शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०११ - खानी लाइसेन्स बदर

भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११

निर्णय नं. ४०११     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको दे.पु.नं. ८३६

फैसला भएको मिति :      २०४६।१०।२९।१ मा

पुनरावेदक/वादी : धादिङ जिल्ला नौबिसे गा.पं. वडा नं. ५ बस्ने प्रेमबहादुर थापा

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने नारायणबहादुर राना क्षेत्री

मुद्दा : खानी लाइसेन्स बदर

§  ऐनले नै गैरकानुनी ठहर्‍याउनु बेगर सो कुरामा न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ अन्तर्गत जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने भन्न नमिल्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का

फैसला

     न्या. हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.ले बागमती अं.अ.को फैसला उपर पुनरावेदनको अनुमति दिएको आदेश उपर न्या. प्र.सु. (संशोधन सहितको) ऐन, २०३१ को दफा १३(५)(ख)(ग) र (७) अन्तर्गत पुनरावेदन गर्ने अनुमतिको लागि परेको निवेदनमा यस अदालतबाट पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २.    धा.जि. नौबिसे गा.पं. वडा नं. ५ अधेरीखोलाको मूललाई मूल चिन्ह मानी अधेरी खोलाको मूलबाट पूर्व पश्चिम २०० गज उत्तर दक्षिण ७०० गज पूर्व पश्चिम ४०० गज यति किल्ला भित्रको जग्गामा खानी खोल्न पाइने भनी नौबिसे गा.पं.का. बाट इजाजत पाई २०३४ साल देखि खानी खोली प्रमाणपत्र नवीकरण गर्दै आएको उक्त ठाउँमा गारो लगाउने र गिट्टी कुट्ने ढुङ्गाको काम गर्न पाउने गरी जि. पं.सचिवालयबाट २०४०।१२।२० मा मैले प्रमाणपत्र पाएकोले २०४३ चैत्र मसान्तसम्म नवीकरण गर्दै कामगरी आएकोछु । मेरो हकाधिकार भएको ठाउँमा विपक्षीले रोडा ढुङ्गाको खानी खोल्न पाउँ भनी जि. पं. सचिवालय धादिङमा माग गरी नौबिसे गा.पं. वडा नं. ५ कि.नं. ३३३ को त्रिभूवन राजपथको पुललाई मूल चिन्ह मानी पूर्व डोलबहादुर, पश्चिम भीर, उत्तर अटक बहादुर, दक्षिण धनबहादुर, यति ४ किल्ला भित्रको लम्बाई ६०५ चौडाई २५६ मिटरको क्षेत्रफलमा खानी खोल्न जि. पं. सचिवालयबाट प्रमाण पत्र लिनु दिनु गरी मेरो खानी क्षेत्रमा २०४२ साल फाल्गुण २७ गते आई खानी खोल्ने प्रमाणपत्र लिएको छु । तिमीले अब देखि खानी सञ्चालन गर्न पाउँदैनौ भनेकाले प्रमाणपत्रको नक्कल २०४२।१२।८ मा सारी हेर्दा मेरो खानीलाई आघात पर्ने गरी दोहोरो पारी प्रमाणपत्र लिए दिएकोले नेपाल खानी ऐन, २०२३ को दफा १०(२) मा यसै ऐन अन्तर्गत मुद्दा चलाउनु पर्ने कारण उपस्थित भएको मितिले तीन महीना भित्र सोही ऐनको दफा ११ अनुसार फिराद गर्न आएको छु । खानी ऐन, २०२३ को दफा १० अनुसार विपक्षीलाई सजायँ गरी विपक्षीले पाएको खानी खोल्ने प्रमाणपत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

      ३.    धा.जि. नौबिसे गा.पं. वडा नं. ५ कि.नं. ३३ को जग्गा मेरो बाबु डोलबहादुरको नाममा दर्ता हुँदा साविक मौजा थानकोट रै.नं. ७६१ को मोही डोलबहादुर रानाभाट जनिएको १९७८ सालको दर्ता हुँदा भोग चलन गरी आएको जग्गा हुँदा हाल सर्भेमा बाबु डोलबहादुरका नाउँमा दर्ता गरी ज.ध.प्र.पूर्जा लिन मा.पो.का. धादिङमा कार्यवाही चली रहेको छ । मेरो समेत हक लाग्ने हुँदा कि.नं. ३३३ मा त्रिभुवन राजपथको पुललाई मूल चिन्ह मानी पूर्व डोरबहादुर, पश्चिम भीर, उत्तर अटकबहादुर, दक्षिण धनबहादुर यति ४ किल्ला भित्रको लम्बाई ६०५ चौडाई २५६ मीटर भित्रको जग्गामा गिट्टी कुट्ने ढुङ्गा खानी खोल्न पाउने र खोजतलास समेत गर्न पाउने गरी जि. पं.स.धादिङबाट प्रमाणपत्र पाएको छु । विपक्षीले पाएको ४ किल्ला र मैले पाएको ४ किल्ला अलग अलग भएकोले फिरादपत्र झुठ्ठा हो । विपक्षीको मेरो कि.नं. ३३३ को जग्गामा कुनै किसिमको हक पुग्दैन । मेरो नामको इजाजतपत्र बदर गर्ने विषयको मुद्दा जि. पं.स.धादिङमा निवेदन दिई कारवाही चलाएपछि यस धा.जि. अ.मा एकै व्यहोराको एकै व्यक्तिको नाउँमा फिराद गरेकोले अ.बं. ८५ नं. ले स्वतः खारेज हुने हुँदा विपक्षीलाई नै सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

      ४.    कि.नं. ३३३ को दर्ता मा.पो.का. धादिङबाट झिकाई नौबिसे गा.पं. वडा नं. ५(क) को नक्शा ट्रेश र फिल्डबुक उतार समेत झिकाई पेश गर्नु भन्ने २०४३।५।९ को आदेश ।

      ५.    सर्वप्रथम वादीले नौबिसे गा.पं. बाट इजाजत लिएको देखिएको हुँदा कुन ऐन नियमको आधारबाट पाएको हो नौबिसे गा.पं. बुझी पेश गर्नु भन्ने २०४३।८।२४।३ को आदेश ।

      ६.    प्रतिवादीको प्रमाण खण्डमा उल्लेख गरेको प्रमाण मिसिल जि. पं.स. धादिङबाट झिकाई पेश गर्नु भन्ने २०४४।२।२५ को आदेश ।

      ७.    वादी प्रतिवादी जिकिरको ढुङ्गा खानी एकै वा बेगल के रहेछ ४ किल्ला समेत खुलाई नक्शा गरी पेश गर्नु भन्ने २०४४।६।२७ को आदेश ।

      ८.    जि. पं.स.बाट प्रदान गरिएको लाइसेन्स बदर गराउने अधिकार यस अदालतलाई नभएकोले प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने धा.जि. अ.को २०४४।९।९ को फैसला ।

      ९.    कानुनको अवज्ञा गरी फिराद दावी खारेज गरेको धा.जि. अ.को फैसला उल्टाई विपक्षी झिकाई आवश्यक प्रमाण बुझी शुरु दावी अनुसार इन्साफ पाउँ भन्ने प्रेमबहादुरको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

      १०.    शुरु फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला ।

      ११.    बा.अं.अ.को फैसलामा अ.बं. २९ नं. , न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि भई न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(४) (क) (ख) (ग) (घ) को अवस्था विद्यमान भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने म.क्षे.अ.मा परेको वादी प्रेमबहादुरको अनुमतिको निवेदन ।

      १२.   न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(४) को अवस्था रहे भएको देखिन नआएकोले पुनरावेदनको अनुमति दिन मिलेन भन्ने म.क्षे.अ.को एक न्यायाधीशको इजलासको आदेश ।

      १३.   म.क्षे.अ.को आदेशमा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी प्रेमबहादुरको यस अदालतमा पर्न आएको निवेदन ।

      १४.   म.क्षे.अ.को फैसलामा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

      १५.   नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ ले शुरु धा.जि. अ.लाई अधिकार दिएकोमा अधिकारै छैन भनी वादी दावी खारेज गर्ने गरेको शुरुको इन्साफ मिलेको छैन । यसमा इन्साफको कुरा छैन क्षेत्राधिकारको कुरा छ । त्यसको व्याख्या गरिनु पर्छ भन्ने बहस तथा प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले क्षेत्राधिकार नभएको अवस्थामा संविधानको धारा ७१ अन्तर्गत जानु पर्दथ्यो । पुनरावेदनमा आएको मिलेन भनी गर्नु भएको बहस समेत सुनियो ।

      १६.    अब प्रस्तुत मुद्दामा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिनु परेको छ ।

      १७.   निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक वादीले आफ्नो फिरादबाट मैले प्रमाणपत्र लिई कार्य गरी रहेको ठाउँमा दोहरा पारी इजाजत लिई बाधा विरोध गरेमा नेपाल खानी ऐन, २०२३ को दफा १० अनुसार विपक्षीलाई सजायँ गरी निजले पाएको खानी खोल्ने प्रमाणपत्र बदर गरी पाउँ भन्ने दावी लिएकोबाट एकातर्फ वादीले प्रतिवादी उपर निजले पाएको लाइसेन्स बमोजिम काम गर्नमा बाधा विरोध गरेकाले निज प्रतिवादीलाई खानी ऐन, २०२३ को दफा १० नं. बमोजिम सजायँ गरी पाउँ भन्ने दावी लिएको छ भने अर्को तर्फ विपक्षीले पनि सोही ठाउँमा खानी खोल्न लाइसेन्स पाएको कुरा स्वीकार गरी विपक्षीले पाएको लाइसेन्स बदर गरिपाउँ भन्ने दावी लिएको स्पष्ट छ । खानी ऐन, २०२३ मा भएको व्यवस्था हेरिएमा सो ऐनको दफा ७ अनुसार खानी खोल्न पट्टा पाएको व्यक्तिलाई सो पट्टा बमोजिम काम गर्नमा बाधा विरोध गरेमा दफा १० ले त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था गरेको पाइन्छ । तर सो अपराधमा कहाँ मुद्दा चल्ने र कसले सजायँ गर्ने भन्ने सो ऐनमा कतै व्यवस्था गरेको पाइँदैन । यसरी कसैको कुनै कार्यलाई गैरकानुनी भनी करार दिई सो सम्बन्धमा कारवाही र सजायँ गर्ने कुनै अधिकारीको व्यवस्था नगरेकोमा न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ मा यो ऐनमा र प्रचलित अन्य कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक जिल्ला अदालतलाई आफ्नो इलाका भित्रको सबै मुद्दाहरुमा शुरु कारवाही र किनारा गर्ने अधिकार क्षेत्र हुनेछ भन्ने व्यवस्था भएकोबाट वादीको यो दावीको कुरामा अनुमतिको आदेशमा उल्लेख भए बमोजिम जिल्ला अदालतको अधिकार क्षेत्र भित्र पर्ने देखिए पनि वादीको दोश्रो दावी विपक्षीले पाएको लाइसेन्स बदर गरी पाउँ भन्ने दावीको सम्बन्धमा उक्त खानी ऐनले यो यस्तो लाइसेन्स बदर हुने केही व्यवस्था नगरेबाट ऐनले नै गैरकानुनी ठहर्‍याउनु बेगर सो कुरामा न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ अन्तर्गत जिल्ला अदालतको अधिकार क्षेत्र भित्र पर्ने भन्न नमिलेकोले वादीको यो दावी सम्बन्धमा कानुनले कुनै उपचार प्रदान गरेको देखिन आएन । यस अवस्थामा यदि पुनरावेदक वादीलाई वास्तवमा विपक्षीले लाइसेन्स पाएकोबाट निजको हक हनन् हुन गएकै भए आफ्नो हक प्रचलन गराउन उचित कानुनी उपचारको बाटो अपनाउनु पर्ने देखिएकोले जिल्ला अदालतले वादीको फिराद खारेज गरेको निर्णय सदर गरेको बागमती अञ्चल अदालतको निर्णय उपर अनुमति प्रदान नगरेको म.क्षे.अ.को आदेश मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४६ साल माघ २९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु