्दछ । यसमा मेरो र अरु कसैको संलग्नता छैन । सौतेनी छोराको नाताले जाहेरी परेको हुनु पर्दछ भन्ने समेत व्यहोराको बलराम उपाधयायको प्रहरीमा भएको बयान ।
6. मेरो श्रीमान र लिलावतीको अनैतिक सम्बन्ध भएको मलाई थाहा थियो । २०५१।२।१७ गतेका दिन राती अं.१ बजे मलाई साह्रै पीर पर्यो । मनमा डाहा चली खप्न नसकी ओछ्यानबाट जुरुक्क उठी त्यतिबेला लोग्ने र छोराहरु सुतिरहेका थिए । मैले आफ्नो घरको बन्चरो लिई सरासर लिलावतीको घरमा पुगी हेर्दा लिलावती आफ्नो घर आँगनमा उत्तरपश्चिम सिरान गरी खटियामा वायाँ कोल्टे परी सुती निदाएकी रहिछन् । मैले निजको गर्दनमा बन्चराले हान्दा खटियाबाट उठी एकपल्ट ऐया गरी सकेपछि फेरि एकचोटी पछाडि गर्दनमा हान्दा चाल पाई मुनि घोप्टो पर्दा मैले बन्चरोले हाने कति पटक हाने याद रहेन । निजको कानमा लगाउने सुनको माडवारी थुती बन्चरोसहित आफ्नो घरतर्फ गई बन्चरो नल्कामा गई पानीले पखाली शरीरको कपडामा लागेको रगत समेत पखाली घरमा गई लिलावतीको कानबाट लुछी ल्याएको कानमा लगाउने माडवारी माटाको डेहरीमुनि नेपमा राखी बाहिर पिँढीमा भएको मेरो ओछ्यानमा पल्टें भन्ने समेत व्यहोराको प्र.हिमाकुमारी भट्टराईको प्रहरीमा भएको बयान ।
7. मृतक लिलावतीको श्रीमान देवीप्रसादले मेरो कान फुकी मन्तर दिएकोले उहाँलाई गुरु भनी भन्दथे । निजको मृत्युपछि लिलावतीलाई गुरु आमा भनी बेलाबेलामा उहाँलाई घरमा सरसल्लाह सहयोग गर्दै आएकोमा विधुवाको घरमा आवतजावत भएकोले गाउँघरमा हामी बीच अनैतिक सम्बन्ध छ कि भन्ने शंका उत्पन्न भई चर्चा चलेछ । सो कुरा मेरो श्रीमती हिमाकुमारी भट्टराईलाई थाहा भई निजले उक्त शंकाको कुरालाई विश्वास मानी २०५१।२।१७ गतेका दिन लिलावतीलाई बन्चरोले हानी कर्तव्य गरी मारिछिन् । उक्त कुरा त्यस बखत मलाई भनिनन् र केही थाहा हुन सकेन । पछि हिरासतमा रहेको अवस्था निजले मसँग मैले कर्तव्य गरी मारेकी हुँ भनेपछि निजले मारिछिन भन्ने थाहा भयो । यसमा मेरो र अरु कसैको संलग्नता छैन भन्ने समेत व्यहोराको टिकाराम भट्टराईको प्रहरी समक्ष भएको बयान ।
8. मृतक लिलावतीलाई प्र. हिमाकुमारी भट्टराईले सुतेको अवस्था घरमा गई बन्चरोले घाँटीमा हानी मारेको कुरामा पुरा विश्वास लाग्छ । अन्य कसैको विश्वास लाग्दैन भन्ने समेत व्यहोराको दुर्गाप्रसाद भट्टराई समेतको प्रहरीमा भएको कागज ।
9. प्र.हिमाकुमारीले लिलावती उपाध्यायलाई धारिलो बन्चरो जस्तो घातक हतियार प्रहार गरी मारी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुर गरेको यथार्थ रुपमा प्रमाणित हुन आएको हुँदा निज प्र.हिमाकुमारी भट्टराईलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ बमोजिम सजाय हुन र बरामद भएको सुनको माडवारी मृतकका हकवालालाई फिर्ता दिलाई बरामद रु. २४०० हिमाकुमारी भट्टराईकै हो भन्ने भएबाट उक्त रुपैयाँ हिमाकुमारीलाई दिलाई दिन समेत अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
10. २०५१।२।१७ गतेका दिन दिउँसो पनि मेरो श्रीमान लिलावतीसँग उठबस गरेको कुरा ढाका देवीले भन्दै हिडेकीले मलाई ज्यादै रिस उठी सो दिन राति मृतक लिलावतीको घरमा गएँ । निज सुतेकी थिइन । मैले लिलावतीलाई मेरो लोग्नेसँग नराम्रो सम्बन्ध किन राखेको भन्दा निज जुरुक्क उठी मैले नराम्रो सम्बन्ध गरेकी छैन भन्दै मलाई झम्टिन आएकी थिइन् । लिलावतीकै घर बनाउन भनी लगेको हाम्रो बन्चरो त्यही नजिकै रहेछ । सो बन्चरो टिपी घाँटीमा हाने । घाँटीमा लाग्नासाथ खटियाबाट झम्टिन आउन लागेकी थिइन । त्यहाँबाट भुइमा लडिन र भुइमा लडिसकेपछि पनि बन्चरोले नै कतिचोटी हानें भुलें कसो गर्दा मेरो हात मृतकको कानमा गएछ माडवारी हातमा आएको देखें किन फ्यालु भनी सो माडवारी घरमा लगेकी हुँ । लिलावती मैले हानेको चोटले मरेकी हुन् । मलाई लिलावतीलाई मार्न कसैले सिकाए अह्राएको होइन । बरामद भएको सामानमध्ये सुनको माडवारी मृतकको हो, बन्चरो मेरै हो । रु.२४०० मेरै हो भन्ने समेत व्यहोराको प्र.हिमाकुमारी भट्टराइको अदालतमा भएको बयान ।
11. मृतक र टिकारामबीच यौन सम्पर्क भए नभएको मलाई थाहा छैन । गाउँघरमा हल्ला सुनेकी हुँ । मृतकलाई प्र.हिमाकुमारीले मारेकी हुन् भन्ने गाउँघरमा हल्ला सुनेकी हुँ, मैले देखिन तसर्थ किटेर भन्न सक्तिन भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने व्यक्ति बलराम उपाध्यायको बकपत्र ।
12. लिलावतीलाई प्र.हिमाकुमारी भट्टराईले मारेकी हुँ भनी म समेत प्रहरीमा थुनामा रहेको अवस्थामा निजले भनेकी थिइन् । उक्त राती म आफ्नै घरमा सुती निदाएकी थिएँ । निजले के कसरी मारेकी हुन् मलाई थाहा भएन । टिकाराम लिलावतीसँग सुतेको एकपटक देखेकी हुँ भन्ने समेत व्यहोराको ढाकादेवी उपाध्यायको बकपत्र ।
13. २०५१।२।१७ गते बेलुका टिकाराम भट्टराई लिलावतीको घरबाट नआउँदा प्र.हिमाकुमारी टिकारामलाई खोज्न जाँदा लिलावतीको घरमा निजको र टिकाराम बीचमा अनैतिक सम्बन्ध जोडिन लागेको बेला प्र.ले भेटिछन् । सोही आवेशमा आई हतियार प्रहार गरी मारिछन् भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको प्र.का साक्षी शालिकराम भट्टराईको बकपत्र ।
14. प्रतिवादी हिमाकुमारी भट्टराईले लिलावतीलाई अभियोग दावी बमोजिम कर्तव्य गरी मारेको मिसिल संलग्न प्रमाणबाट देखिएकोले निजलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुन्छ । मृतक लिलावती र प्र.हिमाकुमारी बीचमा पहिलेदेखि मार्नुपर्नेसम्मको रिस रहे भएको नदेखिएको कुनै एक विवाहिता महिलाका लोग्ने परस्त्रीसँग संसर्गमा छ भन्ने थाहा पाएपछि आवेशमा आउनु स्वभाविक देखिने, आफ्नो लोग्ने आफूसँग शारीरिक सम्पर्कमा रहोस् भन्ने भावना नारीमा रहने, लोग्नेको समिपमा रहन पाउने स्वास्नीको नैसर्गिक अधिकार रहन्छ भन्ने ठान्ने गरेको समाजमा देखिने र मृतक लिलावती प्र.हिमाकुमारीका लोग्ने टिकारामको बीचमा अनैतिक सम्बन्ध भएको थाहा पाएको कारण आवेशमा आई बन्चरो फेला पारी प्रहार गर्दा सोही चोटले लिलावतीको मृत्यु भएको र पूर्व तयारी समेत नदेखिँदा अपराध गर्दाको अवस्था मनस्थिति समेतलाई मध्यनजर राखी १३(१) बमोजिम प्रतिवादीलाई सजाय गर्दा चर्को पर्ने देखिएकोले प्र. हिमाकुमारीलाई अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद हुन्छ भन्ने रायसहितको बर्दिया जिल्ला अदालतको मिति २०५२।१।१८ को फैसला ।
15. म पुनरावेदिकाले तैयारीका साथमा मृतकलाई प्रहार गरेको नभइ मेरै लोग्नेसँग मृतकको अवैध सम्बन्ध छ भन्ने सुनी तत्कालको परिस्थिति अनुरुप मात्र प्रहार गर्दा मृतक लिलावतीको मृत्यु भएको हो, त्यस्तो स्थिति र अवस्थामा म उपर ज्यान सम्बन्धी महलको १३ (१) नं. आकर्षित नहुनेमा सो आकर्षित गरी अ.वं.१८८ नं. बमोजिम १० वर्ष कैद हुन साधक जाहेर गरिरहेको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो हकमा न्याय हुने गरी कानुन बमोजिम इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्र.हिमाकुमारी भट्टराईको पुनरावेदन अदालत नेपालगञ्जमा परेको पुनरावेदन ।
16. प्रतिवादी हिमाकुमारीले आफ्नो पतिसँग अनैतिक सम्बन्ध राखेको कारणबाट मृतकसँग अघिबाटै रिसइवी भई जोखिमी धारिलो हतियार बन्चरोले रातीको समयमा सुती निदाएको अवस्थामा निजको गर्दनमा प्रहार गरी लिलावतीलाई मारेको भनी निजले अदालतमा समेत स्वीकार गरेको देखिएकोले निजलाई ज्यान सम्बन्धी १३(१) नं. बमोजिम सजाय गर्ने ठहराएको बर्दिया जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । तर आफ्नो पतिसँग अनैतिक सम्बन्ध राखेकोमा कुनै पनि स्वास्नी मानिसको त्यस्तो मानसिकता हुनु अत्यन्तै स्वभाविक हुने भएकोले निज पुनरावेदकले अपराध गरेको अवस्थालाई विचार गर्दा निजलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएकोले घटनाको पृष्टभूमि र परिस्थितिलाई विचार गर्दा अ.वं. १८८ नं. बमोजिम निजलाई १० वर्ष कैदको सजाय गर्ने गरी साधक जाहेर गरेको समेत बर्दिया जिल्ला अदालतको राय मनासिव हुँदा सोही बमोजिम १० वर्ष कैद गर्ने न्यायोचित देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम श्री सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को फैसला ।
17. पुनरावेदन अदालतले शुरु फैसला सदर गरी गरेको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेकी छु । मेरो आफ्नै पति परस्त्रीसँग संसर्गमा रहेको कारणले तत्काल रिस उठेको परिस्थितिमा मेरो साक्षी प्रमाणबाट मनसाय के थियो भन्ने पुष्टि भइरहेको अवस्थामा गरिएको फैसला बदर गरी सफाइ दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी हिमाकुमारीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
18. पुनरावेदकलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको फैसलालाई सदर गरी सर्वोच्च अदालत संयुक्त इजलासबाट २०५३।१२।२८ मा साधक सदर गरी फैसला भएको पाइन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) मा अ.वं. १८६ नं. बमोजिम साधक जाहेर हुने मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेरिनु पर्ने प्रष्ट व्यवस्था रहेको देखिँदा प्रस्तुत पुनरावेदन हेर्न नमिल्ने कुनै कानुनी आधार नभएको र यो मुद्दाको निरोपण साधकको रोहबाट समानस्तरको इजलासबाट भइसकेको परिप्रेक्ष्यमा जटिल कानुनी प्रश्न समावेश गरेको देखिन आएको र सम्वत २०५० सालको फौ.पु.नं. ६८४ को चन्दर पासवान विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा यही प्रश्न समावेश गरी पठाइएकोमा सो प्रश्नको निरोपण नभई पुनरावेदन नै खारेज हुने गरी पूर्ण इजलासबाट फैसला भएकोले निराकरणको लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।१०।१ को आदेश ।
19. साधक निर्णय भएपछि पुनरावेदन पर्न आएकोले साधकको निर्णयको कुनै औचित्य नहुँदा छलफलका निमित्त अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयमा सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत तीन सदस्यीय पूर्ण इजलासको मिति २०५६।११।५ को आदेश ।
20. यस्तै प्रश्न समावेश भएको भनी पूर्ण इजलास समक्ष पेश भएको २०५० सालको फौ.पु.नं. ६८४ पुनरावेदक प्रतिवादी चन्दर पासवान विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा तीन जना न्यायाधीश रहेको पूर्ण इजलासबाट पुनरावेदन खारेज हुने ठहर्याई फैसला भइसकेको देखिँदा प्रस्तुत मुद्दा तीन जना भन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलास समक्ष नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत तीन सदस्यीय पूर्ण इजलासको मिति २०५७।३।९ को आदेश ।
21. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी हिमाकुमारीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री टिकाराम भट्टराइले साधक र पुनरावेदन दुवै परेको अवस्थामा पुनरावेदनको रोहबाट हेर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । साधकको रोहबाट हेरिएको अवस्थामा पुनरावेदनको सुनुवाई नगरिने हो भने पुनरावेदन गर्न पाउने अधिकारमा आघात पुग्न जान्छ । साधकको रोहबाट निर्णय भइसकेको भए पनि पुनरावेदनबाट निर्णय गर्न कानुनी बाधा छैन । मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी र मनसाय नरहेको अवस्थामा ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम जन्मकैद गर्ने गरेको फैसला नमिलेको हुँदा उल्टी भई प्रतिवादीलाई कम सजाय हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठकले साधकको रोहबाट तल्लो अदालतको इन्साफ जाँची यसै अदालतबाट फैसला भइसकेको अवस्था हुँदा पुनरावेदन उपर सुनुवाई गर्न सकिने अवस्था देखिदैन । पुनरावेदन खारेज हुनु पर्दछ भन्ने समेत व्यहोराको मुख्य बहस जिकिर प्रस्तुत गर्नुभयो ।
22. उपयुक्त बमोजिमको तथ्य समावेश भएको प्रस्तुत मुद्दामा मूलतः निम्न २ प्रश्नका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आएको छ ।
१. न्याय प्रशासन ऐन, २०४८ को दफा १० तथा मुलुकी ऐन अ.वं. १८६ नं. बमोजिम साधक जाहेरी भई आएको अवस्थामा साधकको रोहबाट यस अदालतले निर्णय गरिसकेको अवस्थामा सोही न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत परिरहेको वा पर्न आएको पुनरावेदनका सम्बन्धमा के हुने हो ? वा साधक निर्णय भइसकेको अवस्थामा पुनरावेदनको रोहबाट पुनः निर्णय गर्न मिल्ने हो वा होइन ?
२. पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
23. सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा, पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को फैसला सोही अदालतको मिति २०५३।५।२० को पत्रानुसार साधक जाहेरी भई आई यस अदालतमा फौ.साधक नं.१८३ मा मिति २०५३।१०।११ मा दर्ता भै यस अदालतको मिति २०५३।११।२२ को पत्रानुसार सोधनी भएकोमा पुनरावेदन दर्ता फाँटबाट यी प्रतिवादी हिमाकुमारीको पुनरावेदन म्याद तामेल भएको मिति २०५४।६।७ देखि यस अदालतमा पुनरावेदन नपरेको भन्ने २०५३।२।२९ को जवाफको आधारबाट सो साधक सुनुवाई भई पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१०।२३ को साधक जाहेरी फैसला सदर भई यस अदालत संयुक्त इजलासबाट मिति २०५३।१२।८ मा फैसला भएको देखिन्छ । तथापी यी पुनरावेदक प्रतिवादी हिमाकुमारीको कारागार शाखा बर्दियाको मिति २०५३।१।१६ को पत्रद्बारा प्रस्तुत पुनरावेदन पत्र यस अदालतमा मिति २०५३।३।२८ मा पुनरावेदन दर्ता हुन सक्ने म्याद भित्रै दाखिला भएतापनि पुनरावेदन लगतमा भने २०५४।४।१७ मा मात्र दर्ता हुन आएको देखिन आउँछ र समयमा दर्ता नभए तर्फ सम्बन्धित कर्मचारीहरुलाई सोधपुछ स्पष्टीकरण लिने सम्बन्धी कारबाही समेत भएको देखिन आउँछ । यसरी यी पुनरावेदिकाको पुनरावेदन कानूनले निर्धारित गरेको अवधि भित्रै यस अदालतमा दायर हुन आएको भन्नेमा विवाद देखिएन । न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) ले साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेरिनु पर्ने स्पष्ट कानूनी व्यवस्था गर्नुका साथै मुलुकी ऐन अदालती बन्दोबस्तको २१५ नं. ले साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी सो मुद्दा पुनरावेदनको तहबाट हेर्नुपर्छ भन्ने बाध्यात्मक अर्को कानूनी व्यवस्था समेत गरेको पाइन्छ । यसप्रकार पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेर्नुपर्ने र साधकको लगत स्वतः कट्टा हुने व्यवस्था रहेबाट पुनरावेदन परिरहेको अवस्थामा साधकको रोहबाट फैसला भईसकेको भन्ने आधारमा पुनरावेदनको मार्गलाई निस्प्रभावतुल्य बनाउन मिल्ने देखिदैँन । किनकी साधकको रोहबाट माथिल्लो अदालतले सुपरीवेक्षकीय अधिकार अन्तर्गत तल्लो अदालतको निर्णय जाँच्ने सम्म हो तर पुनरावेदकीय मार्ग भनेको व्यक्तिको कानूनी अधिकार भएको र सो कानूनी अधिकार प्रयोग गर्दा पुनरावेदन सुन्ने अदालतले पुनरावेदकले उठाएको प्रश्नहरुको समेत निराकरण गरी निर्णय गर्नुपर्ने अवस्था रहन जान्छ । साधकको रोहबाट इन्साफ जाँच भईसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकार (Substanative Right) मा नै संकुचन लाग्न जाने सम्भावना रहन्छ जो सर्वथा न्यायिक स्वविवेक अनुकूल हुन सक्तैन । साधकबाट इन्साफ जाँच गरिसकेको भनी पुनरावेदन तामेलीमा राखेको नमिल्ने (ने.का.प. २०४१, अंक १, पृष्ठ ४३) भनी यस अदालतबाट पूर्व निर्णय पनि भईरहेको परिप्रेक्ष्यमा पुनरावेदकको यस अदालतमा कानून बमोजिमको रीत पुर्याई परिरहेको पुनरावेदनबाट हेर्न मिल्दैन भन्न मिल्ने अवस्था देखिन आएन । अतः पुनरावेदनको रोहबाट सुनुवाई हुने हुँदा साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।८ को फैसला स्वतः वदर हुन्छ ।
24. अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने दोश्रो प्रश्नतर्फ विचार गर्दा मृतक लिलावतीलाई बन्चरोले घाँटी टाउकोमा प्रहार गरी सोको चोटले निजको मृत्यु भएको र बन्चरोले आफूले प्रहार गरेकोमा यी पुनरावेदन प्रतिवादी अधिकार प्राप्त अधिकारी र अदालतको बयानमा समेत सावित नै रहेको पाइन्छ । मृतकको मृत्यु बन्चरोको प्रहारबाट भएको भन्ने कुरा पोष्ट मार्टम रिपोर्ट समेतका कागजातबाट पुष्टी हुनुका साथै सो बन्चरो समेत बरामद भै आएको अवस्था देखिँदा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. आकर्षित नहुने भनी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम पुनरावेदक प्रतिवादी हिमाकुमारीलाई जन्मकैद हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिँदा साधक जाहेरी फैसला सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन ।
25. मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी मनसाय केही नभएको मृतक लिलावती र प्रतिवादीका लोग्ने टिकाराम भट्टराईका बीच अनुचित यौन सम्पर्क रहेको भन्ने आशंकामा सोही कारणबाट उब्जेको रीस थाम्न नसकी मृतकलाई मारेको पुष्टी हुन आएको अवस्था हुँदा ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम जन्मकैद गर्दा सजाय चर्को पर्ने अवस्था हुँदा अ.वं.१८८ नं. बमोजिम निज प्रतिवादी हिमाकुमारी भट्टराईलाई कैद वर्ष १० मात्रको सजाय हुने राय व्यक्त गरेको समेत मनासिवै देखिन्छ । शुरु जिल्ला अदालतको फैसलाको तपसिल बमोजिमकै कैद म्याद ठेकी असूल गर्नु भनी लेखी पठाई थुनुवा प्रतिवादीलाई फैसलाको जानकारी दिई नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपयुक्त रायमा सहमत छौं ।
न्या.लक्ष्मणप्रसाद अर्याल
न्या.अरविन्दनाथ आचार्य
न्या.हरिप्रसाद शर्मा
न्या.केदारनाथ आचार्य
इति सम्वत २०५७ साल भाद्र ८ गते रोज ५ शुभम् .................।