निर्णय नं. ६९५९ - वेरीतको आदेश वदर गरी पाउँ ।

निर्णय नं. ६९५९ ने.का.प. २०५७ अङ्क १०/११
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५७ सालको प्रतिवेदन नं. .. ४७
आदेश मितिः २०५७।५।१५।५
विषयः वेरीतको आदेश वदर गरी पाउँ ।
निवेदकः चक्रप्रसाद वास्तोला
विरुद्ध
विपक्षीः युक्तप्रसाद भेटवाल
मुद्दाः मतगणना गरी हक इन्साफ पाउँ ।
§ उजूरवालाको उजूरी कानून बमोजिमको छ छैन कानून बमोजिम तोकिएको अधिकारी मार्फत उजूर परेको छ छैन ? निर्वाचन (अपराध र सजाय) ऐन, २०४७ को दफा २५,२८,२९ संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ५,११ प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा १४० समेतको व्याख्या सम्बन्धी प्रश्न समावेश रहेको देखियो । अ.वं.१७ नं. अन्तर्गतको अधिकार क्षेत्रलाई पुनरावेदकीय (Appellate Jurisdiction) अधिकार क्षेत्र सरहको मानी निर्वाचन अदालत इलाममा विचारधीन रहेको मुद्दामा प्रत्यक्ष असर पर्ने गरी उक्त विवादीत दफाहरुको व्याख्या गरी निर्वाचन अदालतबाट भएका आदेश न्यायको मान्य सिद्धान्त तथा सर्वोच्च अदालतबाट प्रतिपादीत सिद्धान्त समेतबाट मिल्ने नदेखिएकोले निवेदकको माग बमोजिम त्यस अदालतको मिति २०५७।४।२ र २०५७।४।४ समेतको आदेश वदर गर्न नमिल्ने ।
(प्र.नं. २)
निवेदक तर्फबाटः उपस्थित विद्बान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, अधिवक्ताहरु श्री राधेश्याम अधिकारी, श्री महादेव यादव, श्री प्रकाश राउत
विपक्षी तर्फबाटः उपस्थित विद्बान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल तथा विद्बान अधिवक्ताहरु श्री हरिप्रसाद उप्रेती, श्री हरि फुयाल र श्री महेशकुमार नेपाल
अवलम्बित नजिरः
आदेश
निर्वाचन अदालत इलाम के, प्र.वे.नं. को प्रतिवेदनको व्यहोरा समेत पेश भई निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, अधिवक्ताहरु श्री राधेश्याम अधिकारी, श्री महादेव यादव, श्री प्रकाश राउत र प्रतिवेदनमा सामेल हुन पाउन दिएको निवेदनमा यस इजलासबाट अनुमति प्रदान गरी सामेल हुन आउनु भएका उजुरवाला श्री युक्तप्रसाद भेटवालका तर्फबाट उपस्थित विद्वान वरिष्ट अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल तथा विद्वान अधिवक्ताहरु श्री हरिप्रसाद उप्रेती, श्री हरि फुयाँल र श्री महेशकुमार नेपालले प्रस्तुत गर्नुभएको विस्तृत एवं विद्वतापूर्ण बहस सुनियो ।
2. यसमा निर्वाचन अदालत इलामबाट भएको मिति २०५७।४।२ को आदेश वदर गर्न उत्प्रेषण, प्रतिषेध लगायत उपयुक्त आदेश वा पूर्जि जारी गरी पाउँ भनी निवेदक चक्रप्रसाद वास्तोलाको यस अदालतमा रिट नं. २६५० मिति २०५७।४।३।२ मा रिट निवेदन परेकोमा उक्त रिट निवेदन मिति २०५७।४।४ गते कारण देखाउ आदेश सम्म नभई खारेज भएको संलग्न रिट निवेदन फाइलबाट देखियो । उक्त रिट निवेदन खारेज भए पश्चात प्रस्तुत निवेदन २०५७।४।६ मा दर्ता भई निर्वाचन अदालतको मिति २०५७।४।२ र २०५७।४।४ गतेको आदेश वदर गरी पाउन अ.वं. १७ नं. अन्तर्गतको यस अदालतमा निहित सुपरिवेक्षणीय (Supervisory) अधिकार क्षेत्रबाट उक्त आदेश वदर हुन माग गरी परेको र सो को कैफियत प्रतिवेदन समेत माग भई प्रतिवेदन तथा सो सम्बन्धमा निवेदक तथा विपक्षी उजुरवाला तर्फबाट उपस्थित हुनु भएका विद्बान वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुबाट प्रस्तुत बहस समेत सुनी व्यहोरा अवगत भयो । निवेदक तर्फबाट उक्त २०५७।४।२ गते र २०५७।४।४ गतेको आदेश वदर हुनुपर्ने माग गर्दा निर्वाचन अदालतले कानून बमोजिमको र कानून बमोजिम तोकिएको अधिकृत मार्फत नपरेको उजूरी लिई र उजूरवालाको वारेसले तारेख गुजारी सकेको अवस्थामा समेत डिसमिस गर्नुपर्नेमा सो नगरी उक्त गैरकानूनी उजूरीको आधारमा प्रतिवादीलाई बुझ्ने प्रमाण दाखिल गराउने गरी कार्यवाही अगाडी बढाएकोले यस अदालतले अ.वं. १७ नं. अन्तर्गतको अधिकार क्षेत्र प्रयोग गरी उक्त गैरकानूनी काम कारवाही निहित रहेको भनिएको मिति २०५७।४।२ र २०५७।४।४ को निर्वाचन अदालत इलामको आदेश वदर गरी पाउन परेको प्रस्तुत निवेदनको माग तर्फ विचार गर्दा उजूरवालाको उजूरी कानून बमोजिमको छ छैन कानून बमोजिम तोकिएको अधिकारी मार्फत उजूर परेको छ छैन ? निर्वाचन (अपराध र सजाय) ऐन, २०४७ को दफा २५,२८,२९ संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ५,११ प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा १४० समेतको व्याख्या सम्बन्धी प्रश्न समावेश रहेको देखियो । अ.वं.१७ नं. अन्तर्गतको अधिकार क्षेत्रलाई पुनरावेदकीय (Appellate Jurisdiction) अधिकार क्षेत्र सरहको मानी निर्वाचन अदालत इलाममा विचारधीन रहेको मुद्दामा प्रत्यक्ष असर पर्ने गरी उक्त विवादीत दफाहरुको व्याख्या गरी निर्वाचन अदालतबाट भएका आदेश न्यायको मान्य सिद्धान्त तथा सर्वोच्च अदालतबाट प्रतिपादीत सिद्धान्त समेतबाट मिल्ने नदेखिएकोले निवेदकको माग बमोजिम त्यस अदालतको मिति २०५७।४।२ र २०५७।४।४ समेतको आदेश वदर गर्न मिलेन । कानून बमोजिम गर्नु ।
इति सम्वत २०५७ साल भाद्र १५ गते रोज ५ शुभम् .................।