शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११७२ - लेनदेन

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११७२     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३२ सालको दे.पु.नं. ७७

फैसला भएको मिति : २०३४।५।२४।६ मा

निवेदक : सुन्सरी कुराहा गा.पं. वडा नं. ३ बस्ने झल्लु माझी थारु

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने फुसाराम ठाकुर

मुद्दा : लेनदेन

(१)   तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिदविक्री गर्ने उद्देश्यले बैनाको रुपमा रुपैयाँ लेनदेन भएको उक्त स्थितिमा लेनदेन व्यवहारको २ नं. को हदम्याद लगाई गरेको इन्साफ मिलेको नदेखिएको ।

(प्रकरण नं. १०)

पुनरावेदन कतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

उल्लिखित मुद्दा :   

फैसला

            न्या. विश्वनाथ उपाध्याय : मुद्दाको तथ्य विवरण यसप्रकार छ : विपक्षीको श्रीमती नङ्गरी थरुनीका नाउँमा दर्ता भएको तनमुनाको २१८ जग्गा बिक्री गर्ने हुँदा रु.२०००। बैना वापत रुपैयाँ लिई कागज गरिदिएको सो जग्गा अन्यत्र बिक्री गरेछन । जग्गा नदिने भए वैनाको रु.२०००। को सावाँ व्याज देउ भन्दा नदिएकोले लिखतमा व्याज नलेखिएकोले सावाँको सावाँ दिलाइपाउँ भन्नेसमेत फिराद ।

            २.    वादीले जग्गा लिने भएबाट जग्गाको मोल गरी बैना रु.२०००। को कागज भएको मितिदेखि जग्गाको आयस्ता वादीले खाइआएको मोल भुक्तान गरी जग्गा पास गराउनुहोस भनी वादीलाई भन्दा आलटाल गरी २२,२३ सालको धान पठुवासमेत बाली खाई रुपैयाँ छैन, जग्गा लिन्न बैनाको रुपैयाँ देउ भन्दा बालीको हिसाब गर्दा रु.४००। नपुग भई सोसमेत वादीलाई बुझाई उक्त जग्गा कोदन माझीलाई राजीनामा पाससमेत गरिसकेकोले तिर्न बुझाउनु नपर्ने भन्नेसमेत प्रतिवादी ।

            ३.    लिखत गरेमा र रुपैयाँ लिएमा साविती भएको बुझाएको छु भन्नेमा निस्सा भरपाई समेत पेश दाखिल गर्न नसकेको समेत हुँदा दावीबमोजिमको रुपैयाँ प्रतिवादीले वादीलाई तिर्न बुझाउनुपर्ने ठहर्छ भन्नेसमेत सुनसरी जि. अ.को फैसला ।

            ४.    सो फैसलाउपर चित्त बुझेन भन्नेसमेत झल्लु माझीको पुनरावेदन लेखिएअनुसार १० वर्षको हदम्यादको सुविधा यसमा नपाउने हुनाले समेत वादीको नालेश खारेज हुन्छ । सुरुले गल्ती गरेको ठहर्छ भन्नेसमेत को.अं.अ.को फैसला ।

            ५.    कोशी अञ्चल अदालतबाट हदमुनी गरी छिनेको फैसलाउपर चित्त बुझेन एकपटक इन्साफ जाँची दिनु भन्ने हुकूमको प्रमांगी पाउँ भन्ने वादी, प्रशासनको निवेदनमा व्यहोरा साँचो भए हदमुनी ठहरी छिनिएको सो मुद्दाको मिसिल झिकाई सम्बन्धित क्षेत्रीय अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनिदिनु भन्ने ०३१।८।५।४ को हुकूम प्रमांगी ।

            ६.    लिखतमा रु.२०००। बैना लिई साक्षीसमेत राखी वादीलाई लिखत गरी दिएको देखिन्छ । वादीलाई जग्गा बिक्रीमा दिलाउने कामको लागि रुपैयाँ लेनदेन भएको लिखत व्यहोराबाट देखिन आएको अरू साझा हिस्सेदारी काममा नाफा नोक्सान व्यहोर्ने गरी लिखत भएको देखिन नआएकोले लेनदेन कारोवारको कागज भन्ने लिखत व्यहोराले नै प्रष्ट भइरहेको हुँदा यस्तोमा लेनदेन व्यवहारको २७ नं. लाई हदम्यादको व्यवस्था भएको ३ दिनको हदम्याद कायम गर्न नमिल्ने लिखत गरी दिएमा प्रतिवादी सावित र रुपैयाँ बुझाएको छु भन्ने सबूद प्रमाण केही देखिन नआएकोले वदीले प्रतिवादीबाट लिखितबमोजिम रु.२०००। भरी लिन पाउनसक्ने भन्ने सुरुको इन्साफ मनासिव छ भन्नेसमेत पू.क्षे.अ.को ३२।७।२८।६ को फैसला ।

            ७.    पू.क्षे.अ.ले गरेको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी झल्लु माझीको पुनरावदेन।

            ८.    २०२२ सालमा कारोवार हुँदा लेनदेन व्यवहारको ३७ नं. लागू थियो । जग्गा दिने शर्तमा बैना लिएको कागजलाई लेनदेन कारोवारको मानी लेनदेन व्यवहारको २ नं. को म्याद कायम गर्न नमिल्ने म्याद नाघेको हुँदा खारेज हुनुपर्छ भन्ने पुनरावेदनतर्फको वकिल प्रभुनारायण चौधरीको र साक्षी लिखत वस नभई लिखत भएकोमा लेनदेन व्यवहारको २ नं. बमोजिमको म्यादभित्रै उजूर परेको छ भन्नेसमेत विपक्षी तर्फका वकिल ठाकुरप्रसाद खरेलको वहस ।

            ९.    यसमा पुनरावेदकको वारेश काशीराम चौधरी र विपक्षीको वारेश शिवप्रसाद शर्मालाई रोहवरमा राखी निजहरुतर्फका उक्त विद्वान अधिवक्ताहरुको वहस सुनी मुलुकी ऐन लेनदेन व्यवहारको महलको २ नं. अन्तर्गतको हदम्याद लागू हुने हो वा होइन भन्ने निर्णय गर्नुपर्ने मूल प्रश्न छ ।

            १०.    प्रस्तुत मुद्दामा वादीले दावी गरेको रुपैयाँ जग्गा खरिद गर्नको लागि प्रतिवादीलाई दिएको बैना वापतको रुपैयाँ हो भन्ने कुरामा कुनै विवाद छैन । लेनदेन व्यवहारको महलको उक्त २ नं. को व्यवस्था हेर्दा सो नम्बर तमसुकमै लेनदेन व्यवहार भएको अवस्थामा मात्र लागू हुने देखिन आउँछ । प्रस्तुत मुद्दामा लेनदेन भएको रु.२०००। तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिद बिक्री गर्ने उद्देश्यले बैनाको रुपमा उक्त रुपैयाँ लेनदेन भएको देखिन्छ । यस स्थितिमा उक्त २ नं. को हदम्याद लगाई जिल्ला अदालतको इन्साफ सदर गरी क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको देखिएन बदर हुन्छ । कोशी अञ्चल अदालतको इन्साफ मनासिव छ । तपसीलको कुरामा तपसीलबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

तपशील

पुनरावेदन गर्दा कोर्टफी राखी दायर भएकोले केही लाग्दैन ।

पु.क्ष.प.का ०३२।७।२८।६ का फैसलाले वादीले प्रतिवादीबाट रु.२०००। र कोर्टफी रु.१००। समेत भरी पाउने ठहराएकोमा सो इन्साफ बदर भएकोले सो नलाग्ने हुँदा लगत कट्टा गरिदिनु भनी सुनसरी जि. अ.मा लगत दिनु लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु ........................१

पु.क्षे.अ.का ०३२।७।२८।६ का फैसलाले कोशी अञ्चल अदालतका का.म.अं.न्या. उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्ने गरेकोमा सो इन्साफ बदर भएकोले लगत कट्टा गरिदिनु भनी पु.क्षे.अ.मा लगत दिनु..................२

पुनरावेदक झल्लु माझीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१५। विपक्ष कोर्टफी ऐन, २०१७ को दफा १५ ले विपक्ष फुसाराम ठाकुरबाट भरी पाउने हुँदा भराइपाउँ भनी ऐनको म्यादभित्र दर्खास्त दिएमा परे दस्तुर केही नलिई गराइदिनु भनी सुनसरी जि. अ.मा लगत दिनु ऐ ...................३

का.जि. अ.त.मा लगत दिनु ........................ ४

 

उक्त रायमा म सहमत छु । 

 

न्या. प्रकाशबहादुर

 

इति सम्वत् २०३४ साल भाद्र २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु