निर्णय नं. ६९४९ - जवरजस्ती करणी

निर्णय नं. ६९४९ ने.का.प. २०५७ अङ्क १०/११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत २०५४ सालको फौ.पु.नं. ...१४८०
फैसला मितिः २०५७।२।२।२
मुद्दाः जवरजस्ती करणी ।
पुनरावेदक/प्रतिवादीः जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष २६ को मधुकर राजभण्डारी
विरुद्ध
विपक्षी/वादीः भावना प्याकुरेलको जाहेरीले श्री ५ को सरकार
§ प्रस्तुत मुद्दामा जाहेरवालीहरु तीन जना १७,१८, वर्षका केटीहरुलाई पाँच जना प्रतिवादीहरुले रातको ११:०० बजेको समयमा कोठा भित्र पसी जवरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको आधारमा प्रतिवादीहरु उपर प्रस्तुत मुद्दा चलेको देखिन आउछ । प्रतिवादी मध्येका मधुकर राजभण्डारीले बत्ति निभाई ढोकाको छेस्किनी लगाई इन्दिरा भण्डारीलाई जवरजस्ती करणी गरेको भन्ने कुराको किटानी बकपत्र जाहेरवाली मध्येकी भावना प्याकुरेलले अदालतमा समेत गरेको देखिन्छ । जाहेरवाली वर्ष १७ की इन्दिरा भण्डारीको गुप्ताङ्ग जाँच हुँदा भेजिनल स्वायव (Veginal Swab) मा पुरुष विर्य नदेखिएको भन्ने कारणबाट निज उपरको जवरजस्ती करणीको ३ नं. को अपराध शुरु र पुनरावेदन अदालतले कायम नगरेको र त्यस उपर श्री ५ को सरकरबाट समेत मुद्दा दोहोर्याउने निस्साको लागि यस अदालतमा निवेदन आएको देखिदैँन । तथापि दोहोर्याउने निवेदन वा पुनरावेदन पर्नु वा नपर्नुको कारणबाट गलत वा भ्रमक तार्किक आधारलाई मातहत अदालतबाट अनुसरण गरिने स्थितिमा रहन दिनु उपर्युक्त हुदैँन । जवरजस्ती करणीको अपराधमा पिडित स्वास्नीमानिसको योनीको डाक्टरी जाँच गरिदा पुरुष विर्य फेला नपर्नुबाट जवरजस्ती करणीको अपराध नभएको भन्ने प्रमाणित हुने अवस्था देखिन आउदैँन । पुरुष विर्य फेला पर्नुबाट सो अपराध हुँदा जवरजस्ती करणीको साथै पुरुष विर्य स्खलन भएको तथ्य समेत प्रमाणित हुने कुरा हुन्छ । तर त्याँहा पुरुष विर्त स्खलन नभएकोमा फेला पर्ने अवस्था रहदैँन । त्यस्तोमा जवरजस्ती करणी नै नभएको भनी अरु प्रमाणको उपेक्षा गर्न मिल्दैन । त्यसमा पनि पुरुष विर्य फेला पर्नु वा नपर्नुमा वारदातको कति समयपछि परीक्षण भएको हो भन्ने कुरा महत्वपूर्ण हुने ।
§ प्रस्तुत वारदातमा पिडित स्वास्नीमानिसको हाइमेन (Hymen) च्यातिएको स्थितिमा पछि भएको डाक्टरी जाचलाई लिएर पुरुष विर्य भेजिनल स्वायवमा हुनै पर्दछ भन्ने धारणा रहेको तल्लो अदालतको तर्फबाट जवरजस्ती करणीको अपराधको प्रकृतिलाई सहिरुपले सम्झने बुझ्ने गरेको देखिन आएन । यस्तो प्रकृतिको अपराधमा पिडित व्यक्ति यस्तो १७, १८ वर्षका केटीको कलिलो उमेर र निज उपर भएको शारीरिक एवं मानसिक बलत्कार अपराधीको पाशुविक मनोवृत्त र वर्वरतापूर्ण शारीरिक र मानसिक आक्रमणले पिडित महिलाले सहनुपर्ने जीवनभरीको मनोवैज्ञानिक चोट र कुण्ठा एवं पिडित परिवारले व्यहोर्नु पर्ने सामाजिक वदनामी सम्बन्धी तथ्यगत कुराहरु महत्वपूर्ण देखिन आउँछ । प्रतिवादी मधुकर राजभण्डारीले जुन किसिमले जाहेरवाली जस्तो उमेर र अवस्थाको केटीलाई भयावह स्थिति सिर्जना गरेको मिसिलबाट देखिन आउँछ । त्यस्तो अवस्थामा डाक्टरी जाँचबाट पिडित व्यक्ति वा प्रतिवादीको शरिरमा संघर्षको चिन्ह (Sing of struggle) देखिनु नदेखिनु पनि महत्वपूर्ण मान्न मिल्दैन । निज प्रतिवादी वारदातको लगत्तै फरार रही, पछि उपस्थित भई वारदात हुँदाको अवस्थामा आफू अन्यत्र रहेको जिकिर लिएको भएतापनि निजको सो जिकिर र निजबाट दिइएका साक्षीहरुको बकपत्रको विश्वसनीयता यसै पनि पत्यारलायक नदेखिने ।
(प्र.नं. २१ र २२)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ताहरु श्री शिवप्रसाद रिजाल, श्री मलनकुमार राई र श्री हरि फुयाँल
विपक्षी वादी तर्फबाटः विद्बान सह न्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी
अवलम्बित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनबाट भएको फैसला दोहोर्याई हेरी पाउँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः
2. २०४९।७।९ गतेका दिन बेलुका अन्दाजी ११:०० बजेको समयमा हामी निवेदिका इन्दिरा राजभण्डारी, इन्दु अधिकारी र भावना प्याकुरेल समेत एउटै कोठामा बसिरहेका थियौं । त्यस्तैमा भैलो खेल्न आइमाइहरु आई भैलो खेल्न लागेपछि हामी पनि हेर्न भनी कोठाको ढोकामा बसिरहेका थियौं । सोही घरमा डेरा गरी बस्ने दिदी पनि हेरिरहनु भएको थियो । भैलो सकिएपछि दिदी कोठाभित्र गइन र केटाहरु पनि नाचगान गरिरहेका थिए हामी हेर्न गएका थियौं । त्यस्तैमा लोके भन्ने केटासँग कुरा गरिबसेका थियौं । निज कारखानातिर लागेपछि नाम थाहा हुन आएका मधुकर राजभण्डारी, राजेश श्रेष्ठ समेत दुई जना आई मधुकर कोठाभित्र आई सुतिरहेकी भावनालाई कपालमा समाई हामीहरुको घर सोधे र हामीले बताउँदै गर्दा बुद्धिरत्न र राजेश भित्र पसे । मधुकर राजभण्डारीले म इन्दिरा भण्डारीलाई धीरेन्द्र प्याकुरेलले म भावना प्याकुरेललाई जबरजस्ती गरी लगाएको सुरुवात खोली च्याती पलङमाथि लडाई निजहरुले लगाएको पाइन्ट खोली उत्तेजित भएको लिंग बलले योनीमा ठेली भित्र पसाई करणी गरी विर्य खसाए । म इन्दु अधिकारीलाई लक्ष्मण अधिकारीले जबरजस्ती करणी गरे । मधुकर र धिरेन्द्र बाहिर निस्केपछि राजेश र बुद्धिरत्न भित्र बसी राजेश हो वा बुद्धिरत्न हो एकिन भएन । म इन्दिरा भण्डारीलाई राजेश वा बुद्धिरत्नले हो जबरजस्ती करणी गरे र सबै बाहिर निस्किएपछि हामी करायौं । कराएको हल्ला सुनी हामी भएको ठाउँमा आई हामीलाई सोधे पछि हामीले सबै बताइ दियौं । हामी ज्यादै अन्यायमा परेका हुँदा जाहेरी गर्न आएका हौं निजहरुलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको इन्दिरा भण्डारी, इन्दु अधिकारी र भावना प्याकुरेल समेतको संयुक्त जाहेरी दरखास्त ।
3. मेरै टोलका मधुकर भण्डारी, राजेश श्रेष्ठ, बुद्धिरत्न शाक्य, लक्ष्मण अधिकारी समेतको संयुक्त सल्लाहबाट जाहेरवालीहरु बस्ने गरेको ठाउँमा गई जाहेरवालीहरुलाई डर त्रास देखाई मैले भावना प्याकुरेललाई, मधुकर राजभण्डारीले इन्दिरा भण्डारीलाई करणी गरी निस्केपछि बुद्धिरत्न र राजेश समेत भित्र पसेका हुन् । निजहरुले कसलाई करणी गरे खुलाउन सक्दिन भनी धीरेन्द्र प्याकुरेलले प्रहरीमा गरेको बयान कागज ।
4. डोरमा देखाइएका धीरेन्द्र प्याकुरेल फरार रहेका बुद्धिरत्न, मधुकर, राजेश श्रेष्ठ समेतले जाहेरवालीहरुलाई जबरजस्ती करणी गरेजस्तो लाग्दैन । करणी गरेकै भए पनि खुशीराजीबाट होला भन्ने सर्जमिन मुचुल्का।
5. प्रतिवादीहरुले मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. को विरुद्ध ३ नं. को कसुर अपराध गरेको सिद्ध हुन आएको हुँदा निज प्रतिवादी धीरेन्द्र प्याकुरेल, मधुकर राजभण्डारी, राजेश श्रेष्ठ, बुद्धिरत्न शाक्य, लक्ष्मण अधिकारी समेतलाई ऐ.ऐनको ३ नं. बमोजिम सजाय गरी मधुकर राजभण्डारीबाट इन्दिरा भण्डारीलाई लक्ष्मण अधिकारीबाट इन्दु अधिकारीलाई ऐ.ऐनको १० नं. बमोजिम आधा अंश समेत दिलाई दिन समेत माग दावी लिएको र फरार रहेका प्रतिवादीहरुलाई समाह्वान जारी हुन समेत माग दावी लिएको प्रहरी प्रतिवेदन ।
6. जाहेरवालाहरुलाई चिनेको छु । २०४९।७।९ गते बेलुका मैले कसैलाई जबरजस्ती करणी गरेको छैन । प्रहरीले मलाई कुटपिट गरी सहीछाप गराएका हुन् । प्रहरीमा भएको बयान मेरो स्वेच्छाले भएको होइन भन्ने समेतको धीरेन्द्र प्याकुरेलको अदालतको बयान ।
7. जाहेरवालीहरुलाई चिने जानेको छैन । २०४९।७।६ गते म र मेरो साथी बुद्धिरत्न सामान लिन भनी कलकत्ता गएका थियौं । २९,३० गते तिर मात्र काठमाडौं फर्की आएको हो र दाजुले तेरो नाममा वारेण्ट छ भनेकोले थाहा पाएको हो । म सामाखुशीमा बस्दै बस्दिन । धीरेन्द्र प्याकुरेललाई चिन्दछु । दशैंमा मात्र भेटेको छु । मैले जबरजस्ती करणी गरेको छैन । प्रहरीले म उपर किन मुद्दा दायर गरे थाहा छैन । मैले सफाइ पाउनु पर्छ भन्ने समेत मधुकर राजभण्डारीले अदालतमा गरेको बयान ।
8. २०४९।७।६ गतेका दिन मधुकरसँग कलकत्ता सामान लिन गएका थियौं र कार्तिक २९–३० तिर मात्र आएको हुँ । जाहेरवालीहरुलाई चिन्दिन । धीरेन्द्र गाउँकै मानिस भएको हुँदा चिनेको छु । धीरेन्द्रले म उपर किन पोल गरे थाहा छैन म निर्दोष भएकोले सफाइ पाउनु पर्छ भन्ने समेतको बुद्धिरत्नले अदालतमा गरेको बयान ।
9. जाहेरवालीहरुलाई चिन्दिन । २०४९।७।८ गतेमा मेरो मामा, आमा र सानी आमासँग तिहार मनाउन नारायणघाट गएको थिएँ । विरामी भएकोले त्यही बसी उपचार गराएको हुँ । निर्दोष भएको हुँदा सफाई पाउनु पर्छ भन्ने समेतको राजेश श्रेष्ठले अदालत समक्ष गरेको बयान ।
10. म वीरेन्द्र थपलियाका कारखानामा काम गरी बस्थें । उहाँले नै जिम्मा लिएको घरमा डेरा गरी बस्थ्यौं । हामी इन्दिरा भण्डारी, इन्दु अधिकारी, भावना प्याकुरेल तीन जना बसेका थियौं । २०४९।७।९ गते लक्ष्मी पुजाको दिन भैलो खेल्ने दिन हुँदा भैलो खेल्न आएका रहेछन् । म आफ्नै कोठामा सुतिरहेको बेला इन्दिरासँगै एकजना केटा बस्यो । म सुतिरहेको ठाउँमा जबरजस्ती सिरक उचाली कपाल समाती उठायो । इन्दु अधिकारी भित्र पसेपछि पाँच जना केटा भित्र आए । अनि धीरेन्द्रले हाम्रो घर सोधे र तिमीहरुको रिकर्ड नराम्रो रहेछ म सोह्रखुट्टेको हवल्दार हुँ । ६ महिना जेल राख्नु पर्छ भनी भने र राजेश र बुद्धिरत्न बाहिर गए । मधुकरले इन्दिरा भण्डारीलाई लक्ष्मणले इन्दु अधिकारीलाई मलाई धीरेन्द्र प्याकुरेलले जबरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको भावना प्याकुरेलले अदालत समक्ष गरेको बयान ।
11. मैले दिएको प्रतिवेदनहरु मैले जाँच गरी भएको व्यहोराको प्रतिवेदन दिएको छु भनी डाक्टर विमला लाखेले गरेको बयान कागज ।
12. जाहेरवालीले आफ्नो जाहेरीमा नै प्रतिकार गर्दा डरत्रास देखाई निजको डरत्रासबाट म सिथिल भएपछि मेरो कपडा समेत खोली करणी गरेको भनी लेखाएको र निजले स्वेच्छाबाट करणी गर्न दिएपछि जबरजस्ती करणी भनी उल्टा उजुर गर्नुपर्ने कारण समेत नदेखिँदा प्रतिवादी धीरेन्द्र प्याकुरेलले अभियोग पत्र अनुसार कसुर गरेको ठहर्छ । निजलाई तीन वर्ष कैद र १० नं. बमोजिम समेत हुने ठहर्छ । धीरेन्द्र प्याकुरेल बाहेक अन्य प्रतिवादीहरुले कसुर गरेको प्रमाणित नभएकोले निजहरुले करणी गरेको देखिन आएन । प्र.मध्येका मधुकर राजभण्डारीले आफैले करणी गरेको नदेखिए तापनि करणी गर्ने कार्यमा मद्दत गरेको देखिँदा एक महिना कैद हुने ठहर्छ । प्रतिवादी मध्येको राजेश श्रेष्ठ र बुद्धिरत्न श्रेष्ठले करणी गरेको र मद्दत गरेको कुरा नदेखिएबाट निजहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।५।२४ को काठमाडौं जिल्ला अदालतको फैसला ।
13. शुरु का.जि.अ.ले लिएको निर्णयाधारमा जाहेरवालीले आफू उपस्थित भई अदालत समक्ष गरेको किटानी बकपत्रलाई आधार प्रमाण मानिएको छ । जबकि उक्त आधारबाट आरोपसम्म लाग्न सक्ने र आरोप अपराध सिद्ध गर्ने प्रमाण पनि नभएको हुँदा भावनात्मक आधारमा मात्र फैसला गरिएको र यसबाट स्वतन्त्रता सम्बन्धी मौलिक हकबाट मैले अन्यायपूर्ण तवरले बन्चित हुन परेको हुँदा यस्तो अन्यायपूर्ण फैसला स्वतः बरदभागी छ बदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०५०।६।२५ मा धीरेन्द्र प्याकुरेलले दिएको पुनरावेदन पत्र ।
14. म पुनरावेदकलाई मतियार ठहर गर्न जबरजस्ती करणी वारदात भएको र सो वारदातमा जानी जानी मद्दत पुर्याउने मनसायले संलग्न भएको स्थापित हुनुपर्छ । प्रस्तुत मुद्दामा यसो हुन सक्ने अवस्था छैन । म पुनरावेदकको वारदातमा उपस्थिति तथा मतियारको रुपमा संलग्नता प्रमाणित छैन । कुनै पनि विश्वासनीय तथा ठोस प्रमाणबाट मेरो कसुर स्थापित भएको छैन । तसर्थ काठमाडौं जिल्ला अदालतको फैसला वदर गरी पाउँ भन्ने समेतको प्र.मधुकर राजभण्डारीको २०५०।९।७ को पुनरावेदन ।
15. प्रतिवादीहरुले कसुर गरेको कुरा विभिन्न सवुद प्रमाणहरुबाट प्रमाणित भइरहेको अवस्थामा सुरु काठमाडौं जिल्ला अदालतबाट कुनै प्रतिवादीलाई सफाइ दिने गरेको कसैलाई दोषी ठहर्याएको फैसला मिलेको छैन । समान कसुरमा सबै प्रतिवादीहरुलाई समान सजाय हुनुपर्ने हो । अतः अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेतको श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदन ।
16. प्रतिवादी धीरेन्द्र प्याकुरेलको अधिकार प्राप्त अधिकारी समक्षको साविती बयान, भावना प्याकुरेलको योनी परीक्षण प्रतिवेदन, पीडितको किटानी जाहेरी र सोलाई समर्थन हुने गरी भएको पीडित भावना प्याकुरेलको बकपत्र तथा प्र.मधुकर राजभण्डारी वारदात स्थलमा उपस्थित भई करणी गर्ने कार्यमा सहयोग पुर्याइरहेको तथ्य पुष्टि भइरहेको हुँदा प्रतिवादी धीरेन्द्र प्याकुरेललाई ३ वर्ष कैद र १० नं. बमोजिम समेत हुने र प्र.मधुकर राजभण्डारीलाई १ महिना कैद हुने गरी एवं प्रतिवादी बुद्धरत्न शाक्य र राजेश श्रेष्ठलाई सफाइ दिने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५२।७।२८ को फैसला ।
17. सुरु फैसलालाई मुनासिव ठहराएको पुनरावेदन अदालतको इन्साफ त्रुटिपूर्ण छ । म वारदातस्थलमा नै उपस्थित नभएको व्यक्तिलाई करणी कार्यमा सहयोग पुर्याएको भनी सजाय गरिनु कानुन विपरित छ । पीडित भनिएका तीनजना जाहेरवालाहरु नै अदालतमा उपस्थित भई तथ्य स्थापित गर्न सकेका छैनन् । केवल भावना प्याकुरेल मात्र अदालतमा उपस्थित भएकी र म माथिको आरोप प्रमाणित हुन नसकेको अवस्थामा मलाई सजाय हुनुपर्ने होइन । साक्षी सर्जमिनको बकपत्र तथा अस्पतालको जाँचबाट समेत म निवेदकले जबरजस्ती करणीको कार्य नगरेको भन्ने सही निष्कर्षमा अदालत पुगेकोमा भावना प्याकुरेलको बकपत्रको आधारमा मैले ढोकाको छेस्किनी लगाएको भनी मतियारको रुपमा सजाय गर्नु सरासर त्रुटिपूर्ण छ । भावना प्याकुरेलले कथित वारदात स्थापित गर्न बकपत्रमा मेरो नाम उल्लेख गरेकोसम्म हो तर सो कुराको अन्य प्रमाणबाट पुष्टि भएको छैन । म निवेदक माथि जबरजस्ती करणी गरेको आरोप लगाइएकी इन्दिरा भण्डारी अदालतमा उपस्थित नै नभएकोबाट पनि कसुरमा मेरो संलग्नता नभएको स्पष्ट छ । वारदात समयमा म सो स्थानमा नभएको प्रमाण समेत पेश गरेको र साक्षीबाट पनि सो तथ्यको पुष्टि भइरहेकोमा मलाई दोषी ठहराउन मिल्ने होइन । साथै वारदात भयो भनिएका घरधनी वीरेन्द्र थपलियाले समेत उक्त दिन वारदात भएको थाहा नभएको भनी गरेको बकपत्र समेतको प्रमाणलाई मूल्यांकन नै नगरी भएको फैसला अ.वं.१८४ नं. प्रतिकूल छ । साथै ने.का.प. २०४३, पृष्ठ ३१, नि.नं. २५९४ मा प्रतिपादित सिद्धान्त समेतको विपरित भएको फैसला बदर गरी निवेदकलाई सफाई दिलाई पाउँ भनी प्रतिवादी मधुकर राजभण्डारीले यस अदालतमा दिएको मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन ।
18. यसमा सम्बन्धित शुरु रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०५३।९।११ को आदेश ।
19. यसमा जबरजस्ती करणी गर्ने भएको कुरा जानी थाहा पाई हुल गरी सँग लागि जाने समाउने र सो काममा मद्दत दिने क्रिया भएको तथ्यको अभावमा जबरजस्ती करणी गर्नमा सहयोग पुर्याएको भनी प्र.मधुकर राजभण्डारीलाई सजाय गरेको पुनरावेदन अदालत पाटनको २०५२।७।२८ को फैसलामा कानुन सम्बन्धी व्याख्या एवं ने.का.प. २०४३, अंक २, नि.नं. २६३६ मा प्रतिपादित प्रत्यक्ष एवं ठोस प्रमाणको अभावमा कसैलाई सजाय गर्नु न्यायोचित नहुने सिद्धान्त समेतको त्रुटि भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान भएकोले दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । कानुन बमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५४।४।२४ को आदेश ।
20. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मधुकर राजभण्डारीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री शिवप्रसाद रिजाल, श्री मिलनकुमार राई र श्री हरि फुयाँलले हाम्रो पक्ष मधुकर राजभण्डारी माथि लगाइएको जबरजस्ती करणी गरेको भन्ने आरोप पुष्टि हुन नसकेको भनी स्वयं अदालतले नै स्वीकार गरिसकेकोमा मतियारको रुपमा सजाय गरेको कानुनी त्रुटिपूर्ण छ । वारदात स्थलमा प्रतिवादी मधुकर राजभण्डारी उपस्थित नै नभएको र सो समयमा निज अन्यत्रै रहेको तथ्य पेश भएको प्रमाण कागजबाट र साक्षीहरुको बकपत्रबाट पुष्टि भइरहेकोमा मतियारको रुपमा सजाय गर्न मिल्ने होइन । हाम्रो पक्षले इन्दिरा भण्डारीलाई जबरजस्ती करणी गरेको भनी अभियोग लगाइएकोमा निज इन्दिरा भण्डारी अदालतमा उपस्थित भई सो कुरालाई समर्थन गर्न नसकेकी र अन्य प्रमाणबाट पुष्टि नभएकोले करणी कार्यमा संलग्न भएको भन्ने कुरा झुठ्ठा भएको भनी अदालतको फैसलामा नै उल्लेख भएकोमा अरुलाई करणी गर्न सहयोग गरेको भन्ने कथित आरोप कायम हुन सक्ने अवस्था नै रहँदैन । केवल पीडित भनिएकी भावना प्याकुरेलले मधुकर राजभण्डारीले ढोकामा छेस्किनी लगाएको भनी बकपत्र गरेकै आधारमा दोषी कायम गर्न मिल्दैन । निजको बकपत्रलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नगरेकोमा हाम्रो पक्षको विरुद्ध एकतर्फी रुपमा प्रमाण लगाई मतियार कायम गरेको पुनरावेदन अदालत पाटनको इन्साफ बदर भई प्रतिवादी मधुकर राजभण्डारीले सफाइ पाउनु पर्दछ भनी र विपक्षी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदीले पीडित भावना प्याकुरेलको अदालतमा भएको बकपत्र समेतबाट जबरजस्ती करणीको वारदात स्थापित भइरहेको र निजको बकपत्रबाट प्रतिवादी मधुकर राजभण्डारीले ढोकाको छेस्किनी लगाई करणी गर्न सहयोग पुर्याएको भन्ने तथ्य पुष्टि भइरहेको समेत अवस्था हुँदा पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनु पर्दछ भनी आफ्नो बहस जिकिर प्रस्तुत गर्नुभयो ।
21. अब शुरु इन्साफलाई सदर ठहराई पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर बमोजिम हुने हो होइन भनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा जाहेरवालीहरु तीन जना १७,१८, वर्षका केटीहरुलाई पाँच जना प्रतिवादीहरुले रातको ११:०० बजेको समयमा कोठा भित्र पसी जवरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको आधारमा प्रतिवादीहरु उपर प्रस्तुत मुद्दा चलेको देखिन आउछ । प्रतिवादी मध्येका मधुकर राजभण्डारीले बत्ति निभाई ढोकाको छेस्किनी लगाई इन्दिरा भण्डारीलाई जवरजस्ती करणी गरेको भन्ने कुराको किटानी बकपत्र जाहेरवाली मध्येकी भावना प्याकुरेलले अदालतमा समेत गरेको देखिन्छ । जाहेरवाली वर्ष १७ की इन्दिरा भण्डारीको गुप्ताङ्ग जाँच हुँदा भेजिनल स्वायव (Veginal Swab) मा पुरुष विर्य नदेखिएको भन्ने कारणबाट निज उपरको जवरजस्ती करणीको ३ नं. को अपराध शुरु र पुनरावेदन अदालतले कायम नगरेको र त्यस उपर श्री ५ को सरकरबाट समेत मुद्दा दोहोर्याउने निस्साको लागि यस अदालतमा निवेदन आएको देखिदैँन । तथापि दोहोर्याउने निवेदन वा पुनरावेदन पर्नु वा नपर्नुको कारणबाट गलत वा भ्रमक तार्किक आधारलाई मातहत अदालतबाट अनुसरण गरिने स्थितिमा रहन दिनु उपर्युक्त हुदैँन । जवरजस्ती करणीको अपराधमा पिडित स्वास्नीमानिसको योनीको डाक्टरी जाँच गरिदा पुरुष विर्य फेला नपर्नुबाट जवरजस्ती करणीको अपराध नभएको भन्ने प्रमाणित हुने अवस्था देखिन आउदैँन । पुरुष विर्य फेला पर्नुबाट सो अपराध हुँदा जवरजस्ती करणीको साथै पुरुष विर्य स्खलन भएको तथ्य समेत प्रमाणित हुने कुरा हुन्छ । तर त्याँहा पुरुष विर्त स्खलन नभएकोमा फेला पर्ने अवस्था रहदैँन । त्यस्तोमा जवरजस्ती करणी नै नभएको भनी अरु प्रमाणको उपेक्षा गर्न मिल्दैन । त्यसमा पनि पुरुष विर्य फेला पर्नु वा नपर्नुमा वारदातको कति समयपछि परीक्षण भएको हो भन्ने कुरा महत्वपूर्ण हुने स्वतः स्पष्ट छ ।
22. प्रस्तुत वारदातमा पिडित स्वास्नीमानिसको हाइमेन (Hymen) च्यातिएको स्थितिमा पछि भएको डाक्टरी जाचलाई लिएर पुरुष विर्य भेजिनल स्वायवमा हुनै पर्दछ भन्ने धारणा रहेको तल्लो अदालतको तर्फबाट जवरजस्ती करणीको अपराधको प्रकृतिलाई सहिरुपले सम्झने बुझ्ने गरेको देखिन आएन । यस्तो प्रकृतिको अपराधमा पिडित व्यक्ति यस्तो १७, १८ वर्षका केटीको कलिलो उमेर र निज उपर भएको शारीरिक एवं मानसिक बलत्कार अपराधीको पाशुविक मनोवृत्त र वर्वरतापूर्ण शारीरिक र मानसिक आक्रमणले पिडित महिलाले सहनुपर्ने जीवनभरीको मनोवैज्ञानिक चोट र कुण्ठा एवं पिडित परिवारले व्यहोर्नु पर्ने सामाजिक वदनामी सम्बन्धी तथ्यगत कुराहरु महत्वपूर्ण देखिन आउँछ । प्रतिवादी मधुकर राजभण्डारीले जुन किसिमले जाहेरवाली जस्तो उमेर र अवस्थाको केटीलाई भयावह स्थिति सिर्जना गरेको मिसिलबाट देखिन आउँछ । त्यस्तो अवस्थामा डाक्टरी जाँचबाट पिडित व्यक्ति वा प्रतिवादीको शरिरमा संघर्षको चिन्ह (Sing of struggle) देखिनु नदेखिनु पनि महत्वपूर्ण मान्न मिल्दैन । निज प्रतिवादी वारदातको लगत्तै फरार रही, पछि उपस्थित भई वारदात हुँदाको अवस्थामा आफू अन्यत्र रहेको जिकिर लिएको भएतापनि निजको सो जिकिर र निजबाट दिइएका साक्षीहरुको बकपत्रको विश्वसनीयता यसै पनि पत्यारलायक देखिदैन ।
23. तसर्थ पीडित व्यक्ति भावना प्याकुरेलले अदालतमा समेत गरेको बकपत्रलाई दृष्टिगत गर्दा निज जस्तो कलिलो उमेरकी केटीको बयान र त्यसलाई पुष्टि गर्ने निजको गुप्ताङ्गको डाक्टरी जाँच समेतबाट निज उपर भएको अपराध र त्यसको लागि प्रतिवादी मधुकर राजभण्डारीद्वारा गरेको सहयोगका सम्बन्धमा अन्यथा भन्नु पर्ने अवस्था नदेखिएकोले पुनरावेदन अदालतको इन्साफमा कुनै परिवर्तन गरी रहनु परेन । पुनरावेदन अदालत पाटनको मिति २०५२।७।२८ को फैसला मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०५७ साल जेष्ठ २ गते रोज २ शुभम् ..............................।