निर्णय नं. ४७२६ - उत्प्रेषण

निर्णय नं. ४७२६ ने.का.प. २०५० (क) अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्व्त २०४७ सालको रिट नं. ९६८
आदेश मिति: २०५०।४।३१।१
निवेदक : का.जि.का.न.पा. वडा नं. ३३ मैतीदेवी बस्ने राम प्रसाद राजवाहकको मु.स.गर्ने रोहित श्रेष्ठ ।
विरुद्ध
विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं समेत ।
विषय : उत्प्रेषण ।
(१) गुठी संस्थानको कार्यालयमा रहेको श्रेस्ताको आधारमा मात्र अरु केही प्रमाण नबुझी टिप्पणी उठेकोलाई सदर गरेको देखियो । यस्तो टिप्पणी सदर गरेको निर्णयलाई मान्यता दिन नमिल्ने भनी यस सर्वोच्च अदालतबाट नजीर स्थापित भई सकेको हुनाले समेत गुठी संस्थानबाट भएको निर्णय कानुन अनुरुप नहुँदा बदर हुने ।
(प्र.नं. ८)
निवेदकतर्फ: विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की
आदेश
न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छः–
२. का.जि.चावहिल वडानं. ९(क) कि.नं. १९ को क्षेत्रफल रोपनी ५–०–२ जग्गाको ज.ध. पशुपति महास्नान गुठी र मोही निवेदकको पिताजी नारायणदाश राजवाहक भएको उक्त जग्गा सर्भे नापी हुनुभन्दा अघि साविक लगत खला नं. ३५ चहश्व खेत भन्ने जग्गाबाट भिड्ने उक्त जग्गाको खास जोताहा निवेदकको पिताजी मात्र भएकोमा पिताजी नारायण दास राजवाहकको मिति २०४५।२।८ मा परलोक भई हक खाने छोरा म निवेदक मोही भएको कुरामा कुनै विवाद छैन । २०२१ सालको सर्भे नापी हुँदा उक्त जग्गाको मोही सम्बन्धी कुनै हकै नभएको भू.सं. ऐन नियम लागू भएपछि जोताहाको अस्थायी र स्थायी निस्सा समेत नभएका का.ई. कटुवहाल भगवान स्थान पञ्चायत बस्ने हर्ष वहादुर संगमले आफूलाई जोताहा देखाई किसानका व्यहोरामा पशुपती महास्नान गुठी ३५ मा नारायणदास राजवाहक का.ई. केलटोल भन्ने कुरा उल्लेख गरी नापी भएको कुरा नापीको फिल्डबुक उतारबाट देखिन्छ विपक्षी मध्येका नन्दकुमारी, बुद्ध बहादुर र नारायण महर्जन समेतले फिल्डबुक हेर्दा उल्लेखित जग्गाको मोही हाम्रो बाबु हर्ष बहादुरसँग म र दर्तावालामा नारायण दास राजवाहकको भएको हुँदा हाम्रो बुवा हर्ष बहादुर २०२५ सालमा परलोक हुनु भएको हुँदा हाम्रो नाममा नामसारी गरी पाउँ भनी प्रत्यर्थी मध्येका गुठी संस्थानमा निवेदन गरेकोमा निवेदकको पिताजीको नाममा हाजिर हुन आउने गरी जारी भएको ७ दिने सूचनाको म्यादमा निवेदक विदेशमा उपचारको लागि गएको हुँदा निवेदकको छोरा हाजिर भई बाँकी प्रमाण पछि पेश गर्ने गरी निवेदक मिति २०४७।६।६ गतेमा उपस्थित भएको थिए । निवेदकलाई दर्तावाला मोही र विपक्षी मध्येका नन्द कुमारी महर्जन समेत जोताहा मोही कायम गरी साविक दर्तावालाई क्षतिपूर्ति वापतको रकम जम्मा गर्न लगाई २०१८ साल देखिको बाँकी बाली निवेदकसँग असूल गर्ने गरी दर्तावालाई दिनपर्ने क्षतिपूर्ति वापतको रकम लिन ३५ दिनको सूचना दिई हाल साविक भिडाई लगत कायम गरी श्रेस्ता संशोधनको लागि मालपोत कार्यालय मा लेखि पठाउने गरी टिप्पणीलाई सदर गरी मिति २०४७।६।२२ मा निर्णय भएको कुरो निवेदकले मिति २०४७।६।२४ मा निर्णय समेतको नक्कल सारी हेर्दा जानकारी हुन आयो । प्रत्यर्थी गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंले निवेदकलाई सबुद प्रमाण पेश गर्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तको समेत उल्लंघन गरी तल्लो तहको कर्मचारीले उठाएको टिप्पणी सम्मलाई सदर गरी यस अदालतबाट प्रतिपादन भएको सिद्धान्तको समेत उल्लंघन गरेको उक्त प्रत्यर्थी गुठी संस्थान कार्यालयले म निवेदकलाई दर्तावाला मोही प्रत्यर्थी नन्द कुमारी महर्जन समेतलाई जोताहा मोही कायम गरी गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) को समेत उल्लंघन गरेको मिति २०४७।६।२२ गतेको निर्णय बदर गरी पाउन उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी न्याय पाउँ ।
३. विपक्षीहरुबाट लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४७।९।१५ गतेको आदेश ।
४. साविक लगतमा कृष्णचन्द्र पाध्यका नाममा खला नं. ३५ को चल्खु खेत भन्ने उल्लेख भएको नापीमा साविक रोपनी ५ को चावहिल वडानं. ९ कि.नं. १९ को क्षेत्रफल ५–०–२ कायम गरी जोताहामा हर्ष बहादुर संगम किसानको व्यहोरामा पशुपती महास्नान गुठी नं. २५ नारायण दास राजवाहक भन्ने उल्लेख भएको काठमाडौं गुठी तहसिल कार्यालयबाट निजलाई उपस्थित हुन आउनु भनी म्याद पठाउँदा आफू उपस्थित नभई रोहित श्रेष्ठ भन्ने व्यक्ति उपस्थित भई म नारायणदासको नाती हुँ प्रमाण पछि पेश गर्ने छु भन्ने मिति २०४६।६।७ मा निवेदन गरेको, नन्द कुमारीका पतिको मृत्यु पश्चात उक्त जग्गा निवेदकहरुले जोती कमाई आएको कुरा स्थानीय पञ्चायतको सिफारिसबाट देखिन आएको हुनाले दर्तावालाले पाउने रकम जम्मा गर्न लगाई २०१८ साल देखिको वाली असूल गरी जोताहा हर्ष बहादुरका हवदार नन्द कुमारी बृद्धि बहादुर र नारायण महर्जन समेतका नाममा मोहियानी कायम गरी दिने भनी काठमाडौं गुठी तहसिल कार्यालयबाट निर्णय भएको हो । रिट निवेदक खास जोताहा नभई दर्तावाला मात्र हुन् गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) अनुसार निजको हक समाप्त भई सोही दफा २६ को उपदफा (२) बमोजिम मालपोतको दश गुणाले हुने क्षतिपूर्तिको रकम मोहिहरुबाट दाखिल गर्न लगाई कानुन बमोजिम दर्ता भए गरेको हुँदा उक्त जग्गामा रिट निवेदकको दावी नपुग्ने हुँदा रिट निवेदन पत्र खारेज गरी पाउँ भन्ने समेत गुठी संस्थानको लिखित जवाफ ।
५. नियम बमोजिम दैनिक कजलिष्टमा चढी ईजलास समक्ष पेश भएको प्रस्तुत रिट निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्कीले गुठी संस्थानले निवेदकलाई सबुद प्रमाण पेश गर्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्त समेत उल्लंघन गरी तल्लो तहको कर्मचारीले उठाएको टिप्पणी सम्मलाई सदर गरी यस अदालतबाट प्रतिपादन भएको सिद्धान्तको समेत उल्लंघन गरी निवेदकलाई दर्तावाला मोही प्र्रत्यर्थी नन्द कुमारी महर्जन समेतलाई जोताहा मोही कायम गरी तत्कालिन गुठी संस्थान, २०३३ को दफा २६(३) को उल्लंघन गरी मिति २०४७।६।२२ मा गुठी संस्थानबाट भएको निर्णय कानूनी त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर हुनुपर्दछ, भन्ने समेत बहस गर्नुभयो ।
६. निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन, भन्ने तर्फ निर्णय दिनुपर्ने हुन आयो ।
७. यसमा निर्णय तर्फ हेर्दा निवेदकलाई सबुद प्रमाण पेश गर्ने मौका समेत प्रदान नगरी निवेदकलाई दर्तावाला मोही र विपक्षीहरुलाई जोताहा मोही कायम गरी साविक दर्तावालालाई क्षतिपूर्ति वापतको रकम जम्मा गर्न लगाई २०१८ साल देखिको बाँकी वाली निवेदकसँग असुल गर्ने गरी दर्तावालालाई दिनुपर्ने क्षतिपूर्ति वापतको रकम लिन ३५ दिनको सूचना दिई हाल साविक भिडाई लगत कायम गरी श्रेस्ता संशोधनको लागि मालपोत कार्यालयमा लेखि पठाउने गरी तल्लो तहको कर्मचारीले उठाएको टिप्पणीलाई सदर गरी मिति २०४७।६।२२ मा प्रत्यर्थी गुठी संस्थानको निर्णय गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) को त्रुटीपूर्ण हुँदा उक्त निर्णय बदर गरी पाउन उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ ।
८. निवेदक रोहित श्रेष्ठले गुठी संस्थानमा निवेदन दिंदा प्रमाण पेश पछि गर्ने छु, भन्ने उल्लेख गरेको देखिन्छ तर त्यस सम्बन्धमा पछि केही प्रमाण पेश गरेको मिसिल संलग्न कागजातबाट देखिन आएन । गुठी संस्थानको कार्यालयमा रहेको श्रेस्ताको आधारमा मात्र अरु केही प्रमाण नबुझी टिप्पणी उठेकोलाई सदर गरेको देखियो । यस्तो टिप्पणी सदर गरेको निर्णयलाई मान्यता दिन नमिल्ने भनी यस सर्वोच्च अदालतबाट नजीर स्थापित भई सकेको हुनाले समेत गुठी संस्थानबाट मिति २०४७।६।२२ मा भएको निर्णय कानुन अनुरुप नहुँदा बदर हुने ठहर्छ । ऐन नियमको रिट पुर्याई बुझ्ने पर्ने प्रमाण बुझी कानुन बमोजिम निर्णय गर्न भनी विपक्षी गुठी संस्थानको नाममा परमादेश जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि प्रत्यर्थी गुठी संस्थान कार्यालय, काठमाडौंमा एक प्रति पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०५० साल साउन ३१ गते रोज १ शुभम् ।