निर्णय नं. ४०१८ - प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. ४०१८ ने.का.प. २०४६ अङ्क १२
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको रिट नम्बर ८१६
आदेश भएको मिति : २०४६।११।८।२ मा
निवेदक : ल.पु.जि. ठैव गा.पं.वडा नं. ३ बस्ने ज्ञानलाल महर्जन
विरुद्ध
विपक्षी : जिल्ला कार्यालय, ललितपुरसमेत
विषय : प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ
§ बाली रोक्का राख्ने आदेश दिने अधिकार जिल्ला कार्यालयलाई नभएको ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री धु्रवनाथ पन्त
विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
आदेश
प्र.न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :–
२. म निवेदकले २०४५।१०।१० मा प्रविण भण्डारीबाट निजका नाममा दर्ता भएको हरीमाया महर्जनको मोहिया दर्ता भएको ल.पु. बाडेगाउँ पञ्चायत वडा नं. १(क) कि.नं. १७७ को ०–३–१ को कित्ता १ ऐ.कि.नं. १७८ को ४–३–२ को जग्गा कित्ता १ समेत २ कित्ता जग्गाहरु मालपोत कार्यालय, ललितपुरबाट राजीनामा पारीत गरी लिई जग्गा धनी हक भएको जग्गाको मोही हरिमाया मिति २०४५।२।२२ गते परलोक भई भूमिसम्बन्धी ऐन, नियम बमोजिम हक खाने मोही कोही नभएकोले मोही लगत कट्टा गरी पाउन म निवेदकले भूमिसुधार कार्यालय, ललितपुरमा निवेदन दिएको र साविक मोही हरिमायाको छोरी विपक्षी मध्येका इन्द्रमाया महर्जनले साविक जग्गा धनी रत्नकुमारी भण्डारीबाट मिति २०४५।२।२८ मा प्राप्त कबूलियत र २०४५।६।२१ गतेको भर्पाईबाट मोही कायम गरी पाउँ भनी भूमिसुधार कार्यालय, ललितपुरमा निवेदन दिएकोमा रत्नकुमारीलाई कबूलियत भर्पाई देखाई सुनाई बयान गर्दा निजले कीर्ते जालसाजी भनी बयान गरेकोले सम्बन्धित निकायबाट सद्दे कीर्ते छुट्याई निर्णय गराई ल्याएका बखत कारवाही गर्ने गरी मिसिल तामेलीमा राखी दिने भनी मिति २०४६।५।२७ गते भूमिसुधार कार्यालय, ललितपुरबाट आदेश भएको थियो । सो आदेश बदर गरी पाउन बागमती अञ्चल अदालतमा म निवेदकको पुनरावेदन परी कारवाही चलिरहेको छ । उक्त जग्गामा यो २०४६ सालमा म निवेदकले लगाएको धान बाली पाकी तयार भई यसै हप्ता कटनी गर्नु पर्नेमा कुनै हालतमा मोही कायम गर्न नमिल्ने विपक्षी इन्द्रमाया महर्जनले आफू मोही भएको कुरा दर्शाई ललितपुर जिल्ला कार्यालयमा धान बाली रोक्का राख्न निवेदन दिएको र सो आधारमा जिल्ला कार्यालय, ललितपुरले विपक्षी मध्येका गा.पं. र ईलाका प्रहरी बाडेगाउँलाई समेत धानबाली सुरक्षित राख्न सहयोग गरी दिने भन्ने पठाएको पत्रको आधारमा ठैव गाउँ पञ्चायतबाट मलाई मिति २०४६।७।४ गतेको पत्र मिति २०४६।७।५ गते प्राप्त भयो ।
३. जग्गाको बाली रोक्का राख्ने सम्बन्धमा विपक्षी जिल्ला कार्यालयलाई नेपाल कानुनले अधिकार प्रदान गरेको छैन । जिल्ला कार्यालयले निवेदन लिई बाली रोक्का राख्न गा.पं. लाई पत्र पठाई प्रहरी कार्यालयलाई सहयोग गरी दिन बोधार्थ पठाएको आधारमा मैले लगाएको धान बाली रोक्का राख्ने कुरामा आशंका भएकोले कानुनको अख्तियार बिना विपक्षीहरुले मेरो जग्गामा मैले लगाएको धान बाली कटनी गरी भोग गर्नेहरुमा अतिक्रमण गर्ने आशंका भएकोले बाली रोक्का राख्न कारवाही नगर्नु भन्ने विपक्षीहरुको नाममा प्रतिषेध लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ र अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत रिटनिवेदनपत्र जिकिर।
४. विपक्षीबाट लिखितजवाफ लिई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत एक न्यायाधीशको इजलासको आदेश ।
५. रत्नकुमारीले गरी दिएको कूत कबूलियत र भर्पाई समेत राखी जोत कायम गरी पाउन भूमिसुधार कार्यालयमा निवेदन गरेको समेत उल्लेख गरी इन्द्रमाया महर्जनले निवेदन दिएकोमा ज्ञानलालले जबरजस्ती बाली काटी लगाएकोले जग्गामा हात हाल्ने छैन भन्ने कागज गराई पाउँ भनी धान रोक्न शान्ति सुरक्षा गरी पाउँ भनी निवेदन दिएकोले ज्ञानलाललाई शान्ति सुरक्षाको दृष्टिकोणले तारिखमा राखी मिलाउन प्रयास गरेको २०४६।३।७ गतेको तरिख लिई गएको हाजिर नभएको हुँदा निजलाई यस कार्यालयबाट कुनै किसिमको हक हरण गर्ने कार्य गरेको छैन । रिट खारेज होस् भन्ने समेत जिल्ला कार्यालय, ललितपुरको लिखितजवाफ ।
६. इन्द्रमायाको निवेदनमा दुवै थरलाई मिले मिलाई दिनु नमिले यहाँ पठाउनु भन्ने जिल्ला कार्यालय, ललितपुरको मिति २०४६।२।१९ गतेको पत्र साथ निवेदन प्राप्त भई छलफल गराउँदा मिल्न इन्कार गरे अनुसार निज ज्ञानलाल महर्जन, इन्द्रमाया र प्राप्त निवेदनपत्र साथ राखी मिति २०४६।२।२३ गतेमा जिल्ला कार्यालय, ललितपुरमा उपस्थित गराइएको हो भन्ने समेत इलाका प्रहरी कार्यालय, बाडेगाउँको लिखितजवाफ ।
७. २०४६ सालको धानबाली लगाएको समयमा ज्ञानलालले खिचोला गर्दा दुवै थरीलाई प्रहरी कार्यालय मार्फत जिल्ला कार्यालय, ललितपुरमा दाखिल गरी तारिखमा राखेको ज्ञानलालले बाली नलगाएको कारणले तारिख छाडी बसेकोले निजले कसरी दशकर्म गरेको ठहर्छ २०४६ सालको धानबाली काट्ने सम्बन्धमा ज्ञानलालले डर धम्की भनी इन्द्रमायाले शान्ति सुरक्षाको निम्ति ललितपुर जिल्ला कार्यालयमा निवेदन दिए अनुसार मिति २०४६।७।२ को आदेशानुसार उक्त जग्गा हदमा सम्बन्धित व्यक्तिहरुले सम्बन्धित निकायबाट हक बेहक छुट्याएर नआउन्जेल सो धान पञ्चायत रोहवरमा काट्ने व्यवस्था गरी धान पञ्चायतबाट सुरक्षित राख्ने आदेश पत्रानुसार उक्त नियमानुसार रोकी मिति २०४६।७।४ मा ज्ञानलाललाई जानकारी दिई मिति २०४६।७।९ गते धान काटी झारी ४–५ मुरीको पटुवा धान र २४।२५ भारीको परालको कुन्यु राखेको २०४६।७।२७ गते पञ्चायतबाट पटुवा झार्न जाँदा ज्ञानलालले लगेको भन्ने मुचुल्का गरी दिएकोले पञ्चायतलाई समेत अवहेलना गरी चोरी लगेकोले कारवाहीको लागि जिल्ला कार्यालय, ललितपुरमा निवेदन पेश गरेको भन्ने समेत प्रधानपञ्च ठैव गाउँपञ्चायत कार्यालयको लिखितजवाफ ।
८. भूमिसुधार कार्यालय, ललितपुरले कबूलियत भर्पाई सद्दे कीर्ते छुट्याई आउन अदालत पठाएकोले अैले मैले ललितपुर जिल्ला अदालतमा मिति २०४६।६।१९ मा मुद्दा दायर गरिसकेको छु । सो कुरा रिट निवेदकले दर्शाएको छैन । २०४६ सालको बाली लगाई काट्ने बखत शान्ति सुरक्षा मागे जिल्ला कार्यालयले शान्ति सुरक्षाको दृष्टिले पञ्चायतलाई अदालतबाट निष्कर्ष नभएसम्म बाली जिम्मा लिई सुरक्षित राखी दिनु भनी पत्र लेख्यो पञ्चायतले आफैं जिम्मा राखेको छ । जिल्ला कार्यालयले आफ्नो जिल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५(५)(क) बमोजिम शान्तिसुरक्षा कायम गर्न पञ्चायत जिम्मा लगाएको हो । धान कटनी भइसकेकोले रिट जिकिर निरर्थक हुँदा खारेज गरी पाउँ भन्ने समेत इन्द्रमाया महर्जनको लिखितजवाफ ।
९. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्तले विपक्षी जिल्ला कार्यालयलाई बाली रोक्का राख्ने विषयमा कारवाही गर्ने अधिकार छैन । जिल्ला कार्यालयको पत्रको आधारमा विपक्षी ठैव गा.पं. ले बाली रोक्का राख्नेतर्फ गरेको कारवाही गैरकानुनी हुँदा प्रतिषेध तथा उत्प्रेषण समेतको आदेश जारी गरी पाउँ भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी जिल्ला कार्यालय समेतको तर्फबाट बहस गर्न खटी आउनु भएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले इन्द्रमायाले धान रोप्न शान्ति सुरक्षा गरी पाउँ भनी निवेदन दिएकोले निज ज्ञानलाल महर्जनलाई झिकाई शान्ति सुरक्षाको दृष्टिकोणबाट तारिख राखी मिलाउन प्रयास गरी मिति २०४६।३।७ गतेको तारिख लिई गएकोमा हाजिर हुन नगएको र जिल्ला कार्यालयबाट अरु कुनै कारवाही नगरिएको हुँदा रिटनिवेदन खारेज होस् भन्ने समेतको बहस गर्नुभयो ।
१०. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यस्मा निर्णयतर्फ हेर्दा विपक्षी इन्द्रमाया महर्जनले ललितपुर जिल्ला कार्यालयमा धानबाली रोक्का राख्न दिएको निवेदनको आधारमा जिल्ला कार्यालय, ललितपुरले पत्र लेखी विपक्षी ठैव गा.पं.बाट मैले दशकर्म गरी लगाएको धानबाली रोक्का राख्नेतर्फ कारवाही गर्न थालेकोले बाली रोक्का राख्ने सम्बन्धमा कुनै कारवाही नगर्नु भनी विपक्षीहरुका नाममा प्रतिषेध लगायतका आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । जिल्ला कार्यालय, ललितपुरबाट मिति २०४६।७।२ मा बोडे गा.पं. वडा नं. १ कि.नं. १७७ को ०–३–१ र ऐ.कि.नं. १७८ को ४–३–२ समेत जम्मा ४–६–३ जग्गाको धान पञ्चायतको रोहवरमा काटी पञ्चायतबाट नै सुरक्षित राख्ने व्यवस्था समेत गर्नु हुन् भनी ठैव गा.पं.लाई पत्र लेखिएको देखिन्छ । सोही पत्रको आधारमा ठैव गाउँपञ्चायत कार्यालयबाट पञ्चायतको स्वीकृति बिना यस वर्ष २०४६ को धानबाली नकाट्नु हुन सूचित गरिन्छ भनी निवेदकलाई मिति २०४६।७।४ मा पत्र लेखेको देखिन्छ । निवेदकतर्फका विद्वान अधिवक्ताले मोहियानी सम्बन्धी विवादमा भूमिसुधार अधिकारीबाट भएको आदेश उपर बागमती अञ्चल अदालतमा पुनरावेदन दायर छ भनी बहस गर्नु भएको छ । यस्तो अवस्थामा विवादित जग्गाको बाली रोक्का राख्ने आदेश दिने अधिकार जिल्ला कार्यालयलाई भएको पाइँदैन । तसर्थ बाली रोक्का राख्ने आदेश दिने अधिकार जिल्ला कार्यालयलाई नहुँदा प्रत्यर्थी जिल्ला कार्यालय, ललितपुरको मिति २०४६।७।२ को अनाधिकृत पत्र आदेश र गा.पं. कार्यालयको मिति २०४६।७।४ को पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आदेशको एकप्रति नक्कल प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल फाल्गुण २८ गते रोज २ शुभम् ।