शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०१६ - ज्यान

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०१६     ने.का.प. २०४६                        अङ्क १२

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको फौ.सा.नं. ६३

फैसला भएको मिति :      २०४६।१२।६।२ मा

वादी : हिमबहादुर बस्नेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : सि.पा.जि. ताला माराङ गा.पं. वडा नं. ६ बस्ने गौथली भन्ने हर्ककुमारी बस्नेत

मुद्दा : ज्यान

§  जीवित बच्चा जन्माई कर्तव्य गरी मारेको भनी पोल गरेको स्थितिमा निर्दोष रहेछ भन्न सकिने अवस्था नरहने ।

(प्रकरण नं. १४)

§  फ्नो लोग्ने छोरा छोरी जाहान परिवार समेतको सामाजिक अपगालबाट बच्न र लोकोपबादबाट मुक्ति हुनको लागि अपराध गरेको स्थितिमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम राय लगाएको शुरु र अञ्चल अदालतको सदर गरेको राय मिलेकै देखिँदा अपराध गरेको अवस्था समेतबाट निज प्रतिवादीलाई अ.बं. १८८ नं. ले कैद वर्ष ५ पाँच हुने ।

(प्रकरण नं. १५)

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह: प्रस्तुत मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ:

      २.    हर्ककुमारीको लोग्ने घरमा नभएको अवस्थामा कस्को गर्भ धारण गरी मिति ०४१।९।२४ मा गाउँको जंगलमा बच्चा जन्माई कर्तव्य गरी मारी ठूलो ढुंगा मुनि गाडी राखेको रहेछ । कानुन बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको हिमबहादुरको जाहेरी ।

      ३.    मेरो गाउँकै रामशरण भन्ने सित सम्बन्ध भई गर्भ रहन गएको थियो । गर्भ रहेको कसैलाई थाहा थिएन । मिति ०४१।९।२४ गते घाँस काट्न वनमा जाँदा बच्चा जन्म्यो । अनैतिक बच्चा भएकोले खाल्टो खनी ढुंगाले किची घर फर्केको हुँ । बच्चा मेरै कर्तव्यबाट मरेको हो भन्ने समेत व्यहोराको हर्ककुमारीको प्रहरीमा साविती बयान कागज ।

      ४.    खुट्टा खुम्चिएको दाहिने कान मिचिएको टाउकोमा छाला खुइलेको भन्ने समेतको लाश प्रकृति मुचुल्का ।

      ५.    हर्ककुमारीले जिउँदो बच्चा जन्माई निजैले मारी गाडेको हो भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसको भनाई ।

      ६.    आफ्नो लोग्ने घर नभएको अवस्थामा गाउँकै रामशरण भन्नेको गर्भ बोकी जिउँदो जातक पैदा गरी कर्तव्य गरी मारेको देखिँदा हर्ककुमारी बस्नेतलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ हुन माग दावी लिएको प्रहरी प्रतिवेदन ।

      ७.    रामशरण संग करणी भई बच्चा जन्मेको हो । मेरो निजै संग जाने विचार थियो । हाल घरमा नभएकोले कुरा गर्न पाइएन । बच्चा जिउँदो जन्मेको थिएन मरेकै जन्मेको थियो । मैले स्याउलाले छोपेको थिएँ ककस्ले ढुंगाले छोपेको हो मलाई थाहा भएन भन्ने समेत व्यहोराको हर्ककुमारीको अदालतमा भएको बयान ।

      ८.    बच्चा जिउँदै जन्मेको थियो गर्भ बोकाउने र बोक्ने कसले मारे मलाई थाहा भएन भन्ने समेत व्यहोराको जाहेरवालाको बकपत्र ।

      ९.    प्रहरीमा भएको बयान स्वेच्छाले भएको होइन भन्न नसकिने, पोष्ट मार्टम रिपोर्टबाट मृत्युको कारण स्वास रोकिन गएबाट भएको भन्ने देखिने, रामशरणको गर्भ बोकी बच्चा जन्मने बेला सम्म लुकी बसेको भनी निज हर्ककुमारी सावितै भएको समेतबाट हर्ककुमारीलाई प्रहरी प्रतिवेदन अनुसार सजायँ हुने ठहर्छ । अनुचित सम्बन्धबाट पैदा भएको बच्चालाई मार्ने पूर्वयोजना नभएको र मनसाय पनि नभएको र सामाजिक भयले गर्दा बच्चा मारेको देखिँदा सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने हुनाले अ.बं. १८८ नं. अनुसार ५ वर्ष मात्र कैद हुने भन्ने समेत व्यहोराको सिं.पा.जि. अ.को मिति ०४३।७।२६ को फैसला ।

      १०.    प्रहरीको बयानलाई आधार बनाई मलाई सजायँ गर्ने गरेको उक्त फैसला चित्त बुझेन सफाई पाउँ भन्ने समेत व्यहोराको गौथली भन्ने हर्ककुमारीको बा.अं.अ.मा परेको पुनरावेदन।

      ११.    शुरुको निर्णय सदर प्रतिवादीले गरेको कसुर लोकोपवाद र सामाजिक अपगाल जोगाउन तथा मानसिक शान्ति र गृहस्थीको संरक्षणको लागि गरेको देखिँदा र साथै कसूरको लागि कुनै निहित स्वार्थ र व्यक्तिगत उपलब्धिको भावनाबाट उत्प्रेरित भई गरेको नदेखिँदा अ.बं. १८८ नं. अनुसार ५ वर्ष मात्र सजायँ गर्न राय लगाई भएको शुरुको फैसला मनासिब देखिँदा सोही अनुसार हुन यस अदालतबाट समेत राय व्यक्त गरेका छौं भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति ०४५।९।२८ को फैसला ।

      १२.   आफूले जन्माएको बच्चा आफैंले मार्ने कुरालाई बिना प्रमाण विश्वास गर्न मिल्ने नदेखिँदा हर्ककुमारीलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला फरक पर्ने देखिँदा विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई पेशी सूचना दिने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४६।१०।११ को आदेश ।

      १३.   जिउँदो बच्चा जन्माई छाती घाँटीमा थिची मारेको भन्ने प्रहरीमा भएको साविती बयान समर्थित भएकोले निज हर्ककुमारीलाई ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गत सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । सर्वश्वसहित जन्मकैद गर्दा सजायँ चर्को हुने देखिएकोले प्रतिवादीलाई ५ वर्ष कैद गर्न अ.बं. १८८ नं. अन्तर्गत राय व्यक्त गरिएकोलाई पनि समर्थन गरिएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४६।१०।२९ को फैसला ।

      १४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा साधक निकाशातर्फ हेर्दा गौथली बस्नेतले अरुको गर्भधारण गरी ०४१।९।२४ गते जंगलमा गई जिउँदो बालक जन्माई कर्तव्य गरी मारी गाडे भन्ने समेत जाहेरी परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । प्रतिवादी गौथली भन्ने हर्ककुमारी बस्नेतले प्रहरी समक्ष बयान कागज गर्दा ०४१ साल बैशाख वा ज्येष्ठ महीना हो याद भएन रामशरण अर्यालसंगको करणीबाट गर्भ रही ०४१।९।२४ गते जंगलमा जातक छोरा जन्म्यो । बच्चालाई दुवै हातले छाती घाँटीमा थिची मारें भनी सावित भएको पाइन्छ । तर अदालतमा बयान गर्दा दिउँसो बच्चा जन्मियो बच्चा मृतक वा जिउँदो के थियो मलाई थाहा भएन बच्चा जन्मिए पछि रुने कराउने केही गरेन । म होसमा आएपछि बच्चा हेर्दा चलमल केही गरेन र बच्चालाई त्यहीं छाडी स्याउलाले छोपी घरतर्फ गएँ । मैले जिउँदो बच्चा जन्माएर मारेको होइन । मरेकै बच्चा जन्मिएको हो भन्ने समेत इन्कारी बयान गरेको देखिन्छ । मौकामा भएको लाश प्रकृति मुचुल्काबाट लाशलाई १०११ ढुंगाले पुरिएको सो ढुंगा हटाई हेर्दा माटोले पुरिएको दाहिने कान थिचिएर रगत आएको दाहिनेपट्टि टाउकोमा छाला खुइलिएको समेतको घा खत भएको भन्ने उल्लेख भएको छ । मौका सरजमीनका व्यक्तिहरुले बच्चा जन्माई कर्तव्य गरी मारेमा शंका गरी मुचुल्का गरी दिएको पाइन्छ । लाश जाँच प्रतिवेदनबाट प्रवाशरोधको कारणले मृत्यु भएको भन्ने उल्लेख भएको पाइन्छ । जाहेरवालाले आफ्नो जाहेरीमा जिउँदो बालक जन्माई कर्तव्य गरी मारेको भनी किटान गरेको देखिन्छ । अदालतमा बकपत्र गर्दा पनि बच्चा जिउँदो पाएको भनेको छ । उक्त लाश प्रकृति मुचुल्का, लाश जाँच प्रतिवेदन, जाहेरवालाको जाहेरी तथा बकपत्र समेतबाट प्रतिवादीले जिउँदो बच्चा जन्माई कर्तव्य गरी मारेको भनी प्रहरी समक्ष गरेको साविती बयानको पुष्टि भएको देखिन्छ । प्रतिवादीले रामशरणको गर्भ बोकेको भनेको छ । निजै रामशरणले प्रहरीमा कागज गर्दा मेरो करणीबाट गर्भ रहेको हो । निजले जीवित बच्चा जन्माई कर्तव्य गरी मारेको भनी पोल गरेको पाइन्छ । यस स्थितिमा निज प्रतिवादी गौथली भन्ने हर्ककुमारी बस्नेत निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ निज प्रतिवादी हर्ककुमारी बस्नेतलाई कसूरदार ठहराई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको सिन्धुपाल्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको फैसला मनासिब ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब छ ।

      १५.   अब घटी सजायँको लागि राय लगाएतर्फ हेर्दा प्रतिवादी गौथली भन्ने हर्ककुमारी बस्नेतले आफ्नो लोग्ने घरमा नभएका अवस्था गाउँकै रामशरण अर्यालसंगको अनुचित सम्बन्धबाट गर्भ रही जन्मेको बच्चालाई कर्तव्य गरी मारेमा प्रहरी समक्ष सावित भई बयान गरेको देखिन्छ । तर सो जन्मेको बच्चालाई कर्तव्य गरी मार्नु पर्ने पूर्वयोजना रहेको भन्ने देखिँदैन । आफ्नो लोग्ने छोरा छोरी जाहान परिवार समेतको सामाजिक अपगालबाट बच्न र लोकोपवादबाट मुक्ति हुनको लागि सो अपराध गरेको भन्ने देखिन आउँछ । यस स्थितिमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम राय लगाएको शुरु र बागमती अञ्चल अदालतको सदर गरेको राय मिलेकै देखिँदा अपराध गरेको अवस्था समेतबाट निज प्रतिवादी गौथली भन्ने हर्ककुमारी बस्नेतलाई अ.बं. १८८ नं. ले कैद वर्ष ५ पाँच हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी गौथली भन्ने हर्ककुमारी बस्नेत क्षेत्री के माथि इन्साफ खण्डमा लेखिए अनुसार अ.बं. १८८ नं. ले कैद वर्ष ५ पाँच हुन्छ । निज मिति २०४१।१०।४ गतेदेखि प्रहरी हिरासतमा थुनिएको भन्ने मिसिलबाट देखिँदा कानुन बमोजिम गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, प्र.गौथली भन्ने हर्ककुमारी बस्नेत के शुरु सिं.पा.जि. अ.को ०४३।७।२६ को फैसलाले सर्वश्वसहित जन्मकैद गरेको सो सजायँ माथि लेखिए अनुसार भई नलाग्ने हुँदा सो लगत कट्टा गर्नु भनी सिं.पा.जि. अ. मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु...२, मिसिल नियमानुसार गरी बुझाई दिनु...३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल चैत्र ६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु