निर्णय नं. ४०२९ - जग्गा दर्ता बदर

निर्णय नं. ४०२९ ने.का.प. २०४६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४४ सालको दे.पु.नं. ७८४
फैसला भएको मिति : २०४६।११।३।४ मा
पुनरावेदक/वादी : जि. कास्की पो.न.पं. वडा नं. १७ पार्दी बस्ने बुद्धिबहादुर भट्टराई
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. कास्की पो.न.पं. वडा नं. ६ वैदाम बस्ने धर्मराज भट्टराई
मुद्दा : जग्गा दर्ता बदर
§ प्रतिउत्तर दिंदा प्रतिवादीले जग्गा वादीहरुको हो भनेको छैन त्यसकारण त्यसबेला साझा भनेको आधारमा यो प्रतिवादीले हाल आफ्नो नाममा दर्ता गराउन मिल्ने होइन । निज बिवन्धित हुनुपर्दछ भन्न उचित नहुने ।
(प्रकरण नं. १५)
§ मुद्दा पर्दापर्दैको अवस्थाको नापीलाई मान्यता दिन नमिल्ने भन्ने हो भने पनि वादी आफूले पनि नापी गराएको तथ्य र प्रतिवादीले नापी गराएकोमा वादीले उजुर गरेको नदेखिएको तथ्यलाई नकार्न नसकिने ।
(प्रकरण नं. १६)
§ वादी प्रतिवादीले आ–आफ्नो भोगको आधारमा नापीका समयमा दर्ता गराएकोमा कुनै पनि पक्षबाट विवाद आएको नदेखिएको र उक्त जग्गाको सम्बन्धमा हक छाडेको वा अंशबण्डाको लिखतको अभावमा प्रतिवादीले दर्ता गराएको फेवाताल पुरुवा खेतको कि.नं. १०१० को जग्गाको दर्ता बदर नहुने ।
(प्रकरण नं. १७)
पुनरावेदक, वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।९।२३ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :–
२. पूर्व हर्कबहादुरको खेत, पश्चिम जगतबहादुरको खेत, उत्तर साविक भराङदी, दक्षिण मंसरामको खेत यति चार किल्ला भित्रको फेवाताल पुरुवा भन्ने खेत मुरी २।३।१० को जग्गा अंशियारा छुट्टी भिन्न हुँदा म बुद्धिबहादुर चुडा विक्रमको भागमा परी भोगी आएकोमा अंश बण्डाको जग्गा छुट्याई पाउँ भनी वीरबहादुरले म समेत उपर फिराद गरेको हाम्रो भाग बण्डाको हो भनी हाम्रो प्रतिउत्तर परेको र विपक्ष धर्मराजले समेत अबण्डाको हो भनी मुद्दा चल्दै जाँदा क्षेत्रीय अदालतबाट हाम्रो एकलौटी भाग ठहरी फैसला भई फैसलाबाट समेत हाम्रो हक भएको जग्गा विपक्षले कि.नं. १०१० पदाली गा.पं. वडा नं. ५ मा दर्ता गराएको थाहा पाई उजुर गर्दा मालपोत कार्यालयबाट तेरो मेरोमा देखिएकोले नालेश गर्नु भनी निर्णय गरेकोले नालेश गर्न आएको छु । विपक्षको नाउँको दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने बुद्धिबहादुर भट्टराईको फिरादपत्र ।
३. साविक कि.नं. १३० को मुरी २।३।१० मध्ये आधी वीरबहादुरको भाग छाडी बाबु कर्णबहादुरको आधी अंशबाट हामी ५ भाइले अंशका दामासाहीले पाउने मुरी ।२१।१४।२ को तिरो ०२३ देखि ०३५ सम्म तिरो भरो गर्दै आए अनुसार जग्गा आवाद गर्दा पनि सोही दामासाही अंश बमोजिम आवाद गर्दा नरम करम मिलाई भोग गरे अनुसार कि.नं. १०१० को जग्गा मेरो नाउँमा दर्ता गराएको हुँ । दर्ता बदर गरी पाउँ भन्ने वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको धर्मराज भट्टराईको प्रतिउत्तरपत्र ।
४. अंशबण्डा भएको छैन । अबण्डाको हो भन्ने अवस्था नदेखिँदा वादी दावी बमोजिम प्रतिवादीले कित्ताकाट दर्ता गराएको कि.नं. १०१० को जग्गाको दर्ता कित्ताकाट बदर भई वादीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको ०३९।१०।२० को फैसला ।
५. मेरो दर्ता बदर गरी वादीका नाउँमा दर्ता गरी दिने कास्की जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी मेरो दर्ता सदर थामी पाउँ भन्ने समेत प्रतिवादी धर्मराज भट्टराईको श्री गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. प्रतिवादीका नाउँमा कित्ताकाट गरी दर्ता गराएको दर्ता बदर गर्ने ठहर्याएको शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत श्री गण्डकी अञ्चल अदालतको २०४१।११।१७ को फैसला ।
७. उक्त त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको परेको निवेदनमा प्रमाण मूल्यांकनको त्रुटि गरी फैसला गरेको देखिन आएबाट पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
८. यसमा वादी पक्षबाट वादी दावीको जग्गा आफ्नो हकको भनी एकलौटी हक भएको सबूद पेश गर्न सकेको पाइँदैन । प्र.धर्मराजले ०२३ देखि ०२६ साल सम्म तिरो तिरेको रसिद पेश गरेको छ । विवादित जग्गा धर्मराजका नाउँमा नापी भएको देखिन्छ । सो नापीको सम्बन्धमा वादी पक्षबाट कुनै विरोध गरिएको देखिँदैन । नापी हुँदाका बखत झगडा भनी जनाइएको पनि नहुँदा हक भोग अनुसार धर्मराजका नाउँमा नापी भएको हो भन्ने कुरा मान्नु पर्ने देखियो । तसर्थ धर्मराजका नाउँमा दर्ता भएका फेवाताल पुरवा खेतका कित्ताको बदर हुनुपर्दछ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।९।२३ को फैसला ।
९. यसै विवादको जग्गाका सम्बन्धमा पहिले पनि मुद्दा चल्दा सो मुद्दामा यो प्रतिवादीले उक्त जग्गा अबण्डाको भनेकोमा क्षेत्रीय अदालतबाट अबण्डा गोश्वारा नठहरी भएको फैसला अन्तिम भई रहेको छ । हाल मुद्दा फैसला गर्दा उक्त फैसला विपरीत हुने गरी फैसला भएको छ । तसर्थ पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी पक्षको पर्न आएको निवेदनपत्र ।
१०. यसमा ०३५।३।२६ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई अन्तिम रुपमा रहेको फैसला प्रतिकूल हुने गरी ने.का.प. २०३० नि.नं. ७८५ पृष्ठ ३४५ प्रतिपादित सिद्धान्त विपरीत भई पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।२।२९ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस तथा विपक्षी प्रतिवादी धर्मराजको छलफल समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३५।३।२६ मा अन्तिम फैसला भई सो फैसला समेतबाट हक भएको फेवाताल पुरुवा भन्ने जग्गा विपक्षीले जि. कास्की पदाली गा.पं. वडा नं. ५ मा विभिन्न कित्ताकाट गराई दर्ता गराएको थाहा पाएकोले उजुर गर्दा मालपोत कार्यालयबाट तेरो मेरोमा नालिश गर्नु भनी सुनाएको हुँदा फिराद गर्न आएको छु । दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी भएकोमा सो जग्गा मैले पनि भोग गर्दै आएको र विभिन्न सालको तिरो तिरी आएको छु । नापीका बखत आफ्नो भोगमा रहेको जग्गा आफ्ना नाममा नापी गराएको हुँ । दर्ता बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर रहेकोमा क्षेत्रीय अदालतबाट वादी दावी बमोजिम दर्ता बदर नहुने भनी फैसला भएको देखिन्छ ।
१४. प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादीको भनाई २०३५।३।२६ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट वादीको अन्तिम हक भएको भन्ने छ । सो फैसलाको ठहर खण्डमा “...... फेवाताल पुरुवा खेतको जग्गामा वादीले तिरो तिरान गरेको रसिद दाखिल पेश गर्न नसकेकोले र वादीका साक्षीबाट समेत भोग गरेको पुष्ट्याई हुन नआएबाट वादीको उक्त फेवाताल पुरुवा भन्ने खेतमा नालिश लाग्न सक्दैन ...” भनिएको छ । यसको तात्पर्य उक्त जग्गा त्यस मुद्दाको प्रतिवादी यो वादीको ठहर्दछ भन्ने भनाई हो भन्न कदापी मिल्ने देखिँदैन ।
१५. प्रस्तुत मुद्दाको प्रतिवादी धर्मराजले विवादको जग्गालाई त्यसबेला पनि साझा भनेका छन् र अहिले पनि उनको भनाई उक्त जग्गा साझा भन्ने छ । त्यसबेलामा यो प्रतिवादीले उक्त जग्गालाई साझा भन्नुको तात्पर्य हालको यो वादी त्यसैबेलाको प्रतिवादीको जग्गा भएको ठीक साँचो हो भन्ने र स्वीकार गरेको भनी तर्क लिनु युक्तिसंगत हुँदैन । त्यसबेला प्रतिउत्तर दिँदा यो प्रतिवादीले उक्त जग्गा वादीहरुको हो भनेको छैन । त्यसकारण त्यसबेला साझा भनेको आधारमा यो प्रतिवादीले हाल आफ्नो नाममा दर्ता गराउन मिल्ने होइन । निज बिवन्धित हुनुपर्दछ भन्ने तर्क उचित होइन । यो प्रतिवादीले उहिले र अहिले समेत विवादको जग्गा बण्डा नभएको भनेको छ । तसर्थ पहिलेको मुद्दाको यो प्रतिवादीको प्रतिउत्तर र फैसलाले यो प्रतिवादीलाई विवादको जग्गा दर्ता गराउन बन्देज लगाएको छैन ।
१६. यस जग्गाको पहिलेको मुद्दामा वादीको यति र अरुको यति भनेर विभिन्न कित्तालाई लिएर आएको छैन । तर हाल यो वादी कित्ता किटेर आएको पाइन्छ । अब प्रश्न आउँदछ, यो वादी प्रतिवादीको बीचमा कित्ताहरु कसरी छुट्टीयो ? यसको जवाफ नापीका समयमा आ–आफ्नो भोगको आधारमा नापी गराएको हो भन्ने आयो । नापी भएको जग्गा हेर्दा वादी बुद्धिबहादुरले १५ रोपनी निजको छोरा लालबहादुरले रो.१९–१–१–० र प्रतिवादी धर्मबहादुरले रो. ११–३–१–० आ–आफ्नो नाममा नपाएको देखिन्छ । व्यवहारबाट हेर्दा पनि विवादको जग्गामा नरम करम मिलाई वादी प्रतिवादीले आफू आफूमा खाई भोगेको देखिन्छ । नापी गराउँदा सम्पूर्ण जग्गा प्रतिवादीले आफ्नो नाउँमा नापी गराएको पनि छैन । यदि मुद्दा पर्दापर्दैको अवस्था नापीलाई मान्यता दिन नमिल्ने भन्ने हो भने पनि वादी आफूले पनि नापी गराएको तथ्य र प्रतिवादीले नापी गराएकोमा वादीले उजुर गरेको नदेखिएको तथ्यलाई नकार्न सकिएन ।
१७. यसर्थ वादी प्रतिवादीले आ–आफ्नो भोगको आधारमा नापीका समयमा दर्ता गराएकोमा कुनै पनि पक्षबाट विवाद आएको नदेखिएको र उक्त जग्गाको सम्बन्धमा हक छाडेको वा अंशबण्डाको लिखतको अभावमा प्रतिवादीले दर्ता गराएको फेवाताल पुरुवा खेतको कि.नं. १०१० को जग्गाको दर्ता बदर नहुने भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।९।२३ को इन्साफ परिवर्तन गर्न कुनै आधार नहुँदा सोही इन्साफ सदर हुन्छ । कोर्टफी राखी प्रस्तुत पुनरावेदन दायर भएको देखिँदा पुनरावेदकलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल फाल्गुण ३ गते रोज ४ शुभम् ।