निर्णय नं. ६९५२ - अंश दपोट
निर्णय नं. ६९५२ ने.का.प. २०५७ अङ्क १०/११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत २०५२ सालको दे.पु.नं. ... २७५६
फैसला मितिः २०५६।५।२८।२
मुद्दाः अंश दपोट ।
पुनरावेदक/वादीः सवराजको छोरा ल.पु.जि.ल.पु.न.पा. वडा नं. १९ बस्ने वर्ष ८९ को सिद्धिराज तुलाधर समेत
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. वडा नं. १५ बस्ने राजु तुलाधर समेत
§ दावी लिइएका सम्पत्तिहरु पैतृक सम्पत्ति नै हुन भनी वादीबाट वस्तुनिष्ठ र सुस्पष्ट प्रमाणबाट पुष्टी हुन आएको देखिदैँन । पैतृक सम्पत्ति भन्ने प्रमाणित हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई स्वआर्जनको सम्पत्ति हो भनी अनुमान गर्नु पर्ने हुन आउछ । आफ्नो पालामा आफूले आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने कानूनी व्यवस्था रहेभएकै देखिन्छ । उक्त विवादीत सम्पत्ति बिक्री नामसारी समेत भईसकेको भन्ने समेत वादीकै फिराद तथा पुनरावेदन जिकिरमा उल्लेख भएको देखिँदा आफुखुसी गर्न पाउने सम्पत्तिलाई अंश मुद्दाको तायदातीमा उल्लेख नगरेको कारणबाट अंश दपोट ठहर गर्न मनासिव र न्यायोचित नहुँदा शुरुको फैसलालाई उल्टी गरी वादी दावी नै नपुग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं. १०)
पुनरावेदक वादीका तर्फबाटः विद्बान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी प्रतिवादीका तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनबाट मिति २०५२।३।१२ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः
2. हामी फिरादीहरुले विपक्षीहरु उपर दिएको अंश मुद्दामा २०४५।१०।१८ लाई मानो छुट्टिएको मिति कायम गरी अंशको फाँटवारी लिने आदेश भई विपक्षीबाट पेश भएको तायदाती फाँटवारीको नक्कल सारी लिई हेर्दा विपक्षीहरुले बण्डा गर्नुपर्ने राजु तुलाधर र मनिका राईको नाममा दर्ता रहेको ना.अ.ख. २२४४ नं. को बस मूल्य रु.४०,०००।- पर्नेमा राजु तुलाधरको हक पनि आधा र राजु तुलाधरको नाममा बा.अ.म. ७५०० नं. स्कूटरको रु.१०,०००।- पर्ने खड्गराज तुलाधरको नाममा वा.अ.प. ६७८७ नं. को मोटरसाइकल रु.२०,००० पर्ने, सानुनानी तुलाधरको नाममा वा.अ.ख. ९१ नं. को बस ४०,०००।- पर्ने र दया तथा मसिनु मैया तुलाधरको नामको वा.अ.ज. ५८० नं. को ट्याक्सी रु.३०,०००। पर्ने समेत जम्मा रु.१,२०,०००।- को सवारी साधनहरु तायदातीमा नदेखाई हाम्रो दर्ता जिम्मामा केही छैन भनी दपोट गरेको हुँदा उक्त सवारी साधनहरु दपोट गरेको ठहर्याई हाम्रो एकलौटी हक गराई दर्ता र चलन समेत पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
3. वादी दावीको म राजु तुलाधर र मनिका राइको नाममा दर्ता गरेको भनेको ना.अ.ख. २२५४ नं. को खरिद गर्दा सम्पूर्ण रकम मनिका राइले हालेकी, पछि मैले निजलाई फिर्ता गरी दिएको छु, सोलाई दपोट गरेको भन्न मिल्दैन । वा.अ.म. ७५०० नं. को स्कूटर आफैले आफ्नो ज्ञान सिपबाट खरिद गरी पछि पुरानो भएको हुँदा विना पैसामा गौतमबहादुर श्रेष्ठ भन्ने व्यक्तिलाई हक छाडी दिएको हुँ । म सानुनानीको नामको बा.अ.ख. ९१ नं. को बस मेरो आफ्नो दाइजो पेवाबाट खरिद गरेको पछि गौतमबहादुर श्रेष्ठलाई विना पैसामा हक छाडी दिएको हुँ । बा.अ.ज. ५८० नं. को ट्याक्सी पनि पैतृक सम्पत्तिबाट खरिद गरेको होइन पुरानो भएको हुँदा लक्ष्मीदास कर्माचार्यलाई मर्मत गरी चलाउनको लागि विनापैसामा हक छाडी दिएको, खड्गराजको नामको बा.अ.प. ६७८७ नं. को मोटरसाइकल मेरै ज्ञान सिपबाट आर्जन गरेको पछि पुरानो भई लक्ष्मीदास कर्माचार्यलाई विना पैसामा हक छाडी दिएको हुँ । उक्त सवारी साधनहरु हामीले दपोट गरेको नहुँदा झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।
4. अंश मुद्दामा प्रतिवादी नबनाइएका दया तथा मसिनको नाममा दर्ता रहेको वा.अ.ज. ५८० नं. को ट्याक्सीको हकमा वादी दावी नपुग्ने र अरु सवारी साधनको हकमा उक्त सवारी साधनहरु हाल प्रतिवादीहरुका नाममा दर्ता रहे भएको नदेखिएकोले उक्त सवारी साधनहरुको वादीहरुले देखाएको मोल विगो रु.९०,०००।- सम्मको विगो तायदातीमा नदेखाई दपोट गरेको हुँदा सोही विगोको अनुपातमा भरी पाउँछ भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको फैसला ।
5. वादी दावी अनुसार अंश दपोट ठहर्याई दावीमा सवारी साधनहरु हामीहरुको नाममा नामसारी गरी पाउँ भन्ने दावीमा ललितपुर जिल्ला अदालतले रु.९०,०००। सम्मको दावी पुग्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा यो पुनरावेदन गर्न आएका छौं । फिराद दावी यो पुनरावेदन अनुसार गरी पाउँ भन्ने वादीहरुको संयुक्त पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
6. हाम्रो प्रतिउत्तर जिकिरतर्फ कुनै व्याख्या नै नगरी हामीलाई हराई गरेको ललितपुर जिल्ला अदालतको फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन अदालत पाटनमा गरेको संयुक्त पुनरावेदन पत्र ।
7. विवादित सम्पत्ति वस्तुनिष्ट आधार प्रमाणबाट पुष्टि गर्न नसकेको, गाडी, मोटरसाइकल जस्ता चल सम्पत्ति खरिद गर्दाकै अवस्थामा बण्डा लाग्ने व्यहोराको लिखत नभएको र प्रतिवादीहरुले आफ्नो पालामा आर्जन गरेको सम्पत्ति आफूखुस गर्न सक्ने र उक्त सम्पत्ति विक्री पनि भइसकेको अवस्थामा अंश दपोटमा वादी दावी नपुग्ने गरी फैसला गर्नुपर्नेमा केहीमा वादी दावी पुग्ने ठहर्याएको जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटन ललितपुरबाट भएको फैसला ।
8. पुनरावेदन अदालतबाट भएको उपरोक्त फैसलामा चित्त बुझेन प्रमाण ऐन, २०३१ को दफा ६(क) ले सगोलको जुनसुकै अंशियारका नाममा दर्ता रहेको सम्पत्ति सबैको अंश लाग्नु पर्ने व्यवस्था भएको र संशोधित अंशबण्डाको १९ नं. को जिकिर लिनेले सो कुरा आफैले प्रमाणित गर्नुपर्नेमा सो पुष्टि हुन नसकेको देखिन्छ । प्रतिवादीहरुले मिति २०४७।२।१० मा अदालतमा तायदाती पेश गरी विवादित बसहरु, स्कूटर, मोटरसाइकल, ट्याक्सी समेत २०४७।२।२७ मा विना पैसा सित्तैमा नामसारी गरी दिएकोबाट अंश दपोट गर्ने नियत प्रष्ट हुँदाहुँदै दावी नपुग्ने गरी भएको उक्त फैसला ज्यादै आत्मगत र त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी शुरु फिराद दावी तथा पुनरावेदन जिकिर बमोजिम दपोट ठहर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीहरुको तर्फबाट यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।
9. यसै लगाउका अंश मुद्दा र जालसाजी मुद्दामा दोहोर्याउने निस्सा भएको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट भएको आदेश ।
10. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरुको तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री श्यामप्रसाद खरेलले २०४७।२।१० मा अदालतमा पेश गरेको तायदातीमा विवादित बस, स्कुटर, मोटरसाईकल, ट्याक्सी समेत नदेखाई लुकाई छिपाई २०४७।२।२७ मा बिना मोलमा अन्य व्यक्तिलाई नामसारी गरी दिएकोबाट सगोलका अंशियारको अंश हक मार्ने विपक्षीहरुको नियत स्पष्ट हुँदा हुदै र निजी आर्जनको भनी लिइएको जिकिर सुस्पष्ट प्रमाणबाट पुष्टी हुन नसकेको स्थितिमा पुनरावेदन अदालत पाटनबाट वादी दावी नै खारेज हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी अंश दपोट ठहर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा दावी लिइएका सम्पत्तिहरु पैतृक सम्पत्ति नै हुन भनी वादीबाट वस्तुनिष्ठ र सुस्पष्ट प्रमाणबाट पुष्टी हुन आएको देखिदैँन । पैतृक सम्पत्ति भन्ने प्रमाणित हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई स्वआर्जनको सम्पत्ति हो भनी अनुमान गर्नु पर्ने हुन आउछ । आफ्नो पालामा आफूले आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने कानूनी व्यवस्था रहेभएकै देखिन्छ । उक्त विवादीत सम्पत्ति बिक्री नामसारी समेत भईसकेको भन्ने समेत वादीकै फिराद तथा पुनरावेदन जिकिरमा उल्लेख भएको देखिँदा आफुखुसी गर्न पाउने सम्पत्तिलाई अंश मुद्दाको तायदातीमा उल्लेख नगरेको कारणबाट अंश दपोट ठहर गर्न मनासिव र न्यायोचित नहुँदा शुरुको फैसलालाई उल्टी गरी वादी दावी नै नपुग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत २०५६ साल भाद्र २८ गते रोज २ शुभम् ....................।